राप्तीलाई मानवताको सहर बनाउन चाहन्छौँ : अध्यक्ष विष्ट [अन्तर्वार्ता]

मुलुकमा सङ्घीयताको नयाँ अभ्यास सुरु भइरहँदा अघिल्लो स्थानीय तहको निर्वाचनमा विजयी भएर जनप्रतिनिधिले कार्यभार सम्हालेको करिब–करिब आधा समय गुज्रिसकेको छ । आफ्नो कार्यकालको आधा समय गुज्रिसक्दा पनि आम नागरिकले अपेक्षा गरे अनुरुप परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् ।
व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुन नसकेको गुनासो आम नागरिकको छ भने जनप्रतिनिधिले सीमित स्रोतले भ्याएसम्मका जनचाहनालाई सम्बोधन गर्न सकेको बताउँदै आएका छन् । जनताका अपेक्षा धेरै मात्रामा बढिरहेको तर स्रोत भने वृद्धि हुन नसकेको अवस्थामा आम नागरिकका गुनासा रहनु पनि स्वाभावि कै हो । यसै सन्दर्भमा राप्ती गाउँपालिकाका अध्यक्ष तथा युवा नेता प्रकाश विष्टसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
स्वागत छ, तपार्ईलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद तपार्ई अनि तपार्ईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक एवम् गोरक्ष अनलाईन संस्करण परिवारलाई । मलाई जनप्रतिनिधिको रूपमा केही कुरा आम पाठकमाझ राख्न आमन्त्रण गर्नुभएकोमा ।
तपार्ईको पालिकामा आउँदो शनिवार पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन हुँदैछ । अस्पताल उद्घाटन गर्दै गर्दा तपार्ईहरूमा देखिएको उत्साह र चुनौतिका विषयमा केही कुरा बताइदिनुस् न ?
सर्वप्रथमतः म स्वयम् स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आएको मान्छे भएर होला तपार्ईले प्रश्न पनि स्वास्थ्य क्षेत्रबाटै सुरु गर्नुभयो । यसका लागि तपाईलाई धन्यवाद । हो, हामीले निर्वाचित भएपश्चात राप्तीको पहिलो आवश्यकता नै आधारभूत स्वास्थ्य सेवाको सहज पहुँचलाई ठानेका छौँ । त्यसै अनुरूप मुलुक कोरोना भाइरसको सङ्क्रमणले अक्रान्त भइरहेका बेला सङ्घीय सरकारले पनि कम्तिमा पनि एक पालिका एक आधारभूत अस्पतालको नीति लियो ।
सङ्घीय सरकारले नै त्यस्ता अस्पताल भवन निर्माण गरिदिने अनि स्वास्थ्य सेवा उपलब्ध गराउने बाँकी सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दिने नीति ल्याएसँगै अस्पताल भवन निर्माण पनि सम्पन्न भइसकेको छ । सायद सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी शनिवार राप्ती गाउँपालिकाको सिसहिनियामा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालको विधिवत रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सङ्घीय सरकारले अस्पताल भवन निर्माण गरिदिएसँगै हामीले अस्पताल सञ्चालनको अन्तिम तयारी गरिसकेका छौँ । यसका लागि एक जना एमडिजिपि र दुईजना एमविविएस चिकित्सक सहित स्वास्थ्यकर्मी र कर्मचारीको नियुक्तिको काम पनि पूरा गरिसकेका छौँ । प्रयोगशाला लगायतका अन्य उपकरण समेत जडान भइसकेका छन् । किनकि आधारभूत स्वास्थ्य सेवालाई नेपालको नयाँ सङ्घात्मक संविधानले पनि मौलिक हकका रूपमा स्थापित गरिसकेको छ ।
हामीले संविधानको मौलिक हकको कार्यान्वयन गर्ने हो । पन्ध्र वेडको आधारभूत अस्पताल विशेषज्ञ सेवा सहित सञ्चालन भइरहँदा हामी समस्त राप्तीबासीलाई खुसी लाग्नु स्वाभाविकै पनि हो । किनकि हामी विशेषज्ञ स्वास्थ्य सेवा लिन बुटवल र नेपालगञ्ज तथा राजधानी र भारतको लखनउसम्म जानु पर्ने बाध्यता यसले हटाउने हामीले अपेक्षा गरेका छौँ तर पनि यसमा थुप्रै चुनौति पनि छन् । पन्ध्र वेडको अस्पताललाई निरन्तरता दिनु भनेको चानचुने कुरा होइन ।
हामीले यसको वार्षिक खर्च आंकलन गर्दा एक वर्षमा कम्तिमा पनि पाँच करोड रूपैयाँसम्म खर्च आउन सक्छ तर हाम्रो आन्तरिक स्रोत भनेको मुस्किलले वार्षिक तीन करोड पुग्छ । यसैले शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका विकास निर्माण गर्ने हो । चुनौति छ भन्दैमा कामै नथाल्ने पक्षमा हामी छैनौँ । कम्तिमा सुरुवात त गरौँ, त्यसपछि विकल्प आउँदै गर्छन भन्ने हाम्रो मान्यता पनि हो । स्थानीय सरकारको स्रोतले मात्र आधारभूत अस्पताल चल्ने अवस्था नरहे पनि हामीले अस्पताललाई निरन्तरता दिनका लागि सङ्घीय सरकारसँग आवश्यक चिकित्सक एवम् कर्मचारीको दरबन्दी माग गर्ने छौँ ।
साथै स्वास्थ्यचौकी मात्र रहँदा नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधी करिब ६÷७ लाख रूपैयाँको छ । यसलाई पनि बढाएर कम्तिमा पनि एक करोड रूपैयाँको निःशुल्क औषधी यसरी आधारभूत अस्पताल सञ्चालन भएका पालिकामा सङ्घीय सरकारले उपलब्ध गराउनेमा हामी आशावादी पनि छौँ । मलाई लाग्छ सङ्घीय सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिने छ भन्ने मलाई पूर्ण विश्वास छ ।
तपाईको कार्यकाल करिब आधाभन्दा बढी सकिएको छ, यस बिचमा तपाईले सम्पादन गरेका उल्लेखनीय कार्यका विषयमा संक्षिप्तमा बताइदिनुस् न ?
हो, हाम्रो कार्यकाल अब आधाभन्दा बढी समाप्त भइसकेको छ । हामीले चुनावी कार्यक्रममा पनि धेरै आश्वासन मतदातालाई बाडेका थिएनौँ । जे आश्वासन दिएका थियौँ क्रमशः ती सबै आश्वासन पूरा गर्दै आएका छौँ । केही काम भए, केही हुन बाँकी छन् । जनताका आकांक्षा असीमित छन्, तर ती सबै आकांक्षा पूरा गर्न हामीलाई स्रोत निकै कमी छ ।
तैपनि स्रोत सिर्जनाको सवाललाई पनि हामीले महत्वका साथ अघि बढाएका छौँ । स्थानीय सरकारले गर्ने भनेको आधारभूत स्वास्थ्य, आधारभूत शिक्षा सामान्य गुणस्तरको सानातिना भित्रि सडक, सिँचाइकुला लगायत सचेतनाका विभिन्न कार्यक्रम हामी पालिका कै स्रोतले गरिरहेका छौँ । बाँकी गौरवका आयोजनाको कार्यान्वयनका लागि गाउँसभाबाटै अनुमोदन गराएर संघ र प्रदेश सरकार समक्ष माग गरेका छौँ ।
किनकि हामी सङ्घीयताको अभ्यासमा प्रवेश गरिरहँदा तीनै तहका सरकारको चासो भनेका यिनै जनता नै हुन् । त्यसैले बाँकी कामलाई पनि हामीले क्रमिक रूपमा पूरा गर्दै लैजाने नै छौँ । खासमा हामी राप्तीलाई मानवताको सहर पनि बनाउन चाहेका छौँ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा हाम्रा मुलभूत सिद्धान्त हुन् । सडक मानव मुक्त सहर पनि हाम्रो पहिल्यैदेखिको अभियान हो ।
अर्थात शिक्षा, स्वास्थ्य, रोजगारी, स्थानीय कृषि उपजको प्रवद्र्धन, लगायतका सामाजिक कार्यमा पनि हामीले पहलकदमी थालेका छौँ । यस बिचमा हामीले वर्षौदेखि हुन नसकेको शिक्षक दरबन्दी मिलानको कामलाई सम्पन्न गरिसकेका छौँ । जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अनुसार सबै सामुदायिक विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन भइसकेको छ । स्वास्थ्य क्षेत्रमा मैले भनिसके, आधारभूत अस्पताल उद्घाटन हुनु पूर्व नै हामीले एमविविएस चिकित्सक सहितको सेवा पालिका मै उपलब्ध गराउँदै आएका छौँ ।
राप्तीलाई सडक मानव मुक्त बनाउने महान अभियानदेखि लिएर विद्यालय तथा पालिकामा जङ्कफुड निषेधका कार्यक्रम पनि हामीले कार्यान्वयन गरिसकेका छौँ । फोहर मैलाको दिगो व्यवस्थापनका लागि गल्ने फोहर र नगल्ने फोहरलाई भिन्न– भिन्न गरी उपयोग नीति ल्याएका छौँ । सम्भवतः हामीले फोहरबाट पनि जैविक मललगायत वायोग्यास उत्पादनमा पनि अघि बढ्ने योजना बनाएका छौँ । त्यसैगरी राप्तीमा बोटिङदेखि देविकोटबाट सिसहिनियासम्म प्याराग्लाईडिङ सेवालाई व्यवसायीकरण गरी आन्तरिक पर्यटनको विस्तार गर्ने पनि तयारी गरिरहेका छौँ ।
तपाईको पालिका त चम्किलो भविष्य बोकेको सहर पनि हो । अब यो प्रदेशको स्थायी राजधानी भइरहँदा गाउँपालिकाबाट स्तरोन्नती भएर उपमहानगरपालिकासम्म पनि जान सक्छ तर यसका लागि आवश्यक पूर्वाधार निर्माण त ओझेलमा छन् नि ?
हो, तपाईले भने जस्तै प्रदेशको स्थायी राजधानीमा नियमित हवाई सेवाको नितान्त आवश्यक छ । कम्तिमा पनि एउटा तारे होटल आवश्यक छ । यस क्षेत्रको राजमार्गको स्तरोन्नती हुन पनि उत्तिकै आवश्यकता छ । पर्यटकीय पूर्वाधार निर्माण हुन पनि त्यत्तिकै आवश्यक छ तर सङ्घीय सरकारले नै यसलाई गम्भीरतापूर्वक लिन सकेको देखिँदैन ।
स्थायी राजधानी निर्माणको पहिलो सर्त भनेको एकीकृत जग्गा विकास हो । यसका लागि जग्गा अधिग्रहणको काम पहिलो सर्त हो तर जग्गा अधिग्रहण र एकीकरणको काम पूरा हुन नसक्दा यहाँ लगानीमैत्री वातावरण पनि निर्माण हुन सकिरहेको छैन । यहाँका स्थानीयबासीले वर्षौदेखि जग्गा बेच्न पाएका छैनन् । प्रदेशको स्थायी राजधानी घोषणा हुने क्रममा रोक्का भएका जग्गा अझै पनि फुकुवा भएका छैनन् ।
त्यसैले पनि यहाँ स्थानीय स्तरबाट लगानी हुन सकेको छैन । यो विषय स्थानीय सरकारले मात्रै सुल्झाउने विषय पनि होइन, यसमा संघ र प्रदेश सरकार गम्भीर हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसका लागि सबैभन्दा पहिले ल्याण्डपुलिङको समस्या तत्काल टुङ्ग्याउन आवश्यक देखिन्छ । यसपछि मात्र विभिन्न उद्योग वाणिज्यसंघ मार्फत् हामीले लगानी भित्राउन पहल गर्ने छौँ ।
तपाईले बेला–बेलामा राप्ती, गढवा र लमहीलाई समेटेर चौबिसै घण्टा सार्वजनिक यातायात चल्ने गरी चक्रपथ सेवा सञ्चालनको कुरा गरिरहनु हुन्थ्यो, कहाँ पुग्यो प्रक्रिया ?
हामीले प्रक्रिया अघि नबढाएका होइनौँ । चक्रपथ निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भइसकेको छ । डिपिआर अनुसार राप्तीको भालुबाङ हँुदै कालाकाटे भएर गढवालाई समेटेर लमही हँुदै पुनः भालुबाङसम्मका लागि कम्तिमा ३७ किमी चक्रपथ निर्माण हुनु पर्ने डिपिआरमा उल्लेख छ तर त्यसमध्ये हामीसँग अहिले ७ किमी मात्र पक्कि सडक पाउन सकेका छौँ । बाँकी सडक पनि कालोपत्रे भएर चक्रपथ निर्माणको काम सकिएपछि मात्रै चौबिसै घण्टा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने छ । त्यसका लागि हामी प्रयासरत छौँ । यो काम चक्रपथ निर्माण भइसकेपछि मात्र हुने छ ।
अन्तमा यो पत्रिकामार्फत् आम पाठक एवम् राप्तीबासीलाई केही भन्न चाहनु हुन्छ कि ?
समृद्धि हामी सबैको साझा अभियान हो । यसमा सबैको साथ र सहयोगको अपेक्षा पनि गर्दछु । राप्ती उपत्यकामा लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा ल्याउन राप्ती गाउँपालिकाले के कति प्रयास ग¥यौ त्यो सबै मैले बताइरहनु पर्दैन जस्तो लाग्छ । अब स्थायी राजधानी कार्यान्वयनका लागि थप पूर्वाधार निर्माण पनि नितान्त आवश्यक छ । यो राप्ती गाउँपालिका एक्लैले गर्न सम्भव हुने विषय पनि होइन ।
राप्तीमा लुम्बिनी प्रदेशको स्थायी मुकाम हुनु राप्ती उपत्यकाबासीको मात्र गौरवको कुरा होइन, सम्पूर्ण दाङबासी कै गौरवको कुरा पनि हो । यसैले थप पूर्वाधार निर्माणमा सबैको साथ र सहयोगको सदैव अपेक्षा पनि गर्दछु । अन्तमा आम पाठक एवम् राप्तीबासीलाई गाउँपालिकाका गतिविधिका विषयमा केही कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।