Goraksha

National Daily

केरामा ‘बिचौलिया’को सङ्क्रमण, दर्जनकै तीन सय !

खेमराज रिजाल
दाङ, ८ वैशाख । घोराही–१५ की सपना केसी केराको भाउ सपना जस्तै लाग्यो । पैसा तिर्दा झस्किनन् मात्र एक पटक फेरि भाउ कन्फर्म गर्न पसलेलाइ सोधिन् । पसलेले भन्यो, ‘दर्जनको तीन सय रुपैयाँ ।’ घोराहीको तुलसीपुर चोकमा रहेको फलफूल पसलमा किनिएको केरा उन्नत जातको मालभोग नभएर हरिसाल नै थियो ।

‘किन यति धेरै भा हो, केराको भाउ ?’, सपनाको जिज्ञासामा पसलेले भने, ‘हामीलाई होलसेलले दिने मूल्यमै वृद्धि भएको छ । सायद भारतबाट केरा आउन छोडेर होला’, भन्दै ती पसलेले सपनाको चित्त बुझाउने प्रयास गरे । केराको भाउ यति अस्वाभाविक रूपमा वृद्धि हुनुमा भारतबाट आउने केरामा लगाइएको प्रतिबन्ध मात्र नभएर किसान र उपभोक्ताबिच छिरेका बिचौलियाका कारण हुन सक्ने खुद्रा व्यापारी बताउँछन् ।

त्यसो त दाङका मुख्य बजारका भिन्न भिन्न फलफूल पसलहरूमा केराको भाउमा एकरुपता भने छैन । कहीँ दुई सय रुपैयाँ प्रतिदर्जनमा दिइहाल्छन् त कतै दुई सय ५० रुपैयाँ त कतै तीन सय रुपैयाँसम्म लिने गरेको उपभोक्ता बताउँछन् । न मूल्यमा एकरुपता छ, न त केराको लागत मूल्य नै कति हो भन्ने उपभोक्तालाई जानकारी छ । यो अवस्थाले यो वर्ष केराको भाउमा भएको अस्वाभाविक मूल्य वृद्धिले उपभोक्ता अत्तालिएका छन् ।

उपभोक्ता अत्तालिँदै गर्दा किसानले अस्वाभाविक मूल्य भने पाएका छैनन् । ‘केराको उपभोक्ता मूल्य किन यति महँगो भयो, हामी आफैँ आश्चर्यमा परेका छौं’, राप्ती गाउपालिकाका व्यावसायिक केरा खेती गर्ने किसान रणप्रसाद सुवेदीले गोरक्षलाई भने । सुवेदीका अनुसार बारीमा केराको मूल्य प्रतिदर्जन ९६ रुपैयाँ मात्र छ ।

केरा उत्पादक किसानले बारीमै आउने होलसेल व्यवसायीलाई त्यही मूल्यमै केरा बेच्ने गरेका छन् । त्यही केरालाई होलसेल व्यवसायीले पसलेलाई दिँदा प्रतिदर्जन एक सय रुपैयाँ मुनाफा लिने गरेको बताइन्छ । त्यही केरालाई खुद्रा पसलेहरूले उपभोक्तालाई बेच्दा भने दुई सय ५० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा प्रतिदर्जन बेच्ने गरेको पाइएको छ । किसान र उपभोक्ताबिचको यो मूल्यान्तरलाई नियन्त्रण गर्न कुनै सरकारी निकायको भूमिका छैन ।

उपभोक्ताका अनुसार पछिल्लो समयमा खास गरी केराको भाउ अस्वाभाविक वृद्धि हुने चाडपर्व, ब्रतको समय तथा पूजाआजाको सिजनमा हो । उपभोक्ताको माग बढेसँगै केराको भाउ पनि अस्वाभाविक रूपमा वृद्धि हुने गरेको छ ।

भारतीय बजारबाट आउने केराका कारण नेपालमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएका किसान मारमा परेको जनगुनासो पछि नेपाल सरकारले अघिल्लो वर्षदेखि भारतबाट केरा आयातमा पूर्ण रूपमा रोक लगायो । यहाँका किसानले गरेको उत्पादनले नेपाली केरा बजारलाई धान्न सकेन । केरा खेती गर्ने किसानको सानो सङ्ख्या एकातिर छ भने अर्कोतिर भारतबाट केरा आयातमा प्रतिबन्ध लगाइनुले केराको उपभोक्ता मूल्य अधिक्तम वृद्धि भएको खाद्य अधिकारकर्मीहरूको ठम्याइ छ ।

‘कि त केरा खेतीलाई अझ व्यापक बनाउनु प¥यो, कि त भारतबाट आयात खुल्ला गर्नु प¥यो, उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य बनाउनु भएन’, उपभोक्ता हित संरक्षणकर्मी केशवकुमार शर्माले भने । उत्पादनसँग भन्दा उपभोक्ताको बढी चासो उपभोग मूल्यमा हुने बताउँदै अधिकारकर्मी शर्माले कुनै पनि कृषि उपजको मूल्य निर्धारण भनेको लागत मूल्यमा लाभांश जोडेर हुनुपर्छ तर बोटमा ९६ रुपैयाँ प्रतिदर्जनमा पाइने केरा उपभोक्तासम्म आइपुग्दा तीन सय रुपैयाँ हुनु निन्दनीय मात्र नभएर दण्डनीय हुनुपर्छ । यसमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनु पर्ने उपभोक्ता अधिकारकर्मी शर्माको भनाइ छ ।

त्यसो त दाङमा भर्खरै मात्र व्यावसायिक केरा खेतीको सुरुआत भएको हो । यहाँ उत्पादन भएको केराले यहाँको उपभोक्ताको माग थेग्न सक्दैन । अहिले दाङमा बिक्री हुने केरा भनेको रुपन्देही र नवलपरासीको हो । मणिप्रसाद पौडेल रुपन्देहीका केरा व्यवसायी मात्र नभएर किसान पनि हुन् ।

पौडेलका अनुसार रुपन्देहीमा अहिले मालभोग केराको भाउ प्रतिदर्जन होलसेल व्यापारीलाई एक सय १० रुपैयाँ मात्रै पर्छ । उपभोक्ताले प्रतिदर्जन एक सय ५० रुपैयाँमा पाउने गरेका छन् तर दाङमा केराको भाउ यति विघ्न वृद्धि किन भयो भन्ने प्रश्न हामीले कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीलाई सोध्यौँ । भण्डारीको जवाफ थियो, ‘किसान र उपभोक्ताबिच बिचौलियाको प्रवेशले यस्तो भएको हुनसक्छ ।’

त्यसो त अहिले दाङमा केराको स्थानीय उत्पादनले पुगेको छैन । यहां नवलपरासीबाट केरा आउँदा उताभन्दा केही महँगो भएको हुन सक्ने भण्डारी बताउँछन् । बिचौलियाविना किसानको उत्पादन बजारीकरण नहुने भए पनि बिचौलियामै बढी चलखेल हुने प्रवृत्तिले उत्पादन मूल्य र उपभोक्ता मूल्यमा भारी अन्तर भएको भण्डारीको अभिव्यक्ति थियो ।

किन यसरी बढ्दो छ केराको भाउ ?

उपभोक्तालाई केराको मूल्य दर्जनको दुई सय ५० देखि तीन सय ५० रुपैयाँसम्म पर्छ । उपभोक्ताको माग अनुसार स्वदेशमै उत्पादन नहुँदा र यही बिचमा आमाको मुख हेर्ने पर्व पनि परेकाले व्यापारीले केराको मूल्यमा अस्वाभाविक वृद्धि गरे ।

यो वर्ष केराको मूल्य फागुनदेखि नै निरन्तर बढिरहेको छ । उपभोक्ताका अनुसार गत वर्ष यो सिजनमा भन्दा यो वर्षको यही सिजनमा केराको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । २०८२ र १ वैशाख २०८३ को तुलनामा मात्रै केराको मूल्य दर्जनमा ५० प्रतिशतले बढेको छ । थोक बजारमै केराको मूल्य दर्जनमा ५० प्रतिशतले वृद्धि हुँदा उपभोक्ताको हातमा पुग्दा अझ बढी प्रतिशतले मूल्य वृद्धि भएको बताइन्छ ।

थोक बजारमै महँगिनुको कारण उपभोक्ताको माग अनुसार केरा आपूर्ति नहुनु हो । गत असोज यता केरा आयात गर्न प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले नयाँ प्रवेश अनुमतिपत्र जारी गरेको छैन । त्यसकारण बजारमा केराको माग अनुसार आपूर्ति गर्न नसक्दा मूल्य वृद्धि भएको व्यवसायी बताउँछन् । केरामा लाग्ने एक प्रकारको रोगको जोखिमका कारण आयात अनुमतिपत्र जारी नगरिएको प्लान्ट क्वारेन्टिनले जनाएको छ ।

जैविक सुरक्षाका लागि केरा आयातका लागि नयाँ अनुमतिपत्र जारी रोकेकका कारण केराको मूल्य वृद्धि जारी रहेको बताइन्छ । भन्सार विभागको तथ्याङ्कले गत आर्थिक वर्षको आठ महिनामा एक अर्ब १५ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको दुई करोड ८० लाख २८ हजार तीन सय ८६ किलो केरा आयात भएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा ७६ करोड ५५ लाख छ हजार रुपैयाँको एक करोड ९४ लाख ३९ हजार दुई सय ४१ किलो मात्रै केरा आयात भएको छ । केरा आयात नहुँदा उपभोक्ताको माग पूरा हुन नसकेको र त्यसको प्रभाव मूल्य वृद्धिमा देखिएको छ तर क्वारेन्टिनले ‘टीआर–४’ रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ ।