अबको मार्ग, उन्नत लोकतन्त्र
विपुल पोख्रेल
जननायक वीपी कोइरालाले भन्नुभएको थियो– ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हो ।’ यो भनाईको गुह्य कुरा के भने, मानिस परिवर्तन खोज्ने प्राणी हो, लोकतन्त्रको निरन्तर अभ्यास हुँदै गर्दा कुनै कालखण्डमा मानिसले लोकतन्त्रको पनि विकल्प खोज्न सक्छ । त्यो बेलामा विकल्पको नाममा अन्यत्र कतै भड्कनुभन्दा पनि लोकतन्त्रको उन्नत अभ्यास गर्ने तर्फ लाग्नु नै श्रेयस्कर हुन्छ ।
किनभने लोकतन्त्र मात्रै यस्तो राजनीतिक व्यवस्था हो, जसले सुसंस्कृत जीवनपद्दतिका लागि पनि व्यक्ति व्यक्तिलाई उत्प्रेरित गर्ने सामथ्र्य राख्छ । लोकतन्त्रको यही सामथ्र्यका कारण नै लोकतन्त्रलाई व्यक्तिको जीवनशैली बुझ्न र बदल्न सक्ने राजनीतिक व्यवस्था भनिएको हो । त्यसै आधरमा यसप्रतिको व्यापक पक्षधरता संसारभर प्रदर्शित भएको हो ।
समयको कालखण्डमा लोकतन्त्रको निरन्तर अभ्यास गरिरहेकाहरुले पनि त्यसको विकल्प खोज्न थालेको देखिएको छ, जसलाई स्वाभाविक मानेर मन्थन गर्ने हो भने मात्र हामी यो अवस्थाबाट पार पाउन सक्छौँ । हालै सार्वजनिक ‘भि–डेम’ नामक संस्थाको २०२६ को प्रतिवेदनले विश्वभर लोकतन्त्र कमजोर हुँदै गएको चित्र देखाएको छ । यसले एउटा गम्भीर प्रश्न उब्जाएको छ– हामी लोकतन्त्रबाट टाढिँदै छौँ कि यसलाई जोगाउने नयाँ बाटो खोज्दैछौँ ?
सो प्रतिवेदन अनुसार आज विश्वका झन्डै ७४ प्रतिशत मानिसहरु कुनै न कुनै प्रकारको निरंकुश शासनभित्र बाँचेका छन् भन्ने तथ्याङ्क आफैंमा चिन्ताजनक छ । यो केवल संख्या होइन, यो स्वतन्त्रता र अधिकार खुम्चिँदै गएको संकेत हो । नेपालले पनि ठूलो संघर्ष र बलिदानपछि लोकतन्त्र प्राप्त गरेको हो । तर अहिले हामीले आफैंलाई सोध्नु पर्ने बेला आएको छ– यो लोकतान्त्रिक प्रक्रियासँग किन मान्छेको मन उठ्दै गरेको छ ? अब हामी काहाँ जान् त ?
प्रश्न जतिसुकै गम्भीर रुपमा वा शसक्त रुपमा उठाए पनि त्यसको निकास भनेको एउटै हो । त्यो भनेको उन्नत लोकतन्त्र खोज्ने बाटो । लोकतन्त्रको विकल्प स्वतन्त्रता र अधिकार खुम्चिँदै लैजाने अभ्यासले दिनै सक्दैन । क्षणीक रुपमा त्यसलाई कसैले परिवर्तन माने पनि त्यो अभ्यासले फेरि पनि तत्काल उकुसमुकुस जन्माउने छ र मान्छेलाई हिंसाको बाटोमा हिड्नका लागि समेत अभिप्रेरित गर्नसक्छ ।
त्यसकारण अवस्थाको समाधान र नागरिकमा स्वभाविक रुपमा जाग्ने परिवर्तनको चाहना दुबैलाई सम्बोधन गर्दै हाम्रो लोकतन्त्रलाई उन्नत बनाउने बाटोमा हिड्ने संकल्प नै हो । त्यो संकल्पले ठूलो बलिदानीपूर्ण रुपमा आएको लोकतान्त्रिक पद्दतिप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउँछ भने त्यसलाई उन्नत बनाउन सकिन्छ भन्ने दर्शनको व्यवहारिक कार्यान्वयन तर्फ उत्प्रेरित गर्दछ । यसका लागि अब के गर्ने त ? यहाँ केही बुँदागत रुपमा चर्चा गरौं, जसले अहिले हाम्रो लोकतन्त्रको अभ्यासमा देखिएका समस्याको पहिचान गर्न र तिनलाई सुधार्नका लागि योगदान दिने छन् ।
संस्थागत स्वतन्त्रता ः लोकतन्त्रको आधार
लोकतन्त्र टिक्ने वा कमजोर हुने कुरा धेरै हदसम्म संस्थाहरुको मजबुतीमा निर्भर हुन्छ । अख्तियार, निर्वाचन आयोग वा न्यायपालिका राजनीतिक प्रभावबाट मुक्त रहन सकेनन् भने तिनको अस्तित्व नै औपचारिक मात्र रहन्छ । पछिल्ला वर्षहरुमा नियुक्ति प्रक्रियादेखि निर्णयसम्म राजनीतिक छायाँ देखिनु चिन्ताको विषय हो । यी संस्थाहरुलाई व्यवहारमै स्वतन्त्र बनाउने चुनौती अझै बाँकी छ ।
अहिलेको नागरिक स्तरमा देखिएको एउटा प्रमुख चिन्ता र आक्रोश भनेको ती संरचनामा भएको राजनीतिकरण हो । भागबण्डाका आधारमा संवैधानिक निकायहरुमा हुने नियुक्ति नै नेपाली लोकतान्त्रिक अभ्यासको सबैभन्दा ठूलो समस्या हो । अरु समस्याहरुको जननी पनि यही प्रवृत्ति हो भनेर भन्न सकिन्छ । अदालतमा कुन मुद्दा कुन न्यायधिसको इजलासमा प¥यो भन्ने थाहा भयो भने ‘अब यो फैसला आउँछ’ भनेर चिया पसलमा अड्कल काट्न सकिने अबस्था छ भनेर समेत टिप्पणी गरेको सुनिन्छ ।
त्यस्तै अख्तियारलगायतका संरचनाहरुका हकमा पनि यस्तै टिप्पणी सुनिँदै आएका छन् । यतिधेरै दलीय करणका कारण हाम्रा संरचनाहरु प्रतिको विश्वास उठ्दै गएको छ । वास्तवमा ती संरचनाको सवल रुप अनि उनीहरुले सम्पादन गर्ने कार्यको लाभबाट नागरिकलाई सन्तुष्ट गराउने अपेक्षा जीवन्त लोकतन्त्रले गरिरहेको हुन्छ । त्यसकारण त्यस्ता संरचनाहरु लोकतन्त्रका आधार हुन् ।
निर्वाचनको निष्पक्षता र मतको सम्मान
निर्वाचन केवल औपचारिक प्रक्रिया होइन, नागरिकको आवाज व्यक्त गर्ने माध्यम हो । तर, पैसा र पहुँचको प्रभाव बढ्दै जाँदा चुनाव सामान्य नागरिकका लागि टाढिँदै गएको महसुस हुन्छ । खर्चको पारदर्शिता र दुरुपयोग नियन्त्रण नगरेसम्म यसको विश्वसनीयता कमजोर रहन्छ । राजनीतिक दलहरुले उम्मेदवार छनौट गर्दा ‘फलानोले पैसा कति खर्च गर्न सक्छ ?’
भन्ने प्रश्नको जवाफ खोजेर मात्र टिकट दिन्छन् भन्ने भाष्य स्थापित भएको छ । चुनावको प्रचारशैलीलाई बदल्न, कम खर्चिलो गराउन कसको के भूमिका हुन्छ र हुनुपर्छ भनेर कतै छलफल भएको नै सुनिँदैन । यो दूर्भाग्यपूर्ण अवस्था हो । निर्वाचनको स्वच्छता र पैसाभन्दा मुद्दाका आधारमा निर्वाचनमा जाने संस्कारको निर्माण आजको अर्को आवश्यकता हो । होइन भने हाम्रो लोकतन्त्र प्राबिधिक लोकतन्त्र वा चुनावी लोकतन्त्र मात्र हुन्छ, जीवन्त लोकतन्त्र मान्न सकिँदैन ।
प्रेस स्वतन्त्रता र प्रश्न गर्ने साहस
मिडिया कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ । अहिले पत्रकारहरु प्रत्यक्ष र अप्रत्यक्ष दबाबमा काम गर्न बाध्य छन् । कहिले काहीँ कानुनी प्रावधानको डरले पनि आत्म–सेंसरशिप बढ्दो देखिन्छ । यस्तो अवस्था रहिरह्यो भने नागरिकले सत्य सूचना पाउने अधिकार नै प्रभावित हुन्छ ।
कुनै पनि शासकले तानाशाकी बाटो रोज्न थाल्यो कि थालेन भन्ने कुराको संकेत भनेको उसको स्वतन्त्र मिडिया प्रतिको दृष्टिकोण र रबैया कस्तो छ भन्ने आधार नै हो । मिडियाले शासकको बक्रदृष्टि आफूमाथि पर्नुभन्दा पहिले नै शसक्त रुपमा शासकलाई लोकतान्त्रिक मार्गमा हिड्का लागि खबरदारी गर्ने सामथ्र्य राख्न पर्छ ।
मिडियालाई शसक्त बनाउने सन्दर्भमा नागरिक समाज र राज्यका संरचनाले सहयोग गर्ने संस्कारको विकास गर्दै जानु लोकतन्त्रलाई सवल गराउने सन्दर्भका अनिवार्य कर्म हो । डिजिटल साक्षरतामार्फत् सामाजिक सञ्जालको विस्तारसँगै गलत सूचना फैलाउने क्रम पनि बढेको छ । यसले समाजमा अनावश्यक विभाजन सिर्जना गरिरहेको छ ।
नागरिकलाई के सही हो, के गलत भन्ने छुट्याउने क्षमता विकास गर्नु आवश्यक छ, जसका लागि मिडिया साक्षरता आबश्यक पर्छ । यसो गर्दा नागरिकलाई असहमति राख्नका लागि प्रेरित पनि गर्नुपर्छ र असहमति राख्ने शिष्ट तरिकामाथि पनि छलफल चलाउनु पर्छ । लोकतन्त्रको सौन्दर्य नै फरक मतलाई स्वीकार गर्न सक्नु हो । नागरिकले डर बिना आफ्ना कुरा राख्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।
शक्ति सन्तुलन र जवाफदेहिता
सरकार बलियो हुनु आवश्यक छ, तर अनियन्त्रित हुनु खतरनाक हुन्छ । संसद्लाई कमजोर बनाउने र अध्यादेशमार्फत् शासन चलाउने प्रवृत्ति बढ्नु राम्रो संकेत होइन । सन्तुलन र निगरानी लोकतन्त्रको अनिवार्य पक्ष हो । लोकतन्त्रको अभ्यासको सूत्र भनेको शक्ति पृथकिकरणको असल अभ्यास गर्नु हो ।
आफ्नो अधिकार प्रयोग गर्ने क्रममा अरुको क्षेत्राधिकार मिच्ने अनि आफू अनुकुल गर्दै जाने हो भने शक्तिपृथकिरणको असल अभ्यास गरेको मानिँदैन । सन्तुलित र जवाफदेही संस्कारको विकास र अभ्यासले लोकतन्त्रलाई समुन्नत बनाउँदै लैजाने हो । यो कुरालाई लोकतन्त्रवादीले बिशेष रुपमा मनन् गर्न जरुरी देखिएको छ ।
भ्रष्टाचार नियन्त्रण ः विश्वासको आधार
सुशासनको अभाव र भ्रष्टाचारले प्रणालीप्रति नागरिकको विश्वास घटाउँछ । केवल भाषणले होइन, व्यवहारमा देखिने कडा कदमले मात्र यसको नियन्त्रण सम्भव हुन्छ । पारदर्शिता र उत्तरदायित्व नै यसको समाधानका प्रमुख उपाय हुन् ।
अहिले नेपाली समाजको चिन्ता र नैराश्यताको एउटा प्रमुख कारण भनेकै सुशासनको अभाव र भ्रष्टाचार हो । यो कुरामा राज्यका संरचनाहरुलाई सचेत र प्रभावकारी बनाउँदै लैजाने हो भने मात्र लोकतन्त्रप्रतिको विश्वास बलियो हुँदै जाने छ । भ्रष्टाचारमा संलग्नहरु माथिको कारबाही निर्मम हुनुपर्छ । कसैलाई काखा, कसैलाई पाखा हैन ।
प्रतिशोधका आधारमा पनि हैन । राज्यको नियमित दायित्वका रुपमा भ्रष्टाचारको छानविन र कारवाही गर्ने प्रक्रिया नियमित रुपमा अगाडि बढाउने प्रबन्धले नै लोकतन्त्रलाई जीवन्त र आकर्षक बनाउन सक्छ । विश्वभर लोकतन्त्र कमजोर बन्दै गएको अवस्थामा नेपाल पनि अहिले समयानुकुल चिन्तन गर्दै लोकतन्त्रप्रतिको आकर्षण थप्न वा लोकतन्त्रलाई अझै उन्नत बनाउन गम्भीर हुन जरुरी छ ।
लोकतन्त्रको विकल्प खोज्ने कुराले कसैलाई सही ठाँउमा पु¥याउने छैन । फेरि लोकतन्त्रको खोजी हुनेछ र त्यो प्राप्तीका लागि ठूलो मानवीय क्षेतिसमेतको सम्भावना रहने छ । त्यसकारण बेलैमा बुद्धिमतापूर्ण सोचको विकास र लोकतन्त्रलाई अझ उन्नत लोकतन्त्रमा रुपान्तरित गर्ने बाटो नै सुरक्षित र सहज हुन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।
परिवर्तनको खोजमा निरंकुशताको बाटो कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन । यो कुरामा स्वतन्त्र मिडिया र नागरिक समाजले राज्यलाई निरन्तर सचेत र खबरदारी गरी राख्नुपर्छ । लोकतन्त्र स्थिर वस्तु होइन, यसले निरन्तर अभ्यास र सुधारको अपेक्षा गरिरहेको हुन्छ । यो अपेक्षा शासकसंग मात्र हुँदैन । लोकतन्त्र भनेको जनताले नै चासो राखेर निर्माण गर्ने संयन्त्रबाट शासित हुने प्रक्रिया हो । यसकारण लोकतन्त्रको प्रत्यक्ष अपेक्षा नागरिकको भूमिकासँग नै बढी हुन्छ । नागरिकलाई यो भूमिका निर्वाह गर्नसक्ने बनाउने भनेको स्वतन्त्र मिडिया नै प्रमुख तत्व हो ।
