आत्मनिर्भर लघुवित्तको नाफा चार करोड २० लाख
अमरराज आचार्य
दाङ, ८ वैशाख । घोराही–१५ मा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड बढी खुद नाफा गरेको छ । संस्थालो आर्थिक वर्ष २०८२÷०८३ को फागुन महिनासम्मा चार करोड २० लाख ७६ हजार छ सय ५० रुपैयाँ खुद नाफा गरेको हो ।
अघिल्लो आर्थिक वर्ष ०८१÷०८२ को फागुन मसान्तसम्म एक करोड ६० लाख ८५ हजार आठ सय ८० रुपैयाँ नाफा गरेको थियो । यस वर्ष सञ्चालन मुनाफा चार करोड २० लाख ७६ हजार छ सय ५० रुपैयाँ गरेको छ । संस्थाले यस वर्ष फागुन मसान्तसम्ममा १२ हजार तीन सय ९४ जना ऋणीलाई १५ अर्ब १६ करोड ५२ लाख ५८ हजार दुई सय ५० रुपैयाँ लगानी गरेको संस्थाका अध्यक्ष मिरा चौधरीले जानकारी दिइन् ।
उनका अनुसार संस्थाको लगानीमा रहेको कर्जा एक अर्ब ७१ करोड नौ लाख नौ हजार नौ सय २७ रुपैयाँ रहेको छ । सदस्यको बचत निपेक्ष एक अर्ब छ करोड ७० लाख ४६ हजार छ सय ९९ रुपैयाँ रहेको छ । फागुनसम्ममा व्याज आम्दानी १४ करोड नौ लाख २९ हजार तीन सय २१ रुपैयाँ, अन्य आम्दानी चार करोड ५५ लाख ६५ हजार एक सय २० रुपैयाँ गरेको छ ।
जसमा व्याज खर्च चार करोड ९६ लाख १५ हजार आठ सय ९० रुपैयाँ, कर्मचारी खर्च तीन करोड ३४ लाख ५१ हजार चार सय ७४ रुपैयाँ खर्च भएको अध्यक्ष चौधरीले बताइन् । यसैगरी अन्य सञ्चालन खर्च ७३ लाख ३४ हजार पाँच सय ८५ रुपैयाँ भएको छ । कर्जा नोक्सानी व्यवस्थापनमा १९ करोड ७० लाख २५ हजार आठ सय सात रुपैयाँ खर्च भएको छ । संस्थाले २१ शाखामार्फत् ३७ हजार चार सय ९९ जना ग्राकहलाई सेवा दिइरहेको जनाएको छ ।
संस्थाले कारोबारमा असर पारेका मुख्य समस्याका रुपमा एक व्यक्तिले धेरै लुघुवित्त संस्थाबाट कर्जा लिई कर्जाको सदुपयोग नगर्ने प्रवृत्तिबाट उत्पन्न हुने जोखिमहरू, बैंक तथा वित्तीय संस्थाहरूको तरलतामा सङ्कुचन आउँदा संस्थाले प्राप्त गर्ने थोककर्जाको वित्तीय स्रोतमा हुन सक्ने कमीबाट उत्पन्न समस्या, देशमा आकस्मिक रूपमा आउन सक्ने घटना र लघु वित्तीय क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्जा अनुशासनमा नकारात्मक प्रभाव पर्ने भई भाका नाघेको कर्जाको मात्रा अत्यधिक बढेको जनाएको छ ।
देशको आर्थिक, मौद्रिक तथा वित्तीय नीतिलगायत नेपाल राष्ट्र बैंकले गर्ने निर्देशनको अप्रत्याशीत परिवर्तन सिर्जना हुन सक्ने असर, प्राकृतिक प्रकोपको जोखिमका कारण कारोबारमा असर पुग्ने गरेको अध्यक्ष चौधरीले बताइन् ।
संस्थाको १४.२५ प्रतिशत बोनस पारित
संंस्थाले बोनस वितरण गर्ने भएको छ । संस्थाको सातौँ साधारण सभाले शेर लगानीको १४ दशमलव २५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको हो । संस्थाले चुक्ता पुँजी सात करोड ८३ लाख ४३ हजार दुई सय रुपैयाँको ८१ दशमलव ५० को १४ दशमलव २५ प्रतिशतले हुन आउने रकम एक करोड ११ लाख ६३ हजार नौ सय १७ रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ ।
यसैगरी चुक्ता पुँजीको शून्य दशमलव ७५ प्रतिशतले हुन आउने पाँच लाख ८७ हजार पाँच सय ७४ रुपैयाँ ६१ पैसा नगद लाभास कर प्रयोजनमा खर्च गरिने भएको छ ।
संस्थाको सातौँ साधारणसभा
आत्मनिर्भर लघु वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले नागरिकलाई घर घरसम्म पुगेर विनाधितो कर्जा प्रदान गरेर उद्यमशीलतामा जोड्न सहयोग पु¥याएको बताएका थिए ।
उनीहरूले संस्थाले महिलालाई उद्यमशीलता विकाससँगै आर्थिक आयआर्जनमा जोड्न भूमिका निर्वाह गरेको बताए । यस कार्यलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरी, सञ्चालक समिति सदस्य कृष्णबहादुर खत्रीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा संस्थाको अवस्थाबारे आन्तरिक लेखा परीक्षक निर्मल चौधरीले जानकारी गराएका थिए । कर्जा विभाग प्रमुख सुशील गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।
