Goraksha

National Daily

किसानलाई प्रोत्साहन गर्ने काम राज्यकोबाट भएको छ : कार्यालय प्रमुख भण्डारी [अन्तर्वार्ता]

जिल्लामा पछिल्लो समय व्यवसायीकरण बढ्दै गएको छ । व्यवसायीकरण बढ्दै गएपछि कृषिजन्य उत्पादन समेत वृद्धि हुँदै गएको छ । व्यक्ति, समूह, सहकारीमार्फत् कृषिमा लगानी बढ्दै गएको छ । किसानलाई कृषि क्षेत्रमा आकर्षण बढाउनका लागि राज्यको तर्फबाट समेत सहयोग हँुदै आएको छ ।

पछिल्लो समय जिल्लाका खाद्यान्न, तरकारीमा करिब आत्मनिर्भर बन्न सकेको छ भने नयाँ–नयाँ फलफूलको व्यवसायीक रुपमा खेती हुँदै गएको छ । यसै सन्र्दभमा जिल्लामा कृषि क्षेत्रका सम्भावना र चुनौतीका बारेमा कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको गरेको कुराकानीको सार संक्षेप ।

— दाङ जिल्लामा खाद्यबाली, तरकारी खेती, फलफूल खेती तथा अन्य नगदे बाली उत्पादनको पछिल्लो अवस्था कस्तो पाउनु भएको छ ?

दाङ जिल्लामा पछिल्लो समय कृषि उत्पादनमा सुधार देखिएको छ । विशेष गरी तरकारी, फलफूल (केरा, ड्रागन फल) र तेलहन बाली (जस्तै तोरी), खाद्यान्न बालीमा (धान र मकै) र महको उत्पादन बढ्दो क्रममा छ । व्यावसायिक खेतीतर्फ किसान आकर्षित भइरहेका छन्, तर अझै पूर्ण रूपमा आधुनिक प्रविधि अपनाउन बाँकी छ ।

— किसानको सधैको गुनासो भनेको उत्पादित कृषि उपजलाई बजारीकरण र भण्डारणको नितान्त समस्या छ भन्ने छ । यसको सुनुवाइ र सम्बोधन कुन–कुन निकायबाट हुन सक्ला जस्तो लाग्छ तपाईलाई ?

किसानले उत्पादन गरेको सम्पूर्ण कृषि उपज राज्यले खरिद गरिदिने व्यवस्था व्यवहारिक रूपमा सम्भव देखिँदैन । त्यसैले किसानले नै बजारको माग अनुसार उत्पादन गर्ने बानी विकास गर्न आवश्यक छ । यसका लागि वार्षिक उत्पादन योजना तयार गरी व्यावसायिक रूपमा खेती गर्नु जरुरी छ । यस प्रक्रियामा कृषि ज्ञान केन्द्र प्राविधिक सेवा, तालिम तथा आवश्यक परामर्श दिन तयार भए पनि जनशक्ति अभावका कारण प्रत्येक किसानको घरमै सेवा पु¥याउन कठिनाइ रहेको छ ।

त्यसैले किसान स्वयम् पनि प्राविधिकसँग समन्वय गर्दै आवश्यक सल्लाह लिन अग्रसर हुनुपर्छ । भण्डारणसम्बन्धी चुनौती हाल सञ्चालनमा रहेका सित भण्डार तथा सङ्कलन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । यसका मुख्य कारणः कृषि बाली अनुसार फरक–फरक तापक्रम र सापेक्षिक आद्रता आवश्यक हुनु, निर्माण भएका संरचना सबै प्रकारका बालीका लागि उपयुक्त नहुनु, सञ्चालन तथा व्यवस्थापनमा प्राविधिक तथा आर्थिक कठिनाइ हुनु यसकारण विभिन्न कृषि वस्तुका लागि फरक(फरक तापक्रम र सापेक्षिक आद्रता आवश्यक पर्ने भएकाले सित भण्डार लार्ई बहुकक्षीय तथा नियन्त्रित वातावरणयुक्त सहितको संरचना निर्माण गर्नुपर्ने देखिएको छ ।

समाधानका लागि जिम्मेवार निकाय यो समस्याको सुनुवाइ तथा समाधानका लागि निम्न निकायको समन्वय आवश्यक देखिन्छः स्थानीय तह (गाउँपालिका÷ नगरपालिका), सङ्कलन केन्द्र सञ्चालन र व्यवस्थापन, साना भण्डारण संरचना निर्माणमा सहयोग, सहकारी संस्था, सामूहिक सङ्कलन, भण्डारण र बजारीकरण, किसानलार्ई उचित मूल्य सुनिश्चित गर्न सहजीकरण, निजी क्षेत्र (एग्रो कम्पनी), बजार सुनिश्चितता, प्रशोधन उद्योग स्थापना र सप्लार्ई चेन विकास, प्रदेश तथा सङ्घीय सरकार बहुउपयोगी शित भण्डार तथा गोदाम निर्माण, कृषि बजार पूर्वाधार विकास, नीति, अनुदान तथा सहुलियत कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।

कृषि उपजको बजारिकरण र भण्डारण समस्या समाधान गर्न राज्य, निजी क्षेत्र, सहकारी र किसान बिचको सहकार्य अनिवार्य छ । साथै किसानलार्ई बजारमुखी उत्पादन, प्रविधिको प्रयोग र सामूहिक पहल तर्फ उन्मुख गराउन सकेमा दीर्घकालीन समाधान सम्भव हुन्छ ।

— समग्र तथ्याङ्क विश्लेषण गर्दा दाङ जिल्ला खाद्यान्न, फलफूल र तरकारीमा आत्मनिर्भर हुन सकेको देखिन्छ ?

समग्र तथ्याङ् हेर्दा दाङ धेरै हदसम्म आत्मनिर्भर बन्दै गएको देखिन्छ, विशेष गरी तरकारीमा पूर्ण रुपमा आत्मनिर्भर भई वार्षिक ९४ करोडको तरकारी निर्यात हुने अनुमान गरिएको छ । तोरी र महमा पनि आत्मनिर्भर भएका छौँ । खाद्यान्न बाली अन्तर्गत धानमा आत्मनिर्भर समेत भएर निर्यात भएको छ । मकैमा आत्मनिर्भर नजिक छौँ तर पूर्ण आत्मनिर्भरता भने अझै हासिल भएको छैन, केरा र ड्रागन फलको उत्पादन बढी भए तापनि फलफूल लगायत केही अन्य कृषि वस्तु बाहिरबाट आयात गर्नु पर्ने अवस्था छ ।

— व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्रका चालु आर्थिक वर्षमा के कति कार्यक्रम रहेका छन् ?

कृषि ज्ञान केन्द्रमार्फत् चालु आर्थिक वर्षमा सघन बाली विशेष तरकारी र तोरी उत्पादन कार्यक्रम, उत्पादन प्रवद्र्धन कार्यक्रम, सिँचाइ विकास कार्यक्रम, केरा खेती प्रवद्र्धन कार्यक्रम, व्यवसायिक तरकारी प्रवद्र्धन कार्यक्रम, लक्षित वर्ग विशेष आय आर्जन कार्यक्रम, महिला लक्षित उन्नत किट विकास कार्यक्रम, रैथानेबाली संरक्षण कार्यक्रम, बजारीकरण प्रवद्र्धन कार्यक्रम, स्वस्थ बाली वस्तु उत्पादन कार्यक्रम, प्राङ्गारिक उत्पादन, प्रमाणीकरण र बजारीकरण कार्यक्रम, जलवायु अनुकुलन कार्यक्रम, किसान तालिम तथा प्राविधिक सहयोग, अनुदानमा कृषि उपकरण वितरण, बाली बीमा तथा संरक्षण कार्यक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

— नेपाललाई अझै पनि कृषि प्रधान देश भनिन्छ, तर व्यवसायिक किसान पलाईन भइरहेको अवस्थाले हामी कृषिमा पनि परनिर्भर हुनु परेको छ नी ? के कृषि व्यवसायमा आश्रतको सङ्ख्या घटेको हो ?

नेपाल अझै पनि कृषि प्रधान देश मानिन्छ । तथापि पछिल्लो समय व्यावसायिक किसान अन्य पेसा तथा वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा कृषि क्षेत्रमा संलग्न जनशक्तिमा केही कमी आएको देखिन्छ । यसले गर्दा कृषि क्षेत्रमा चुनौती थपिएको छ तर दाङ जिल्लाको सन्दर्भमा हेर्दा करिब एक लाख एक हजार किसान संलग्न रहेको अवस्था छ, जसले कृषि क्षेत्र अझै सक्रिय रहेको देखाउँछ ।

साथै, पछिल्लो समय विशेषगरी युवा किसान जग्गा भाडामा लिएर व्यावसायिक रूपमा खेती गर्ने प्रवृत्ति बढ्दो क्रममा छ, जुन सकारात्मक सङ्केत हो । आजको अवस्थामा कृषिमा संलग्न व्यक्तिको सङ्ख्या मात्र महत्वपूर्ण होइन, उत्पादनको परिमाण र उत्पादकत्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ । थोरै किसानले आधुनिक प्रविधि अपनाई ठूलो क्षेत्रफलमा उत्पादन वृद्धि गर्न सकेमा समग्र आवश्यकता पूरा गर्न सकिन्छ । त्यसैले अनिवार्य रूपमा धेरै किसान सङ्ख्या हुनैपर्छ भन्ने होइन, बरु व्यावसायिक, प्रविधिमैत्री र बजारमुखी कृषि प्रणाली विकास गर्नु आवश्यक देखिन्छ ।

— पछिल्लो समयमा दाङ जिल्लाका विभिन्न स्थानमा अर्गानिक खेतीको अभ्यास पनि सुरु भएको छ, पूर्ण अर्गानिकको सर्टिफिकेट पाउन कति समय लाग्ला ?

हाल दाङ जिल्लाका विभिन्न स्थानमा प्राङ्गारिक खेतीको अभ्यास सुरु भएको छ । तथापि, पूर्ण रूपमा प्राङ्गारिक प्रमाणपत्र प्राप्त गर्नु हाम्रो तत्कालीन प्रमुख प्राथमिकता भने होइन । हाम्रो मुख्य लक्ष्य भनेको स्वस्थ तथा सुरक्षित खाद्य उत्पादन गर्नु, रोजगारी सिर्जना गर्नु र किसानको जीवनस्तर सुधार गर्नु हो । सबै क्षेत्रमा एकै पटक प्राङ्गारिक उत्पादनमा जानु व्यवहारिक रूपमा सम्भव छैन ।

यस सन्दर्भमा प्राथमिक ध्यान निम्न कुरामा केन्द्रित गरिएको छः रासायनिक विषादीको प्रयोग क्रमशः घटाउँदै लैजाने, किसान र उपभोक्तालार्ई विषादीको असरबारे सचेत गराउने, सुरक्षित र गुणस्तरीय उत्पादनलार्ई प्रवद्र्धन गर्ने, यी कार्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा नै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । दीर्घकालीन रूपमा भने कलस्टर आधारमा प्राङ्गारिक खेती विकास गर्ने योजना अघि बढाउन सकिन्छ । यस्तो प्रणालीमा पूर्ण प्राङ्गारिक प्रमाणपत्र प्राप्त गर्न कम्तीमा ३ वर्षसम्मको समय लाग्ने देखिन्छ ।

— मौरीपालक किसानको गुनासो दाङको महले गुणस्तर चिन्ह प्राप्त गर्न सकेन भन्ने छ, यसमा खास समस्या के देख्नु हुन्छ ?

दाङ जिल्लामा मौरीपालक किसानले गुणस्तर चिन्ह प्राप्त गर्न नसक्नुको मुख्य कारण सम्बन्धित आवश्यक मापदण्ड पूरा गर्ने प्रणालीगत पहलको अभाव हो, र हालसम्म यस विषयमा कुनै निकायले पर्याप्त रूपमा काम गर्न सकेको देखिँदैन । गुणस्तर चिन्ह प्राप्त गर्नका लागि असल मौरीपालन अभ्यास, अवशेष अनुगमन योजना तथा किसान दर्ता जस्ता महत्वपूर्ण कार्य अनिवार्य रूपमा लागू गर्नुपर्छ ।

किनकि यी आधार पूरा भएपछि मात्र उत्पादनको गुणस्तर सुनिश्चित भई प्रमाणीकरण प्रक्रिया अघि बढ्न सक्छ । यस अवस्थालार्ई सुधार गर्न कृषि ज्ञान केन्द्रले आगामी आर्थिक वर्षबाट आवश्यक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ, जसले मौरीपालन क्षेत्रलार्ई व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

— दाङलाई खासगरी कुन कृषि बालीमा स्पेशल जोनका रूपमा विकास गर्न सकिएला ?

दाङ जिल्ला कृषि उत्पादनका दृष्टिकोणले लुम्बिनी प्रदेशको एक महत्वपूर्ण जिल्ला हो । यहाँ उत्पादन हुने तोरी र महले राष्ट्रिय स्तरमै आफ्नो ब्यान्ड स्थापित गरिसकेका छन्, र यदि गुणस्तरलार्ई अझै सुनिश्चित गर्न सकिएमा भविष्यमा विदेशी बजारसम्म निर्यात गर्ने सम्भावना पनि उच्च छ । साथै, अन्य बालीमा तरकारी, केरा तथा आलुलार्ई विशेष उत्पादन क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ, जसले जिल्लाको कृषि अर्थतन्त्रलार्ई थप सुदृढ बनाउन सहयोग पु¥याउने छ ।

— अन्तमा जिल्लाका आम किसानलाई केही भन्न चाहनु हुन्छ ?

दाङ जिल्लामा किसानले असुरक्षित तरिकाले विषादी प्रयोग गरिरहेका छन्, जसले स्वास्थ्य र वातावरणमा गम्भीर असर पारेको छ । यसलाई न्यूनीकरण गर्न आवश्यक छ । पहिला बालीको समस्या पहिचान गरेर मात्र सुरक्षित तरिकाले विषादी छरौँ र कृषि प्राविधिकसँग निरन्तर परामर्श गर्दै खेती गरौँ ।

किसानले बजारको माग र आवश्यकता अनुसार उत्पादन योजना बनाएर खेती गरेमा बजारीकरणमा समस्या आउँदैन । जग्गा बाझो नराखी धान, मकै, तरकारी, तोरी, मुसुरो, केरा, ड्रागन फल र मौरीपालन जस्ता बालीमार्फत् रोजगारी सिर्जना गर्न सकिन्छ, जसले किसानको आत्मनिर्भरता र आर्थिक स्थायित्व सुनिश्चित गर्छ ।

कृषिमा लागियो भने खाडी मुलुकमा कमाउने पैसा आफ्नै खेतबारीबाट सजिलै कमाउन सकिन्छ त्यसका लागि व्यावसायिक कृषि अपनाउनै पर्छ । सबै किसान दाजुभाइ तथा दिदीबहिनीलार्ई उदाहरणीय किसान बन्ने, स्वस्थ उत्पादन गर्ने र स्वस्थ जीवन जिउने लक्ष्य अपनाउन अनुरोध गर्दछु । यसो गर्दा मात्र दाङको कृषि क्षेत्र सुरक्षित, उत्पादनशील र लाभदायक बन्ने छ । सबै किसान र सरोकारवालाले साझा प्रयास गर्दै दाङको कृषि क्षेत्रलार्ई सुरक्षित, उत्पादनशील र समृद्ध बनाऔँ ।