सुशासन र विकासमार्फत् मतदाताका अपेक्षा पूरा गर्नेछु : प्रतिनिधि सभा सदस्य पाठक
२०२२ चैतमा दाङको गढवा गाउँपालिका–६ गढवामा जन्मिएका देवराज पाठक तीन दशकभन्दा बढी समय शिक्षण पेसामा आवद्ध रहे । जीवनको उत्तराद्र्धमा नयाँ राजनीतिक शक्तिसँग जोडिएका पाठक राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा रहेका छन् । समाजशास्त्र र सामाजिक मूल्य विषयमा स्नातकोत्तर गरेका पाठकले २५ वर्ष विद्यालयमा शिक्षण गर्नुका साथै सात वर्ष गढवा बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।
सामाजिक सेवासँगै साहित्य लेखनमा रुचि राख्ने पाठक २०७९ सालको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । तर, उक्त निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार मेटमणि चौधरीसँग पराजय भोगेको पाठकले करिब तीन वर्षपछि फागुन २१ गते भएको निर्वाचनमा विजयी हुँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित देवराज पाठकसँग गोरक्ष दैनिकका लागि लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।
आफ्नो जितलाई कसरी लिनुभएको छ ?
सर्वप्रथम म दाङ निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । उहाँहरूले विश्वास गरेर अमूल्य मत प्रदान गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउनुभएको छ । यस क्षेत्रमा लामो समय राजनीति गर्नुभएका, मन्त्री समेत भइसकेका उम्मेदवारलाई नचुनेर मतदाताले नयाँ उम्मेदवारलाई रोज्नु पुराना दलप्रति जनताको वितृष्णाको सङ्केत हो । नयाँ शक्तिलाई विश्वास गर्नु भनेको देशले हरेक मुद्दामा जितोस् भन्ने जनचाहना पनि हो । जनताले हामीप्रति सुशासन कायम गर्दै विधिको शासनमार्फत् देशलाई समृद्ध बनाउने आशा राखेर जिताउनुभएको छ । जनताको आशालाई निराशा हुन नदिने गरि काम गर्नेछु ।
निर्वाचनका क्रममा क्षेत्र नं. १ का विभिन्न ठाउँहरूमा जानुभयो। आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि गर्नुपर्ने कामहरू के–के देख्नुभएको छ ?
दाङ क्षेत्र नं. १ देउखुरी क्षेत्र हो, जहाँ लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसँगै भारतीय सीमावर्ती भूभाग रहेको छ । क्षेत्र नं. १ मा समस्याका चाङ् रहेका छन्, विकासका लागि धेरै काम गर्नु पर्ने छन् । प्रदेश राजधानी समेत रहेको देउखुरी क्षेत्रमा उपचारका लागि सुविधा सम्पन्न राम्रो अस्पताल छैन ।
कृषिको राम्रो सम्भावना भए पनि किसानले समयमा मलबिउ नपाउँदा समस्या भोगिरहेका छन् । भरपर्दो सिँचाइ व्यवस्था छैन । सीमावर्ती क्षेत्रका नागरिक अझै बाह्रै महिना चल्ने राम्रो बाटो छैन, खानेपानी, विद्युत् र इन्टरनेटबाट वञ्चित छन् । सीमा क्षेत्रका कतिपय ठाउँमा अहिले पनि नागरिकले खोलाको पानी पिउनु पर्ने बाध्य छ । पढ्नका लागि राम्रो विद्यालय छैन र भने बिरामी हुँदा भारतीय बजारको भर पर्नु पर्ने बाध्यता छ ।
त्यसैगरी नेपाल(भारत सीमामा रहेको कोइलाबास नाका पूर्ण रूपमा सञ्चालन गर्नेदेखि विभिन्न क्षेत्रमा सडक विस्तार, पुल निर्माण, सडक कालोपत्रे गर्नु पर्ने सिँचाइ कुलो निर्माणलगायतका काम रहेका छन् । यी मागहरूलाई प्राथमिकरण गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने गरी लाग्नेछु । मोही र ऐलानी बस्तीको समस्या समाधान गर्दै नागरिकलाई लालपुर्जा उपलब्ध गराउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नेगरी योजना बनाउने छु । क्षेत्र नं. १ का जनताले भोग्दै आएका समस्याहरूलाई प्राथमिकरण गरेर पाँच वर्षको अवधिमा कसरी पूरा गर्न सकिन्छ भनेर लाग्ने छु । त्यसका लागि पार्टी नेतृत्व, मतदातासँग छलफल गरेर अघि बढ्ने छु ।
निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता कसरी पूरा गर्नुहुन्छ ?
निर्वाचनका क्रममा जनतासँग गरेका कतिपय प्रतिबद्धता तत्काल पूरा गर्न सकिने छन् भने केहीलाई समय लाग्न सक्छ । आफ्नो क्षेत्रमा भएका समस्याहरू निर्वाचनका क्रममा जनताको घरदैलोमा जनता अनुभव गरेको छु । त्यी समस्यालाई प्राथमिकरण गरेर समाधानका लागि पहल गर्नेछु । नागरिकले वर्षौँदेखि भोग्दै आएका समस्या संसदबाट समस्याहरू उजागर गर्दै समाधानका लागि पहल गर्नेछु ।
कोइलाबास नाका दुई देश बिचको कूटनीतिक पहलमार्फत् समाधान गर्न सकिने भएकाले त्यसका लागि पहल गर्नेछु । सही नियतका साथ सही नीति बनाउन सकियो भने जनअपेक्षाहरू क्रमश ः पूरा गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । जनताको सेवा गर्ने उद्देश्यले नै जागिरे जीवनबाट अवकाश लिएर राजधानीमा जोडिएको हुँ । विगतदेखि नै सामाजिक सेवाका कार्यमा सक्रिय रूपमा लाग्दै आएको थिए ।
निर्वाचनबाट जनताका समस्या समाधानका लागि पहल गर्ने ठाउँमा निर्वाचित भएको छु, पक्कै पनि आफ्नो भूमिकालाई सशक्त रूपमा निभाउने गरी लाग्ने छु । त्यसका लागि सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने छु ।
संसदमा पुग्नुभएको छ, जनताका कुरा प्रभावकारी रूपमा उठाउन कस्तो भूमिका खेल्नुहुन्छ ?
पक्कै पनि जनताका समस्याप्रति सजक हुनेछु । देश र जनतासँगै दाङ क्षेत्र नं. १ का समस्याहरू उठाउने छु । नीतिगत सुधारका विषयमा सक्रिय रूपमा लाग्ने छु । लामो समय शिक्षण पेसामा आवद्ध भएकाले शिक्षा क्षेत्रको सुधारसँगै सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास बढाउने गरी काम गर्ने छुँ । कुनै समय देशकै मुख्य भन्सारका रूपमा रहेको कोइलाबास नाकालाई पूर्ण रूपमा सञ्चालनका लागि पहल गर्नेछु । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म सडक, शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत सेवा पु¥याउन संसदमा निरन्तर आवाज उठाउने छुँ । नयाँ भएकाले सुरु–सुरुमा समस्या हुन सक्छ तर सबैको साथ र सहयोग लिएर अघि बढ्ने छँु ।
मतदाताको निर्वाचनका क्रममा नेता मत माग्न गाउँमा आउने तर निर्वाचन जितेपछि गाउँ फर्किदैनन् भन्ने धेरै गुनासो आउँछ, तपाईले यो गुनासोलाई कसरी लिनुहुन्छ ?
पक्कै पनि धेरै ठाउँमा मतदाताको गुनासो निर्वाचन जितेपछि नेताहरू गाउँ फर्किदैनन् भन्ने छ । मैले निर्वाचनका क्रममा गाउँ–गाउँ जादा पनि यो समस्या सुनेको छु । पक्कै पनि निर्वाचत जितेपछि नेता गाउँमा नफर्किदा यो समस्या उठेको हो । मैले मेरो क्षेत्रका मतदातालाई त्यो समस्या पर्न दिने छैन । भूगोलका रूपमा ठुलो समस्या भए पनि समय मिलाएर जनताका समस्या बुझ्नका लागि गाउँ–गाउँमा पुग्ने छु । जनतासँग अन्तरक्रिया गर्ने छु र जनताका समस्या समाधानका लागि ध्यान दिने छु । सकेसम्म मैले मतदातालाई गुनासो गर्ने ठाउँ नदिने गरी काम गर्ने छु । निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने छु । मतदातासँग अन्तरक्रिया गर्ने छुँ ।
तपाईंलाई विश्वास गरेर मत दिनुभएका मतदातालाई के भन्न चाहनुहुन्छ ?
जनताले जुन आशा र विश्वासका साथ मतदान गरी मलाई जिताउनुभएको छ, त्यसलाई व्यवहारमा परिणत गर्ने गरी मैले काम गर्नेछु । जनताले देखाउनुभएको आशालाई व्यवहारमा उर्तार्ने गरी क्षेत्र नं. १ र समग्र दाङको विकासका लागि पहल गर्ने छु परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा मतदान गरेर जिताउनुभएको छ । जनताले देख्नुभएको आशालाई व्यवहारमा रूपान्तरण गर्नु नै मेरो मुख्य जिम्मेवारी हुने छ ।
अन्त्यमा के भन्न चाहानुछ ?
मतदाताले दाङ क्षेत्र नं. १ को विकाससँगै नीति निर्माण तहमा भूमिका निर्वाचन गर्नका लागि मलाई जिताउनुभएको छ । त्यसका लागि क्षेत्र नं. १ का आदरणीय मतदाता ज्यूहरूलाई धेरै– धेरै धन्यवाद दिन चाहान्छु । म र मेरो पार्टीप्रति जनताले दिनुभएको अपार मायालाई सम्झिँदै आगामी दिनमा विकास निर्माणका लागि काम गर्ने छु ।
निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धतासँगै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि दाङ क्षेत्र नं. १ को विकासका लागि खेल्न सक्ने भूमिका विषयमा आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा तपाईलाई र तपाईको पत्रिकालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
