Goraksha

National Daily

मेरो खुसी : दीर्घ सेवा पदक पाउँदाको क्षण…

सरल, शान्त र सबैसँग मिलनसार स्वभावका धनी गणेशराज श्रेष्ठको शिक्षा, व्यापार व्यवसायसँगै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । सामाजिक क्षेत्रअन्तर्गत नेपाल परिवार नियोजन संघमा आवद्ध भएका श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०५२ सालमा नेपाल परिवार नियोजन दाङ शाखाको आजीवन सदस्यता प्राप्त गरेका श्रेष्ठ २०५५ सालमा जिल्ला शाखा दाङको कोषाध्यक्ष बनेका थिए । त्यसपछि जिल्ला शाखा दाङको सचिव, सभापति हुँदै नेपाल परिवार नियोजन संघको दुई कार्यकाल केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका उनले यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा लामो समय योगदान गरेका छन् ।

लामो समय परिवार नियोजन संघको महत्वपूर्ण पदमा बसेर यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा गरेको योगदानको मुूयाङ्कन गर्दै नेपाल परिवार नियोजन संघको भर्खरै गण्डकी प्रदेशको बाग्लुङमा सम्पन्न भएको केन्द्रीय सभाले श्रेष्ठलाई दिर्घ सेवा पदकबाट सम्मान गरेको थियो । करिव तीन दशकदेखि आफु आवद्ध रहेको नेपाल परिवार नियोजन संघले प्रदान गर्दै आएको ‘दिर्घ सेवा पदक’बाट सम्मानित हुँदा पाउँदाको क्षण आफ्नो जीवनको ठूलो खुसीको क्षण भएको श्रेष्ठ बताउँछन् । उनी दीर्घ सेवा पदकबाट सम्मानित हुने दाङका पहिलो व्यक्ति हुन् ।

करिब २४÷२५ वर्ष शिक्षा क्षेत्रमा संलग्न रहेका श्रेष्ठको घोराही उपमहानगरपालिका–१४ नयाँ बजारस्थीत रहेको शुभप्रभात माध्यामिक विद्यालयको सस्थापनादेखि अहिलेको अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण भूमिका रहेको छ । बजार क्षेत्रमा दिनभरी काम गरिखाने र बिहानको फुर्सदको समयमा अध्ययन गर्ने उद्देश्य अनुसार स्थापना भएको शुभप्रभात मावि (तत्कालिन रात्री रझेना मावि) मा १७ वर्ष योगदान गरेका श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

विद्यालयमा शिक्षक, विद्यालयको प्रधानाध्यापकसँगै अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेका श्रेष्ठले सवैसँग समन्वय र सहयोग माग्दै विद्यालयको सुधारका लागि काम गरेका थिए । तत्कालीन समयमा ३०÷३५ जना विद्यार्थीले अध्ययन गर्ने गरेको विद्यालय अहिले ६ सय बढी विद्यार्थीले अध्ययन गर्ने अवस्थामा पुग्नु आफ्नो लागि खुसीको कुरा भएको भन्दै श्रेष्ठले भने,‘विद्यालयलाई यो अवस्थासम्म ल्याउनका लागि पूर्व शिक्षक, शिक्षिक, विद्यार्थीसँगै अभिभावक, जनप्रतिनिधि र सामाजिक व्यक्तिहरूको महत्वपूर्ण योगदानका कारण अहिलेको अवस्था बनेको छ । विद्यालय यो अवस्थामा आइपुग्नु सबैको खुसीको करा हो ।’

करिब साढे दुई दशक बढी शिक्षा क्षेत्रमा योगदान गरेका श्रेष्ठलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गरेर सरकारले २०७१ सालमा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरेको थियो । सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्दाको क्षण आफ्ना खुसीको क्षण भएको उनी बताउँछन् । शिक्षा क्षेत्रमा लामो समय योगदान गर्ने शिक्षकहरूलाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।

त्यो पुरस्कारका लागि छनोटमा पर्दा संयोगले म काठमाडाँैमा थिए’,श्रेष्ठले भने,‘म काठमाडौँमा रहेको समयमा दाङबाट तत्कालीन नेपाल शिक्षक संघका अध्यक्ष शंकरदिवस मजगैयाले मलाई फोन गरेर राष्ट्रिय शिक्षा पुरस्कारका लागि छनोटमा परेको सुनाउनु भएको थियो, गुरुले चेलालाई पुरस्कृत भएको खबर सुनाउँदाको त्यो क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो ।’ गुरुबाट राष्ट्रिय शिक्षा पुरस्कारका लागि छनोट भएको त्यो क्षण सधैभरी मेरो सम्झनामा रहने गरेको छ ।

शिक्षा क्षेत्रमा अघि बढाउनका लागि शिक्षासँगै प्रेरणा दिने गुरुका रूपमा मजगैयास्ाँगै नेपाल शिक्षक संघ दाङका संस्थापक अध्यक्ष विनोद पोख्रेल लगायतका रहनुभएको भन्दै उहाँहरूप्रति सधै सम्मान हुने बताउँछन् । घोराही उप महानगरपालिका–१४ बालविकास माध्यामिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका श्रेष्ठले ५ देखि ६ कक्षासम्म काठमाडौँस्थित सेन्ट जेभियर कलेज (तत्कालीन सेन्टजोसेफ) मा अध्ययन गरेका थिए । त्यसपछि दाङ फर्किएका श्रेष्ठले घोराहीस्थीत पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयबाट २०३२ सालमा एलएलसी पास गरेका थिए । एलएलसी पासपछि नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायमा भर्ना भएका श्रेष्ठले २०३७ सालमा प्रविणता प्रमाणपत्र तहमा अङ्क ल्याएर पास गर्दाको क्षणलाई अर्काे खुसीका क्षणका रूपमा लिने गर्दछन् ।

अध्ययनका क्रममा विद्यालय तहमा मध्यम रहे पनि नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस तहमा अब्बल विद्यार्थीका रूपमा चिनिने गरेका श्रेष्ठले विगतको स्मरण गर्दै भन्छन्,‘क्याम्पस तहमा अध्ययन गर्दा पढाइमा मेहनत पनि थियो । त्यही मेहनतको परिणाम प्रविणता प्रमाणपत्र तह पास गर्दा क्याम्पस मै सबैभन्दा धेरै अङ्क ल्याएर पास भएपछि मलाई साथीले अविर टिकासहित क्याम्पसको प्राङ्गनमा बोकेर डुलाउँदाको क्षण सधै सम्झनामा आउने गर्दछ, त्यो पनि खुसीको क्षण हो ।’ त्यसपछि स्कलरसिपमा काठमाडौँस्थिीत सस्वती क्याम्पसमा डिप्लोमा अध्ययन गरेका श्रेष्ठले शंकरदेव क्याम्पसमा मास्टरस अध्ययनरत छन् ।

२०१४ फागुन १४ गते घोराही उपमहानगरपालिका–१५ भरतपुरमा बुबा अमरध्वज श्रेष्ठ र आमा राज्यलक्ष्मी श्रेष्ठको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका श्रेष्ठका पाँच भाइ र चार बहिनीहरू रहेका छन् । रेणु श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएका श्रेष्ठ दम्पत्तिबाट दुई सन्तान छोरा इन्जिनियर यशुश्र्वीराज श्रेष्ठ र छोरी डा. शुभेच्छ श्रेष्ठ रहेका छन् ।

शिक्षण सेवासँगै २०५७ सालदेखि उद्योग व्यवसाय क्षेत्रमा संलग्न रहेका श्रेष्ठले लमही नगरपालिका–८ सतबरियास्थीत श्री सत्यसाई संक्रिट पोल उद्योग, घोराही उपमहानगरपालिका–१६ गुर्जेखोलास्थीत सत्यसाई ह्मपाइप उद्योगसँगै घोराही–१५ भरतपुरमा श्री गणेश उद्योग एण्ड सप्लायर्स सञ्चालन गर्दै आएका छन् । श्री गणेश उद्योग एण्ड सप्लायर्सबाट घर तथा कार्यालयको कम्पाउण्ड सजावटका लागि ब्लक टाइल्स उत्पादन तथा बिक्री गर्ने काम गर्दै आएको बताउँछन् । उनी नेपाल शिक्षक संघ दाङको पूर्व जिल्ला कोषाध्यक्षलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।