जरा अभियान सफल बनाउन सहयोग आवश्यक
गोरक्ष समाचारदाता
दाङ, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा जरा अभियानकी प्रतिनिधि पवित्रा अर्यालले पार्टीले सञ्चालन गरेको ‘जरा अभियान’लाई सफल बनाउन सबै तह र तप्काका नेता, कार्यकर्ताले आआफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नु पर्ने बताएकी छिन् ।
सोमवार घोराहीमा महिला नेतृहरूसँगको भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य अर्यालले नेपाली कांग्रेस भित्रको आपसी असन्तुष्टि र मतभेद अन्त्य गर्दै एकअर्काको अस्तित्व स्वीकारेर कांग्रेस पुनःनिर्माणको काममा लाग्न अनुरोध गरिन् । देशमा बढ्दो बेथिति र भ्रष्टाचारका कारण वर्तमान राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै उनले नयाँ ढङ्गले पार्टी अघि बढाउने गरी सबै लाग्नु पर्नेमा जोड दिइन् ।
गठबन्धन राजनीतिले पार्टीलाई अपेक्षा अनुसार फाइदा नपु¥याएको भन्दै नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश, जनता र नेपाली कांग्रेस पार्टीका लागि काम गर्नु पर्ने उनले बताइन् । विगतमा स्वार्थका आधारमा बनाइएका क्रियाशील सदस्यताको विषयसमेत जरा अभियानमार्फत् सच्याउँदै अघि बढ्नु पर्ने बताइन् । पार्टीभित्रका विमति हटाउनु प्रमुख आवश्यकता भएको उल्लेख गर्दै जरा अभियान त्यसका लागि अवसर भएको बताइन् ।
नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, महिला नेतृहरू मायाकुमारी पोख्रेल, निरजा पोख्रेल, कृष्ण राना, सरस्वता घिमिरे, मन्जु बज्राचार्य, शान्ता घिमिरे, खुमा खड्का, विन्दु पाण्डेय, केशरा केसी, निर्मला गौतम रेग्मी, सीता आचार्य, रेखा केसी, रेखा बस्नेत, लक्ष्मी गिरी बस्नेत, उषा सुवेदी, नेपाल प्रेस युनियन केन्द्रीय उपमहासचिव सुलोचना गौतमले आफ्नो धारणा तथा जरा अभियानबारे केन्द्रीय प्रतिनिधिसँग जिज्ञासा राखेका थिए ।
