Goraksha

National Daily

सुखी होइन खुसी रोजौँ, अन्तरमनको सत्य जानौँ

नारायणप्रसाद श्रेष्ठ

अहिलेको वर्तमानलाई हेर्ने हो भने मानिसको मन बुद्धि र विवेक क्षणिक सुख र आनन्दभित्र रमाउन खोजिरहेको पाइन्छ । सुख र शान्तिको खोजिमा यताउता भौतारिरहेको देखिन्छ । मठ, मन्दिर, गिर्जाघरदेखि विभिन्न क्षेत्रतर्फ मानिसको दौडधुप बढिरहेको छ ।

छाडमछाड गरी त भन्दा म के कम भनी एक अर्कालाई उछिन्दै स्वार्थ केन्द्रित विचार प्रवाह गरिरहेको पाइन्छ । आफूभित्रको अन्तर सत्यलाई नखोजी बाह्य आवरणमा देखिने आडम्बर युक्त धरातलभित्रको सुखी जीवनको परिकल्पना गर्दै मै खाउ, मै लाउ, मै मोजमजा गरु भनी एकले अर्काको खुट्टा तानिरहेको देखिँदै छ ।

जीवनको गतिशिलता मा देखा पर्ने परिवेश को मूल्याङ्कन नगरी म जे गर्छु त्यो नै सबैभन्दा उपर्युक्त हो भनी व्यक्ति स्वार्थ केन्द्रित कर्मतर्फ मानिसको सोच बढेको छ । म होइन हामी भन्ने चिन्तन कमजोर छ । सुखी होइन खुसी रोज्नु पर्छ भन्ने सोच कमजोर छ । यस्तो परिस्थितिमा विचार दिगभ्रमित हुनु अस्वाभाविक होइन । तसर्थ सुखी होइन खुसी रोजौ, विविध गतिविधि गर्दै आफै पतित र कमजोर हुने परिस्थिति नबनाउ, शान्ति, सद्भाव कायम गर्ने चिन्तन बढाउ । समयको गति निरन्तर अघि बढिरहने सत्य नभुलौ । समयले पर्खदैन ।

प्रत्येक दिन आउने बिहानीले हिजोदेखि वर्तमान समयसम्मको २४ घण्टा बिताइसकेको हुन्छ । मिरमिरे उज्यालोसँगै सूर्यको किरणले मानिसको मन विचारलाई परिवर्तन गर्दै कर्म र व्यवहारमा खुसी र आनन्दको परिवेश सिर्जना गरिरहेको हुन्छ । जहाँ खुसी छ, त्यहाँ आनन्द छ । जहाँ आनन्द छ त्यहाँ सुख र शान्ति छ भनिरहेको हुन्छ । तर पनि मानिसको स्वार्थ केन्द्रित विचार र कर्मले उसलाई नकारात्मक प्रवृित उन्मुख बनाई भौतिक र क्षणिक आनन्दभित्र गुम्स्याइरहेको छ । विचारको विविधता र उथुलपुथुलले क्षणिक स्वार्थमा मानवीय चरित्र प्रदर्शन भइरहेको छ ।

मानव चेतनाभित्रको स्वार्थले भौतिक सम्पत्ति र धन दौलतलाई सुखद् क्षणको कल्पनासँगै समयको परिवर्तनलाई नबुझ्ने बनाइरहेको छ । हिजो जस्तै आजको सुखको कल्पना गर्दै विचार र कर्ममा स्वार्थलाई हाबी गराइरहेको अवस्था छ । भोलि आउने नयाँ बिहानीसँगै देखा पर्ने नयाँ पालुवालाई आफूले देखाउनु पर्ने दायित्व र जिम्मेवारी बिर्सी हिजोको अवस्था झै वर्तमानको पनि खुसी हुन्छ भन्दै मानिस दौडधुप गरिरहेछ । आफ्नो स्वार्थको लागि अरुको विचार लत्याउने र कुरा काट्ने प्रवृतिले प्रशय पाउने गरी मानव स्वभाव विकसित भइरहेको छ ।

आफ्ना भावना र विचार नै सर्वश्रेष्ठ मान्ने चरित्रले अरुको विचार र निस्वार्थलाई गिद्दे दृष्टि राख्ने र हिजो कुन परिस्थिति थियो, आज कुन परिस्थिति सिर्जना भइरहेको छ, पूर्खाले हिजो कति संघर्ष गरेर यो अवस्था आएको हो, त्यो कुरातर्फ पटक्कै ध्यान नदिई, कठाङ्गिने पुस माघको जाडो मा भांग्राको जोहो गर्न खोज्ने सोच राख्नु, आफ्नो जिम्मेवारीबोध नगर्नु यसले विचारमा स्खलन आउला नआउला ? आफ्नो आङमा भैंसी हिडेको नदेख्ने अरुको आङको जुम्रा देख्ने प्रवृतिले कस्तो अवस्था सिर्जना गर्ला ? अरुको सही र स्पष्ट विचार ग्रहण नगर्दा हुने परिणाम र आफ्ना विचार मात्रै लाद्ने प्रवृतिको कारण मानिस आफैले आफुलाई बरवादीको सङ्घारतर्फ धकेल्दै गरेको त होइन ? वर्तमानमा गम्भीर प्रश्न उठ्दै छ ।

छोरीलाई सोझो देख्ने र बुहारीलाई बांगो देख्ने सोचले के घर परिवार खुसी भएको कतै छ र ? इतिहासको प्रत्येक पाटोलाई र विगतदेखि वर्तमानसम्मको परिवर्तनलाई आत्मसात नगरी पुरानै सोच, मै खाउ, मै लाउ, मै मोज मजा गरु भन्ने सोच बढाउनु, वास्तवमा यो विडम्बना मान्नु पर्छ । क्षणिक सुखले दुःख निम्त्याउँछ भन्ने सत्यलाई बिर्सी मुते न्यानो गरी आफ्नो कपडामा आफैले पिसाव गर्नु कति उपर्युक्त होला ? तसर्थ आफूले आफैलाई गम्भीर समीक्षा गरी अरुको कुरा काटेर आफ्नो अन्तरमनको सत्य भुल्ने प्रवृति साच्चिकै वर्तमानमा देखिनु विडम्बना मान्नु पर्छ । यस्तो सोच र चिन्तन गर्नु भनेको गलत आचरणलाई स्वीकार गर्नु हो ।

यसलाई विडम्बना मान्न सकिन्छ । यस्तै सोच बढ्यो भने संस्कृति र संस्कारमा छाडापन नभित्रिएला भन्न सकिन्न । त्यसैले परिणाम आफैले भोग्नु पर्ने हो भने अहिलेदेखि नै हामी किन नसच्चिने ? आध्यात्मिक सत्यले परिमार्जित गरेको सामाजिक बनोट र चरित्र, खुसी र शान्तिमा हाम्रो सहभागिता किन सकारात्मक उन्मुख नबनाउने ? तसर्थ समय र जीवनको गतिशिलतालाई मध्यनजर राखी आफूले आफैलाई र अन्तरमनको सत्यलाई बुझौ । सनातन सत्यले भन्न खोजेको ‘ॐ सहना भवतु, सहनौ भुनक्तु, सहविर्य करवा वहै’ । तेजस्वी ना भवित् मस्तुमा विदुसा वहे । ॐ शान्ति ।

–हे ईश्वर हामी गुरु र शिष्य दुवैको रक्षा होस, हामीलाई एकसाथ मिलेर कार्य गर्ने शक्ति दिनुहोस्, हाम्रो ज्ञान अध्ययन प्रभावकारी भई हामी तेजस्वी बन्न सकौ, हामी एक अर्कालाइृ प्रेम गर्न सिकौ, घृणा द्वेष र वैरभाव नहोस् । सबैको लागि एक र एकको लागि सबै हुने हाम्रो चरित्र र विचार अगाडि बढ्न सकोस् । यसरी हामीले आफूले आफैलाई बुझी हिजो, आज र भोलिको अवस्थाको लेखाजोखा गर्ने क्षमता बढाउ, सुखको लालशमा नपरी खुसी हुने वातावरण बनाउ । अन्तर मनको सत्य चिनौ, व्यवहार मा आफूलाई उतारौँ । वर्तमान यही खोजिरहेछ । अस्तु ।