Goraksha

National Daily

एकीकृत समाजवादीको जिल्ला अधिवेशन फागुनमा

गोरक्ष समाचारदाता
दाङ, ९ माघ ।एकीकृत समाजवादी दाङको जिल्ला अधिवेशन फागुन ९ र १० गते हुने भएको छ । मङ्गलवार जिल्ला पार्टी कार्यालय दाङमा बसेको एकीकृत समाजवादीको विस्तारित बैठकले सो निर्णय गरेको हो ।

बैठकले समाजवादी दाङका जिल्ला अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा मूलआयोजक समिति गठन गरेको छ प्रतिनिधि छनोट फागुन १ गते गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको छ ।

जस अनुसार आर्थिक, प्रचारप्रसार, प्रतिनिधि छनोट, स्वयम्सेवक परिचालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन, यातायात, मेस तथा जनसांस्कृतिक उपसमितिको संयोजकमा क्रमशः दामोदर लामिछाने, सूर्य बिसी, डिलबहादुर पुन, शिशिर पुन, सावित्रा सुनार, गजेन्द्रसिंह खड्का, डिल्ली पुन, गणेश चौधरी र गुरुप्रसाद महरालाई जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिएका छन् ।

बैठकमा एकीकृत समाजवादीका उपमहासचिव एवम् दाङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद मेटमणि चौधरी, केन्द्रीय सदस्य अनारकली मिया, ससमती चौधरीलगायतले भनाइ राखेका थिए । बैठकको सहजीकरण जिल्ला सचिव डिलबहादुर पुनले गरेका थिए ।