‘दुरुपयोग हुँदैन, ढुक्क भएर सूचना दिनुहोस्’
अमरराज आचार्य
दाङ, ९ वैशाख । सरकारले सुरु गरेको आर्थिक गणनामा सही सूचना दिएर सहयोग गर्न एक कार्यक्रमका वक्ताले अनुरोध गरेका छन् । तथ्याङ्क समन्वय कार्यालय दाङले आयोजना गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को सञ्चालन सम्बन्धमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
अहिले पनि तल्लो तहसम्म सचेतना पुग्न नसकेले सही सूचना प्रवाह नहुँदा देशको नीति, निर्माणमा प्रभाव पर्ने बताउँदै सरोकारवालाहरूले आआफनो क्षेत्रबाट अभियानबारे सचेतना दिए अभियान प्रभावकारी हुने बताएका थिए । कार्यक्रममा बोल्दै आर्थिक गणनामा खटिएका सुपरीवेक्षक विक्रम अधिकारीले फिल्डमा खटिने गणकहरूलाई सहज रूपमा सूचना नदिने गरेको बताए ।
सहज रूपमा सूचना नदिँदा गणकलाई समस्या परेको उनको भनाइ छ । सूचना दिए पनि यथार्थ सूचना नदिने गरेको उनले बताए । यसबारे सम्बन्धित निकायले सहजीकरणको भूमिका खेल्नु पर्ने उनको भनाइ छ । जिल्ला जनगणना अधिकारी पोमनारायण पौडेलले आर्थिक गणनामा ल्याइने तथ्याङ्क पूर्ण रूपमा गोप्य रहने बताए ।
सूचना लिन आउनेलाई ढुक्क भएर सूचना दिन उनले आग्रह गरे । सरकारले थालेको अभियानमा सबैको सहयोग आवश्यक पर्ने बताउँदै उनले दर्ता भए÷नभएका सम्पूर्ण प्रतिष्ठानका तथ्याङ्क लिइने बताए ।
सरकारले लिने तथ्याङ्कले नीति निर्माणमा सहयोग पुग्ने बताउँदै जनगणना अधिकारी पौडेलले भने, ‘प्रत्यक्ष रूपमा व्यक्तिगत फाइदा नभए पनि राष्ट्रका लागि फाइदा पुग्नेछ ।’ आर्थिक गणना अभियान वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुने उनले बताए । उनका अनुसार अहिले गणकहरू प्रतिष्ठानहरूमा पुगेर तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।
आर्थिक गणनाको लागि जिल्लामा गणक र सुपरीवेक्षक गरी ८० जना परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले सरकारले तथ्याङ्क लिएर योजना निर्माण गर्न सहयोग पुग्नुका साथै राष्ट्र निर्माणमा सहयोगी भूमिका खेल्ने बताए । अभियानमा आफनो तर्फबाट समन्वयको भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सही सूचना दिएर सरकारलाई सहयोग गर्नु पर्ने बताए । सरकारको अभियानमा सबैको सहयोग हुनु पर्ने उनले बताए । सामाजिक संघसंस्थाले यस अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । जिल्लामा तथ्याङ्क सङ्कलनका क्रममा आइपर्ने समस्याको समाधानका लागि स्थानीय प्रशासनले सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सरकारले थालेको अभियान सफल बनाउन सञ्चार क्षेत्रको हरतरहको सहयोग रहने बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले अभियानबारे तल्लो तहसम्म बुझाउन नसक्दा समस्या हुने गरेको बताए । ‘हामीले दिएका सूचना गोप्य रहन्छ भनेर बुझाउन नसक्दा समस्या भएको छ’, बरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने । राज्यले विभिन्न कारणले व्यवसायीलाई दिने दुःखका कारण समस्या भएको उनले बताए ।
कार्यक्रममा दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीले व्यवसायीलाई राज्यले समस्यामा पारेका कारण व्यवसायीले सूचना दिन डराउने गरेको बताए । कार्यक्रममा सहभागी गणक तथा सुपरीवेक्षकले सूचना लिन जाँदा सहज रूपमा सूचना समस्या भएको, सही सूचना नदिने जस्ता समस्या भोग्नु परेकोे बताएका थिए ।
सरोकारवालाहरूसँग सहजीकरण गरेर सहज वातावरण बनाइदिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण तथ्याङ्क समन्वय कार्यालय दाङका सूचना अधिकारी हरिभक्त गौतमले गरेका थिए ।
