मेरो खुशी : रेडियोले दिएको पहिचान …
एक समय थियो, जब रेडियो हरेक घरको अनिवार्य हिस्सा हुन्थ्यो । बिहानको सुरुवातदेखि साँझको विश्रामसम्म मानिसहरू रेडियोसँगै रमाउँथे । समाचार सुन्न, गीतसंगीतमा डुब्न, आफ्ना भावना व्यक्त गर्न– रेडियो नै सबैको साझा साथी थियो ।
मानिसहरू मन पर्ने कार्यक्रमका लागि फोन गर्थे, त कोही चिठी लेखेर आफ्ना सन्देशहरू पठाउँथे । त्यस्ता सन्देशहरूलाई श्रोतासम्म पु¥याउनेदेखि कार्यक्रमलाई प्राविधिक रूपमा सञ्चालन गर्ने काममा समर्पित एक पात्र हुन्, ५६ वर्षीय जीतबहादुर चौधरी । घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी चौधरी विगत २४ वर्षदेखि रेडियो स्वर्गद्वारीमा प्राविधिकका रूपमा कार्यरत छन् । रेडियोसँगको उनको सम्बन्ध केवल पेसागत होइन, भावनात्मक पनि हो ।
उनी भन्छन्, ‘रेडियोले मलाई चिनाएको हो । मेरो नामभन्दा पनि मानिसहरूले मलाई रेडियोसँग जोडेर चिन्छन् । यदि म रेडियोसँग नछोडिएको भए यो पहिचान पाउने थिएन ।’ समयसँगै प्रविधिको विकासले रेडियोको प्रभाव केही घटेज स्तो देखिए पनि चौधरीका लागि यसको महत्व अझै उत्तिकै गहिरो छ ।
रेडियो स्थापना कालदेखि नै प्राविधिकका रूपमा आवद्ध चौधरीले पछिल्लो दुई वर्ष थारु भाषामा ‘हमार दाङ देउखुर’ कार्यक्रम सञ्चालन गरे । थारू भाषाको रेडियो कार्यक्रमका माध्यमबाट समुदायको कला, संस्कृति र समसामयिक विषयहरूलाई उजागर गर्ने प्रयास गरेका थिए । रेडियोमा प्रवेश गर्नुअघि चौधरीले विभिन्न प्रेससँगै नयाँ युगबोध दैनिकमा कम्प्युटर अपरेटरका रूपमा काम गरेका थिए ।
करिब चार दशकअघि घोराहीमा थम्मन चौधरीले सञ्चालन गरेको इन्सिच्युटमा कम्प्युटर सिकेका थिए । कम्प्युटर सिकेपछि केही समय त्यही प्रशिक्षकका रूपमा सिकाउने काम गरेका उनले त्यसपछि नयाँ युगबोध दैनिकमा पत्रिका सेटिङको काम सुरु गरे । तर लामो समय कम्प्युटरमा बसेर काम गर्दा स्वास्थ्यमा समस्या देखिएपछि, त्यो काम छोडेको बताउँछन् । युगबोधको काम छोडेपछि केही समय खाली बसेका उनी, पछि नेपाल प्रेसमा काम गर्न थाले । त्यहाँ विभिन्न कार्यालयका बिल, किताब र डिजाइनसम्बन्धी काम गरेको बताउँछन् ।
२०५६ सालतिर कल्पना अपसेट प्रेसमा आवद्ध भएका चौधरीका लागि त्यहीँबाट रेडियोमा प्रवेश गर्ने अवसर खुल्यो । प्रेस र रेडियो एउटै व्यवस्थापन अन्तर्गत रहेकाले उनलाई रेडियो स्वर्गद्वारीमा काम गर्न सहज भयो । २०५८ साल माघ १ गतेदेखि प्राविधिकका रूपमा रेडियोमा यात्रा सुरु गरेका उनी आजसम्म निरन्तर सक्रिय छन् । दुई दशकभन्दा लामो समय एउटै क्षेत्रमा निरन्तरता दिनु आफैँमा ठूलो उपलब्धरु हो, जसले उनको समर्पण र लगनशीलता स्पष्ट देखाउँछ ।
सरल, शान्त स्वभावका चौधरी २०२७ फागुन ८ गते घोराही उपमहानगरपालिका–१७ भैसाहीमा बुबा बुधलाल चौधरी र आमा कान्छी चौधरीको सन्तानका रूपमा जन्मिएका थिए । चौधरी दम्पत्तिका छ भाइबहिनी सन्तानमध्ये चौधरी एक मात्र छोरा हुन् ।
सामान्य परिवारमा हुर्किएका उनले बाल्यकालमा बाख्रा चराउँदै पढाइलाई निरन्तरता दिएका थिए । २८ जनाको ठूलो परिवारमा हुर्कनु सजिलो थिएन, तर उनले संघर्षलाई कहिल्यै बाधा बन्न दिएनन् । गाउँ नजिकै रहेको प्राथमिक शिक्षा हरिद्वारा (कक्षा १–३) बाट पढाइ सुरु गरेर चौधरीले गोरक्षरत्ननाथ मावि चौघेरामा (कक्षा ४–७) अध्ययन गरेका उनले माध्यमिक शिक्षा घोराहीको भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयबाट पूरा गरे ।
२०४६ सालमा एसएलसी उत्तीर्ण गर्नु उनको जीवनको महत्वपूर्ण उपलब्धि थियो । त्यो समय सम्झिँदै उनी भन्छन्,‘एसएलसीको नतिजा आएको बेला म घोराहीमै खानेपानीको पाइप विस्तारको काम गरिरहेको थिए, रेडियो पनि साथमा थिएन, त्यसैले आफ्नो नतिजा थाहा पाउने अवस्था थिएन ।
काम सकेर घर फर्किदा तत्कालीन त्रिभुवन नगरपालिकाका तत्कालीन प्रधानपञ्च गजराज शर्माले ‘काम गर्दै पनि पास भयो’ भनेको सुन्दा निकै खुसी लागेको थियो, अहिले पनि त्यो क्षणको सम्झना आउँछ ।’ त्यो बेला पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयबाट एसएलसी दिएका करिब ४०÷४५ जना विद्यार्थीमध्ये हामी ९÷१० जना मात्र पास भएका थियाँै । गाउँकै साथीहरू फेल भएका थिए ।
पढाइका क्रममा थुप्रै कठिनाइ भोगेको चौधरी बताउँछन् । आर्थिक रूपमा घरको अवस्था ठिकै भए पनि ठुलो परिवारका कारण पठनपाठन गर्ने अवस्था थिएन । पढाइभन्दा कामलाई महत्व दिने भएकाले दिनभरी बाख्रा चराउनेदेखि घाँस काट्नु पर्ने र त्यहीबाट फुर्सद निकालेर पढ्नु पर्ने हुन्थ्यो । पढ्नका लागि अहिले जस्तो किताब कापी किन्ने पैसा हुँदैन थियो । आमाले तरकारी बेचेर कापी–किताब किनिदिनु हुन्थ्यो । त्यहीले गर्दा पढ्नलाई सहयोग हुन्थ्यो ।
सरल र शान्त स्वभावका उनी बाल्यकालमा कहिले काहीा हल्का रमाइलो पनि गर्ने गरेको सुनाउँछन् । पहिलेका अनुभव सम्झिँदा अहिले पनि हासो लाग्ने गरेको बताउँछन् । त्यो समयमा लेख्नका लागि अहिले जस्तो कमल पाइँदैन थियो । बाँसको कलम बनाएर पाटीमा लेख्ने हुन्थ्यो ।
त्यसका लागि मसी किन्नु पथ्र्यो, विगत सम्झँदै उनी भन्छन्,‘एक दिनको कुरा हो, मलाई बिठ्याई गर्न मन लाग्यो । मैले घरबाट अंगार पिसेर मसी बनाएर लगे, साथीलाई लेख्नका लागि मसी चाहिएको थियो, उसलाई त्यही अंगारको मसी बेचिदिए । साथीले लग्यो, तर पानी सुकेपछि लेखिन । अनि उसले तिमीले नलेख्ने मसी दिऔँ भनेर गुनासो ग¥र्याे, मलाई त्यो बिठ्याई काम अहिले पनि सम्झँदा रमाइलो लाग्छ उनी भन्छन् ।
त्यस्तै अर्काे अनुभव गाउँघरकै छ । त्यो पनि करिब चार दशक अघिकै कुरा हो । अहिले जस्तो गाउँमा घरहरू थिएनन् । खुला वातावरण थियो । गाउँकै साथीहरूसँग कौरा खादै थिए । त्यही समयमा हेलिकप्टर गाउँमा आइपुग्यो । कौरा खान लागेका सबैले हेलिकप्टरलाई हेर्न थाले ।
हेलिकप्टरले भैसाही, बेलभारलगायतको गाउँलाई दुई फन्को मारेपछि केही खालेको देखियो । त्यो खसालेको सामान छोप्नका लागि हामी दौडिएर नजिक गयौँ । तर, नजिक जाँदा त्यहाँ त हेलिकम्टरबाट प्यारासुटमा आर्मीलाई झारेको रहिछ, त्यो देखेर अचम्मित भयौ । त्यो पनि खुसीको क्षण हो ।
समयसँगै घोराहीको विकासलाई नजिकबाट नियालेका चौधरी वर्तमान समाजप्रति केही चिन्तित पनि देखिन्छन् । उनी भन्छन्, बुबा तत्कालीन त्रिभुवन नगरपालिकामा पियन काम गर्नुहुन्थ्यो भनने बाजेले घोर लाद्ने काम गर्नुहुन्थ्योे । गाउँघरमा धान खरिद गरेर कुटाउने र त्यो चामल बिक्रीका लागि घोराही ल्याउने बाजेले गर्नुहुन्थ्यो । सानै उमेर भए पनि बाजेसँग घोडामा घोराही आउथे ।
अहिले जस्तो थिएन, त्यो बेला घोराही । निमा हल रोड हुँदै दुरसञ्चार कार्यलयसम्मको ठाउँमा बजार थियो । चार कोठाको तत्कालनि महेन्द्र अस्पताल (हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान) थियो ।
घोराही बजार विस्तार हुने क्रममा भए पनि किनमेलका लागि प्राय मानिसहरू कोइलावास जाने गर्दथे । पछि विस्तारै सडक खुल्न थाले । घोराही बजार बढ्दै गयो । लमही–घोराही र घोराही–तलसीपुर सडक निर्माणसँगै गाडीहरू चल्न थाले । बजारमा चहलपहल बढ्दै गए र अहिलेको घोराही बजार भयो ।
पहिलेको तुलनामा धेरै विकास भए पनि भ्रष्टाचार र छाडा प्रविधिका कारण समाज भाडिएको उनी बताउँछन् । ‘विकास त भएको छ, तर भ्रष्टाचार र स्वार्थी प्रवृत्तिले समाजलाई कमजोर बनाउँदै छ’,उनी भन्छन् । उनका अनुसार पहिलेको सामाजिक एकता र आपसी सहयोग अहिले कम हुँदै गएको छ, जुन चिन्ताको विषय हो ।
२०४६ सालमा गाउँकै निर्मला चौधरीसँग विवाह गरेका चौधरी दम्पत्तिका दुई सन्तान छन् । छोरा सन्दीप कन्सल्टेन्सी क्षेत्रमा कार्यरत छन् भने छोरी सोयता घोराहीमै रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पेसामा संलग्न छिन् । रेडियो स्वर्गद्वारीमा प्राविधिकका रूपमा सक्रिय रहेका चौधरी विभिन्न सामाजिक र पेसागत संस्थामा आवद्ध छन् । नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन दाङको साधारण सदस्यका रूपमा रहेका चौधरी घोराही–१७ मा रहेको समृद्धि कृषि सहकारी कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।
प्रस्तुति : लीलाधर वली
