Goraksha

National Daily

दाङको विकास र युवा स्वरोजगारका लागि प्रदेश सरकार सहकार्य गर्न तयार : मन्त्री न्यौपाने

जेसीज सप्ताह समापन

गोरक्ष समाचारदाता

दाङ, ९ वैशाख । लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले युवाहरूलाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रमको मङ्गलवार साँझ घोराहीमा आयोजना गरिएको समापन तथा अन्तरक्रिया समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले दाङका युवाहरू प्रत्यक्ष लाभान्वित हुने गरी नयाँ योजना निर्माण गर्न सरकारले सरोकारवाला सबैसँग सहकार्य गर्न चाहेको बताएका हुन् ।

आफ्नो गृह जिल्लासमेत रहेको दाङको विकासबारे चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री न्यौपानेले अवसरको खोजीमा बाहिरिनु पर्ने बाध्यताको अन्त्य गर्न जिल्लामै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ सरकारले सोच बनाइरहेको उल्लेख गरे । युवामा बढ्दो निराशाप्रति लक्षित गर्दै मन्त्री न्यौपानेले निराश हुनुको सट्टा जिल्लामै रहेका सम्भावनाको अध्ययन र खोजीमा लाग्न आग्रह गरेका थिए ।

दाङमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको औल्याउँदै मन्त्री न्यौपानेले पर्यटकीय क्षेत्रको प्रवर्धन गरी मानिसको आगमन बढाउनेतर्फ प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने बताए । पर्यटन क्षेत्रको विकासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै उनले यसका लागि सम्भाव्यता अध्ययन र पूर्वाधार निर्माणमा सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

उद्योगी र व्यवसायीहरूले भोग्दै आएका प्रशासनिक झन्झटलाई न्यूनीकरण गर्न सरकारले कानुनी र नीतिगत सुधारका कार्यहरू गरिसकेको मन्त्री न्यौपानेको भनाइ थियो । उनले उद्योगीहरूको कामलाई सहज र सरल बनाउन धेरै नियम संशोधन गरिएको जानकारी दिँदै लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार कटिबद्ध रहेको बताए । जेसीज जस्ता सामाजिक संस्थाहरूले युवाहरूको क्षमता विकास र नेतृत्व निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल जेसीजका उपाध्यक्ष सञ्जीव भुसालले युवाहरूलाई अवसरसँग जोड्दै रोजगारीका अवसर सिर्जना गर्नतर्फ लाग्नु पर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अहिलेको जोखिमपूर्ण समयमा व्यवसाय सञ्चालन कठिन भएको भन्दै सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

समापन कार्यक्रममा जेसीज सप्ताहव्यापी कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंघका प्रतिनिधिले धारणा राखेका थिए । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक रोशन दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष श्यामकुमार गिरीले कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेयले गरेका थिए । त्रिभुवननगर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखि ८ गतेसम्म विभिन्न कार्यक्रम गरेको थियो ।