‘शिक्षा सिप र प्रविधिमैत्री हुनुपर्छ’
मेट्रो कलेज तुलसीपुरको पाँचौँ वार्षिकोत्सव
गोरक्ष समाचारदाता
तुलसीपुर, ९ माघ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो कलेज तुलसीपुर बहुप्राविधिक शिक्षालय तुलसीपुरको पाँचौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
तुलसीपुरका नगर प्रमुख तथा शिक्षालय सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री ढकालले अबको शिक्षा सिप र प्राविधिमैत्री हुनुपर्ने बताए । उनले मन्त्री ढकालले समयानुकूल मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरे मात्र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने बताए ।
‘शिक्षा राम्रो भए पनि अहिलेका विद्यार्थीमा लक्ष्य अर्को हुन्छ तर विदेशभन्दा स्वदेशमै आर्थिक उपार्जन गर्नेखाले शिक्षा अबको आवश्यकता हो’, मन्त्री ढकालले भने । कानुनमा भएका केही समस्या भए त्यसलाई परिमार्जन गरी व्यावहारिक सिपमूलक पाठयक्रम निर्माण गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री ढकालले कलेजहरूको व्यवस्थापन पक्षलाई बलियो बनाउँदै प्राविधिक जनशक्ति उत्पादन गरी यही ठाउँमा बसेर जनताको जीवनस्तर माथि उठाउने गरी शिक्षा दिनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य बुद्धिराम भण्डारीले नेपालमै सुन भए पनि कालिगड नभएको भन्दै नेपालमै दक्ष जनशक्ति उत्पादन गरेर उनीहरूलाई रोजगारमा लगाउनुपर्ने बताए ।
उनले तुलसीपुर स्थित राप्ती आँखा अस्पतालमा नेत्र सहयाक पढाइ पहिलो पटक सुरु गरेको भन्दै पछिल्लो समयमा मेट्रो कलेजले पनि विभिन्न विधामा पढाइ सञ्चालन गरेकाले यसको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य शंकर गिरीले मेट्रो कलेज तुलसीपुरको पहिचान र एउटा साझा संस्था भएको हुँदा सोही अनुरूप सञ्चालन हुनुपर्ने बताए । उनले शिक्षा क्षेत्र सबैको साझा थलो भएको भन्दै कोही कसैले आफू अनुकूल बनाउन नहुने बताए । कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मेट्रो कलेज स्थापनापछि तुलसीपुरमा बाह्य जिल्लाबाट पनि विद्यार्थी पढ्न तुलसीपुर आउनु सकारात्मक र सुखद पक्ष भएको बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताए । केही समय पहिले अन्य जिल्लामा मात्र प्राविधिक शिक्षा पठनपाठन हुन्छ भन्ने सनिए पनि पछिल्लो समय मेट्रो कलेज स्थापना भएपछि बाहिरका विद्यार्थी तुलसीपुर पढ्न आउनु सकारात्मक पक्ष मान्न सकिने उनको भनाइ थियो । सिप र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन भए भविष्यमा रोजगारीका अवसर थप सिर्जना हुँदै जाने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा. किशोर खत्री, शैक्षिक तथा समाजसेवी वीरेन्द्र महरा, प्राडा सुदन पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी, विद्यार्थी बन्धना भुसाल, दुर्विन वली, स्मृति चौधरी, डिप्लोमा कार्यक्रममा संयोजक अपिल आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कलेजका प्रमुख बसन्त आचार्यले शैक्षिक प्रगति विरण तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।
स्थापनाको ६ं वर्षमा प्रवेश गरेको कलेजमा हाल मुलुकभरका ४० जिल्लाका विद्यार्थी अध्यनरत छन् । हाल कलेजमा झन्डै नौ सय विद्यार्थी रहेको कलेजका प्रमुख आचार्यले जानकारी दिएका थिए । कार्यक्रमको सहजीकरण कलेजकी सुधासुमन ढकालले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीले नृत्य, गीतका साथै विभिन्न प्रस्तुति राखेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान प्रदर्शनी समेत राखेका थिए ।
