२०८३ प्रेरणा र उत्साहको वर्ष बनोस्, शुभकामना
नारायणप्रसाद श्रेष्ठ
२०८२ ले विदा लिइ २०८३ हाम्रो घर आँगनमा आइसकेको छ । यस अवसरमा हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीमा सुख शान्ति र सम्वृद्धिको वातावरण श्री वुद्धि होस् शुभकामना व्यक्त गर्दछौँ ।
समयको परिवर्तनसँगै २०८२ सालले हामीसँग बिदा मागी २०८३ ले हामीलाई स्वागत गरेको छ । यति मात्र होइन जीवनको प्रत्येक पलले पनि हामीलाई क्षणप्रतिक्षण विदाई गरिरहेको छ । यो सत्य हिजो पनि भएकै थियो र वर्तमानमा पनि भएको छ । प्रत्येक दिनको २४ घण्टामा आधा समय सुतेर, विश्राम गरेर, र बचेको आधा समय खान बस्न र घुम्न र रमाउन बिताउँदै हामीले हाम्रो समयलाई बिताइरहेका छौँ ।
दिन सप्ताह, सप्ताह महिना, महिना वर्षौ भएर बित्ने क्रमसँगै यो वर्षले पनि हामीलाई छोडेको छ । नयाँ साल फेरिँएको छ । समयको परिवर्तनसँगै हामीले हाम्रो जीवनको चाहाना यसरी नै अब केही गर्छौ र हुन्छौँ भन्दै बिताउन गई रहेका छाँै । अब थोरै मूल्याङ्कन गरौँ ।
यसरी समय र परिस्थितिले हामीसँग बिदा लिने क्रममा हाम्रा कर्मले हामीलाई कति नयाँ संस्कृति र संस्कारको विकास गर्न हामीलाई केन्द्रिकृत ग¥यो ? वा के कस्तो सेवाभाव जागृत गर्ने कर्म हामीले निर्वाह गर्न सक्षम बन्यौ ? त्यसको लेखाजोखा हामीले कसरी गर्दैछौँ ? त्यसको उत्तर खोज्न हामीलाई नयाँ वर्ष २०८३ ले चुनौती र अवसर दिँदै हाम्रो सामु आइपुगेको छ । हामीले विगत वर्ष २०८२ मा गरेको कर्मले कुन क्षेत्रमा सफलता मिल्यो वा मिलेन ?
सामाजिक सुसंस्कृति कायम गर्न हामीले गरेको कर्मले कस्तो परिणाम ल्यायो ? हाम्रो आचरण र व्यवहारमा के कस्तो किसिमले परिवर्तन भयो वा भएन ? गत वर्ष हामीले प्रतिज्ञा गरेका काम उद्देश्य सफल भए ? के कति कुन क्षेत्र, समाज आदर्श गति उन्मुख हुन सफल भयो ? परिवर्तन भयो वा भएन ? हामीले समाज र राष्ट्रप्रति देखाउन खोजेको हाम्रो सतविचारले कति सार्थकता पाए वा पाएनन् ?
कतै हामी आफ्नो स्वार्थभित्र मात्र रुमलिएर मात्र बसेनाँै ? सिर्जनाका नयाँ पालुवाप्रति हाम्रो दृष्टिकोण र समर्पण के कस्तो रह्यो ? हाम्रो ध्यान धनसम्पत्ति थुपार्न मात्र सीमित रह्यो ? वा हाम्रो सोचाइमा कति परिवर्तन भयो ? हामीले हाम्रो कर्मद्वारा राष्ट्र र राष्ट्रियताको लागि के कस्तो योगदान दिन सक्यौँ वा सकेनौँ ? अहंकार र घमण्डले कतै हामी अन्धकारभित्र रोमलिन पुग्यौँ वा पुगेनौँ ?
हाम्रो परिकल्पनाभित्र शृङ्गारिएको नयाँ युगको श्री गणेश भयो वा भएन ? यी सबै विषयलाई नयाँ वर्षले मूल्याङ्कन गर्ने नै छ । अब २०८२ हामीलाई हाम्रो सत्यको पर्दाफास गर्न, ओकल्न २०८३ लाई सन्देश प्रवाह गरी आफू विदाई भएको छ । हाम्रो आचरण र व्यवहारवाट राष्ट्रिय विकासमा हामीले पु¥याउनु पर्ने योगदानलाई थाती राखी सामाजिक आर्थिक र राजनीतिक परिदृश्यमा हामीले निर्वाह गरेको योगदान हामी स्वयम्ले आत्मसात गर्न, स्वीकार्न, झकझक्याइरहेको छ ।
हामी आफूले के कति उद्धार गर्न सके वा सकेनौँ ? हामीले यो स्वीकार्न आवश्यक छ वा छैन ? यसलाई मान्ने वा नमान्ने यो पनि विगत वर्षले हामीलाई सम्झाउँदै नयाँ वर्षलाई स्वागत गर्न अभिप्रेरित गरिरहेको छ । त्यसैले हालसम्म आफूले गरेको कर्म र व्यवहारलाई समीक्षा गर्न अब हामी आफैभित्र घोत्लिनु परेको छ ।
समयको परिवर्तनसँगै परिवर्तन हुने नयाँ वर्ष प्रत्येक वर्ष आउने र हामीलाई छोडेर जाने यो यथार्थ सत्यलाई बुझी यस वर्ष २०८३ सालमा हामीले हाम्रो आचरण र जीवनलाई कुन गति उन्मुख गराउने हो त्यो कुरालाई निर्दिष्ट गर्न अब हामीले २०८३ मा आफूलाई प्रस्तुत गर्नु परेको छ ।
सृष्टिको इतिहाससँगै जन्मिएको भूमण्डलीय वातावरणलाई हेर्ने हो भने यहाँ विविधताभित्र एकता भएको पाइन्छ । ढुंगाको भर माटो, माटोको भर ढुंगा, भनेझैँ प्रकृति र पुरुषले एकअर्काबिच सामिप्यता जोड्दै अघि बढेको इतिहास यहाँ प्रशस्तै पाइन्छ । वातावरण अनुकूल आचरण र व्यवहार गर्दै जीवन र जगतको इतिहास कोरिँदै गरेको उदाहरण पनि प्रशस्तै भेटिन्छ ।
सत्यभित्रको यथार्थलाई विज्ञानको माध्यमबाट बाह्य वातावरणमा प्रदर्शन भइरहेको सत्य पनि यहाँ लुकेको छैन । यति मात्र होइन जलवायु परिवर्तनको कारण आफूले आफूलाई सङ्कट पार्दै इतिहास लेखिँदै गरेको पनि देखिन्छ । पौराणिक सत्यलाई कथाको रूपमा हेर्ने हाम्रो चिन्तनलाई विज्ञानको परिवर्तित आँखाले त्यो पौराणिक नभई यथार्थ सत्य रहेको कुरा प्रमाणित पनि गरिरहेको छ ।
यसरी समयको अन्तरालसँगै लुकेको सत्य पनि प्ररिस्कृत हुँदै गएको छ । सत्य सधैं सत्य र अमर रहन्छ भन्ने कुरा अहिले विज्ञानले पनि प्रमाणित गरिरहेको छ । अहिलेको वर्तमान युगले चुनौती र अवसर दुवैलाई अँगाल्दै आफ्नो कर्ममा रूपान्तर गरेर परिभाषित गर्न समयले घचघचाइरहेको छ ।
कर्मबाट नै सत्यको धरातल प्रष्ट हुने कुरा अहिले प्रमाणित हुँदै आएको छ । हिजो के भयो वर्तमानमा के भइरहेको छ र भविष्यलाई कसरी वर्तमानले सन्देश प्रवाह गरिरहेको छ त्यसको पनि खोजविन भइरहेको छ । विज्ञानले हिजोको पौराणिक कथालाई यथार्थ परक हिसाबले प्रमाणित गर्दै सत्य सधैं सत्य रहन्छ भन्ने कुरा प्रमाणित पनि गर्दै गरेको छ ।
तसर्थ मानव चिन्तनले ल्याएको यही परिवर्तनले सृष्टिको इतिहास लेखिँदै दोहोरिँदै गरेको बुझ्नु पर्दछ । यति मात्र होइन मानव चिन्तनले विकास गरेको साधन र आविष्कारले मानव यसको सिकार बनिरहेको छ । विसंगतिर विकृतिका लहरहरु पनि युगले निम्त्याउँदै गरेको अवस्था देखिन्छ भने मानव चिन्तनभित्र हुर्केको स्वार्थपरको भावनाले पनि वर्तमानलाई चुनौती दिइरहेको छ ।
तसर्थ जानेर वा नजानेर पनि हामीले गरेका प्रत्येक कर्ममा आफ्नो मात्र होइन अरुको सेवा र सद्भाव पनि प्राप्त गर्ने वातावरण वन्न सक्नुपर्दछ । जीवन मानवीय कर्मशीलतामा विकसित भइरहेको हुन्छ । कर्मशील जीवनले नै मानिसलाई सकारात्मक सोचतर्फ आकर्षित गर्दछ । सकारात्मक सोचतर्फ विचार आकर्षित हुनु भनेको आफूले आफैलाई आफ्नो परिवेश सुधार्नु हो ।
मानव अन्तर्निहित दिव्य सोच नै कर्म भएकोले मानवले विगत इतिहासलाई हेरी वर्तमानलाई प्रयोग गर्न जान्नुपर्दछ । क्षण भङ्कुर कर्ममा होइन स्थायी प्रकृतिको कर्म र आचरण अहिलेको आवश्यकता मानिन्छ । अर्को कुरा कर्मयोगी नै सदा सुखी रहने सत्य कदापि भुल्न हुँदैन । हुन त कतिपय अवस्थामा कर्मयोगको आचरण गर्नेले पनि आफूलाई आफ्नै स्वार्थीभित्र रुमलिँदै हुर्केको पनि देखिन्छ ।
म कसरी आफ्नो स्वार्थ पूरा गर्न सक्छु भनी एकले अर्कालाई धोका दिने चिन्तन पनि मानवीय कर्म मा नलुकेको पनि होइन तर पनि सत्यलाई स्वीकार्ने हाम्रो मानवीय चिन्तन आफै सपार्दै अगाडि बढ्दै जानुपर्छ । जीवनको हरेक क्षण सकारात्मक तर्फ आकर्षित भइरहने हुँदा यसलाई गम्भीर रुपले चिन्तन गर्नु पर्ने देखिन्छ ।
योग्यताको प्रमाणपत्र प्राप्त गर्दैमा र कागज देखाउँदैमा सबै ज्ञानी बन्न सक्दैनन् । मानवीय चरित्रभित्र लुकेको स्वार्थ चिन्तनले मानिसलाई अन्धा बनाउन सक्ने कुरातर्फ पनि स्वार्थले हाम्रो सोचमा ताला लगाउन सक्छ तर पनि हाम्रो सोच र चिन्तनभित्र लुकेको स्वार्थले हामीलाई लखेटी रहेको पनि हुन् सक्छ भनी त्यस कुराको गम्भीर रुपले चिन्तन गर्न जरुरी छ ।
परीक्षामा चिट चोरेको व्यक्तिको योग्यता उत्कृष्ट हुनसक्छ । उसको धरातल कमजोर छ भन्ने कुरा ऊ स्वयम्लाई थाहा नहुन सक्छ । उसभित्रको अहंकारले योग्य छु भन्ने सोच उसको उद्देश्यभित्र परिभाषित भयको हुन सक्छ, लोकप्रियता कसरी बन्न सकिन्छ भन्ने सोचले उसले कर्म गरेको पनि हुन्छ तर जब सत्य बाहिर आउँछ तब उसको सोच कस्तो रहेछ भने कुरा प्रमाणित हुन पुग्दछ । जब प्रमाणित हुन्छ तब बल्ल उसमा चेतना आउने हुन्छ । तसर्थ यस कुराको सबैले हेक्का राख्न जरुरी छ ।
त्यसैले जीवन बुद्धिको, बुद्धि मनको, मन इन्द्रीय विषयको र माया जीवनको भ्रम भएको सत्यले मानव चिन्तनमा ल्याउने विचलनलाई बुझी तथा जीवनमा आइ पर्न सक्ने मोहको जालोलाई हटाई सृष्टिको इतिहासमा मानवले निभाउनु पर्ने दायित्व, कर्म र व्यवहारलाई, सकारात्मक धारणाका साथ अगाडि बढाउँदै २०८२ सालमा गरेका आफ्ना गलत कर्मलाई सच्याउँदै २०८३ सालमा हामी सबैले आफूलाई सक्षमतातर्फ प्रदर्शन गर्न लाग्नुपर्दछ ।
अरुको खुट्टा तानेर होइन आफ्नो वचन र कर्ममा निष्पक्षता जागृत गरी २०८२ मा आफूले गरेका कर्मको समीक्षा गर्दै २०८३ मा सत्यको यथार्थ धरातलभित्र आफूलाई समर्पण गर्नुपरेको छ । २०८३ सालले हामीलाई यही सत्य कर्म गर्न स्वागत गरिरहेको छ ।
उत्साह र उमंगका साथ हामीले २०८२ सालमा गरेका उत्कृष्ट कामको मूल्याङ्कन गर्दै स्व चित्त धारणा गरेर नयाँ वर्षलाई नयाँ हिसाबले प्रेरणा र उत्साहको वर्ष बनाउन हामी सबै लागि परौँ । समयले हामीलाई यही सन्देश दिएको छ । चेतना भया ।
