Goraksha

National Daily

निवन्ध : मेरो प्रेम

आदिम के.सी.

प्रिय ‘प्रेमिल’
असिमित प्यारका रश्मिहरु ।
म सम्बोधनबाटै तिमीलाई अचम्मित पार्दै छु होला सायद । तिमीले अपेक्षा गरे बमोजिमको सम्बोधन सायद मैले गर्न सकेन । ‘असिमित प्यारका प्याला ’ भनेको भए पनि तिम्रो अपेक्षाको केही प्रतिशत श्रेयको भागीदार म हुन्थँे होला । मलाई यो पनि थाहा छ, मेरो सम्बोधन तिम्रा लागि पहिलो गासमै ढुङ्गा हुनेछ । थाहा पाउँदा पाउँदै पनि म तिमीलाई तिम्रै अपेक्षा बमोजिम सम्बोधन गर्न सकेन, तिमी फेरि सशङ्कित हुन्छौ होला मेरो प्रेमप्रति ।

शङ्का गर्न तिमीलाई पूर्ण छुट छ हाम्रो प्रेममा । म चाहन्न तिमीजस्तै प्रेमी प्रेमिका एक अर्काका काबुमा हुनुपर्छ भन्न । प्रेम आफैमा स्वतन्त्र हुन्छ, जब हामी एक अर्काका अधीनमा भयौं भने भन प्रिय हाम्रो प्रेम कहाँनेर स्वतन्त्र छ ? त्यसैले होला हामी भावनामा एक भएर पनि विचारमा फरक छौं, आफ्नै भएर पनि पराइजस्तै छौं । मिलनभित्र पनि विछोड छ, हर्षभित्र पनि विष्मात् छ, प्रशस्त सम्भावनाभित्र असम्भवका काला मेघहरु गर्जिरहेका छन् हाम्रो प्रेममा । मानौं हाम्रो प्रेमको परिधि राहु, केतु अनि शनी आदि आदिको समन्वय हो ।

थाहा छ तिमी मलाई माया गर्छौ, दावी गर्छु तिम्रो शङ्काभन्दा निकै अग्लो छ मेरो माया पनि तिमीप्रति । म चाहन्छु हाम्रो माया सगरमाथा बनोस् तर तिमी हाम्रो प्रेम हिमनदी बनाउन उद्दत छौ । यहीनेर हाम्रो प्रेम वैचारिक सिकार भएको छ । म प्रेमलाई शक्तिको उपज ठान्छु तिमी प्रेमलाई रङ्गमञ्चको मञ्चन ठान्छौ । म प्रेमलाई अमर आत्मा बनाउन चाहन्छु तिमी प्रेमलाई नाशवान् देह बनाउन चाहन्छौं ।

प्यास लाग्दा प्यासीले प्यास मेटाउन पाएन भने तिमी इनार र पँधेरोको महत्व देख्दैनौं । तर, म त्यही सन्दर्भमा इनार र पँधेरोको महत्व झन बढी देख्छु । मानिस स्वभावैले स्वार्थी प्राणी हो । तिम्रो दर्शनले आवश्यकताको महत्व तत्काल परिपूर्तिमा देख्छ, मेरो दर्शनले आवश्यकताको महत्व अभावमा देख्छ । मेरो दर्शनले प्यासी जति प्यासले तड्पिन्छ उसले त्यति नै इनारको महत्वको महसुस गर्छ । यो पनि हाम्रो प्रेमको विभेद दर्शन हो ।

मेरो दर्शनले भन्छ प्रेमले ‘शक्ति’ दिन्छ । तिम्रो दर्शनले भन्छ प्रेमले ‘रोमान्स’ दिन्छ । तिम्रो दर्शनले प्रेमलाई कमजोर बनाउँछ । हामी प्रेमका उपासक हौं यसमा फरक मत नहोला । म प्रेममार्गबाट जिम्मेवार तथा परिपक्वताका दृश्यहरु दृश्यावलोकन गर्न चाहन्छु । तिमी प्रेमपथबाटै बालापन सिर्जना गर्न चाहन्छौं । म बालापनको प्रेममा भमरा बन्न सक्दिन र त तिमी प्रेम आक्रोश प्रदर्शन गर्छौं । थाहा छ तिम्रो आक्रोशभित्र मैले असीमित प्रेमका किरणहरु देख्दछु ।

त्यसैले त तिम्रो आक्रोशलाई मेरो प्रेम उच्छ्वासले स्वागत गर्छ पटक पटक । म बुझ्दिनँ किन तिम्रो आक्रोशले मभित्र आवेश पैदा गर्दैन । तिम्रो रिसमा म मेरो हिमाल देख्छु जहाँ मेरो सगरमाथा मुस्कुराएर मलाई स्वागत गरिरहेको हुन्छ । पहाडका हरियालीले तिम्रो आक्रोशको रापलाई शीतलता दिइरहेका हुन्छन् । तराईका समथरमा तिम्रो आवेशपश्चातका रङ्गिन सपनाहरु दौडिरहेका हुन्छन् ।

अनि तिमी आफै भन म कसरी सक्छु आक्रोशमा प्रत्याक्रमाकोश गर्न । लाग्छ तिमी त मेरा नदीनाला, खोला, झरना हौ । रारा, फेवा वेगनास सबैसबै हौ । एउटै शब्दमा तिमी मेरो देश हौ । मेरो संसार हौ । मेरो सर्वश्व हौ । मेरो जगत् तिमीलाई सम्बोधन गर्ने त्यस्ता सबै सम्बोधनहरु अधुरा अपूरा हुन्छन् । मात्र भन्न सक्छु तिमी मेरो सबथोक हौ ।

सम्बन्ध पनि कस्ता कस्ता हुन्छन् । अचेल बजार निकै बिग्रेछ । पाश्चात्य संस्कृतिको अजिङ्गरले बजारलाई खप्लक्कै निल्न थालेको छ । पाश्चात्य संस्कृति कतिका लागि निल्नु न ओकेल्नु भएको छ । होला कसैका लागि निकै सबल अस्त्र पनि बनेको होला । समाज बिग्रियो, देश बिग्रियो । आखिर के बन्यो र । हरेक वाद र तन्त्र हाम्रा लागि दिवास्वप्न मात्र भए । हिजो पूर्खाले ज्यानै फालेर अङ्ग्रेजलाई धपाए, राणा धपाए, पञ्चायत खसाए ।

हामी खूब उद्दत भयौं राजा फाल्यौं, गणतन्त्रको आह्वान ग¥यौं । गणतन्त्र बचाऊ र संरक्षण गर भनेर उत्सव मनाउँदै महल, घर, झुपडी, सडक, चोक चोकबाट समावेशीको नाममा पठायौं । तर आज तिनैले हामीलाई लोप्पा खुवाउँदै छन् । मलाई निकै डर लागिरहेछ प्रिय, कतै तिनले हाम्रो रगत र पसिनाको बलिदानीले सिर्जना गरेको गणतन्त्रलाई भोकको सिकार त बनाउने होइनन् । सायद सोचाइको ‘ह्याङ ओभर’ले होला सपना पनि त्यस्तै देख्न थालेको छु । मेरो सपनामै जन्मभूमिसँग इरादा गरेको छु हाम्रो प्रेमलाई यस्ता कुर्ततको रक्षक बनाउन सकूँ । सायद त्यसैले पनि होला हाम्रो प्रेम विचारमा विरोधाभास ।

प्रिय तिमी चाहन्छौ हाम्रो प्रेमलाई मुना (मदन, लैला ( मजवुन, डब्लु. बि. इट्स(डेस्टिमोनाको जस्तै बनाउन । सायद त्यसैले होला बारम्बर अपील गछ्र्यौ । म चाहन्न हाम्रो प्रेम यस्तो बनोस् । आखिर यी आदर्श प्रेममा कसको प्रेमको जय भएको छ र ? कुनै जोडीले प्रेमको सुखानुभूति गर्न पाएनन् । सुखद् अनुभूति त निकै टाढाको कुरा भयो अघाउन्जेल पनि यिनीहरुले प्रेम गर्न पाएनन् । प्रेम वार्ता यिनका लागि एकादेशको कथा नै भयो । म अचम्मित छु प्रिय आखिर दुनियाँ किन यी जोडीलाई आदर्श प्रेमको रुपमा देख्छ ।

दुनियाँ बौलायो कि म बौलाएँ, म जान्न पनि चाहन्न किनकि म निश्चिन्त छु दुनियाँ बौलाइरहेको छ । तर दुःख लाग्छ त्यही दुनियाँ भीडबाट तिमी अलग रहन सकेकी छैनौं । म बारम्बर आग्रह गर्छु तिमीलाई । तर तिमी कुनै वास्ता नै गर्दैनौ । तिमी त्यही भीडलाई आफ्नो ठान्छ्यौ । त्यही भीडलाई सत्य ठान्छ्यौ । मलाई यही बखत दुःख लाग्छ, मैले तिमीलाई त्यो भीड सत्य होइन भनेर बुझाउन सकेन कि तिमीले बुझ्न सकेनौ ।

प्रेममा विश्वास हुन्छ र त प्रेमलाई अन्धो भन्छन् । म भेट्दिन तिमीभित्र विश्वास । डर लाग्छ कतै विश्वासको सङ्कटको सिकार त हुँदैन हाम्रो प्रेम । जसरी आज विश्वासको सङ्कटमा कति भयानक घटना घटिरहेका छन् । कति जाति, समुदाय र देशले आफ्नो अस्तित्व गुमाइरहेका छन् । म भयभित छु कतै हाम्रो प्रेम पनि विश्वासको सङ्कटमा परेर आफ्नो अस्तित्व गुमाउने त होइन । जहाँ हाम्रा थुप्रै सपना, इरादाहरु सहिद हुनेछन् ।

मलाई सबैभन्दा बढी पीडा त्यहीबेला हुनेछ जति बेला म आफ्ना सपनाको मलामी बन्नेछु । म चाहन्न यस्तो पल जीवनमा । किनकि सपनाका मलामीहरु फर्केको मेरो जानकारीमा छैन । मलाई आफू नफर्कनुसँग कुनै भय छैन मेरो प्रेमको इरादा अलपत्र पर्ने पीडा त्रास बनेर आउँछ प्रिय ।

तिमी प्राप्तीमा सफलता र आनन्द पाउँछ्यौ । म त्याग र अभावमा प्लावित हुन्छु । तिमी आदर्श प्रेमी जोडीबाट प्रभावित हुन्छ्यौ म आदर्श प्रेमको स्थापना गर्न चाहन्छु । तिम्रा आदर्शहरुले वियोगका कथाले दुनियाँलाई रुवाएका छन् । म चाहन्न दुनियाँ रोओस् । मेरो इरादाको आदर्शले दुनियाँलाई बचाउने छ युगौंयुगसम्म । म चाहन्छु हाम्रो प्रेम दुनियाँको लागि सत्मार्ग बनोस्, दुनियाँका लागि अनुकरणीय बनोस् । प्रेम विवाह होइन । प्रेम भौतिक देह एउटै हुनु पनि होइन । न त प्रेम कपोकल्पित र सस्तो लोकप्रियता नै हो ।

प्रेम त मन र विचारको समन्वय, वर्तमान र भविष्यको संयोजन हो । सिर्जना र रचनाको गर्भधारण हो प्रेम । प्रेमले सिर्जना जन्माओस्, रचना जन्माओस् । विशुद्ध सत्य जन्माओस् । जुन सत्यले खरबौं अनुयायी बनाओस् । जहाँ विश्व साझा घर बनोस् । तिम्रो र मेरो प्रेम मात्र होइन प्रिय विश्वका प्रेम जोडीको सङ्कल्प यस्तै बनोस् । अब यस्तो संसारको तिमी कल्पना गर त कति सुन्दर हुन्छ होला ।

सायद तिम्रो प्रेमले यो असम्भव देख्छ होला । तिम्रो मनले मेरो पागलपन देख्छ होला । अहिले पागलहरु नै सत्य बोल्छन् प्रिय । प्रेमले हत्या र हिंसालाई रोक्न सक्छ । संसार हत्या हिंसाबाट मुक्त होओस् । मेरो प्रेमले दुनियाँलाई यही सिकाओस्, म चाहन्छु ।