Goraksha

National Daily

कथा : आशाको दियो बलिरहेको छ

नारायणप्रसाद श्रेष्ठ

यसरी घरीघरी भक्कानिने गरी रामबहादुरले सामन्ती र शोषकले कसरी अत्याचार गर्दा रहेछन् त्यो भनेका कुरा गाउँलेहरुले निशब्द भएर सुनिरहेका थिए । उनी भन्दै थिए जीवनको गोरेटो कहाँबाट कहाँसम्म कसरी पुग्दो रहेछ हिजोको बालापन जीवन वर्तमानको उकुसमुकुस जीवन, कति खोला तरे हुला, त्यो जीवनले कति पहाड पर्वत खोलानाला तरे होलान् तर पनि जीवन सधै अधुरो हुदो रहेछ । दिनमा उदाउने सूर्यले पनि थकाई मार्न लुकेको अुनभूति भइरहेको छ आमा ।

यसरी सपनाको कहानी भन्दै थिए । पूर्णिमाको अन्तिम घडीमा उदाउने जुन ढलेझैँ जीवनले पनि उरार्धको महसुस गरिरहेको छ यस अवस्थामा मेरी आमा तिम्रो सम्झना र यादले यो मन त्यसै–त्यसै धर धराइरहेको छ । हिजो मात्रै अर्को घटना घटेको समाचार छ । हामीसँगै हुर्किएकी राताघरे साइलीले यो धर्ती छोडेर गइन् अरे । सधै अरुको सेवामा रमाउने बैनीको कथा पनि बेग्लै छ । आफूलाई जतिसुकै कष्ट परे पनि अरुसँग हासेर बोल्ने, दिन दुखीको चहराइरहेको घाउमा मलम पट्टी लगाउन सधै तम्सिने बैनीले हामीलाई सदाको लागि छोडी गइन् ।

५५ वसन्त पार गरेकी सामाजिक अभियान्ताले चिनिएकी बैनीले दिएको सद्भाव सधैँ कायम रहोस् । यो बाहेक अरु केही गर्न सकिएन आमा । प्रत्येक दिन सूर्य अस्ताउँछ र अर्को दिनको प्रतिक्षामा हामी रहन्छौँ भोली फेरि सूर्य उदाउँछ नै भनेर सामान्य पारामा आफूलाई प्रस्तुत गर्छौ । आजको काम भोली गरौला भनी साची राख्छौ तर त्यसो रहेनछ आमा । प्रायः दिनको सूर्य जसरी उदाउँछ अस्ताउँछ त्यसरी नै जीवनको एक दिन पनि ढल्दै जाने रहेछ । यसलाई केहीले मात्र बुझेको देखिन्छ । अधिकांशले यो कुरालाई त्यति गम्भीरता नलिएको देखिन्छ आमा ।

समाज विकृति र विसंगतिले कसरी चुर्लुम्म डुबेको छ आमा के भनौ । म नै सबै हुँ भन्ने मानसिकताले समाज अक्रान्त छ । दिउँसै रात पार्ने आचरण बुझ्ने मानिस आफै गर्छन् र आफूले आफैलाई सर्वे सर्वाको पगरी गुटन पनि पछि हट्दैन । एक पक्ष मात्र होइन सबै पक्षमा लोभमोह, अहंकार र घमण्ड देखा परिरहेको छ । स्वार्थले एकले अर्कालाई चिन्नै छोडिसके । जीवनलाई रकमसँग साटही गर्दै गरेको अवस्था छ यसरी दिन समाप्त र समाप्त महिना र महिना वर्षो भएर गुुज्रिरहेको छ । राष्ट्र बनाउँछु भन्नेहरु आफै चिनिको चास्नीमा डुबेर उम्कने नसक्ने गरी थचारिएका छन् । यस्तै छ आमा यहाँका खुस खबरी ।

धेरै दिन सपनामा आउछ्यौकि भनी पर्खी बसिरहेको छु तर तिमी आएनौँ । एक पटक छिमेकिलाई म त जाडोले लुकलुक कामिरहेको छु बाबुलाई पछ्यौरी पठाउन भनिदेउ भनी सपनामा देखाएकी थियौ रे । उनले आएर भनेपछि मैले न्यानो कपडा पछ्यौरा पठाइ दिएको थिए पुरेत बाजेसँग । त्योभन्दा पछि छिमेकिले पनि केही भनेकी छैनन् । मलाई पनि सपनामा देखा परेकी थिएनौ । हिजो झपक्क तिमीलाई न्यानो कपडा र पछ्यौरा ओडेर मन्दिर अगाडि उभिएको देखेको थिए । बोलाए मा भनी सम्बोधन गरे तिमी फर्किएनौ, झल्यास्स ब्युतिएँ ।

बिहानको ५ बजेको घण्टीले जगायो । त्यसपछि तिमी कहिल्यै आएनौ । दिनभर जसो आफन्नै काम धन्दामा अल्झिने हुँदा बिर्सन्छु जब घरको सम्झना आउछ त्यसबेला तिमीलाई तिम्रो विगत र वर्तमानलाई केलाउँदै अघि बढे जस्तो लाग्छ । कति रात निद पनि आएन हजुरले गरेको दुःख पिर सम्झदा । तल्लाघरे अन्तरे कान्छा पनि अब त ठूलो भइसक्यो । हामीलाई दुःखकष्टमा सघाउने माथ्लाघरे साइला पनि विदेश गएको फर्केर आएका छैनन् । साइली भन्दै थिइ के हो ? के हो ? विदेशमा त रुखमा पैसा फल्छ भनेर टिप्न गएका कहीँ रुखबाट खसेका त होइनन् ।

केही खबर आएको छैन भनी दुःख बिसाउँदै थिइन् । खोलापारी बाटुली काकीले पनि संसार छोडि सकिन् । बाले चिनोको रुपमा छोडेको खरीबोटको त्यो लहरे पिपल पनि मुझाई सकेको छ । नजिकै रहेको बरको रुख पनि उहिलै ढलिसक्यो । खोलाको डिलमा लगाएको सालको रुखले पनि धेरै बच्चा जन्माएको थियो । उजाड त्यो रातो डाडाभरी साल शिशौले हरियो भएको थियो आमा । केही समय त्यसबेला हरियो बन हाम्रो धन भनेको सुनिन्थ्यो ।

विभिन्न बोट बिरुवाले प्रभुत्व जमाएको त्यो पाखामा भएको रुखको अन्तरकुन्तरमा झुण्डिदा–झुण्डिदा नढलेको त्यो ठूलो पिपलको रुख पनि सुकिसक्यो । साल शिशौले भनिएको त्यो हरियो बन सहरमा घर बनाउनेले विस्तारै काट्दै छाट्दै पुरै बन भित्तामा परिणत भइसकेको छ । हिजो हामीलाई ओत दिने ती पाखापखेरा पनि चिरा–चिरा भएर लथालिङ्ग भइसके । के जाते मेसिनले बाटो बनाउने भनी जंगल छिया–छिया भइसके । हुनेखानेहरु बसाइ सर्ने क्रममा कतिपय ठूला सहरमा गइसके भने कतिपय काम खोज्न कालापार मुगलान पसिसके । कतिपय कोरिया मलेसिया हुँदै विदेशी गइसके ।

बाह्रै महिना कलकल बग्ने त्यो रोसीखोला पनि अब त बर्षामा मात्र सुसाउँछ धमिलो पानीसँग । अघिपछि कमिलाले रजाइ मारेको देखिन्छ । घर छेउको त्यो मूलपानी पनि सुकि सानो तुरुरर गर्छ । अब त पहाडबाट सधै बग्ने त्यो शीतल र सफा पानी धमिलो–धमिलो देखिन्छ । माछाको भुरा रमाउने खोलामा पनि खुल्टाखुल्टी परि पानी बत्तासिएको छ । अहिले र उहिलेको समयमा धेरै परिवर्तन भइसकेको छ आमामानिस–मानिसबिच भिन्नता छ ।

एकले अर्कालाई उछिल्ने तछाडमछाड गरिरहेका छन् । कोही कसैले कोही कसैको मतलब राख्दैनथे । त्यसबेला त कमसेकम खनीखोसी बनाएको बगर खेतमा खेताला गर्न, रोपाई गर्न सबै जुट्थे रमाइलो गर्थे अब त ती पनि बाझा छन् । थोरै खेती हुने त्यो २,४ वटा गह्रा पनि पोहर सालको बाढीले खेतलाई बगर गराइदिएको छ । राताघरे जिम्दार बाजेको गनारी खेतहरु पनि टुक्रा–टुक्रा भएर बेचि खाइसके । कति बाजै छन् । मानिस श्रम र मेहनतमा होइन पैसामा बिक्ने भइसकेका छन् । विदेश जानेको त कुरै नगरौँ ।

तलमाथि बाटामा हिड्दा भएका साथीहरुको कुरा सुन्दा अचम्म लाग्छ । कसैले मेरो छोरा जापान छ, छोरी अमेरिका छ भन्छन् कसैले मेरा छोराबुहारी नातिनातिना अष्ट्रेलियामा छन्, सानो छोरी पनि पढ्न अष्ट्रेलिया जान भिषा अप्लाइ गर्दै छे भन्छ्न । कोहीले मेरा नाती लुकिलुकि अमेरिकामा पुगेको छ ११ महिनामा भनी भन्छन् कसैले भने के गर्ने घरमा खानबस्नको दुःख छ । मेरो उहाँ त मलेसिया, कोरिया, जानु भाछ भन्छन् के–के राष्ट्र भन्छन् । खै कति सम्झने । विदेश नजाने भनेका त ५०, ६० काटेका बुढाबुढी मात्र छन् क्या हो आमा ।

पिपलबोट खत्री काजीले अस्ती भन्दै थिए– मेरो छोराबुहारी क्यानेडामा छन् छोरी जुवाई अष्ट्रेलियामा छन् राम्रै छ । के गर्ने देशमा रोजगारी छैन, नगएर पनि के गरुन । खान लाउनै प¥यो बच्चाबच्ची परिवारलाई पाल्नै प¥यो । कोही त उतैको नागरिक भइसके आमा । हिजो लाहुरे बाको नाति र नातिनी बुहारी भेट्न अष्ट्रेलिया गएका रे । नातिनी बुहारी सुत्केरी हुने थिइन छोरा बुहारी गएर आए हामी पनि पछि–पछि भेट्न गएका थियौ भन्दै थिए । बाचे नातिनातिनाको बिहेमा जानुपर्ला भन्दै गरेको हल्ला सुनेको थिए आमा ।

गरिब हुँदा खाने खाडीमुलुक दुवई, कतार हुनेखाने र धनाठ्य परिवारका व्यक्ति अमेरिका, जापान, युरोप, अष्ट्रेलिया, के–के नाम हुन् कति सम्झने गा का छन् रे । हिजो छोरीलाई कन्यादान दिएर घर पठाउथे बुढा पुराना अभिभावकले । अब त जवान छोराछोरीलाई बाबाआमाले विदेशमा कन्यादान दिएरै पठाउन थालिसके । विदेश गएका मानिसहरु बिरलै फर्केको सुनिन्छ । हिजो घाँसदाउरा गरेको जंगल मरभूमि भइसकेको छ । त्यहाँ त ठू–ठूला घर बन्दै छन् । बचेको थोरै डाँडोमा पनि टिमुर खेती गर्ने भनी सरकारले बजेट छुट्याइ दिएको छरे भन्ने सुनिन्छ ।

अलैचीबारी, सुन्तलाबारी, चियाबारी, करौती डाँडा, अदुवाबारी, बेसारबारी, पाँचऔले, सातऔले, च्याउबारी, उखुबारी के–के छन् के–के त्यसको खेती गरी नगद जम्मा गर्ने भनी भन्दै छन् भन्ने सुनिन्छ । पैसा खोला बगेझैँ बगेको छ उपतीखापती केही छैन । नजिकका टाठाबाठाले कुम्ल्याउँदै छन् भन्छन्– गाउँघर त उस्तै छ । विकास शुन्य प्राय छ । सबैले आफै पाइ गर्दै स्वार्थ बाटी बाड्दै गरेको देखिन्छ । औषधीको जडिबुटी भएको पल्लो डाँडा रित्तो भइसकेको छ आमा । खुल्ला वातावरण हुर्केको दिन अब त निसासिँदै छ । हरियो वन नेपालको धन भन्ने हाम्रो चलन उल्टो गतिमा चलिरहेको छ ।

बाँकी अर्को पटक …