पत्र साहित्य : भाईलाई चिठी
खगराज न्यौपाने
श्री प्यारा भाइ रमेश
शुभ–आर्शिवाद
यस पटक तिमीले अमेरिकाबाट पठाएको पत्र समय मै प्राप्त भयो । तिमीले आफ्नो पढाइ राम्रोसँग चलिरहेको कुरा पत्रमा उल्लेख गरेका देख्दा खुसी लाग्यो । तिमी र तिम्रा साथीहरूलाई पढाइमा सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु । हाल देश र देशबासीहरूको अवस्था कस्तो छ भनी जिज्ञासा राखेका रहेछौँ । यस्तो चाहना राखेकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु ।
भाइ रमेश, यस पटक गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ । राति ११.४७ मा भूकम्प आएको हुँदा समयमा सबै मस्त निद्रामा थिए । त्यसैले कयौ मानिस घर भत्किएर पुरिएर मरे । भाग्ने व्यक्तिले पनि केही बस्तुभाउ बचाउन सकेनन् । रातिमा कट्टु बनियनसँग बाहिर आएर बचे । दुर्गम ठाउ भएको हुनाले तत्काल उद्दार हुन नसक्दा पनि मानिसलाई बचाउन कठिन भयो । एक हप्ता बितिसक्दा पनि भूकम्प पीडितहरूले राहत पाउन नसकेको कुरा प्रकाशमा आएको छ ।
भूकम्प पछिका पराकम्पहरू आइरहेका छन् । मानिस जाडोमा कठांग्रीएर बाचेको अवस्था छ । बुढाबुढी बालबालिकाहरूको अवस्था झनै कठिन भएको छ । सुत्केरीहरूको अवस्था पनि जटिल छ । २०७२ सालमा पनि भूकम्पले ज्यादै दुःख दिएको थियो । राहतका लागि आएका सामग्रीहरू, त्रिपालहरू झ्यालढोका समेत भएका उच्च पदस्थ व्यक्ति र सांसदहरूले हात पारेको कुरा जनताका मस्तिष्कमा नाज्दै छ । विदेशीहरूले भूकम्प पीडितलाई राहत होस् भनी दिएका जस्ता पाता विरगञ्ज भन्सारमा पछिसम्म थन्किएको कुरा टिभि ले प्रशारण गरेबो थियो ।
राहतका लागि आएको खाद्य सामग्री पनि वडा कार्यालयमा थन्काएर राख्दा पछि कुहिएर गएको कुरा सञ्चारमा आएको थियो । राहत वितरणका नाममा फोटो खिचाएर देखाउने बस्तु पीडितलाई नदिएर आफैले राखेर मोटाउने नेपाली प्रवृत्तिमा यति चाडै परिवर्तन आए होला भनेर विश्वास गर्ने ठाउँ छैन । विचार मिल्ने आफ्ना मानिसलाई धेरै र अरुलाई कम राहत दिने नेपाली प्रवृत्तिबाट सबै जानकार छन् । यी यस्ता कुराहरूलाई आधार मानेर सरकारले एकद्धार प्रणाली राहतको व्यवस्था गर्नुपर्छ ।
भाइ रमेश, हाम्रा नेताहरूलाई काम गरेर हैन, हल्ला गरेर नागरिकमा प्रभव पार्ने बानी बसेको छ । भूकम्प आएको लगत्तै हाम्रा नेता, मन्त्रीहरू जाजरकोट र पश्चिम रुकुममा बुर्कुसी मार्दै जनआस्था बटुल्न दगुरे । स्थानीय सरकार त्यहीँ छ । त्यहीँको स्थानीय सरकारको रेखदेखमा सबै वितरणको काम भए त भइ हाल्छ । एक दुई जना मन्त्री गए त भइ हाल्छ । धेरै मन्त्रीहरू जानुपर्ने औचित्य केही पनि छैन । बरु पीडितका लागि धेरै राहतका सामग्री पठाउनुपर्छ ।
जनतालाई यथा समयमा राहत प्राप्त हुन सकोस् । भूकम्प ग्रस्त क्षेत्रमा भाँडामा मानिस बस्दै आएका छन् । घरमुली बाहिर काठमाडौँतिर बस्छन् । राहत घरमुलीलाई मिल्यो । ५ वर्षदेखि भाँडामा बस्दै आएका भाँडावालाले राहत नपाएको कुरा टेलिभिजनले देखाइरहेको छ । के स्थानीय सरकारलाई यत्ति पनि थाहा हुँदैन । यस्तो पक्षपात वा बदमासी पनि भइरहेको छ । यस्ता कुरामा सबैको ध्यान जाओस् । पक्षपात हटोस् । धेरै सत्तासिन मानिस हेलिकप्टर लिएर त्यहाँ जानुको कुनै अर्थ छैन ।
त्यसैले त नागरिक भन्छन् भूकम्प पीडितको निहँुमा भोजमस्ती गर्न नेताहरू दगुरेका छन् । उनीहरूको जादा आउदा लाग्ने खर्च भूकम्प पीडितलाई दिएको भए कति जाति हुन्थ्यो । राष्ट्रपति पनि भूकम्प पीडित कहाँ जादा हेलिकप्टर बसाउनका लागि भूकम्प पीडितलाई बसेको ठाउँबाट हटाउनु प¥यो । पीडितलाई कत्रो विचल्लि । भूकम्पले गर्दा धारापानीको टंकी पाइप बिग्रेर फुटेर समस्या परेको छ । पिउने पानीको व्यवस्था छैन । टाढाबाट बोकेर ल्याएको पानी पु¥याउनै धौ छ । शौच गर्ने ठाउँ थलो छैन ।
खुल्ला ठाउँमा शौच गर्दा वातावरण दुषित हुन गइ झाडापखला जस्ता रोग लाग्ने बढी सम्भावना रहेको छ । चिसो मौसम, ठाउँ पनि चिसो, चिसैका कारण अनेक रोग लाग्ने डर रहेको छ । भन्न त ठाउँ ठाउँबाट बिरामीका लागि डाक्टर वा स्वास्थ्य टोलीहरू औषधिसहित पठाइएका छन् । त्यो के कति पर्याप्त मात्रामा छ भन्न सकिँदैन । यो चिसो मौसममा के कति न्यानो कपडा कम्बल चाहिन्छ त्यो भोग्नेलाई मात्र थाहा छ । हालै जाजरकोटका लागि पठाएको तीन ट्रक सामान पूर्व अर्थमन्त्री जनार्दन शर्माले नियन्त्रणमा लिइ बिचबाटा बार्ट नाटकीयशैलीमा पश्चिम रुकुम पु¥याएको कुरा सञ्चारमा आएको छ ।
हाम्रा नेताहरू यस्तो काम गर्न पनि लजाउँदैनन् । भाइ रमेश, सरकारले क्षति पुगेका घरहरू यथाशिघ्र निर्माण गरी दिनुपर्छ । घाइतेहरूको सम्पूर्ण खर्च सरकारले व्यहोर्नु पर्छ । पीडितका लागि रासनको उचित प्रवन्ध मिलाइ दिनु पर्छ । एकातिर गोदाममा आएका खाद्य सामग्री थन्किने अर्कोतिर पीडितले भोकभोकै बस्नु पर्ने स्थिति आउनु हुँदैन । सरकारले पीडितका लागि घर निर्माण गर्दा चाहिने सम्पूर्ण बस्तुहरू घरघरमा पु¥याइदिनु पर्छ । पीडित बसोबास गरेको क्षेत्रमा सबै रोगका लागि निःशुल्क औषधीको व्यवस्था हुनुपर्छ ।
चौपाउहरू के कति मरे त्यसको क्षतिपूति दिनुपर्छ । भूकम्प कै कारण उद्योग धरायसी भएको भए सो को पनि क्षतिपूर्ति दिनुपर्छ । अब सरकारको सहयोगमा निर्माण हुने घरहरू कम वजनका हल्का बनाउन लाउनुपर्छ । जापान गइरहने देश हो । त्यहाँ भूकम्पबाट बच्नका लागि अपनाएको प्रविधिलाई यहाँ नेपालमा आयात गरिनुपर्छ । यस विषयमा हाम्रा नेपालीलाई जानकारी दिने परिपाटी बसाल्नु पर्छ ।
भूकम्प जाने ठाउँको पहिचान गरी त्यस ठाउँमा साना र हल्का घर बनाउन प्रोत्साहन दिनुपर्छ । विद्युतका टावर वा पोल बनाइ विद्युतको व्यवस्था मिलाउनुपर्छ । यी सबै पीडितहरूलाई सरबारले निर्धक्कसँग सहयोग गर्नुपर्छ । सहयोग गर्न चाहने सबै संघसंस्था वा व्यक्तिलाई सरकारको खातामा रकम जम्मा गरिदिन अनुरोध गर्ने र एकद्धार प्रणालीको नियम लागु गर्ने ।
भाइ रमेश, यस पटक भूकम्प ग्रस्त क्षेत्रका लागि भए गरेको र गर्नुपर्ने कुराहरू यस पत्रद्वारा मैले तिमीलाई जानकारी गराएको छु । बाँकी अर्को पत्रमा लेख्ने बाचा गर्दै यो सानो पत्रको बोट मार्न चाहन्छु । धन्यवाद
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने