पुस्तक समिक्षा : ‘सङ्कल्पन’ लोकतन्त्रको मूल्य बुझाउने पुस्तक

गत हप्ता विपुल पोखरेलकृत ‘सङ्कल्पन’ नामक एउटा पुस्तक हात प¥यो । विपुल पोखरेलसँग प्रत्यक्ष चिनजान नभए पनि, उहाँको पत्रकारिता र साहित्यिक क्षेत्रको सार्वजनिक पहिचान नै उहाँसँग जोडिने माध्यम थियो । सङ्कल्पन’ शब्द अलि पृथक लाग्यो । ‘सङ्कल्प’ कै अर्को रूप हुनुपर्छ जस्तो अनुभूति भयो । शब्दकोशमा पनि यसको स्पष्ट अर्थ भेट्टाउन सकिएन । बुझ्दै जाँदा, सङ्कल्प वा अठोट प्राप्त गर्ने विधि, प्रक्रिया वा प्रणाली नै ‘सङ्कल्पन’ हो भन्ने बुझेँ ।
यो कृति मुख्यतः विगत दुई दशकमा प्रकाशित लेखको संग्रह हो । लेखहरूलाई सङ्कलन गरेर पुस्तकको रूप दिने परम्परा पुरानै भए पनि, विषयवस्तुको सान्दर्भिकता र गुणस्तरका दृष्टिले ‘सङ्कल्पन’ एक पृथक कृति बन्न पुगेको छ । लोकतन्त्र, मिडिया, सामाजिक तथा राजनीतिक मुद्दाहरू र २०७२ सालको संविधान बन्नु अगाडिको खबरदारीलाई समेट्दै चार खण्डमा व्यवस्थित गरिएको यो पुस्तकले लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक अभ्यास र लोकतन्त्रका नवीन अवधारणाको फ्रेमवर्कभित्र रहेर विचार प्रस्तुत गरेको छ ।
लेखकको तर्क छ– लोकतन्त्र नै यस्तो आधार हो, जसको जगमा मात्र साँचो अर्थको समृद्धि अनुभूत गर्न सकिन्छ । लोकतान्त्रिक अभ्यासको परिष्करणका लागि निरन्तर बहस, छलफल र तर्क आवश्यक हुन्छन् । लेखकले विभिन्न दृष्टान्त प्रस्तुत गर्दै निर्वाचन, विधिको शासन, व्यक्तिगत स्वतन्त्रता, प्रेसको आजादीलगायत लोकतान्त्रिक प्रणालीका लागि अत्यावश्यक अवधारणाका बारेमा अद्यावधिक रहनु पर्ने कुरामा जोड दिएका छन् ।
हुन, त लोकतन्त्रको गुणस्तर मूर्त रूपमा मापन गर्न नसकिने हुँदा प्रायः शासक–प्रशासकको ध्यान यसतर्फ विरलै जान्छ । सडक, पुल, प्रतिव्यक्ति आय, ग्रोस घरेलु उत्पादनजस्ता सूचकहरू स्पष्ट रूपमा अङ्कमा नाप्न सकिने भए पनि लोकतन्त्रको गुणस्तरलाई त्यसरी मापन गर्न सकिँदैन । यसका बाबजुद ‘डेमोक्रेसी इन्डेक्स’ मा यसको मापन गर्ने प्रचलन भने रह िआएको छ ।
लोकतन्त्रको मूल्य बुझ्न कि लोकतन्त्र नभएको समाजको हिस्सा हुनुपर्छ, कि त लोकतन्त्र गुमेको समयको अनुभूति गरेको हुनुपर्छ । लेखकले आफ्नै अनुभव र लोकतन्त्रप्रतिको गहिरो प्रतिबद्धताको अभिव्यक्ति यस पुस्तकमा लिपिबद्ध गरेका छन् ।
अहिले लोकतन्त्र विकासको बाधक हो, त्यसैले यसमा थोरे कैची चलाएर भए पनि ‘द्रुत विकास’ चाहिन्छ भन्दै दयालु अधिनायकवाद (द्यभलभखयभिलत म्ष्अतबतयचकजष्उ) को खोजी गरिरहेको पनि पाइन्छ । विधि, प्रक्रिया, प्रणाली र सस्थागत अभ्यासभन्दा पनि जङ्गी र हुकुमी शैलीको शासक प्रतिको आशक्ति बढ्दै गएको हामी देख्छौँ ।
विस्तारै यसले सार्वजनिक स्वीकृति पाउँदै जाँदा यो खतरनाक अधिनायकवादमा रूपान्तरण हुन सक्छ । यसर्थ लेखकले सर्तक गराउँदै लोकतन्त्रको विकल्प उच्चतम रूपमा परिष्कृत लोकतन्त्र नै हो भन्ने तर्क पेस गरेका छन् । आम सञ्चार क्षेत्रमै सार्वजनिक पहिचान बनाउँदै, नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष समेत भइसकेका लेखकको लेखनको केन्द्रमा ‘मिडिया’ हुनु स्वाभाविक नै हो ।
मिडियाकर्मीको सर्वोच्च संस्था, नेपाल पत्रकार महासंघको नेतृत्वमा रहँदा, लेखकले मिडिया क्षेत्रको शुद्धिकरण, यसको निष्पक्षता र विश्वासनीयता सुनिश्चित गर्न गरिएका सुधारात्मक प्रयासबारे आफ्ना विचार प्रस्तुत गर्न योग्य र सम्माननीय ठान्छन् । प्रेस स्वतन्त्रताको नियमित संघर्ष, महासंघको शुद्धिकरण अभियान, प्रेसको उत्तरदायी छवि, सञ्चार क्षेत्रमा सामाजिक जिम्मेवारी जस्ता विषयमा लेखकका लेख मिडिया र लोकतन्त्रको अध्ययनमा रुचि राख्नेका लागि सङग्रहणीय छन् ।
सामाजिक सञ्जालको बढ्दो प्रभाव, नागरिक पत्रकारिताको ‘बिगबिगी’, र प्रविधिले थपेका चुनौतीबिच गहन पत्रकारिताको सम्भावित क्षयबारे लेखकको चिन्ता जायज छ । २०७२ को संविधान लेखिनु अघिको तत्कालीन अवस्था इतिहासमै एक चुनौतीपूर्ण कालखण्ड थियो । अत्यन्तै सूझबुझपूर्ण ढंगले र संयमतापूर्वक कदम चाल्नु पर्ने समयमा लेखकले त्यसको खबरदारी उत्तिकै जिम्मेवार र सन्तुलित ढंगले गरेका छन्, जुन उनका लेखमा प्रष्टै देखिन्छ ।
केही लेख पढ्दा त्यस समयको सन्दर्भ र घटनाक्रम बुझ्न आवश्यक हुन्छ । केही लेखमा वस्तुगत तथ्यभन्दा लेखकको व्यक्तिगत दृष्टिकोण अलिक बढी देखिन सक्छ, तर यसो हुनु अस्वाभाविक होइन । समग्रमा, यो पुस्तक लोकतन्त्र, मिडिया र समाज अध्ययनका पाठकको लागि गहन अध्ययनको एक सङग्रहणीय सन्दर्भ सामग्री हो । आगामी दिनमा, विपुल पोखरेलबाट यस्तै विषयमा लेखिएको विशेष पुस्तकको अपेक्षा हामी राख्छौँ ।
