पुतलीको हत्या

बसन्त उपाध्याय
नेपालगन्जमा ज्युँदै जलाएर महिलाको हत्या– म प्रश्न राख्न चाहन्छु : ए समाजका बाझहरू हो ’पुतलीको हत्या’ सुन्यौ नि है !!
नेपालगन्जमा ज्युँदै जलाएर एक महिलाको हत्या गरिएको घट्ना मानवता विरोधी जघन्य अपराध हो । त्यो क्रुर हत्यामा संलग्न समाजका लागि हानिकारक छन् । केही बर्ष अघि अघि एकजना युवा कविले आफ्नो सिर्जना सुनाइरहेकी थिइन् । काठमाडौंको कोलाहलबाट रोल्पाको सन्नाटामा उनको कविताले जोडदार आवाज पकड्यो ।
टुक्किको रोशनी मोहमा पुतलीहरू आत्मदाह गर्छन्, स–प्रेम । त्यो प्रकृतिको नियतीलाई पुतलीहरू बुझ्नै सक्दैनन । यहाँ त समाजमा जानाजान कयौं ‘पुतलीका हत्या’ हुन्छन । हत्याराहरू अरु कोही नभएर वरपरकै छिमेकी, आफन्त र जान्ने बुझ्नेहरू नै हुन्छन् । समाजमा म शिक्षाको थप उज्यालो खोजिरहेको महसुस गर्छु ।
मैले झल्यास्स सम्झिएँ । उ बेलाको रोल्पा जहाँ जन कम्युन अँकुराउँदै थियो । राज्य र विद्रोही पक्षबाट कयौं १पुतलीको हत्या’ भयो ।सम्झदा कहाली लाग्छ । आज फेरी त्यही चिहानबाट पुतलीका हत्याराहरूलाई एकजना कविले चेतावनी दिइरहेको गन्ध पाएँ । म जलजला सम्झन्छु, म थवांगलाई फन्को मार्छु ।
कवितालाई आवाज दिँदै त्रिभुवन विश्वविद्यालयकी एकजना गोल्डमेडलिष्ट एलिसा एकलास सस्वर गर्जिन्छिन् ः ‘म झुम्राका पुतलीको बिहे खेल्दै, रंगिन पुतलीका पछाडि दौडिने उमेरबाट अलिकति मात्रै जेठी भएकी थिएँ ।’
म कविताका ह्रफहरूमा शब्दका पदचाप केलाउने धृष्टता त गर्दिन तर कुनै बेला राजनीतिक आगो बल्ने रोल्पामा साहित्यले यतिबेला सायद सहिदका भित्ता रन्किए होलान् भन्ने अनुमान मात्रै लगाउँछु । मान्छेलाई कति छोयो वा छुन्छ एउटा अग्निपरीक्षा हो, कविका लागि । अनि समाजका लागि पनि ।
कविताका ओजनदार ह्रफहरू फेरि यसरी सरल रूपमा बहन्छन्–
समय, मसँगै
– वनमाराको चुङ्गी खेल्थ्यो
– डन्डिवियो हिर्काउँथ्यो
– एउटा खुट्टामा उभिएर ‘ढ्याक’ साथ्र्यो
– नाङ्गै खोल्साहरूमा पौडि खेल्थ्यो, दुवाली थुन्थ्यो
– विद्या नस्ट– कस्सम बारम्बार खान्थ्यो र लुकेर प्रार्थना गथ्र्यो सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी
– कसैले घाँटी छोएँ– हात फुफु गथ्र्यो, गलगाँडको डरले
– जुनकीरीहरू बटुल्थ्यो
– घामकिरिको पुच्छरमा धागो बाँधेर उडाउँथ्यो
बेला–बेला समाजका ठेकेदारहरूले पुतलीको हत्या गरेर आँफूलाई भयंकर पुररुषत्व फलाक्दै छाति चौडा गरेको देख्दा दया लाग्छ मलाई । अँझ कतिले त क्रान्तिकारी भनेर कुर्लेको देख्दा उदेयक लाग्छ । उमेर र उमेरसँगै समाजले हेर्ने नजरिया माथि छुरा चलाएकी छन् कविले । यी ह्रफहरूले समाजको नजर माथि जवर्जस्त प्रतिकार गर्छन् ।
समय खुब मस्ती गथ्र्यो म सँगै
समय सहेली थियो त्यो बेला
म नाङ्गै पौडी खेल्ने उमेरबाट
पेटिकोटमा नुहाउने उमेर मात्रै टेकेकी थिएँ
जब, समयले मलाई खेल बनायो, खेल्यो
मेरा झुम्राका पुतलीहरूको
– फरिया चोलो फुकाइयो
– हात भाँचियो
– टाउको चुँडालियो
कम्ती रोएकी थिइनँ म त्यो बेला रोल्पामा गुन्जिएको यो कवितालाई काठमाडौंले कति सुन्छ, मधेशले कति पढ्छ । मेची छेउ र महाकालि पारी कसरी बुझ्छन् त्यो थप महत्वपूर्ण हो झैं लाग्छ मलाई ।
कविता निरन्तर यसरी अघि बढ्दछ :
पुतलीको टीका लगाएर पैसा खोज्ने मलाई ‘बा’ ले रातो अक्षता लाइदिएर सय रुप्पे हातमा राखिदिए आमाले, गुलाफको माला घाँटीबाट लर्काइदिइन् मैले फुफु गरिनँ त्यही माला, पासो पो थियो कि ? मलाई के थाहा ?
कविताका यी पंक्तिले भाववह्वल बनाउँछन् । मैले दोहोर्याएर पढें, आँखा रसाउन थालेपछि कवितामा टक्क रोकिएको छु । तर, के यो समाज यसरी रोकिएला त ? मन मनै प्रश्न र प्रतिप्रश्न गर्छु । अभिभावकीय जिम्मेवारीबाट मुक्त हुने सोंचमाथि निकै चोटिलो प्रहार छ कविताका यी ह्रफहरूमा ।
यो पंक्तिकारले कवितालाई हरेक घरको आलो र ताजा उदाहरणको लागि प्रष्ट्याई हो भनेर बुझ्न बेर लगाउँदिन । जिन्दगी त्यसपछि रापिलो बन्नुपर्ने रहेछ र पो त,
– मैले जुनेली शितलतामा जुनकीरी खोज्न छोडें जिन्दगीमा ’आगलागी’ हुनुपर्ने रहेछ र पो त,
– मैले घामकिरीलाई पछ्याउन छोडें
मैले सबै छोडेँ
मै मन्डपकि सुन्दर पुतली बनेपछि
मैले सबै छोडेँ
कविताले परिवार, विवाह बन्धन र पुरुष प्रधान सोंच माथि गरिएको सभ्य प्रहार हो यो, समाजले यसलाई ग्रहण गर्न सक्नुपर्छ र सुध्रने चेष्टा गर्नै पर्छ । चाहे यो रोल्पामा गुञ्जिओस् अथवा राजधानीमा । यो कविता आम रूपमा नेपाली समाजको सोंच माथि शब्दको प्रहार हो, जति सक्यो चाँडो बुझन् सकौं ।
फेरी कविताका ओजनदार ह्रफहरू :
यतिबेला मेरै
फरिया तानिएको छ– दुस्सासनले द्रौपदि नङ्ग्याए जस्तो
शरिरभरी निलडाम छन्
खुट्टो मर्किएर ढ्याक खेल्न उचालिए जस्तै बाङ्गिएर हिँड्छु
मेरै परिवार म माथि ‘स्त्रीधनको चट्याङले हिर्काउँछ’
महाभारतको एउटा विचित्रताको वर्णन कवितामा मौलिक रूपमा गरिएको छ । पुतली त एउटा प्रतिनिधि पात्र मात्रै हो नि । समाजमा यस्ता शिकार धेरै भएका छन् र शिकारी खुल्लम खुल्ला ओहरदोहर गरिरन्छन् ।
कविताको उत्तरार्धमा लेखिएका यी पंक्तिहरूले आशा, भरोषा र विश्वास जस्ता शब्दलाई व्यवहारमा उतार्न सक्ने कि नसक्ने भन्ने प्रश्न टडकारो रूपमा उठाएको पाउँछु । सहन क्षमताले मनको दुवाली भत्काएपछि म आफैं आँसु रित्तिएकी पुतली भएकी छु आज र… त्यो पुतली ।
आफ्नै कोठाको सिलिङमा झुन्डिरहेकी छे त्यो पुतली मै हुँ महाभारतकी द्रौपदी जस्ती पुतली सिलिङमा द्रौपदी झुन्डिनुअघि सोच्दै थिई रुँदारुँदा आँसु सुकिसकेपछि तल उभिएर हेरिरहेकी मेरी पुतली छोरीले चोरी र माझी औंलाको बिचबाट बुढी औंलो छिराएर देखाउँदै भन्छे कि भन्दिनँ होला आमा पुतली तल आउ– म बुबु खान्छु ।
कविता साँच्चिकै मनलाई खोतलेर निचोरेर सलल बगेको छ । सोंचमा ढुसी लागेको समाजलाई ऐना देखाएको छ, यो कविताले । प्रश्नभित्र जवाफ पनि दिएको छ । कतिपय अवस्थामा सशक्त प्रतिवाद पनि छ । हस्तक्षेप पनि झल्कन्छ ।
सवाल यति मात्रै हो कि हाम्रो समाजले पुतलीलाई कसरी ग्रहण गर्न सक्छ भन्ने हो । न कि हत्या गर्छ भन्ने बाटोलाई बल पु¥याउनु हो । म त भन्छु पुतली तिमी मन चङ्गा भएर संसार जित्न उड्नुपर्छ । तिमी पुतली हौ रङ्ग–रङ्गको बंगैचामा तिम्रो उपस्थितिले जिवन्तता भर्दछ ।
अन्तमा ; पुतलीको हत्या हुनु हुँदैन, पुतली जिवन्त हुनुपर्छ ।
