तुफानबाबु श्रेष्ठ कुनै समय एक शक्तिशाली राजा थिए– वैभव, बुद्धि र प्रभावका दृष्टिले अनुपम । छिमेकी राज्यका राजाहरू समेत समय–समयमा उनका सल्लाह लिन आउँथे । विशाल दरबार, बलियो सेना, अपार धनसम्पत्ति र सुन्दर अन्तःपुरले सजिएको उनको जीवन बाहिरबाट हेर्दा पूर्ण र गौरवशाली देखिन्थ्यो ।
एक रात उनी आफ्नै शय्यामा विश्राम गरिरहेका थिए । मनमा विचारहरू उठ्न थाले– ’म कति भाग्यमानी छु ! मेरो परिवार कति ठुलो, मेरो राज्य कति सम्पन्न, मेरो खजाना कति विशाल! सायद मेरो वैभवको अगाडि धनका देवता कुबेर पनि फीका लाग्छन् ।’ राजा कवि हृदयका थिए र संस्कृतका विद्वान पनि । आफ्ना भावनालाई शब्दमा उतार्ने इच्छा जाग्यो ।
उनले एक श्लोक रचना गर्न थाले । तीन चरण तयार भए, तर चौथो चरण मिल्न सकेन । उनी ती तीन हरफ बारम्बार गुनगुनाइरहेका थिए– आफ्ना रानीहरूको सौन्दर्य, आफन्तहरूको साथ, सेवकहरूको निष्ठा र सेनाको शक्ति वर्णन गर्दै । उही रात एक चोर चोरी गर्ने उद्देश्यले राजमहलमा प्रवेश ग¥यो । मौका पाउँदै ऊ राजाको शयनकक्षमा छिरेर पलङमुनि लुकेर बस्यो ।
संयोगवश, त्यो चोर पनि संस्कृतको जानकार र आशुकवि थियो । उसले राजाले गुनगुनाइरहेको श्लोकका तीन चरण सुनेर बुझ्यो– राजा चौथो चरण बनाउन संघर्ष गरिरहेका छन् । कवित्वको उन्मेष उसभित्र जाग्यो । केही बेरका लागि उसले आफू चोर भएको कुरा नै बिर्सियो । जब राजाले फेरि तीन चरण दोहो¥याए, तब अनायासै चोरको मुखबाट चौथो चरण निस्कियो– ’यी सबै वैभव, शक्ति र सुखहरू केवल आँखाहरू खुलेसम्म मात्र छन् ।
आँखाहरू बन्द भएपछि केही पनि बाँकी रहँदैन । त्यसपछि केको गर्व ?’ यो वाक्य सुन्नासाथ राजा स्तब्ध भए । मानौँ कसैले उनको चेतनाको ढोका खोलिदिएको हो । उनले तुरुन्त आदेश दिए– ’जो कोही छ, बाहिर आऊ !’ डराउँदै चोर बाहिर आयो, हात जोड्दै भन्यो– ‘हे राजन् ! म चोरी गर्न आएको थिएँ, तर तपाईको श्लोक सुनेर कवित्व जाग्यो र अनायासै चौथो चरण पूरा गरें । म अपराधी हुँ, कृपया क्षमा दिनुहोस् ।’
राजाले गम्भीर तर नम्र स्वरमा भने– ‘आज तिमी मेरा गुरु भएका छौ । तिमीले मलाई जीवनको साँचो अर्थ बुझायौ । यो सबै वैभव क्षणिक मात्र रहेछ ।’ राजाको दृष्टि एकाएक परिवर्तित भयो । उनले अनुभव गरे– जसमा उनी गर्व गरिरहेका थिए, त्यो त नश्वर मात्र हो । उनले तत्काल निर्णय गरे– ‘अब म संन्यास लिन्छु । यो राज्य अब मेरो लागि तुच्छ भएको छ ।’
राजाले चोरलाई राज्य सम्हाल्न प्रस्ताव पनि गरे, तर चोर स्वयं पनि त्यो ज्ञानबाट प्रभावित भइसकेको थियो । उसले पनि भन्यो– ’हे राजन्, तपाईं जस्तै मेरो मन पनि परिवर्तन भएको छ । अब म पनि संन्यासको मार्ग रोज्छु ।’ यसरी, एक साधारण चोर र एक शक्तिशाली राजा– दुवैले संसारिक मोह त्यागेर आध्यात्मिक मार्ग रोजे । सम्यक् दृष्टि प्राप्त हुनु नै जीवनको साँचो मोड हो ।
जबसम्म मानिसको दृष्टि मोह, अहंकार र भोगविलासमा सीमित हुन्छ, तबसम्म ऊ भ्रममै बाँच्छ । तर जब सत्यको बोध हुन्छ, तब वस्तु वस्तुजस्तै देखिन्छ र आत्माको पहिचान हुन्छ । यही जागरण नै वास्तविक ज्ञान र मुक्तिको मार्ग हो ।