Goraksha

National Daily

जस्तो दृष्टि त्यस्तै सृष्टि

 सुप्रिया मा

हामी सबैले देख्ने संसार एउटै छैन । सबैको आ–आफ्नै संसार छ । हामी भित्रबाट जस्तो छौँ हाम्रा लागि यो संसार पनि त्यस्तै छ । हाम्रो मनमा जस्ता कुराहरु चलेका हुन्छन्, बाहिरको संसारमा पनि हामीले देख्ने त्यस्तै हो ।

एउटा भनाइ छ– ‘संसार कस्तो छ ? आफू जस्तो संसार त्यस्तै ।’ अर्थात् हाम्रो मन जस्तो छ, हामीभित्र जस्ता विचारहरु चलेका हुन्छन् हाम्रा लागि बाहिरको संसार पनि त्यस्तै लाग्छ । हामीले ध्यान दिने हो भने, एउटै बगैचामा जाने विभिन्न व्यक्तिहरुले फरक–फरक कुरा देखिरहेको पाइन्छ । जस्तै एउटा कवि गयो भने उसले फलहरुको सौन्दर्यको प्रशंसा गर्दै थुप्रै कविता लेख्दछ ।

कविको आँखाले बगैचामा फलको सौन्दर्य देख्छ । त्यही बगैचामा एउटा माली गयो भने उसले फूलहरुमा पानी र मलखाद पुगेको वा नपुगेको देख्दछ । त्यही बगैचामा एउटा व्यापारी गयो भने उसले कुन–कुन फूलको कति–कति मूल्य पर्छ भनेर मूल्यको हिसाब गर्न थाल्छ । त्यसैगरी त्यही बगैचामा एउटा वनस्पति शास्त्री गयो भने उसले त्यहाँ फूलेका फूलहरुमा कुन–कुन रसायन कति छ भनेर रसायनहरु हेर्दछ ।

त्यस्तैगरी फूलेको गुलावको बोटमा हेर्दा मन खुशी भएको व्यक्तिले फूल मात्र देखेको हुन्छ तर मन दु:खी भएको व्यक्तिले हेर्दा काँडा मात्र देखिरहेको हुन्छ । यथार्थमा गुलावको बोटमा फूल र काँडा दुवै कुरा रहेको हुन्छ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।

चोरले सबैलाई चोर नै देखेको हुन्छ र साधुले सबैलाई साधु नै देखेको हुन्छ । अर्थात् जो व्यक्ति जस्तो पृष्ठभूमिमा छ उसले सबै कुरा त्यस्तै बुझ्दछ र बाहिरको सबै कुरा उसले त्यस्तै देख्दछ । भोकले व्याकुल भएको व्यक्तिले चन्द्रमालाई हे¥यो भने उसले चन्द्रमामा रोटी देख्छ तर त्यही चन्द्रमामा प्रेममा परेका युवा–युवतीले हेरे भने उनीहरुले त्यसमा आफ्ना प्रियसी वा प्रियतमको अनुहार देख्दछन् । चन्द्रमामा न त रोटी छ, न त प्रियसी वा प्रियतमको अनुहार नै छ ।

जस्तो हाम्रो मनस्थिति हुन्छ संसार हाम्रा लागि त्यसतै भइदिन्छ । जस्तो दृष्टि त्यस्तै सृष्टि । दृष्टि र सृष्टिको कुरा गर्दा मैले कतै पढेको एक जना सू–तुङ्ग–पो (ई.स. १०३७–११०१) नाम गरेका प्रख्यात चाइनिज कविको जीवनमा घटेको एउटा घटना याद आयो । यो घटना हुनुभन्दा पहिला उनी चाइनाको एउटा राजदरबारका नामी कवि थिए ।

उनको कविताको प्रशंसा राजदरबारमा खुबै गरिन्थ्यो । पछि गएर उनका कविताहरु बौद्ध धर्मग्रन्थहरुमा पनि छापिएका पाइन्छन् । एक दिन सू–तुङ्ग–पोले दरबारमा कविता सुनाउँदै थिए । उनको कविता सुन्न एक जना बौद्ध भिक्षु पनि आएका थिए । भिक्षुलाई सम्मानका साथ दरबारमा अलि माथि नै राखियो, किनकि उनी विद्वान् सन्त थिए तर सू–तुङ्ग–पोलाई भने यो कुरा मन परेको थिएन ।

‘आफु यस्तो प्रख्यात कवि भएर पनि तल बसेको छु, एउटा भिक्षु भने माथिको आशनमा बस्ने’ भनेर मनभित्र भिक्षुप्रति इष्र्या जाग्यो र कुनै दिन ती भिक्षुलाई तल खसाउने वा तल देखाउने चाहना भयो । भिक्षुप्रति सू–तुङ्ग–पोको मनमा इष्र्याले डेरा जमायो । जब मानिसलाई इष्र्याले घेर्छ तब द्वेषको भाव पनि स्तः आउँछ ।

सू–तुङ्ग–पोको मनमा पनि इष्र्या मात्र होइन ती भिक्षुप्रति द्वेषको भाव पनि जागेर आयो । सू–तुङ्ग–पोले दरबारमा देश र दुनियाका कविता सुनाउँथे र आज पनि त्यस्तै खालका कविताहरु सुनाए । कसैलाई प्रशंसाले माथि उचाल्ने र कसैलाई गाली गरेर तल झार्ने खालका कविताहरु, राम्रो अविव्यक्तिका साथ सुनाउँथे र आज पनि त्यस्तै कविता सुनाए ।

दरबारमा सबैलाई उनको कविता खुब मन प¥यो । दरबारियाहरु धेरैजसो यस्तै कुरा सुन्न मन पराउँछन् । प्रज्ञा र विवेकका कुराहरु धेरै कम राजाहरुले मात्र मन पराउने गरेको पाइन्छ । आज पनि सू–तुङ्ग–पोले सुनाएका कविताको राजदरबारमा सबैले खुलेर प्रशंसा गरे तर त्यहाँ बसेका भिक्षु भने प्रमोदिता भावमा मुस्कुराए मात्र, केही पनि भनेनन्, प्रशंसा पनि गरेनन् ।

भिक्षुले आफूलाई ठूलो ठानेर मेरा यति राम्रा कविताहरुको प्रशंसा नगरेका हुन् भन्ने सू–तुङ्ग–पोलाई लाग्यो र उनको भिक्षुप्रतिको द्वेषको भाव अझ बलियो भयो । सू–तुङ्ग–पोले कुनै दिन ती भिक्षुलाई तल देखाउने र आफ्नो इष्र्या र द्वेषभाव शान्त पार्ने मौका खोजिरहेका थिए । एक दिन उनी तिनै भिक्षु भएको बौद्ध गुम्बामा ध्यान गर्न भनेर गए ।

गुम्बामा अरु धेरै मानिसहरु पनि ध्यानमा बसेका थिए र ध्यान तिनै भिक्षुले गराउँदै थिए । सू–तुङ्ग–पो पनि गएर ध्यानमा बसे । ध्यान सकिएपछि ती भिक्षुलाई सू–तुङ्ग–पोले सोधे ‘म आज यो ध्यानको आसनमा कस्तो देखिएको छु ?’ भिक्षुले जवाफ दिए–‘तपाईं यो ध्यानको आशनमा साक्षात बुद्ध जस्तो देखिनुभएको छ ।’

भिक्षुले त्यही कुरा सू–तुङ्ग–पोलाई पनि सोधे, ‘म चै आज कस्तो देखिएको छु ?’ सूले अलि ठूलो स्वरमा सबैले सुन्ने गरी जवाफ दिए ‘तपाई त यो आशनमा बस्दा गोबरको थुप्रो जस्तो पो देखिनुभएको छ, मैले त तपाईंलाई आज कत्ति पनि राम्रो देखिन ।’ त्यो समयमा चाइनामा सबैभन्दा नराम्रो भन्नुप¥यो भने गोबर भन्ने चलन रहेछ ।

सू–तुङ्ग–पोको त्यस्तो कुरा सुनेर भिक्षु मुस्कुराए र केही पनि जवाफ दिएनन् । ध्यानमा बसेका अरु साधकहरुले पनि सू–तुङ्ग–पोलाई हेरे तर कसैले पनि केही जवाफ दिएनन् । यो घटनाले सू–तुङ्ग–पोलाई मनमनै गर्व लाग्यो । ‘आज भिक्षुलाई मैले आफ्नो बौद्धिकताले गर्दा कसैले पनि केही जवाफ दिन नसक्ने गरी राम्रोसँग तल झारे‘ भन्ने ठानेर सू–तुङ्ग–पो गर्वले फुले ।

सू–तुङ्ग–पो निकै खुशी हुँदैघर आए र यो कुरा आफ्नी पत्नीलाई सुनाए । सू–तुङ्ग–पो कि पत्नी निकै ज्ञानि महिला थिइन् । उनी ध्यान साधना पनि गर्थिन् । सू–तुङ्ग–पोको यो कुरा सुनेर पत्नीले जवाफ दिइन्– ‘तपाईंको मन गोबरले भरिएको रहेछ, त्यसैले तपाईंले भिक्षुलाई गोबरजस्तो देख्नुभयो तर ति भिक्षु भने बुद्धत्वले भरिएका रहेछन् र उनले तपाईंलाई साक्षात् बुद्ध नै देखे ।’

पत्नीले फेरि भनिन्–‘तपाईंको त्यस्तो कुरा सुनेर, तपाईंभित्र गोबर भरिएको रहेछ भन्ने कुरा त्यहाँ ध्यान गर्न आएका अरु सबै मानिसहरुले पनि थाहा पाए, त्यसैले तपाईंसँग कसैले पनि केही बोलेनन् ।’ पत्नीको यस्तो कुराले सू–तुङ्ग–पोलाई निकै गम्भीर तुल्यायो । उनलाई आफ्नो इष्र्या र द्वेषले भरिएको मनप्रति दुःख लागेर आयो र केही दिनसम्म उनी निकै टोलाए ।

उनलाई आफ्नो इष्र्या र द्वेषले भरिएको मनलाई साधनाद्वारा निर्मल बनाउने चाहना जागेर आयो । पछि उनले धेरै साधना पनि गरे । पछि गएर उनले प्रज्ञा र विवेकसम्बन्धी धेरै राम्रा–राम्रा कविताहरु पनि लेखेका छन् । त्यसपछि उनले अरुलाई गाली गर्ने खालका कविताहरु लेख्न छोडिदिए ।

हाम्रो मन जस्तो कुराले भरिएको हुन्छ हामी अरुलाई पनि त्यस्तै देख्छौँ । यो संसार भनेको मनकै प्रक्षेपण हो । हामी काम, क्रोध, लोभ, मोह इष्र्या र द्वेषजस्ता व्याधीहरुले भरिएका छौँ भने यो संसार हाम्रा लागि नर्क लाग्छ ।

तर दया, माया, प्रेम, करुणा, शान्ति, आनन्द र बुद्धत्व जस्ता कुराले भरिएका छौँ भने यही संसार हामीलाई स्वर्ग लाग्छ । ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ आजलाई यत्ति नै, हरि ॐ !