Goraksha

National Daily

के गर्दैछन् भगवानका भगवानहरु ?

डा. कृष्णराज डी.सी.

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रबडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै
अरुको हा…हा…हामा लागेर
अरुको चपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै !)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु !
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बुढा-बूढीहरु !
ती बितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो !
ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी-कान्छीहरुका हो !
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’को
तर के आउँदैन यसबाट कहिलेकाहीँ
ओस्सिएको गन्ध तिम्रो आफन्तहरुका लाशको !

माथिको सुन्दर कवितामा कवि भूपि शेरचनले भनेजस्तै हामी नेपालीहरु आफ्नो होइन अरुको लडाइँ गर्दै आएका छौं, विनाकुनै स्वार्थ, विनाकुनै अर्थ अरुको हा…हा…मा लागेर अरुको थपडी र नाराले जागेर अरुले ख्वाएको जाँड र कटले मात्तिएर ‘आयो गोर्खाली’ भन्दै (हामी गोरु खालि बन्दै !) युद्धमा हाम्फालेर बेकारमा विनाकुनै अर्थ जीवन फालेका थियौं, फाल्दैछौं र फालेका हुनेछौं ।

दलिय राजनीतिमा जनतालाई भगवान् मानिन्छ किनभने जनताको इच्छाअनुसार जनताद्वारा जनताको लागि जनताले नै गर्ने शासनलाई प्रजातन्त्र वा लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा समाजवाद जोडेर लोकतान्त्रिक समाजवाद वा प्रजातान्त्रिक समाजवादको परिकल्पना नेपाली राजनीतिका शिखर पुरुष बी.पी. कोइरालाले गरेका थिए ।

उनको विचारमा जनता भनेका जनार्दन वा भगवान् हुन्, जनताले आफ्नो चाहनाअनुसार आफ्ना प्रतिनिधिहरुलाई सुनेर शासन सत्ता सञ्चालनको सर्वोच्च तहमा पुर्‍याउँछन् यदि ती जननिर्वाचित जनप्रतिनिधिहरुले जनताको इच्छाअनुसार मुलुकको र मुलुकवासीको हित गर्न सकेनन् भने पुनः अरुलाई नै सो तहमा पुर्‍याउँछन् यस्तो पद्धतिलाई राजनीतिशास्त्रको भाषामा लोकतन्त्र वा प्रजातन्त्र भनिन्छ ।

साम्यवादी दर्शनमा पनि जनतालाई नै सर्वोपरि स्थान प्रदान गर्ने गरिन्छ । नेपालमा पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता व्यक्तित्वहरुले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याएका छन् । खासगरी माक्र्सवादका अनुयायी मदन भण्डारीले जनताको बहुदलीय जनवादको दर्शन प्रतिपादन गरी नेपाली कम्युनिष्ट राजनीतिलाई नयाँ दिशा प्रदान गरेका थिए । उता माओवादी दर्शनमा टेकेर प्रचण्डले जनयुद्धको शुरुवात गरी नेपाली राजनीतिमा ठूलो हलचल ल्याइदिए ।

परन्तु वि.सं. २०६३ सालको बृहत शान्ति-सम्झौताअनुरुप नेपाली राजनीतिले नयाँ मोड लिई सुरक्षित अवतरण गर्‍यो । तर विडम्बनाको कुरा के भने नेपालको राजनीतिक इतिहासलाई नियाल्दा विगतदेखि वर्तमानसम्म अस्थिरताले जरो गाडेको देखिन्छ ।

१०४ बर्षे निरंकुश राणा शासनभित्र नेपाली जनताले ठूलो अन्याय सहनुपर्‍यो धेरै लामो संघर्ष र क्रान्तिपछि नेपालमा २००७ साल फागुन ७ गतेका दिन राणा शासकहरुको सदाको लागि पतन भयो भने नेपाली कांग्रेसको नेतृत्वमा सरकारको गठन भयो त्यसको केन्द्रीय नेतृत्व बी.पी. कोइरालाले लिए ।

उनको समयमा पनि सुवणर् शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता नेताहरु थिए र त्यतिबेला पनि दलिय राजनीतिमा शूक्ष्मरुपमै भए पनि एउटै दलभित्र विभिन्न गुट-उपगुटहरु सिर्जना भएको इतिहास देखिन्छ । पछि २०४६ सालमा ३० वर्षे निरंकुश निर्दलीय पञ्चायती व्यवस्थापन पतनपछि बहुदलीय व्यवस्थाको पुनरागमन भएपश्चात् कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्रीको जिम्मा लिए र उनकै नेतृत्वमा नेपालको संविधान २०४७ प्राप्त भयो ।

तर, त्यस समयमा पनि करिब दुई तिहाई बहुमत प्राप्त गरेको नेपाली कांग्रेसभित्र अनेकौँ गुट-उपगुटहरुको सिर्जना भई राजनीतिक अस्थिरताको बिजारोपण गरियो । तत्पश्चात् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचनको घोषणा गरी ताजा जनादेश लिने आकांक्षाले नेपाली कांग्रेस दलिय राजनीतिको दलदलमा फस्यो ।

पछि एमालेले शासनसत्ता आफ्नो हातमा लियो र पटक-पटक सरकारमा जाने शौभाग्य प्राप्त गर्‍यो । मनमोहन अधिकारी मुलुकको प्रधानमन्त्री बने । उनीपछि क्रमशः माधव नेपाल, झलनाथ खनाल, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई आदि नेकपाका केन्द्रीय शिखर नेतृत्वहरुले शासन सत्ता सञ्चालनको जिम्मा लिएको देखिन्छ ।

नेपाली कांग्रेसमा पनि कृष्णप्रसाद भट्टराईपछि क्रमशः गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाले पटक-पटक मुलुकको प्रधानमन्त्री बन्ने शौभाग्य प्राप्त गरे । त्यसको साथै लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, तुलसी गिरी आदिले पनि मुलुकको प्रधानमन्त्री बन्ने शौभाग्य पाए तर नेपाली राजनीतिले स्थिरता प्राप्त गर्न सकेन ।

वर्तमान समयमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरु एकजुट भएर नेकपाको गठन गरी निर्वाचनमा गएपछि कम्तीमा ५ वर्ष एउटै दलले शासन गरोस् भन्ने हेतुले नेपाली जनताले नेकपालाई करिब दुई तिहाई बहुमत प्रदान गरी मुलुकको शासनसत्ता सञ्चालनको जिम्मेवारी नेपाली जनताले प्रदान गर्‍यो । जसको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

ओलीको कार्यकालमा करिब साढे दुई वर्षको समयावधिमा नेकपाले आफ्नो सरकार सञ्चालन गरिसकेको छ । तर दुर्भाग्यको कुरा दलिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थको कारणले विभिन्न गुट-उपगुटहरुको सिर्जना गरी अहिले पनि नेपालमा राजनीतिक अस्थिरताको खेल शुरु भएको छ । वास्तवमा यो खेल देश र जनताको लागि ठूलो दुर्भाग्य हो ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सर्वसम्मतरुपमा जारी गरेर महाकालीको सीमा लिम्पियाधुरा रहेको कालापानी र लिपुलेख नेपालकै भूभागभित्र पर्ने घोषणा गरेपछि नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको अवस्थामा पुनः प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्याको सन्दर्भलाई अगाडि सारेपछि लिम्पियाधुरा, कालापानी र लिपुलेखको सन्दर्भ ओझेलमा पर्छ कि भन्ने निराशा नेपाली जनतामा उत्पन्न भएको छ ।

जे होस्, देश र जनताको हितको लागि जनताले चुनेर पठाएको पार्टीले नै आफ्नो कार्यकालसम्म पूणर्रुपमा सरकार सञ्चालन गर्न पाउनुपर्छ अनि मात्र देश र देशवासीको हित हुन्छ भन्ने मूल मान्यतालाई बिर्सने छुट कसैलाई पनि छैन चाहे त्यो जुनसुकै बहानाबाजीमा होस् ।

हुन त भगवान् भन्नाले सर्वशक्तिमान्, सर्वज्ञ, सर्वव्यापी आदिजस्ता चामत्कारिक गुणले युक्त कुनै अदृश्य शक्तिलाई हामी बुझ्ने गर्दछौं । उनी निराकार, निरञ्जन र अन्तर्यामी छन् भन्न्े हाम्रो लोक मान्यता रहिआएको छ खासगरी अध्यात्मवादी दर्शनमा विश्वास गर्नेहरुका लागि मात्र । तर भौतिकवादी दर्शनमा विश्वास गर्नेहरुका भगवान् भने आ-आफ्नै छन् ।

जसरी आस्तिक वा अध्यात्मवादी दर्शनका अनुयायीहरुले पनि आ-आफ्ना भगवान्हरुलाई उनीहरुका आ-आफ्ना घरहरुजस्तै मन्दिर, मस्जिद, चर्च, गुम्बा आदिमा फरक-फरक शैलीमा फेला पार्दछन् त्यसैगरी भौतिकवादी दर्शनका अनुयायीहरुले पनि आ-आफ्ना भगवान्हरुलाई फरक-फरक शैलीमा र फरक-फरक नामले फरक-फरक देशमा स्तुतिगान गर्दै आएका देखिन्छन् ।

जर्मनीमा कार्लमाक्स, चीनमा माओत्सेतुङ, रुसमा लेनिन, अमेरिकामा अब्राहम लिंकन, फ्रान्समा रुसो, भोल्तेयर, भारतमा महात्मा गान्धी, जोहारलाल नेहरु, बेलायतमा जोन लक, नेपालमा बी.पी. कोइराला, सुवणर् शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी आदि । तर वास्तविक कुरा के छ भने आध्यात्मिक वा भौतिकवादी दुबै दर्शनमा आ-आफ्ना प्रकारका फरक-फरक भगवान्हरु भए पनि लोकदर्शनमा वा लोकतन्त्रमा सबै धर्म, सबै दर्शन वा सबै विचारका लागि सर्वमान्य भगवान् एउटै छन् ।

ती भगवान्हरुका बस्ने घरहरु पनि समान छन् त्यहाँ कुनै मठमन्दिर, मस्जिद, चर्च, गुम्बा आदिको विवाद छैन साथै देशका हिसाबले पनि सबै देशमा तिनीहरुको नाम समान छ । त्यहाँ कुनै माक्र्स, माओ, लेनिन, रुसो, जोन लक, अब्राहम लिंकन आदिजस्तो फरक-फरक नाम उच्चारण गरिँदैन । तसर्थ विश्वका सबै देशहरुमा ती भगवान् बस्ने मन्दिर एउटै छ र नाम पनि एउटै छ, त्यो मन्दिरको नाम हो, घर र त्यो घरमा बस्ने भगवान्को नाम हो- जनता वा जनार्दन ।

जनतालाई राजनीतिमा जनार्दन वा भगवान् भन्ने गरिन्छ तसर्थ खासगरी लोकतान्त्रिक मुलुकहरुका सबै जननिर्वाचित जनप्रतिनिधिहरु जनतारुपि भगवान्का पनि भगवान् हुन् । किनभने यिनीहरुले देश र देशवासीको भाग्यरेखा कोर्ने काम गर्दछन् । यदि चुनावको बेला विभिन्न दलहरुले जनतासमक्ष प्रस्तुत गरेको घोषणापत्रबमोजिम जननिर्वाचित दल र त्यसका प्रतिनिधिहरुले यदि काम गर्न सकेनन् भने निश्चितरुपमा जनताले तिनीहरुलाई पदच्यूत गरिदिन्छन् ।

राजनीतिशास्त्रको सिद्धान्तअनुसार जहिले पनि जनताले लोकप्रिय दल र त्यसका प्रतिनिधिहरुलाई चुनावमा मतदान गर्दछ तर योग्य प्रतिनिधिहरु र दललाई उसले प्रवाह गर्दैन । आज यो मुलुकमा मात्र होइन विश्वमै एउटा ठूलो मानव सन्त्रासको पीडा फैलिइरहेको छ, त्यो पीडा भनेको कोरोना युद्ध हो । कोरोना नामक भाइरसले विश्व मानव सभ्यतालाई नै चुनौती दिइरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहेन, रहने कुरो पनि भएन ।

खासगरी युरोपियन र अमेरिकन मुलुकहरु यो पीडाबाट बढी क्षति ब्यहोरिरहेका छन् भने एसियन र अफ्रिकन मुलुकहरुले तुलनात्मकरुपमा कम क्षति ब्यहोरिरहेका छन् । उद्योग, यातायात, सञ्चार, कृषि, शिक्षा, वाणिज्य आदि विभिन्न क्षेत्रहरु कोरोना महामारीका कारणले नराम्रोसित प्रभावित भइरहेका छन् । देश र देशवासीहरुको अवस्था अत्यन्तै भयावहपूणर् छ ।

यो स्थितिमा जनतारुपि भगवान्ले आफ्नो र आफ्नो देशको भाग्यरेखा कोर्न भनी शासनसत्ता सञ्चालनको माथिल्लो तहमा पुर्‍याएका जनप्रतिनिधिहरुबीच यतिखेर व्यक्तिगत र गुटगत स्वार्थको लागि अनेकौँ हलचलहरु उत्पन्न भएका छन् । एकथरि गुटले प्रधानमन्त्रीलाई सत्ता र दलको प्रमुखबाट हटाउने प्रस्ताव राख्दछन् भने आफूले ५ वर्षको लागि जनताको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री आफू कुनै पनि पदबाट राजीनामा नदिने दृढप्रतिज्ञा जाहेर गर्दै आएका छन् ।

आम सञ्चारका माध्यमहरुले देश-विदेशमा अनावश्यक होहल्ला गरिरहेका छन् र यतिखेर सार्वभौमसत्ता सम्पन्न र राजकीय सत्तासम्पन्न नेपाली जनता वा भगवान्ले आफूलाई कल्याण गर्नको निमित्त भगवान्को रुपमा शासनसत्ताको तहका पठाएका सत्ताधारी दलका शिखर व्यक्तित्वहरुबीच को यो अप्रिय झगडाले गर्दा उनीहरुमा घोर निराशा उत्पन्न भएको देखिन्छ ।

हामी त्यस्तो देशका बासिन्दा भयौं जुन देशका अगुवाहरु स्वविवेकभन्दा अरुहरुको लहलहैमा चल्ने भए । लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् हामीले गर्दै आएका छौं वा छैनौं भन्ने यक्ष प्रश्न यतिखेर हामी आफैबीचबाट उत्पन्न भएको छ । वास्तवमा भगवान् भन्नाले भौतिकवादी दर्शनमा त्यति राम्रो मानिँदैन किनभने दार्शनिक नित्सेले भगवान् वा ईश्वरको मृत्यु पहिले नै भइसकेको घोषणा गरेका छन् ।

नास्तिकवादी दर्शनमा विश्वास गर्नेहरु नित्सेको विचारमाथि सहमति जनाउँछन् तर आस्तिक दर्शनमा विश्वास गर्नेहरु सर्वसत्तावादी परमेश्वरले नै सबै काम गरिदिन्छ, हाम्रो ईच्छाअनुसार कुनै काम हुँदैन भन्ने मान्यता राख्दछन् तर यी दुबै दर्शनहरुभन्दा फरक शैलीका भगवान् भनेका जनता हुन् ।

यदि भगवान्रुपी जनतालाई छलछाम गरेर वा ढाँटेर हामीले सत्तास्वार्थ, दलिय स्वार्थ, व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ वा जातिगत स्वार्थ वा क्षेत्रीय स्वार्थ वा लैंगिक स्वार्थमा चासो राख्यौं भने ती भगवान्रुपी जनताको हामीलाई ठूलो पाप लाग्नेछ अनि हामी अघोर नरकतर्फको यात्रामा अभिमुख हुनेछौं ।

निश्कर्षमा के भन्न सकिन्छ भने नेपालको राजनीतिक अस्थिरता लाई नियाल्दा विभिन्न शासनकालमा अस्थिर नै रहेको देखिन्छ । त्यही अस्थिरताको फाइदा उठाएर कोतपर्वको हत्याकाण्डपछि जंगबहादुर र उनका सन्तानले १०४ वर्षसम्म शासन गरे । पञ्चायतले पनि अस्थिरताकै कारणले नेपाली राजनीतिमा हात हाल्ने मौका पायो ।

लामो समयको संघर्ष र महान शहीदहरुको बलिदानीपछि प्राप्त वर्तमान लोकतान्त्रिक गणतन्त्रमाथि पनि अनेकौं प्रहार विभिन्न कोणबाट भइरहेका छन् । हामी खासगरी दुई विशाल शक्तिसम्पन्न राष्ट्र चीन र भारतको बीचमा रहेका छौं । यी दुबै राष्ट्रहरुसँग कुटनीतिक सम्बन्ध कायम राखी असंलग्न परराष्ट्रको नीतिलाई आत्मसात् गरी विभिन्न समयका र विभिन्न दलका यो देशका सरकारहरुले देश र जनतालाई सर्वेसर्वा राखी काम गरे भने नेपाल र नेपालीको चिरकालसम्म कल्याण हुँदै जानेछ अन्यथा यो देश र देशवासीले धेरै दुःख ब्यहोर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।