लुटको पनि सीमा हुन्छ
मनोज पौडेल
लुट्नुको पनि सीमा हुन्छ भन्ने सुनेको थिएँ । मलाई यो कुरा सुनेर हाँसो लाग्थ्यो …. एक त लुट … अनि त्यसको पनि सीमा …. अहिले आएर थाहा भयो, हो रै‘छ भनेर । अति गर्नु तर अचाक्ली नगर्नु भन्छन् तर … पराकाष्ठा नै नाघे पनि कसैले केही गर्ने वा गर्न सक्नेवाला छैन । सन्दर्भ हो निजी विद्यालय–शिक्षक–कर्मचारी–पारिश्रमिक……।
नैतिकता गुमाएकोसँग आचरणको कुरा गर्नु बेकार हुन्छ । लाज नभएकाहरुलाई लाज पचाउँछन् भन्न मिल्दैन, बुझपचाउने बुझेकाहरुले नै हुन् दुईमत कसैको नहोला । हामी नेपाली हरेक विकृतिका सुरुवातलाई सामान्य लिन्छौँ । जब त्यस विकृतिले ठूलो रुप लिन्छ अनि ढ्याङ्ग्रो पिट्छौँ, हल्लाखल्ला गर्छौँ र त्यो हल्लाखल्ला व्यर्थैको हुन्छ । किनकि हामीलाई कुरा गर्ने एउटा कुरा त चाहियो त्यो वाहेक म केही देख्दिन ।
मैले मेरो नजरबाट अहिले देखेको के हो भने अधिकांश निजी विद्यालयका कर्मचारीले लकडाउन अवधिको पारिश्रमिक पाउनेवाला छैनन । तर निजी विद्यालयले कुनै न कुनै नाममा यो अवधिमा गरिएको उनीहरुको पैसाको हिसाबकिताब अभिभावकबाट अशुल गर्छन र सायद विरलै अभिभावकले यस कुराको उठान गर्नेछन् । व्यवसाय–व्यावसायिक हुन जरुरी छ, जब कुनै पनि व्यवसायमा लागेकाहरु व्यावसायिक हुन्छन् तब मात्र मर्यादा पालनको तर्क सान्दर्भिक हुन्छ तर नेपालको सन्दर्भमा व्यावसायिकता आकाशको फल आँखा तरी….भनेजस्तै भयो ।
यो विषयले बजार पाइरहेको समयमा एकजना मित्रले भन्नुभयो ‘सर ! यसमा निजी विद्यालयसम्बन्धी संघसंगठनले हेर्छ होला, हेर्नु पनि पर्ने हो ।’ म हाँसे र भने ‘सर ! यी संघसंगठन कसरी मुनाफा बढाउन सकिन्छ भनेर खोलिएका हुन् नकि शिक्षक–विद्यार्थी हकहितका लागि…कुरो स्पष्ट छ Its founders solidarity not of the workers…(यो संस्थापकहरुको एकता हो नकि कामदारहरुको) अनि के आशा गर्नुहुन्छ तपाईँ ?’
निजी विद्यालय पढ्ने हाम्रा बालबालिकाको मासिक शिक्षण शुल्क तिर्ने बेला कम्प्यूटर, डान्स–म्युजिकलगायत विविध शीर्षकमा थप रकम तिरेकै छौँ । हरेक वर्ष वार्षिक परीक्षा सकिएको दिन पछिको सो महिनामा बचेका दिनका पनि पूर्ण शुल्क तिरेका छौँ । हामी कतिले दशैँ बिदाको बेलामा पनि यो विविध शीर्षक मात्र होइन गाडीको पनि पूर्ण शुल्क तिरेका छौँ ? हिजोका दिनमा एउटा छाप्रोबाट भाडाका कोठाबाट खोलिएका निजी विद्यालयहरुले आफ्नै स्वामित्वमा गगनचुम्बी महल बनाइसकेका छन् ।
फाटेका चप्पल लगाएर गाउँघरतिर हिड्ने लगानीकर्ता चिल्लो कार चढ्ने भइसके । उनीहरुले सधैँ चप्पल नै लगाउनुपर्छ भन्ने त होइन । विद्यालय सधैँ हिजोकै अवस्थामा हुनुपर्छ भनेको होइन । सबैले प्रगति गर्नुपर्छ, अगाडि बढ्नुपर्छ तर त्यो सँगसँगै नैतिक–सामाजिक–व्यावसायिक जिम्मेवारी पनि थपिएको हुन्छ र त्यसलाई वहन गर्न सक्नुपर्छ । राष्ट्र र समाजप्रतिको जिम्मेवारीको कुरा नगरौँ जसको मिहिनेत र परिश्रमले तिमी बाँचेको मात्र होइन मोज गरिरहेका छौ उसको हात यस विषम परिस्थितिमा थाम्म सक्दैनौ भने तिमीले के गर्न सक्छौ ? यो नाफा नोक्सान हेर्ने समय होइन यो बाचौँ र बचाऔँ भन्ने समय हो भनेर हामी सर्वसाधारणले समाजमा बुज्रुक र विद्वत्ताको खोल ओढेकाहरुलाई भनिरहन कतिको जरुरी छ कुन्नि ?
आफ्नो कामकर्तव्य जिम्मेवारी र उत्तरदायित्व बिर्सेर सरकारको पछि लाग्नेलाई त राम–राम भन्ने हो । म जस्ताले चित्त नबुझेका कुरा मिडियामा पोख्छन्, अरुले साथीभाइ, इष्टमित्रसँग पोख्छन् तर खुरुक्क विद्यालय जान्छन् शुल्क तिर्छन र आफ्नै अनैतिकताभित्र अरुको नैतिकता खोज्ने ? तर पनि यो समय निजी विद्यालयहरुप्रति नैतिक प्रश्न उठान गर्ने उचित समय चाहिँ पक्कै हो ।
अहिलेका सामाजिक सञ्जाल र युट्युव च्यानलहरु समय सान्दर्भिक कुराहरु उठान गरेको कुरा गर्छन् तर अहिले केही हप्तादेखि देख्दै छु कि काम कुरो एकातिर कुम्लो बोकी….तिर भनेजस्तो चाहिनेभन्दा बढी हङ्गामा सिर्जना भएको छ । यट्युबेहरुको कुरा नै बेग्लै …!!
सुने निजी विद्यालयहरुले देशविदेशमा बिक्ने जनशक्ति तयार गरेका छन् रे र यदि सरकारको सहयोग भएन भने बन्द गर्ने रे ! ब्रेन–ड्रेनको हवाला दिएर उनीहरुले आफ्नो शक्ति प्रदर्शन गरेका हुन् अथवा असमर्थतालाई छरपष्ट पारेका हुन्, बुझ्न गाह्रो छ । वर्षौँ शैक्षिक लुटको व्यापार गरेर मुनाफा संकलन गर्दा त कोही बोलेन नि, जब तिम्रो ल्याकत हेर्ने समय आयो अनि बेतुकको नाटक किन ? म लुट किन पनि भन्दै छु भने लामो बिदाको दिनमा होला शिक्षकलाई पारिश्रमिक दिनुपर्छ तर गाडीको इन्धन त बच्छ नि विजुलीपानीको शुल्क पनि कम त हुन्छ नि । दैनिक मसलन्द खर्च त हुँदैन नि है ।
लामो बिदा किन एक दिन पनि विद्यालय बन्द भए यी खर्चहरु बच्ने नै हुन् । यतिका वर्षसम्म हामी अभिभावकले फोकटमा दिइरहेकै हो त, फोकट किन पनि भने यो न्यायसंगत छैन । धेरै दृष्टान्तहरु छन्, प्रायः सबै अभिभावकलाई आँ गर्दा अलङ्कार नै छ । हामीले त छाति चौडा गरेकै छौँ र गर्छौं पनि किनकि हामीलाई हाम्रो बालबालिकाप्रति प्रेम छ । जब तिम्रो पालो आयो अनि मुख किन बङ्ग्याउँछौ ? त्यो पनि हामी हाम्रो लागि भनिरहेका छैनौँ तिम्रै मजदुरहरुको लागि वकालत गरेका हौँ । तर यसको मतलव हामीबाट उठाउ अनि व्यवस्थापन गर भनेको चाहिँ पक्कै होइन । परन्तु यी सबैको भार हामीले कुनै न कुनै वहानामा उठाउनु नै पर्छ र यो स्वर्णिम अवसर हामीले पाउने नै छौँ ।
एउटा अभिभाकलाई यो कुरा उठान गर्न पनि गाह्रो छ । अभिभावक संघसंगठन त छन् तर खोई कता छन् ? नाम मात्रका यस्ता संघसंगठन हुनुभन्दा नहुनु नै राम्रो । हो हामीलाई यो पनि थाहा छ कि सबै निजी विद्यालयको आर्थिक हैसियत एउटै छैन, तर तिनै सीमित औँलामा गन्दा अट्ने विद्यालयको नाम बेचेर आफ्नो जिम्मेवारीबाट पञ्छिन मिल्छ ? यदि अप्ठेरो नै परेको हो भने पनि लगानीकर्ताहरुले फाइदामा भाको बेला मुनाफा बाँड्न सक्छन् भने आफ्नो जिम्मेवारी पूरा गर्न पैसा उठाएर पारिश्रमिक दिन पनि सक्छन् ।
हाम्रा छोराछोरीलाई सामाजिक उत्तरदायित्व, नागरिक कर्तव्य र अधिकार, इमानदारिता, जिम्मेवारी र नैतिकताको पाठ सिकाउनेहरु आफै थाङ्नामा सुतेपछि कसको के लाग्छ र ? हामीले के अपेक्षा गर्ने ? कर्णधार निर्माणको कथित जिम्मेवारी लिएका र डङ्का पिटने मात्र होइन सो अनुरुप व्यवहार देखाऊ ।
तँ बोल्दै गर मेरा….नडोल भने जस्तो नहोस । अधिकार सबैले पाउनुपर्छ । न्याय सबैले पाउनुपर्छ । कसैको लागि यो विषय वा उठान सामान्य पनि होला । त्यही कारण नागरिक समाज र अधिकारकर्मीहरु मौन रहेका होलान् वा उनीहरुले स्थान नपाएका पनि हुनसक्छन। रामजाने ! याद रहोस् कुनै पनि विषयले स्थान समयमै पाउनु पर्छ र त्यस विषयसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने सबैले समयमै सचेत पाइला चाल्न जरुरी रहन्छ । खोर समयमै बलियो बनाउनुपर्छ नत्र स्यालले कुखुरा चोरेर लाने पक्का छ ।
यस कुरामा सम्बन्धित सबैको ध्यान जावोस् । हामी अभिभावक बाहिर जति कुर्ले पनि हाम्रा प्यारा नाना–नानीको विद्यालयले जे भन्छ त्यो सहर्ष स्वीकार गर्छौं । किनकि हामीसँग अर्को बलियो विकल्प पनि त छैन र होस् पनि कसरी ? जति जोगी आए कानै चिरेका हुने त हो नि ! र, पीडित शिक्षकको हकमा पनि त्यही नै भएको देख्छु म त । किनकि जब विकल्प वा अवसर कम हुन्छन् पीडक जहिले माथि हुन्छ । म सँग यसै सन्दर्भका धेरै दृष्टान्तहरु छन्, ती विषय उठान गर्न मेरो आचरणले दिँदैन । किनकि म पनि कुनै समय निजी विद्यालयमा काम गर्थेँ । श्री पशुपतिनाथले सबैलाई सत्बुद्धि प्रदान गरुन् !
