calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

पत्नी गुमाएका गुरुलाई भेट्दा…

विपुल पोख्रेल

‘जनमत संग्रहको चुनाव भनेपछि ०३८ सालदेखि हो बुडियाले औषधी खान थालेको, पहिला–पहिला एक पटक खुवाएर केही समय ठिक हुन्थ्यो, पछि त दैनिक नै खुवाउदै थियौं, दुःख पाइन बुडियाले’ पत्नी शोकमा रहेका बरिष्ठ पत्रकार तथा सबैका गुरु नारायणप्रसाद शर्मासंगको मंगलबार बिहानको सम्बादको अंश हो यो ।

मंगलबार गुरुले पत्नी गुमाएको ९ दिन भएको थियो । सोमबार बेलुका अवेला दाङ आइपुगेको म मंगलबार नै गुरु र शोकमा रहेको उहाँको परिवारलाई भेट्न गएको थिए । अलिअली घाम झुल्केको थियो म पुग्दा । गुरु शुरुमै देखिनुभयो, प्लष्टिकको कुर्सीमा बसेको । प्रताप दाइ (गुरुका साहिला छोरा तथा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष) घाममा आफ्नो शरिर पार्ने गरी सिढिंमा उभिनु भएको थियो । केही मानिसहरु पनि हुनुहुन्थ्यो । मसंग पत्रकारहरु लक्ष्मीमान चौधरी, रोशनमानश्रेष्ठ र देवेन्द्र बस्नेत पनि थिए । हामी पुगेर गुरुआमाको तस्विरमा पुष्पार्पण ग¥यौं र बस्यौ ।

गुरु निन्याउरो अनुहारमा हुनुहन्थ्यो, प्रताप दाइका आँखा रसिला नै देखे, शुरुमा केही बोल्न सकेन कसैसंँग । प्रताप दाइले कहिले आएको सोध्नुभयो, अनी बल्ल बोल्ने आँट आयो र सोधे,–कति दिनभयो दाई आज ?उत्तर म आफैलाई थाहा थियो ।

प्रताप दाइसँंगको संवाद नसुनेका गुरुले अलि ठूलो आवाजमा सोध्नुभयो, ‘विपुल कहिले आयौं ?’

‘हिजो बेलुका आएको हुँ गुरु ।’

फेरि मौनता… त्यस्तो ठाँउमा खुल्न गाह्रो लाग्छ मलाई । मान्छेहरुको आउजाउ चलिरहेको छ ।

गुरुआमा लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । ०३८ सालदेखिको बिरामी । तर पनि ८७ बर्षको उमेरसम्म जीउन सक्नुभयो । एउटा सामाजिक व्यक्तित्व, पत्रकार, साहित्यकार त हुँदै हो नारायण गुरु, उहाँको स्वभाव हेर्ने हो भने सधै सक्रिय रहन चाहने र त्यो सक्रियता पनि पारिवारिक परिधि भन्दा बहिरको समाजमा प्रदर्शित गर्ने पात्र हो उहाँ । विरामी पत्नीको पर्वाह गर्दागर्दै पनि समाजले ‘नोटिस’ गर्ने गरी सक्रिय रहनु र सधै उत्साहीत हुनु गुरुको बिशेष क्षमता हो । यो क्षमता निर्वाह गर्दै गर्दा उहाँले विरामी पत्नीको पनि ख्याल राख्न सक्नुभयो र पुरा उमेर (भन्दा हुन्छ) जीउन सक्ने बनाउनुभयो आफ्नी पत्नीलाई ।

गुरुलाई परिवार भन्दा बाहिरको समाजमा भूमिका खेलेको मात्र देख्नेहरुका लागि उहाँको परिवार भित्रको यो अबस्थाका बारेमा थाहा नहुन सक्छ ।

मैले पनि थुप्रै पटक भेटेको छु गुरुआमालाई बिरामी अबस्थामा । मिलनचोक होस् वा अहिलेको निवासमा होस् वावर्गद्दी होस् वा काठेखोल स्कूल पूर्वको घरमा होस् । गुरुको जन्मदिनको दिनमा शुभकामना दिन सुदीप गौतम र म त्यहाँ गएको बेला भेटेको गुरुआमासंँगको अन्तिम भेट भयो । त्यो बेला उहाँ कमजोर भैसक्नु भएको थियो । सायद चिन्नु पनि भएन त्यो बेला हामीलाई ।

९ दिनको दिनमा गएको बेला गुरुको झुस्स दाह्री देखे । ‘भोली १० दिनको दिन काट्ने हो दाह्री गुरु ?, निन्याउरो देखिएको छ’–मैले भने । ‘हिजै काट्न खोजेको थिए, सामान भेटिन, ज्वरो पनि आयो’–उहाँले भन्नुभयो ।
‘१० दिनमा फाल्ने भन्छन्, भोलीफाले भैगो नी !’ मैले जान्नी भएर भने ।

गुरु हाँस्नुभयो र भन्नुभयो, ‘भित्रको श्रद्धा एउटा हुँदो रहेछ, समाजको कुरा पनि मान्नु पर्दो रहेछ भन्ने अनुभव भैरा’छ विपुल मलाई ।’ गुरुले सामाजिक अनुशासनलाई निक्कै आत्मसात गरेको महसुस भयो त्यो झण्डै एक घण्टाको बसाईमा ।

गुरु क्रान्तिकारी सोंचको हुनुहुन्छ, रुढी परम्परा फेर्नुपर्छ भन्ने चिन्तनको पक्षमा हुनुहुन्छ, परम्परागत झमेला भन्दा टाढा रहेर हिड्न सक्नुपर्छ र परिवर्तनको अभियन्ता हुनुपर्छ भन्नुहुन्छ । ०५२ सालदेखिको निरन्तर सामिप्यमा रहँदा मैले गुरुलाई यसरी नै पढ्दै आएको छु । तर, गुरुको अर्को बिशेषता पनि पढ्न पाएँकी, सामाजिक अनुशासन उलंघन गरेर अगाडि बढ्न बाध्य पार्न भने हुँदैन ।

०५२÷०५३ सालतिर हो । त्यो बेला माघ महिनामा राप्ती साहित्य परिषदले भव्य रुपमा साहित्यिक समारोहको आयोजनागर्ने गथ्र्यो । तीन दिन जति चल्थ्यो । राष्ट्रियस्तरका साहित्यकारहरु आउथे । कविता प्रतियोगिता हुन्थ्यो । जिल्लाको सबैभन्दा ठूलो प्रतियोगिता हुन्थ्यो त्यो । गुरु अध्यक्ष हुनुहुन्थ्यो । त्यो बेला उहाँ उद्घाटन समारोह सकेर श्रीमतीको उपचारको लागि जानु पर्ने भयो भन्दै हिड्नुभयो । त्यसपछि त्यहाँ धेरैले भनेको सुने, ‘यस्तो जिम्मेवारी छाडेर जाने मान्छे होइन आमा, गुरुआमा साह्रै नै बिरामी हुनुभयो कि क्या हो ?’ त्यति बेलाको यो प्रतिक्रियाले मलाई अचम्म तुल्यायो

। परिवारप्रतिको दायित्व भन्दा बाहिरी भूमिकालाई बढी प्राथमिकता दिने पात्र हुनुहुन्छ त नारायाण गुरु ? पछि बुझ्दै जाँदा थाहा पाएँ, गुरुले जुन रुपमा बिरामी श्रीमतीको व्यबस्थापन गर्नुभयो र समय दिनुभयो, त्यसैले झण्डै पुरा जीवन जीउन सक्नुभयो गुरुआमा । त्यो टिप्पणी पुर्ण रुपमा सही रहेनछ भन्ने कुरा आफै अनुभव गर्न सके ।

गुरुका धेरै भाषणहरु सुनेको छु मैले । धेरै पटक उहाँले भन्नुभएको छ, ‘शोकलाई शक्तिमा बदल्नु पर्छ ।’ पत्नी शोकलाई गुरुले अबश्य पनि शक्तिमा बदल्नु हुनेछ र यो दुःखको घडीमा पनि परिवार र समाजप्रतिको उहाँको भूमिकामा कमी आउने छैन । तर, आग्रह गर्न मन लागेको छ, गुरुको यो शोक सिर्जनामा पनि बदलियोस् । सामाजिक अनुसाशन र पारिवारीक ब्यबस्थापनका बारेमा पनि गुरुको नविन चिन्तन हामीले बुझन पाऔं ।
प्रकाश, प्रभात, प्रताप र डा.प्रबोधदाइहरु र भाउजुहरुमा यो दुःखद् क्षणमा धैर्यधारण गर्ने उर्जा मिलोस् । स्वर्गीय गुरुआमाप्रति श्रद्धाञ्जली ।