दाङमा ४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ, १३ असोज । दाङको घोराही उपमहानगरपालिका–८ सौडीस्थित भित्री सडकखण्डबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रा.४ प.५२६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने ४ ग्राम ११० मिलिग्राम धुलो पदार्थसहित दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र बुधौराचौक निवासी २५ वर्षीय शरद घर्ती मगर रहेका छन्। उनीहरूलाई प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।