calander

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

Goraksha

National Daily

चारलेनको काम नरोकिने, दसैँ÷तिहार लगत्तै फिल्डमै काम

खेमराज रिजाल

दाङ, ८ असोज । जेन–जी आन्दोलनका कारण मुलुकमा पछिल्लो समयमा विकसित राजनीतिक परिघटनाले कतै घोराही–तुलसीपुर चारलेनको काम रोकिने हो कि भन्ने चौतर्फी आशङ्का भइरहँदा सडक डिभिजन दाङ र निर्माण कम्पनीले भने चारलेनको काम नरोकिने स्पष्ट पारेको छ । चारलेनको ठेक्का साम्झौतासमेत भएर काम अघि बढिसकेपछि यो आयोजना प्रभावित नहुने सडक डिभिजन दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले गोरक्षलाई बताएका छन् ।

‘मुलुकमा भएको भौतिक क्षतिका कारण सरकारले केही टुक्रे आयोजनाहरूको बजेट कटौती गर्ने भनिए पनि यो गौरवको बहुवर्षीय आयोजना भएकाले यसको काम रोकिँदैन, दसैँ तिहारको बिचमा वा तिहारपछि फिल्डमै देखिने गरी काम सुरु हुन्छ’, डिभिजन प्रमुख विष्टले भने । अहिले फिल्डमा नदेखिएपछि ठेक्का सम्झौता भएयता ज्वाइन्ट सर्भे सकिएको र यसको फाइनल भेरिफिकेसनको काम प्रक्रियामा रहेको डिभिजन प्रमुख विष्टले भने । सडक निर्माणको ठेक्का सम्झौता गत असार २४ गते भएको थियो । सम्झौता भएको मितिले तीन वर्षभित्र सडक स्तरोन्नतिको काम सकिने गरी सम्झौता भएका थियो ।

‘परियोजनाले काम रोक्न भनेको छैन, हामीले सडक स्तरोन्नतिका विभिन्न प्रक्रियामा काम गरिरहेका छौँ’, दिवा÷वन्दन भगवती जेभी निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले भने । साउन महिनाको दोस्रो सातादेखि घोराही–तुलसीपुर चारलेन सडकमा निर्माण कम्पनी र सडक कार्यालयका प्राविधिकले ज्वाइन्ट सर्भे सुरु गरेका थिए । उनीहरूले सर्भेको प्रतिवेदन मदन भण्डारी सडक मार्ग परियोजना र सडक डिभिजन कार्यालय दाङमा बुझाइसकेका छन् । कन्सट्रक्सन क्याम्प राख्ने जग्गा व्यवस्थापनसमेत भइसकेको छ ।

निर्माण सामग्रीहरू राख्ने तथा आवश्यक औजार र क्रसर सञ्चालनका लागि घोराही–तुलसीपुर सडक खण्डको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गा ४ वर्षका लागि लिजमा लिने सम्झौता भइसकेको निर्माण कम्पनीले जनाएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने र थप एक वर्ष आवश्यक मेन्टिनेन्सका लागि गरी चार वर्षका लागि करिब ६ बिघा जग्गा लिजमा लिइएको बताइएको छ ।

यसैगरी निर्माण कम्पनीले तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासमा सम्पर्क कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको छ । साथै निर्माण कम्पनीले घोराही–तुलसीपुर चारलेनमा स्तर वृद्धि गर्दा सार्नुपर्ने पोलहरूको विषयमा स्थलगत नापजाँच गरिरहेको छ । अहिले घोराहीदेखि सेवार खोलासम्म सडक स्तर वृद्धि गर्दा कति पोल सार्ने भन्ने विषयमा अन्तिम प्रतिवेदन तयार भइसकेको कन्ट्याक्ट मेनेजर ढुङ्गानाले बताएका छन् ।

यो क्षेत्रमा निजी भवन भने हटाउनु पर्ने छैन । यो सडक खण्डको पर्सेनी क्षेत्रमा भने केही निजी भवनहरू पनि हटाउनुपर्ने अवस्था देखिएको निर्माण कम्पनीले जनाएको छ । यसैगरी सडक विस्तार हुने क्षेत्रमा रहेका रुखहरू हटाउन निर्माण कम्पनीले सम्बन्धित क्षेत्र हेर्ने डिभिजन वन कार्यालयसँग एप्रुभलको काम पनि तत्कालै सुरु गरिने बताएको छ ।

‘हामीले सम्भवतः तिहारपछि फिल्डमै देखिनेगरी काम थाल्ने छौँ’, आयोजनाका कन्ट्रयाक्ट मेनेजर ढुङनाले गोरक्षलाई भने । मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहनेछ । जुन घोराहीको डिके पेट्रोल पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहनेछ ।

आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहने छ । उक्त क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण हुनेछ ।

जम्मा सडकमध्ये नौ दशमलव पाँच किलोमिटर सडक सहरी क्षेत्रमा पर्नेछ । बाँकी क्षेत्र ग्रामीण क्षेत्रको रहनेछ । घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि कुल बजेट दुई अर्ब ५३ करोड रुपैयाँमा निर्माण सम्झौता भएको छ । आयोजनाका अनुसार सडकको कालोपत्रेको मोटाइ भने १० सेन्टिमिटरको रहने बताइएको छ । कालोपत्रे दुई लेयरमा हुनेछ । हालको कालोपत्रे बाँकी रहेको सबै भाग हटाएर नयाँ मापदण्ड अनुसार कालोपत्रे हुने आयोजनाका इन्जिनियर ढुङ्गानाले बताएका छन् ।

सडक निर्माणका क्रममा आवश्यकता अनुसारका क्षेत्रमा सडक पार गर्ने लेन रहने छन् । यात्रुलेसमेत तोकिएका स्थान बाहेकका स्थानबाट सडक वारपार गर्न मिल्ने छैन । काठमाडौंको दिवा÷वन्दन भगवती जेभीले सडक निर्माणको जिम्मा पाएको छ । आयोजना निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८५ असार २४ गते रहेको छ ।

सडक स्तरोन्नतिका क्रममा क्रसर प्लान्ट, कङ्क्रिट व्याचिङ प्लान्ट, आस्पाल्ट प्लान्टलगायतका संरचना निर्माण कम्पनीले आफैँ सञ्चालनमा ल्याउनेछ । यी संरचना परियोजना अवधिभर मात्र सञ्चालन हुनेछन् । नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा आयोजनाकै बजेटबाट स्थानीय सरकारलाई राजस्व तिरेर ल्याइनेछ । यसका लागि सहज वातावरण बनाइदिन स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रसँग निर्माण कम्पनीले आग्रह गरेको छ ।

यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणमा सडक स्तरोन्नतिको काम सुरु भए पनि तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा सडक क्षतविक्षत भएको थियो । स्तरोन्नतिका क्रममा क्षतविक्षत भएको सडकमा जोखिमपूर्ण यात्रा गर्दा दुर्घटनामा परी दुई वर्षको अवधिमा मात्रै कम्तिमा तीन दर्जन मानिसले ज्यान गुमाएका थिए ।