विजयादशमी विशेष : संस्कार बदलौँ, संसार बदलिन्छ

ब्रह्माकुमार माधव तिमिल्सेना
विजयादशमी हिन्दु सनातन धर्मका प्रमुख पर्वमध्ये एक हो । यसलाई नवदुर्गा पूजा तथा राम–रावण युद्धसँग जोडेर व्याख्या गरिन्छ । प्राचीनकालमा देवताहरु शुम्भ–निशुम्भ, मधुकैटव, महिषासुर जस्ता राक्षसबाट पराजित भई असहाय बनेका बेला शक्ति स्वरुपा नवदुर्गा भवानीले उनीहरुलाई नाश गरी देवतालाई विजय दिलाएको स्मरण यस पर्वसँग गाँसिएको छ ।
त्यसैगरी, रामायणमा भगवान् रामले १४ वर्षको वनवासपछि रावणमाथि विजय हासिल गरी रामराज्यको पुनः स्थापना गरेका थिए । त्यस दिनलाई नै विजयादशमीको रुपमा मानिन्छ । त्यसबेलादेखि आजसम्म हामीले यो पर्वलाई हर्षोल्लाससहित मनाउँदै आएका छौँ ।
सामाजिक दृष्टिले विजयादशमी आपसी मनमुटाव, द्वेष, र तिक्तता भुली पारिवारिक तथा सामाजिक सद्भाव बढाउने अवसर हो । यसले एकता, सहानुभूति र उदारता विकास गर्ने प्रेरणा दिन्छ । तर आजको समाजमा सकारात्मक संस्कारभन्दा नकारात्मक संस्कार हावी हुँदै गएका छन् । स्वार्थ, वैमनश्यता, क्रोध, ईष्र्या र अहंकारले मानवीय मूल्यहरु दबाइदिएका छन् ।
त्यसैले असुरी प्रवृत्तिको अन्त्य गरी सत्य र आदर्श जीवन निर्माण गर्नुपर्ने आवश्यकता अझ बढेको छ । हरेक वर्ष नेपाल–भारतमा रावणको पुतला जलाइन्छ । जनविश्वास अनुसार रावण दश टाउके राक्षस थियो जसले सीताको अपहरण गरेको थियो ।
यद्यपि, परमात्मा शिवका अनुसार रावण कुनै वास्तविक दश शिर भएको व्यक्ति होइन, बरु मानवभित्रै लुकेका विकारहरुको प्रतीक हो । रावणका दश टाउकाले काम, क्रोध, लोभ, मोह, अहंकार तथा अन्य विकृतिहरुलाई जनाउँछन् । मानिस विद्वान् भए पनि यदि यिनै विकारको अधीनमा रह्यो भने उसको ज्ञान नै बोझ बन्छ । कुम्भकर्ण आलस्यको, मेघनाद कटु भाषणको र लङ्का मानव–मनको प्रतीक हो । यसरी हरेक पात्र वास्तवमा मानवीय कमजोरीहरुको द्योतक हुन् ।
आज मानवले औद्योगिक प्रगति, प्रचुर सम्पत्ति र आधुनिक सुविधा पाएको छ । तर शान्ति, सन्तोष र सुख भने हराउँदै गएका छन् । घर–घरमा कलह, समाजमा भ्रष्टाचार, बेइमानी र अधर्मको बोलबाला छ । यही कारण अहिलेको समयलाई “रावण–राज्य“ भनिन्छ । अर्कोतर्फ, विगतका सत्ययुग र त्रेतायुगमा “रामराज्य“ थियो, जहाँ शान्ति, धर्म र दैवी गुणको राज्य रह्यो ।
त्यसैले वर्तमान अवस्थामा हामीले पुनः रामराज्य जस्तो आध्यात्मिक समाज निर्माण गर्ने संकल्प लिनुपर्छ । त्यसका लागी हाम्रो तन, मन, धन सवै सफल गरौ । अन्यथा पश्चातापमा खुनका आँशु वग्ने दिन नआउला भन्न सकिदैन । भनिन्छ अहिले नभए कहिल्यै हुदैन । पत्याउनुस वा नपत्याउनुस, मान्नुस वा नमान्नुस यो सत्यताको उजागर गर्नैपर्छ कि–कल्याणकारी पिता परमात्मा शिवको यस भरामा अवतरण भएको पनि ८९ वर्ष वितिसकेको छ ।
मानव सभ्यता प्रगतिशील भएको दाबी गर्छ तर व्यवहारमा अझै पनि हिंसा र बलिप्रथा प्रचलित छन् । देवीको नाममा निरपराध पशु–पंक्षीको हत्या गर्ने परम्परा हाम्रो विवेकलाई चुनौती दिन्छ ।वास्तवमा बलिदान दिनु छ भने भ्रष्टाचार, बेइमानी, अन्धविश्वास, छुवाछुत, भेदभाव र अशिक्षालाई दिनुपर्छ; निर्दोष जनावरलाई होइन ।
समय आएको छ –बलि प्रथा रोकौँ, शाकाहारी जीवनशैली अपनाऔँ र प्रेम, करुणा र अहिंसालाई फैलाऔँ । विजयादशमी आत्म–सुधार र संस्कार रुपान्तरणको पर्व हो । आफूभित्रका नकारात्मकता त्याग्दै सकारात्मक सोच, शुभभावना र सदाचार विकास गर्नु नै साँचो विजय हो ।
निधारमा आत्मिक स्मृतिको तिलक, हृदयमा करुणा, मुखमा मधुरता र आँखामा पवित्र दृष्टि राख्दै जीवनलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सक्नु नै महानता हो । यही संस्कार परिवर्तनले भविष्यको स्वर्णिम युग निर्माण गर्नेछ ।
यस शुभ घडीमा सबैमा माता भवानीको आशीर्वाद रहोस् । हामी केवल देवीलाई पूजा गर्ने मात्र होइन, पुजनयोग्य कर्म पनि गरौँ । परमात्मा शिवको मार्गदर्शनमा गुण, सदाचार र सत्यलाई आत्मसात् गर्दै पवित्र जीवन जिऊँ । आफैँ बदलौँ, समाज बदलिन्छ; संस्कार बदलौँ, संसार बदलिन्छ ।
यदि हामीले चिरकालीन सुख प्राप्त गर्ने दशैँ मनाउने हो भने सर्वप्रथम् असत् र स्वार्थ पक्षबाट माथि उठौँ तव नै आनन्दमय वा स्वर्गीय वा अतियन्द्रिय सुखको अनुभुति गर्न सक्नेछौँ । यही संस्कारले भविष्यमा हुने कलियुगी महाविनाश पश्चातको रामराज्यरुपी सत्ययुगमा देवदेवीको रुपमा पुर्नस्थापित हुनेछौँ आजको समयको आव्हान र जीवन रुपान्तरणको सुनौलो अवसरलाई सदुपयोग गरौ ।
आफूभित्रका दुर्गुण मनोविकार र दरिद्र मानसिकतालाई छोडेर ति विसंगती तथा विकरालतामाथि विजयी बनौ । सकारात्मक सोच, सवैप्रति शुभभावना एवं शुभकामनाका पुष्पहरुले पल्लवित गरौँ । जीवनलाई सभ्य, सुसंस्कृत, व्यवस्थित एवं सरल वनाउने गन्तव्यमा कदम अगाडी बढाउने हिम्मत गर्नु नै महानता हो ।
निधारमा आत्मिक स्मृतीको तिलक, मुखमा मधूरता, हृदयमा कोमलता, नयनमा पवित्र दृष्टि राख्दै आपसी सद्भाव मित्रता तथा आन्तरिक सुन्दरतामा रमाउन सिकौँ । कानमा दीर्घ जीवनको प्रतिक जमरा लगाएर उमंग उत्साहरुपी पखेटाद्धारा खुशीमा नाँच्नु बास्तवमा विजया दशमी मनाउनु हो । अमूक प्राणी म्याँ म्याँ हैन मैं मैं रुपी अभिमान तथा अहंकारको शीर क्षेदन गर्दै आत्मिक ईश्वरीय नशामा आफूलाई समाहित गर्ने अभिलाशा भरौ । परमात्मा शिव पिताको वरदानी हात हाम्रो यात्रामा एक छत्रछायाको रुपमा सुरक्षा कवज भईरहोस् ।
सबै स्वच्छ बनून्, सबै निरोगी होउन, सबै सम्पन्न बनून्, चारैतिर समृद्धि छाओस् ।मेरो व्यक्तिगत र ब्रह्याकुमारीज ओम् शान्ति परिवारको तर्फबाट यही उपहार स्वीकार्नु होला । यस शुभ मुहूर्तमा सम्पूर्ण पाठकगण एवम् समस्त आत्माहरुको उत्तरोत्तर प्रगति, समृद्धि, सुख, शान्ति, सुस्वास्थ्यको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
विनाश हाम्रै कारण निम्तिएको परिणाम हो तसर्थ अव हामी सच्चिनु पर्छ यो परिवर्तन युगको माग पनि हो । हाम्रा सोच संस्कार र कार्यशैली अनि जीवनशैलीमा रुपान्तरणको जरुरी छ । विपरित परिवेशमा विजय गर्ने हिम्मत हामी सवैमा आवस् । विश्वमा पुनः शान्ति, सुखको शुभारम्भ हुन सकोस् । जो जहाँ छौँ, सुरक्षित रहदै भयरहित हाम्रो संस्कृति र मर्यादाको पालना गरौ । सवैको जय होस् सवैको कल्याण होस् । ओम् शान्ति ।