भरिँदै गाउँघर, भिडभाड बजार

खेमराज रिजाल
दाङ, ११ असोज । जेन–जी समूहको आन्दोलनको त्रासादिपूर्ण क्षण भुल्नै नसकिएका बेला नेपालीहरूको महान चाड बडा दशैँ आम नेपालीको दैलोमा भित्रिइसकेको छ । उल्ला समय उत्साह नदेखिए पनि पराम्परालाई आत्मसात गर्दै देश रोएका बेला पनि नागरिकले दशैँको स्वागत गर्नुको विकल्प रहेन । आन्दोलनमा जलाइएका भगनावशेष पन्छाइसकेपछि संभवतः अबको दुई दिनपछि सरकारी कामकाजका अड्डा पनि बिदा हुने छन् ।
‘अघिल्ला वर्षहरूमाभन्दा यो वर्ष हाम्रो टोलमा वैदेशिक रोजगारीमा तेस्रो मुलुक गएका पनि धेरै घर फर्कदै छन्’, तुलसीपुर उपमहानगरपालिका–१७ देवीपुर टोल विकास संस्थाका अध्यक्ष मानबहादुर वलीले भने । देवीपुर टोलमा मात्र रोजगारी तथा अध्ययनका लागि तेस्रो मुलुक साउदी कतार, अस्ट्रेलिया, युके र अमेरिका गएका करिब एक दर्जन जति युवा दशैँ मान्न घर आइपुगेको मानबहादुरले बताए । मुलुकमा सुशासनको माग गर्दै आन्दोलनमा उत्रेका जेन–जी पुस्ताको आन्दोलनको प्रतिफल देख्न पनि सायद यो वर्ष अलि धेरै युवा स्वदेश फर्केको उनको विश्वास थियो । अहिले उक्त टोलका हरेक घरमा बाहिरिएका छोराछोरी दशैँ मान्न आएका छन् ।
सीमा जोडिएको भारतमा कामकाजका लागि गएका पनि धमाधम फर्कन थालेको यातायात व्यवसायीले बताएका छन् । भारतीय बजारमा काममा गएका विशेषगरी रुपहिडिया भन्सार, वनबासा तथा कृष्णनगर नाकाबाट धेरै दंगाली भित्रिएको घोराही महेन्द्र नगर रुटमा बसका सहचालकको काम गर्दै आएका नरबहादुर वलीले भने । यसरी दशँै मान्न घर फर्कनेको संख्या वृद्धिले गाउँघर क्रमश भरिभराउ हुन थालेको छ । चिया पसल र चोक चौतारामा ती भर्खरै फर्किएका युवाहरूले यहाँको वर्तमान राजनीतिका विषयमा जनमतको सोधी खोजी गरिरहेका देखिन्छन् । ‘हामीलाई स्वदेशमै बीस÷तीस हजारको मासिक रोजगारी मिलेको भए सायद हामी सात समुद्रपारको भेनेजुयला जानु पर्ने थिएन, त्यो हामी जस्ता हजारौँ युवाको बाध्यता थियो’, वैदेशिक रोजगारीमा गएर दुई वर्ष पछि घर बिदामा आएका देवीपुर टोलका शंकर रिजालले भने ।
उता ओभर टाइम काम पाउन सकेमा मासिक नेपाली एक लाख रुपैयाँ बचत हुन सक्ने उनले बताए । शंकर जस्तै सन्तोष केसी पनि सँगै वैदेशिक रोजगारीबाट फर्केका छन् । अध्ययनका लागि राजधानी गएका तथा रोजगारी र उच्च शिक्षाका लागि विदेशिएका फर्कन थाले पनि गाउँघर भरिलो भएको स्थानीय बद्रि रिजालले बताइन् । यो वर्ष दशैँ मान्न कोरिया गएका बद्रिका छोरा शंकर र बुहारी पनि आइतवार घर आइपुग्ने छन् । यसले एक्लै घर कुरेर बसेकी बद्रिको मुहारमा केही दिनदेखि खुसी पोखिएको छ । उत्साहित मनले छोरा बुहारीको प्रतिक्षा गरिरहेकी छिन् बद्रीले । सोही टोलकै पुस्पा र राधा पनि विदेशिएका सन्तानको प्रतिक्षामा छन् । घर–घरमा लिपपोत र रंगरोगन हुँदै छ । माटो खानीमा एका बिहानै रातो माटो खन्नेहरूले पनि दशैँ भित्रिएको स्पष्ट सन्देश दिइसकेको छ ।
देवीपुर टोलमा मात्र होइन, अहिले जिल्लाभरी नै वैदेशिक रोजगारीमा गएका धेरै फर्किएको अनुमान गरिन्छ । तर, यातायात व्यवसायी समितिहरूले यसलाई स्वीकार गरेका छैनन् । गाउँघरमा केही चहलपहल बढ्नु पर्वका बेला स्वाभाविक भए पनि यो वर्ष राजधानीबाट निकै कम यात्रु दाङ आएको यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमाल बताउँछन् । ‘कोभिडको समयमा पनि यो भन्दा बढी यात्रुहरू विभिन्न सहरबाट घर फर्कन्थे, तर यो वर्ष घर फर्कनेको चाप निकै कम पाएका छौँ’, यातायात व्यवसायी हमालले भने ।
पर्वका बेला धेरै भिडभाड हुने स्थान भनेका फेन्सी पसल, गहना पसल र दैनिक उपभोग्य सामग्रीका पसल हुन् । ‘हिजो अस्तीदेखि नै बजारमा किनमेलको चहलपहल बढेको पाएका छौँ, हाम्रो पसलमा मात्र नभएर बजारमा किनमेल गर्न आउने पैदल यात्रीहरू पनि बढेको देखिन्छ’, तुलसीपुर उपमहानगरपालिका–५ घोराही रोडस्थित जगदम्बा स्टोरका प्रोपाइटर जगदम्बाप्रसाद गुप्ताले बताए । फेन्सी व्यवसायीहरू पनि पछिल्ला केही दिनयता कारोबारमा केही सुधार आएको तुलसीपुर उपमहानगरपालिका–विरेन्द्र चौकस्थित न्यौपाने फेन्सीका सञ्चालक गोविन्द न्यौपानेले बताए । ‘आन्दोलनका कारण बजार अझै नतङ्ग्रिएको अवस्थामा यतिको चहलपहललाई पनि हामी फेन्सी व्यवसायीले सकारात्मक रूपमा लिएका छौँ’, फेन्सी व्यवसायी न्यौपानेले भने ।
पछिल्लो समयमा मुलुक समस्यै समस्याबाट गुज्रिएको भए पनि यी समस्यालाई अब राज्यले अवसरका रूपमा लिनु पर्ने पनि उनको सुझाव थियो । तुलसीपुर बजार क्षेत्रमा कपडा पसल, फेन्सी पसल, होटल व्यवसाय तथा दैनिक उपभोग्य सामग्रीका पसलमा धेरै भिड बढेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले बताए । यो भिड शनिवार, आइतवार र सोमवार अझै बढ्ने उद्योग वाणिज्य संघको अनुमान छ ।
दशैँलाई जिल्लाका विभिन्न बजार क्षेत्रमा सार्वजनिक रूपमा व्यवस्थापन गरिएका दुर्गापूजाले पनि थप चहलपहल बढाएको छ । नित्य दुर्गापूजा र भजन कीर्तनले विभिन्न मन्दिर तथा दुर्गा भजन कीर्तन आयोजना गरिएका स्थलमा पनि भक्तजनले दुर्गा भजनमा उल्लासपूर्वक सहभागिता जनाइरहेका छन् । घोराही, नारायणपुर र तुलसीपुर बजार क्षेत्रका दुर्गा मन्दिरमा बिहानैदेखि साँझसम्म भजन कीर्तनमय बनाएको देखिन्छ ।