सहुलियत मूल्यका पसलमा छैन आकर्षण
गोरक्ष समाचारदाता
दाङ, १० असोज । दाङमा चाडपर्व लक्षित सहुलियत मूल्यका पसल सुनसान हुने गरेका छन् । नागरिकलाई चाडपर्वको समयमा आवश्यक पर्ने तेल, चिनी, घिउलगायतका अन्त्यावश्यक सामग्री नहुँदा सहुलियत मूल्यका पसलमा आकर्षण बढ्न सकेको छैन । चाडपर्वको समयमा नागरिकको सहजताका लागि भनिए पनि आवश्यक सामग्री नहुँदा सहुलियत पसल सुनसान जस्तै हुने गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ घोराहीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले दसैं, तिहार र छठ पर्व लक्षित सहुलियत मूल्यको पसलबाट यो वर्ष नून मात्र बिक्री गर्दै आएको छ । विगतका वर्षमा नूनसँगै चिनी सर्वसाधारणलाई बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्दै आएको साल्ट टे«डिङले यो वर्ष चिनी नआएका कारण बिक्री गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखा प्रमुख रामबाबुप्रसाद गुप्ता बताउँछन् । शाखा प्रमुख गुप्ताका अनुसार भदौ ३० गतेदेखि सञ्चालन भएको सहुलियत मूल्यको पसलबाट हालसम्म एक सय २९ जनाले प्रतिव्यक्ति छ किलोका दरले सात सय ७४ किलो नून बिक्री भएको छ । बजारमा २६ रुपैयाँ पर्ने आयो नुन साल्ट टे«डिङले दुई रुपैयाँ सस्तो मूल्य गरेर प्रतिकिलो २४ रुपैयाँका दरले बिक्री गरिरहेको उनले बताए ।
चाडपर्वको समयमा विगतका वर्ष जस्तै नुनसँगै धेरै ग्राहक चिनी खोज्न आउने गरे पनि केन्द्रबाट चिनी नआएकाले नुन मात्र बिक्री गर्दै आएको शाखा प्रमुख गुप्ताले बताए । नुन खरिदका लागि दैनिक २० देखि ५० जनासम्म नागरिक पसलमा आउने गरेको भन्दै प्रमुख गुप्ताले भने, ‘सहुलियत मूल्यको पसलमा नुनसँगै चिनीलगायतका खाद्यान्न पनि रख्न पसलमा आउने अधिकांश ग्राहकको आग्रह छ तर केन्द्रबाट सामान नआएकाले नुन मात्र बिक्री गरिरहेका छौँ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्ष सहुलियत मूल्यको पसलबाट एक हजार आठ सय ६७ जनालाई ११ हजार दुई किलो नुन र दुई हजार छ सय ९२ जनालाई १६ हजार एक सय ५२ किलो चिनी बिक्री गरेको थियो ।
साल्ट ट्रेडिङ जस्तै तुलसीपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने सहुलियत मूल्यको पसलबाट चामल र चिनी बिक्री गर्दै आएको छ । शाखाका सूचना अधिकारी शक्तिराम डाँगीका अनुसार भदौ ३० गतेदेखि सुरु भएको सहुलियत मूल्यको पसलबाट हालसम्म प्रतिक्विन्टल आठ हजार तीन सय रुपैयाँका दरले स्टिम जिरामसिनो चामल साढे २६ हजार क्विन्टल र साढे पाँच क्विन्टल अरुवा सोना मन्लुली बिक्री गरेको बताए ।
प्रतिकिलो पाँच रुपैयाँ छुट दिँदा २५ किलोको बोराको दुई हजार दुई सय रुपैयाँ पर्ने स्टिम जिरामसिनो चामललाई दुई हजार ५० रुपैयाँ, एक हजार छ सय रुपैयाँ पर्ने अरुवा सोना मन्सुली चामललाई एक हजार चार सय ७५, एक हजार पाँच सय ५० रुपैयाँ पर्ने अरुवा मोटो चामललाई एक हजार चार सय २५ रुपैयाँमा बिक्री गर्दै आएको सूचना अधिकारी डाँगीले बताए । उनका अनुसार चिनीको मूल्य प्रतिकिलोमा पाँच रुपैयाँ घटाएर ९५ रुपैयाँका दरले छ क्विन्टल बिक्री भएको छ ।
