calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

मानव संशोधन विकास : देशको समृद्धिको वास्तविक मेरुदण्ड

गणेश विश्वकर्मा
विश्वका महान् विश्वविद्यालयहरु जस्तै अक्सफोर्ड, हार्वर्ड, क्याम्ब्रिज, स्ट्यानफोर्ड, एमआइटी केवल पाठ्यपुस्तक पढाउने संस्थान मात्र होइनन् ती त विचार, अनुसन्धान, नेतृत्व र नवप्रवर्तनका जन्मस्थल हुन् । अक्सफोर्ड विश्वविद्यालयमा सन् १०९६ ई.देखि शिक्षण सुरु भएको प्रमाण पाइन्छ र १२औँ शताब्दीमा औपचारिक विश्वविद्यालयको रुपमा स्थापना भयो ।
यसले ३१ जना प्रधानमन्त्री, ७३ जना नोबेल पुरस्कार विजेता र विश्वका धेरै वैज्ञानिक , आविष्कारक उत्पादन गरिसकेको छ । हार्वर्ड विश्वविद्यालय, अमेरिकाको पहिलो विश्वविद्यालय, सन् १६३६ अक्टोबर २८ मा स्थापना भई आजसम्म ८ अमेरिकी राष्ट्रपति, सयौं नोबेल विजेता र हजारौं विद्वान, आविष्कारक तयार गरिसकेको छ ।
क्याम्ब्रिज विश्वविद्यालय सन् १२०९ मा स्थापना भई भौतिक विज्ञानदेखि अन्तरिक्ष अनुसन्धानसम्मका क्षेत्रमा विश्व नेतृत्वलाई मानवशक्ति आपूर्ति गर्दै आएको छ । स्ट्यानफोर्ड विश्वविद्यालय सन् १८८५ मा स्थापना भएको हो र एमआइटी सन् १८६१ मा स्थापित भएदेखि प्रविधि र विज्ञानको अग्रणी केन्द्रको रुपमा परिचित छ । यी विश्वविद्यालयहरुले आफ्नो स्थापना कालदेखि निरन्तर अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्दै देश र विश्वको सामाजिक, आर्थिक र प्राविधिक उन्नतिमा अमूल्य योगदान पु¥याइ आएका छन् ।
यदि यी विकसित नेतृत्वदायी मुलुकहरुबाट त्यहाँका महानतम विश्वविद्यालयहरु हटाइदिइयो भने, ती देशहरु पनि केही वर्षमै तेस्रो विश्वका मुलुकको सूचीमा पुग्नेछन् । किनकि ज्ञान, अनुसन्धान र नवप्रवर्तन नै उनीहरुको शक्ति र नेतृत्वको आधार हो । विश्वविद्यालय नै ती मुलुकहरुको मेरुदण्ड हुन्, जसले नेतृत्व उत्पादन गर्छन्, नवप्रवर्तन सिर्जना गर्छन्, र विश्वलाई दिशानिर्देश दिन सक्षम बनाउँछन् ।
नेपालमा उच्च शिक्षाको यात्रा भने धेरै ढिलो सुरु भयो । वि.सं. १९७५ (ई.सं. १९१८) मा त्रिचन्द्र बहुमुखी क्याम्पस स्थापना भयो, तर प्रारम्भमा सीमित वर्गका लागि मात्र शिक्षा उपलब्ध थियो । यस संस्थाले केही प्रगतिशील वर्गका विद्यार्थीहरुलाई मात्र प्रवेश अवसर प्रदान ग¥यो, सर्वसाधारण जनताका लागि शिक्षा अझै पहुँच बाहिर रह्यो । नेपालको पहिलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, वि.सं. २०१६ असार ११ मा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पहलमा स्थापना भयो । आजसम्म केही विश्वविद्यालय थपिएका छन्, तर धेरैको गुणस्तर र अनुसन्धान क्षमतामा सीमितता छ ।
जब बेलायत, अमेरिका, जापान र युरोपका अन्य मुलुकहरुले शताब्दी अगाडि नै विश्वविद्यालय स्थापना गरेर अनुसन्धान, सीप विकास र मानव शक्ति निर्माणमा लगानी गरिरहेका थिए, नेपालमा भने प्राथमिकता धार्मिक संरचना र मन्दिर निर्माणमा केन्द्रित रह्यो । यसले समाजलाई उत्पादनमुखी सोचभन्दा बढी अन्धविश्वास र रुढीवादमा जकड्यो । फलस्वरुप आजको दिनमा पनि सामान्य विश्लेषण गर्दा देखिन्छ कि अन्य विकसित मुलुकका नागरिकको तुलनामा नेपालीहरुको औसत क्ष्त्त स्तर कमजोर छ ।
यसको कारण हाम्रो शिक्षा प्रणालीको कमजोरी, अनुसन्धानमा न्यून लगानी र बाल्यकालदेखि नै जिज्ञासा र प्रश्न गर्ने संस्कार नबढाउनु हो तर यो अवस्था स्थायी भने होइन । यदि विद्यालय तहमै आलोचनात्मक सोच, अनुसन्धानको संस्कार, प्रश्न गर्ने वातावरण र विज्ञान प्रविधि मुखी चेतनाको अभ्यास गराइयो भने, नेपालले भविष्यमा आफ्नो औसत बौद्धिक स्तर (क्ष्त्त) सुधारेर विश्व स्तरमै प्रतिस्पर्धा गर्न सक्छ ।
विशेषतः राणा शासनको समयमा देश विकास र जनताको कल्याण सम्झिने अवस्था थिएन । राणा शासकहरु आफ्नो महल, दरबार र परिवारको सुविधा बाहेक अन्य विषयमा ध्यान दिएका थिएनन् । जनता शिक्षा, स्वास्थ्य र चेतना विकासमा पहुँचबाट वञ्चित थिए । आफ्ना छोराछोरीलाई मात्र पढाउन पाए पुग्यो भन्ने सोचले सामान्य जनताको चेतना विकास गर्न कहिल्यै चाहेन, किनभने चेतनशील जनता भएमा शासन प्रणालीमा चुनौती आउँछ भन्ने डर थियो ।
राजतन्त्रको पालामा पनि राजाले आफूलाई भगवान विष्णुको अवतार भन्दै जनतालाई आश्रयको सट्टा अन्धविश्वासमा बाँध्ने रणनीति अपनाए । समाज, विशेषतः दक्षिण एसियामा हिन्दू रुढीवाद र अन्धविश्वासमा जकडिएको, राजाको यस दावीलाई स्वाभाविक रुपमा स्वीकार ग¥यो । राजाले म “यो देशको राजा हुँ, जनताको कल्याण गर्नु पर्छ, देशको विकास गर्नु पर्छ” भन्ने सोच कहिल्यै अपनाएनन् , बरु “भगवान पशुपतिनाथले हामी र हाम्रो देशबासीको कल्याण गरून्” भन्ने विश्वासमा सीमित गराए । गणतन्त्र आएपछि पनि यो प्रवृत्ति पूर्णरुपले समाप्त भएन; मन्दिर निर्माण र पूजा अर्चनामा प्रतिस्पर्धा अझै जारी छ ।
वास्तविक उदाहरणको रुपमा, वि.सं. २०७८ मा पशुपतिनाथ मन्दिरमा अरबौं रुपैयाँको सुनको जलहरी लगाइयो । यसलाई कतिपयले गौरवको विषय माने पनि, दीर्घकालीन राष्ट्रनिर्माण र मानव शक्ति विकासको दृष्टिले यसले कुनै वास्तविक योगदान नगर्ने स्पष्ट छ । विद्यालय र विश्वविद्यालयमा अझै पनि विज्ञान प्रविधिलाई दोस्रो दर्जामा राखिन्छ ।
विद्याकी देवी सरस्वतीको मूर्ति राखेर “विद्या दिन्छिन्” भन्ने विश्वास विद्यार्थीको दिमागमा प्रत्यक्ष संदेश पु–याउँदैछन्  । वास्तवमा विद्या निरन्तर कर्म, अध्ययन, अनुसन्धान र सिर्जनशील अभ्यासबाट प्राप्त हुन्छ । भाग्यवादले कतै पु¥याउँदैन कर्मवादले मात्र सफलता दिलाउँछ भन्ने चेतना विद्यार्थीस्तरमै दिन जरुरी छ ।
नेपालको विकासलाई अवरुद्ध बनाइरहेको प्रमुख कारक भनेकै अन्धविश्वास, कुरीति, रुढीवाद र धार्मिक पाखण्ड हुन् । यदि नेपालले यी सबै कुराहरुलाई साहसपूर्वक उखेलिदियो भने, हामीले विज्ञान, अनुसन्धान, शिक्षा र उत्पादनमुखी दृष्टिकोणलाई प्राथमिकतामा ल्याउन सक्छौं । जसरी विकसित मुलुकहरु विश्वविद्यालय र अनुसन्धानमा आधारित भएर प्रगति गरे, नेपाल पनि अन्धविश्वास र विभेदको जाल फुकालेर सीधा आधुनिकता र समृद्धिको बाटोतर्फ उकालिन सक्छ ।
धार्मिक संरचना र अनुत्पादक खर्चमा राज्यको प्रत्यक्ष,अप्रत्यक्ष लगानीको आँकडा खुलेको छैन, तर यसको प्रभाव समाजमा स्पष्ट देखिन्छ  । विद्यालय भन्दा मन्दिर, प्रयोगशाला भन्दा पूजा, आजा,अनुसन्धान भन्दा भजन बढी प्राथमिकतामा रहेका छन् । मिडिया र टेलिभिजनहरुले पनि यस्ता विषयलाई अपेक्षाकृत कम प्राथमिकता दिएका छन् ।
धार्मिक अनुष्ठानको प्रत्यक्ष प्रसारणमा खर्च हुने ऊर्जा, वैज्ञानिक अनुसन्धान, शैक्षिक सुधार र प्राविधिक आविष्कार बारे जानकारी प्रवाहमा पर्याप्त छैन । जब मिडिया नै चेतना निर्माणको दिशामा सक्रिय हुँदैन, जनमानसको सोच परिवर्तन ढिलो हुन्छ र सामाजिक चेतनाको स्तर स्थिर रहन्छ । नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक संरचनामा भारतको ठूलो प्रभाव छ ।
भाग्यवाद, जातीय विभाजन, धार्मिक अनुष्ठानको महत्व र पूजापाठमा आर्थिक स्रोत खर्च गर्ने प्रवृत्ति भारतबाट आयात भएको हो भन्ने धारणा प्रबल छ । यस्ता परम्परागत सोचका कारण नेपालमा उत्पादनमुखी, अनुसन्धानमुखी र विज्ञानमुखी दृष्टिकोणको विकास ढिलो भएको छ । यदि इतिहासमा नेपालले भारत भन्दा चीनसँग बढी सम्बन्ध विस्तार गरेको भए विज्ञान, उद्योग र पूर्वाधारमा चीनको अनुभवबाट लाभ उठाएको भए, हाम्रो शिक्षा र विकासको अवस्था फरक हुन सक्थ्यो ।
नेपालको वास्तविक विकास चेतना र शिक्षा सुधारबाट सुरु हुन्छ । विद्यालय स्तरमै विज्ञान र प्रविधिलाई केन्द्रमा राखेर, विद्यार्थीलाई कर्मवादको मूल्य सिकाएर, अनुसन्धान र नवप्रवर्तनमा दीर्घकालीन लगानी गरेर, मिडियालाई विकासमुखी सामग्रीतर्फ आकर्षित गरेर, बजेटमा शिक्षा तथा अनुसन्धानको हिस्सा बढाएर मात्र दीर्घकालीन प्रगतिको मार्ग सुनिश्चित गर्न सकिन्छ ।
देश कुनै अमूख पात्रले जादुको छडी चलाएर कायापलट गर्ने होइन, न त कुनै भगवानले बनाउने हो देश निर्माण त जिम्मेवारी नागरिक, वैज्ञानिक, शिक्षक, नीति निर्माता र श्रमिक वर्गले हो । मन्दिरको घण्टीले होइन, प्रयोगशालाको उपकरणले भविष्य निर्माण हुन्छ । मानव संसाधन विकासको आधार केवल औपचारिक शिक्षा मात्र होइन, सामाजिक चेतना, अनुसन्धानशीलता, नवीन सोच र उत्पादनमुखी दृष्टिकोण हो ।
जब हरेक घर, हरेक विद्यालय र हरेक समाज विज्ञान, सीप र कर्मवादसँग जोडिन्छ, तब मात्र देशले आत्मनिर्भरता र समृद्धिको मार्ग समातेको हुन सक्छ । यदि हामी धार्मिक अनुष्ठान र परम्परामा मात्र फँसिरह्यौं भने, हाम्रो चेतना र सामाजिक ऊर्जा केवल अतीतको ढोका खोलेर समय व्यर्थ गर्ने काममा खर्च हुनेछ तर विज्ञान, प्रविधि, अनुसन्धान र मानवशक्ति विकासमा लगानी गरेर मात्र दीर्घकालीन र स्थायी प्रगति सम्भव छ ।
अब समय आइसकेको छ , धर्मको जञ्जालबाट सोचलाई मुक्त गरेर विज्ञान र मानव शक्ति विकासको बाटो रोज्ने । विज्ञान र अनुसन्धानको माध्यमबाट मात्र हामी आफ्नो देशलाई वैश्विक स्तरमा प्रतिस्पर्धी बनाउन सक्छौं । शिक्षा, चेतना, अनुसन्धान, कर्मवाद र मानव शक्ति विकासमा केन्द्रित नीति र समाज निर्माण गरेर मात्र नेपालको विकासको कथा वास्तविक अर्थमा बदलिन सक्छ । जुन दिन हरेक नागरिक ज्ञान, सीप र चेतना सहित राष्ट्र निर्माणमा सक्रिय हुनेछन्, त्यस दिनबाट हाम्रो समृद्धि र आत्मनिर्भरता सुनिश्चित हुनेछ ।
त्यसैले मानव संशोधन विकासलाई नेपालले आफ्नो रणनीतिक प्राथमिकताको शीर्षमा राख्न जरुरी छ । यो केवल सरकारको दायित्व होइन, प्रत्येक परिवार, विद्यालय, विश्वविद्यालय र समाजको सामूहिक जिम्मेवारी हो । परिवारले बालबालिकामा जिज्ञासा र प्रश्न गर्ने संस्कार विकास गर्नुपर्छ । विद्यालयले तथ्य, अनुसन्धान र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छ ।
विश्वविद्यालयले नवप्रवर्तन र उत्पादनमुखी अनुसन्धानलाई आफ्नो मुख्य ध्येय बनाउँदै राष्ट्रिय आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नुपर्छ । नेपाल अब केवल पुर्खाका गौरव र धार्मिक परम्परामा अडिनु हुँदैन । विज्ञान, अनुसन्धान, सीप र कर्मप्रधान संस्कृतिमा आधारित समाज निर्माण गरेर मात्र हामीले चाहेको आत्मनिर्भर र समृद्ध नेपाल सम्भव हुनेछ ।
हामीले इतिहासका कमजोरीहरु बाट पाठ सिक्न जरुरी छ । धर्म र परम्पराले दिएको सांस्कृतिक मूल्यलाई सम्मान गर्दै पनि, अबको प्राथमिकता विज्ञान, अनुसन्धान र सीप विकास हुनुपर्छ । यदि नेपालले आफ्ना स्रोत र ऊर्जा अन्धविश्वास र कुरीति बाट हटाएर ज्ञान, सीप र अनुसन्धानमा लगानी गर्न सक्यो भने, अबको पुस्ताले मात्र होइन, भविष्यका पुस्ताले पनि गर्व गर्ने गरी राष्ट्र निर्माण हुनेछ । यही दृष्टिकोणबाट अघि बढ्दा नेपाल केवल विकासोन्मुख देशको सूचीमा सीमित हुने छैन बरु विश्व मञ्चमा आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्ने राष्ट्रको रुपमा उदाउनेछ ।
(लेखक ः गणेश विश्वकर्मा युवा राजनीतिक, सामाजिक अभियान्ता हुन । हाल उनी दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाको जनप्रतिनिधि समेत छन् ।)