calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

‘दाङ देउखरीको स्वर्णिम इतिहास’ पुस्तक विमोचन

गोरक्ष समाचारदाता
दाङ, १२ भदौ । पत्रकार तथा इतिहासकार डा सुदीप गौतमद्वारा लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ पुस्तकको विमोचन गरिएको छ । संस्कृतिविद् राधिकादेवी आचार्यको अध्यक्षतामा बिहिबार घोराहीमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्रा डा धनेश्वर नेपालले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै उपकुलपति नेपालले दाङको भौगोलिक अवस्थासँगै राजनीतिक विषयमा लामो अध्ययन, अनुसन्धान गरेर तयार गरिएको पुस्तक पठनीय हुनुका साथै इतिहाससम्बन्धी अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि महत्वपूर्ण दस्ताबेज हुने बताए । उनले लिखित दस्तावेजका रूपमा तयार भएको पुस्तकले दाङको राजनीतिक र प्रशासनिक योगदानबारे अध्ययन र अनुसन्धानका लागि पुस्तक सहयोगी बन्ने बताए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले इतिहास लेख्ने जटिल कार्यलाई जिम्मेवरीपूर्वक पूरा गरेर सबैका लागि गुन लगाएको बताए । दाङको राजनीतिक घट्नाक्रमलाई विषय बनाएर यस अघि पनि केही पुस्तक लेखिएको भए पनि विस्तृत रूपमा समेटेर नलेखिएको अवस्थामा आएको नयाँ पुस्तक सबैका लागि महत्वपूर्ण हुने बताए ।

पुस्तकको समीक्षा गर्दै प्राडा शिवकुमार सुवेदीले दाङको राजनीतिक घट्नाक्रमको विकाससँगै समग्र देशका लागि खेलेको भूमिकाबारे पुस्तकले बोलेको बताए । कुल नौ खण्डमा तयार गरिएको पुस्तकले दाङको अवस्था र ऐतिहासिक पृष्ठभूमि बुझ्ने अवसर प्राप्त गर्नुका साथै विभिन्न कालखण्डमा सञ्चालन भएका राज्यदेखि २०७० सालसम्म भएका राजनीतिक परिवर्तनसम्बन्धी ऐतिहासिक तथ्यहरू समेटिएको बताए । अत्यन्त मिहिनेत, खोज र अनुसन्धान गरेर तयार गरिएको पुस्तक सबैका लागि पठनीय भएको बताएका थिए ।

कार्यक्रममा साहित्यकार विनोद पोख्रेल र राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले दाङको विकासक्रमध्ये राजनीतिक खण्डलाई अध्ययन गरेर तयार गरिएको पुस्तक सबैका लागि सहयोगी बन्ने बताएका थिए । कार्यक्रममा पुस्तकका लेखक डा. सुदीप गौतमले राजनीतिक विकासक्रमसँगै देशको योगदानमा दाङले खेलेको भूमिका सबैलालाई बुझाउन पुस्तक तयार गरेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् मन्त्री बलदेव शर्मा मजगैयाँ, बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, लेखक डा गौतमकी छोरी स्वर्मिण गौतमले भिडियोमार्फत पठाएको शुभकामना मन्तव्य कार्यक्रममा सुनाइएको थियो । संस्कृतिविद् सुन्दर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाशक संस्था बिएन पुस्तक संसरका सञ्चालक सूर्य बिसीले गरेका थिए ।