Goraksha

National Daily

बिर्सन नसकेको कथा

नारायणप्रसाद श्रेष्ठ

रामुकाकाको समुपस्थितिसँगै चौतारीको अवस्था झन नियास्रो बन्न पुग्यो । रामुकाका गाउँलेको यस्तो स्थिति देख्दा निकै दुःखी हुँदै भन्छन्– डाँडाघरे सुन्तली कान्छी त निकै धैर्य र लगनशिल, निडर पनि थिइन् । उनले ती दिनमा कति कष्ट र दुःख भोगिन् त्यो दिन अहिले पनि उज्यालो घाम झै झलझली सम्झन्छु म पनि ।

केही दिन अघि मात्र हो गाउँमा एउटा सभाको आयोजना भएको थियो । उनले त्यहाँ बोलेका कुरा, महिला सशक्तीकरणका कुरा, महिलाले आफूलाई कति दृढ र हिम्मतवाला बनाउनु पर्छ भन्ने कुरा, त्यसबारे बोल्दा उपल्लो गाउँका महिला दिदी बहिनीहरू र जिल्लाका ठुला मान्छेहरू पनि मख्ख परेर सुनिरहेका थिए । उनी भन्दै थिइन्– महिला पुरुष सरह सबै गर्न सक्छन् । पुरुष भाग्य हो, भने महिला शौभाग्य हो । जन्मको इतिहाससँगै जीवनको अन्तिम अवस्थासम्म पनि महिलाले निर्वाह गरेको कर्म, व्यवहार, मात्सल्यता, घरको रेखदेख, संरक्षण आदि कुरा सुन्तलीले बोल्दा आहा ! कति ठूलो तालीको गडहटाट, मलाई लाग्छ उनी त यो गाउँ कि अमूल्य रत्न हुन् । महिला जगतको चम्किलो तारा हुन् ।

तसर्थ केही दुःख मनाई छैन, उनको कथा होइन जीवनको घटना त हाम्रो लागि ज्ञान हो । दुःख होइन जीवन भोगाइ हो । यति भन्दै उनी फेरि भन्छन्– के गरु केही ढिला भयो, मलाई पनि उनको विगत जान्ने मन थियो । बरु, सुन्तलीतर्फ फर्कदै भन्छन्– नानी तिम्रो कथा नसकिएको भए पुन सुरु गर । म पनि सुन्छु । समय घर्की सकेको छैन भने । रामुकाकाले यति भने पछि सुन्तली कान्छीले चारैतिर हेरिन्, केही बोलिनन् । आज त्यहाँ टाटके गाउँका महिला दिदी बहिनीहरू पनि जम्मा भएका थिए । तीनमध्ये राधिकाले भनिन्– रामुकाका तपाईले ठिक भन्नुभयो । सुन्तली नानीको व्यथा र कष्ट सुन्दा हाम्रो आंग पनि जिरिंग हुन्छ ।

महिलाले कति कष्ट र दुःख सहनु पर्दो रहेछ । त्यसको झझल्को आउँछ । हामी पनि उनको त्यो साहस र धैर्यताको उच्च सम्मान गर्छौ । समाज परिवर्तनमा उनले पु¥याएको योगदान जति प्रशंशा गरे पनि कम हुन्छ तर पनि उनको बाल्यकालको अनुभव कस्तो रह्यो हामी पनि सुन्न आतुर छाँै । यति कुरा राधिका दिदीले भने सि सुन्तली कान्छी भन्छिन्– रामुकाका, तपाईले जीवनमा भोगेका कथा झै मेरा पनि बिर्सन नसकिएर गुचल्टी रहेका कथा छन् । यति कुरा सुन्तलीले भनेसि रामुकाका रुखको फेदीमा अडेश लाग्दै भन्छन्– भन नानी भन… ।

यी सम्वाद सुनिरहेका गाउँलेहरूले पनि एकै स्वरमा भने– सुनाउ नानी, सुनाउ… । हाम्रो लागि त्यो मार्ग निर्देशन हुन्छ । हामीलार्ई ढिलो भा छैन । त्यसपछि सुन्तली कान्छी आफ्ना बाल्यकालका कथा यसरी पोख्छीन्– सदाझैँ बिहानको काम सकेर वनजंगलमा घाँस दाउरा गरी फर्किएकी मेरी आमाको पसिना न ओभाउँदै उनको काखमा गएर दुधको मुन्टा मुखमा राखी चुस्दाको क्षण भर्खरै जस्तो लाग्छ । धेरै वर्ष भइसकेछ । कति कष्ट भोगेकी रहेछन् मेरी आमाले… । बाबु छँदै र बाबुको मृत्युपछि मेरी आमाले भोगेको दुःखकष्ट सम्झँदा… । यस्तो दिन कसैको नआओस् भन्ने प्रार्थना पनि गर्दछु ।

कति कष्ट भोगेकी थिन् मेरी आमाले… बाबुको मजदुरी काम, जग्गा जमिनको नाममा एक रोपनि ऐलानी पाखो, जमिन त्यसमा बनेको सानो खरको झुपडी, झुपडीको अलि पर भिरालो पाखो, त्यो हाम्रो सम्पत्ति थियो । हिउँदभरी त राम्रै हुँदो हो । वर्षा लाग्यो कि हाम्रो परिवारमा दशा लाग्ने जस्तो हुन्थ्यो । राति हामी सधैँ कुना च्यापी सुत्ने गथ्र्यौ । झरी टार्न कहिले काहीँ त बाआमाको बिचमा ओत लागि निदाउनु पथ्र्यो । बाबा र आमा सुत्थे वा सुत्दैनथे थाहा छैन । ती दिन सम्झँदा अहिले पनि मन झसंग हुन्छ ।

कति कष्ट गरे मलार्ई हुर्काउन मेरा बाआमाले । हिउँदको चिसो छिडी, वर्षाको झरी, गर्मी मौसमको गर्मी, कति सहे कति ? रातदिन घाँस दाउरा मेलापात मजदुरी गर्दा गर्दा थाकेका शरीरमा जेठको प्रचण्ड गर्मी पनि मेरा बाआमाले सहे । रातदिन मेहनत गरी मलार्ई हुर्काएका थिए । एक दुई महिना मात्र पाखो भिरालो बारीको मकैले धानेको हाम्रो परिवारको गुजारा मेरी आमाले दिनभर जंगलमा सनंगाली बेचेको दाउराको रकम बाले दिनभरी गरेको मजदुरीको रकमले हाम्रो गुजारा चलेको थियो । हाम्रा पेट भरिदिन्थे बाआमाले…. ।

बाआमाले खाना खानुहुन्थ्यो हुँदैनथ्यो त्यो मलार्ई थाहा छैन तर सधैं भाडा बजेको त सुन्थे । तर, मलार्ई भने मेरी आमाले काखमा राखेर कहिले भात कहिले नुनको ढिकासँगै मकैको रोटी खुवाएको अहिले पनि झलझली याद आउँछ । कति दिन पिठमा दाउराको भारी अगाडि मलार्ई झुण्ड्याई घर जङ्गल गरेको, घरमा पिठोको खोले खाएको यी आँखा अगाडि अहिले पनि नाचिरहेका छन् । बा सुत्नेबेला सधैं भन्ने गर्थे…. बच्चा ठूलो हुन लाग्यो । कान्छी अब यसलार्ई कसरी पढी लेखेर ज्ञानी बनाउने होला ? यसको भविष्य बिगार्नु त भएन नि ? हामी त गरिब भयो भयौँ … । यसको भविष्य त बनाउनु पर्ला जो । आमा मेरो मुख क्वारक्वार्ती हेर्दै भन्थिन्– ईश्वर भरोसा राख बुढा ।

हाम्रो दिन पनि आउला । अरूलार्ई हेरेर पनि चित्त बुझाउनुपर्छ । नहुनेको दैव हुन्छ भन्छन् … । हाम्रो पनि सुदिन आउला ए ! कति यस्तो दुःखकष्ट मात्रै गर्नुपर्ला र… बालेको मुख ट्वाल्ल हेर्थे…आँखाभरी आँसु काट्दै…मन्टो लुकाउँथे । कति पीडा बोकेका थिए बाले । कति चिन्तित थिए … बाआमा । दिनरात चिसो तातो वर्षाझरी उनीहरूको लागि खासै केही थिएन । सधैंभरी एकै किसिमले आफ्नो कार्यमा व्यस्त रहिरहन्थे । दिनभर मेहनत ग¥यो आएको धेरथोर रकमले घर चलाइयो । अगेना नजिकै सानो पाठो र बाख्राको पालनपोषण ग¥यो । यसरी जिन्दगी चलिरहेको थियो । कति पटक त बा भोकै हुन्थे । राति कुनामा आँसु झरेको त मैले धेरै पटक देखेको थिए ।

आज मोरोले ज्यालै दिएन… के गर्ने ? भनेर सुस्केर हालेको मेरो कानले कति सुन्यो… कति । तर पनि बा… आमा र मलार्ई हेर्दै आश्वासन दिन कहिले पछि परेनन् । यो क्रम चलिरहेको थियो केही समयपछि आमाले पनि छोरो पाइन् । म खुसीले गदगद भए । गाउँघर हल्ला भयो । सबै आए हेरे तर कसैले पनि बा आमालार्ई केही दिएनन् । छोरा पाएको भने खुसी भए गए । बा सधैं निन्याउरो मुख लगाई झोक्रिएर सुत्केरी आमालार्ई तातो भात र पिठोको तातो खोले, खुवाउने काम गर्थे । घरी आमालार्ई घरी बाबुलार्ई हेर्दै कस्तो चिरको पर्न गयो… मेरो बुद्धिमा ? भनी आफूले आफैलार्ई धिकार्दै थिए ।

अब मैले यिनलार्ई कसरी हुर्काउने होला भनी सधैं चिन्तित भइरहन्थे । आमा भने किन आतिन्छाँै बुढा… ईश्वरमा भरोसा राख । साक्षात कृष्णको बास भएको छ । जन्मदिनेले कर्म पनि दिन्छन्… रातपछि दिन अवश्य आउँछ है बुढा । नहुनेको दैव हुन्छ… भन्छन् किन चिन्ता… गर्नुहुन्छ । बालार्ई आमाले ढाडस दिइरहन्थिन्…. । बा आमाको मुख… ट्वाल्ल… हेरि चित्त बुझाउँथे । यसरी दिन सप्ताह सप्ताह महिना र महिना वर्षौ भएर बित्यो । म थोरै बुझ्ने भइसकेकी थिएँ ।

भाइ घर आँगनभित्र, बाहिरभित्र गर्ने भएका थिए । आमा फुर्सदमा दिनभरी गिट्टी कुट्थिन वा दिनभरी मजुरी गर्न जान्थे । आजभोलि खाना लाउन त्यति गाह्रो परेको थिएन तर पनि भनेको बेला राम्रो लुगा लगाउने हाम्रो रहर पुगेको थिएन । दिनहुँ जसो घरको दैलामा आग्लो लगाई आमा, बा काममा बाहिर निस्कन्थे । बा साँझ बचेको बासी भात र रोटी बोकी लेबर गर्न जान्थे भने म र भाइ आमाको पछि–पछि लागि खोलाको बगरमा गिट्टी कुट्नेतर्फ लाग्दथ्यिौ । त्यही बाटो भएर सबै स्कुल जान्थे नजिकै डाँडामा… ।

हामीलार्ई पनि रहर लाग्थ्यो…तर के गर्ने ? बाआमाको अवस्था सम्झँदा पनि आँसु आउँछ । मध्यान्नमा स्कुल छुट्टी भएपछि विद्यार्थीले घरबाट ल्याएको खाजा, खाना, खाएको देख्दा हाम्रा मुख रसाउँथे । कहिले काहीँ हामीलार्ई पनि देउ भने हात थाप्थ्यौँ । कहिले दिन्थे, कहिले छैन भन्थे । तेरो बाआमालार्ई भन्न भन्थे । कसैले थोरै दिए भने म र भाइले बाँडी खाई खोलाको पानी घट–घट पिउने गथ्र्यौ । यसरी दिन बित्दै थियो । एकदिन बाले ज्याला बुझेका रहेछन् बाआमाले पनि आजै गिट्टी बेचेर धेरै थोरै पैसा जम्मा गरेका रहिछिन् । आज हाम्रो घरमा दशैँ आएको थियो । बाले बजारबाट आधा धार्नी मासु र चामल ल्याउनुभयो… ।

आमाले भुटुन किनेर ल्याइन् । घरै बास आउने गरी मासु भात पाक्यो हाम्रो घरमा । बाले खुसी साथ भने– बल्ल आज हाम्रो घरमा खुसी छायो । मलार्ई भने असाध्यै खुसी लागेको थियो । भाइ उफ्रदै–उफ्रदै कहिले आमासँग कहिले बासँग खुसी साटिरहेका थिए । आमाको च्यातिएको धोती आजै फेरिएको थियो । आमा भन्दै थिइन् यसरी सधैं हाम्रो दिन खुसीमा रमाउने कहिले होला बुढा ? दिन सप्रन र बिग्रन बेर लाग्दो रहेनछ । बा एकदिन घर ढिलो आए । बाटामा लडेछन् । केहीबेर बेहोस पनि भएछन् । होस् खुलेर राति अबेर बिस्तारै घर आए । आमा निकै अत्तालिएकी थिइन् । खोक्दै बाहिर आएको सुनी हत्तपत्त बाहिर आई बालार्ईभित्र लगिन् ।

हामी दुईभाइ बाको मुख ट्वाल्ल परेर हेरी बस्यौँ । बालार्ई छातीमा अफ्ठेरो भा रहेछ । हामीलार्ई थाहा नदिई औषधी खाँदै काम गर्दा रहेछन् । आज बालार्ई निकै कष्ट भएको थियो । मुखबाट रगत पनि छादेछन् बाले । तर कसैलाई भने छन् । त्यसपछि बा बिमार हुनुभयो । हाम्रो घर संसार अँध्यारो भयो । आँखाबाट आँसु झार्दै सुन्तली कान्छी भन्दै थिइन्– गाउँले आँखाभरी आँसु बगाई सुनिरहेका थिए ।

यसरी बिमार भएसी आमा निन्याउरो मुख लगाई बालार्ई हेर्थिइन्, बा अँध्यारो मुख लगाई केही नबोली हाम्रा र जेइको मुख हेर्थे । थोरै बचेको पैसाले औषधी मोलो भयो बा तर बालार्ई सन्चो भएन । त्यसबेला न त कसैले दया ग¥यो, न त सहयोग गरे । ठुला मान्छे त कुरै नगरौँ यी त सबै पिचास जस्तो लाग्छ । हुनेको सबै हुँदा रहेछन्, नहुनेको त दैव पनि हुँदैन रहेछन्, बालार्ई टपक्क टिपेर दैवले लग्यो… । आमा रोइन सबै मुख दर्शक बने । बाहिर न्यायुली चरी…. कराइरहेको थियो । यसरी त्यस दिनको चौतारी सकियो । बाँकी अर्को पटक… अस्तु ।