बनकट्टीमा पहिलो पटक चैते धान खेती
लीलाधर वली
दाङ, ३ वैशाख । वैशाखे घामसँगै अधिकांश किसानले हिउँदे बाली भित्राइसक्ने समय हो तर तुलसीपुर–१७ निवासी किसान प्रमोदमणि देवकोटाले भने चैते धान रोप्ने नयाँ अभ्यास थालेका छन् । गहुँ काटेर बाँझो रहने खेतलाई उपयोग गर्ने उद्देश्यले उनले वनकट्टी क्षेत्रमा करिब पाँच बिघा जमिनमा चैते धान खेती सुरु गरेका हुन् ।
सिँचाइको सुविधा भएको जमिनलाई सदुपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यले देवकोटाले तुलसीपुर–१७ वनकट्टीमा पहिलो पटक चैते धान रोप्ने अभ्यास थालेका छन् । तुलसीपुर उपमहानगरको सहयोगमा बिजौरी साना किसान कृषि सहकारी संस्थामार्फत् किसान देवकोटाले चैते धान खेती सुरु गरेका हुन् । उनका अनुसार पहिले चैतदेखि असारसम्म जमिन बाँझै रहने गरे पनि अब त्यसको उपयोग गर्दै दुई बाली धान उत्पादन लिने योजना अनुसार चैते धान खेती सुरु गरेको बताए ।
‘यो क्षेत्रमा बाह्रै महिना पानीको सुविधा छ तर चैतदेखि असारसम्म जमिन खाली हुन्थ्यो’, धान रोप्दै गरेका किसान देवकोटाले भने, ‘बर्खामा मात्र धान खेती होइन, अब हिउँदमा पनि गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि हो ।’ उनले एउटै जमिनमा दुई बाली धानसँगै गहुँ खेती गरेर जमिनलाई पूर्ण रूपमा उपयोग गर्ने प्रयास गरिएको बताए । यो प्रयासले अन्य किसानलाई प्रेरणा मिल्नेसमेत उनी बताउँछन् । ट्याक्टरको सहायताले खेत जोतेर रोपाइँ गरिरहेका किसान देवकोटाले अहिले रोपेको धान असारको अन्त्यतिर पाक्ने बताए ।
चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने किसानलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खड्काले सिँचाइ सुविधा भएका क्षेत्रमा चैते धान खेती विस्तार गर्न स्थानीय तह तयार भए पनि सबै किसान उत्साहित नदेखिइरहेको बेला देवकोटाको पहल उदाहरणीय बनेको बताए ।
‘हामीले चैते धान खेती गर्न किसानलाई प्रोत्साहन दिने योजना बनाएका थियौँ तर कोही किसान तयार हुनुभएन’, नगर प्रमुख खड्काले भने, ‘बनकट्टीमा प्रमोदमणि देवकोटाले सुरु गर्नुभएको छ, यो प्रयास प्रशंसनीय छ र यसलाई स्थानीय सरकारले साथ दिनेछ ।’ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख कुलराज चौधरीले बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने बताउँदै किसानलाई खाली जमिनको उपभोग गर्दै चैते धान खेती गर्न आग्रह गरे ।
उनले खाद्यान्न उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि जमिनको बहुउपयोग आवश्यक रहेको उल्लेख गर्दै अहिले नमुनाका रूपमा सुरु गरिएको चैते धान खेती आगामी वर्षदेखि अन्य क्षेत्रमा पनि विस्तार हुने विश्वास व्यक्त गरे । ‘सिँचाइको सुविधा हुने ठाउँमा किसानलाई चैते धान खेतीमा लगाउने प्रयास गरेका थियौँ’, शाखा प्रमुख चौधरीले भने, ‘तर किसानले मन गर्नुभएन, यहाँ भरि सुरु भएको छ, यो खेती अरुका लागि सिकाइ पनि हुनेछ ।’
बिजौरी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष चित्रा धिताल न्यौपानेको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विश्वमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्थानीय रमेश पौडेलले गरेका थिए ।
