घोराहीमा यातायात सेवा कार्यालय स्थापना गर्न माग
गोरक्ष समाचारदाता
दाङ, १६ चैत । घोराहीमा यातायात सेवा कार्यालय स्थापना गर्न माग गरिएको छ । सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।
यातायात सेवालाई सहज बनाउन घोराहीबाट सेवा प्रवाह गर्ने गरी यातायात सेवा कार्यालय स्थापनाका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । घोराही तथा बंगलाचुली क्षेत्र, रोल्पा र प्युठानका केही भूभागमा समेत दिनदिनै सवारी साधन बढिरहेको सन्दर्भमा यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुने सेवाका लागि तुलसीपुरसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन सेवा कार्यालयको स्थापना गर्न माग गरिएको हो ।
सवारी चालक अनुमतिपत्रको नवीकरण, सवारी साधन कर, ब्लुबुक नवीकरण, रुट परमिट नवीकरण, जाँचपास तथा पटके सेवा अस्थायी रुट परमिट जस्ता सेवा घोराहीबाटै उपलब्ध गराउन यातायात सेवा कार्यालय स्थापनाका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको हो ।
बैठकमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यान्द शर्मा, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउपालिका अध्यक्ष सुवास पुन, यातायात व्यवस्था कार्यालयका प्रमुख विनोद पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नागरिक समाजका सचिव नारायणप्रसाद श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
