Goraksha

National Daily

‘निर्माण आपतकाल’ घोषणा गर्न माग

गोरक्ष समाचारदाता
दाङ, ४ वैशाख । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको अवस्थामा त्यसको प्रभाव सबै क्षेत्रमा देखिएको छ । यसको प्रभावले निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको निर्माण व्यवसायीले बताएका छन् ।

डिजेल, पेट्रोल, मट्टितेल जस्ता इन्धनजन्य सामग्रीमा पटक–पटक भइरहेको अत्यधिक तथा अप्रत्यासीत मूल्य वृद्धिले निर्माण क्षेत्र गम्भीर सङ्कटमा परेको भन्दै जिल्ला निर्माण व्यवसायी संघले निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीणकुमार भण्डारीले जानकारी दिए ।

इन्धनको मूल्य वृद्धिसँगै निर्माण कार्यमा अत्यावश्यक रूपमा प्रयोग हुने विटुमिन, सिमेन्ट, डन्डीलगायतका सामग्रीको मूल्य पनि निरन्तर बढ्दै गएको उनको भनाइ छ । यसरी मूल्य वृद्धि हुँदै जाँदा व्यवसायी काम रोक्नु पर्ने अवस्थामा आएको अध्यक्ष भण्डारीले बताए । ‘मूल्य वृद्धिले गर्दा काम गर्न नसक्ने अवस्था भएको छ, हामीलाई बाध्य भएर काम रोक्ने अवस्था आएको छ’, अध्यक्ष भण्डारीले भने । यो आफूहरूको बाध्यता रहेको उनी बताउँछन् । बजारमा निर्माण सामग्रीको अभाव देखिन थालेकाले निर्माण गतिविधिलाई प्रभावित बनाएको व्यवसायीले बताएका छन् ।

देशका विभिन्न स्थानमा क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्रका लागि थप चुनौती बनेको बताइएको छ । निर्माण सामग्रीको आपूर्ति प्रणाली नै अव्यवस्थित बन्दै जाँदा विकास निर्माणका काम प्रभावित भइरहेका छन् । संघले यस्तो विषम परिस्थितिबारे पटक–पटक नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि हालसम्म समस्या समाधानतर्फ ठोस पहल नभएको गुनासो गरेको छ ।

निर्माण व्यवसायीका अनुसार ठेक्का सम्झौता अनुसार मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा हुने व्यवस्था भए पनि बजारको वास्तविक अवस्थासँग उक्त सूचकाङ्क मेल खाँदैन । ठेक्का कार्य सञ्चालन गर्न व्यवसायी आर्थिक रूपमा गम्भीर दबाबमा परेका छन् ।

संघले निर्माण कार्य तीव्र गतिमा अघि बढ्नु पर्ने समयमै इन्धन तथा निर्माण सामग्रीको मूल्य वृद्धि र अभावका कारण परियोजना प्रभावित भएको जनाएको छ । यस्तो अवस्थाले निर्माण उद्योग पूर्ण रूपमा ठप्प हुने जोखिम बढेको भन्दै संघले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । यसैगरी हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन गर्न कठिन भइरहेको भन्दै संघले नयाँ मूल्य समायोजन मार्ग निर्देशिका तत्काल जारी गर्नु पर्ने आवश्यकता औँल्याएको छ । सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था लागू गर्नु पर्ने माग पनि संघले अघि सारेको छ ।

जिल्ला निर्माण व्यवसायी संघ दाङले मूल्य वृद्धिको समस्याबाट प्रभावित सबै तहका निर्माण व्यवसायीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग अपिल गरेको छ । संघले समयमै उचित नीति तथा राहत कार्यक्रम नल्याइए निर्माण क्षेत्र पूर्ण रूपमा सङ्कटग्रस्त बन्ने व्यवसायीले बताएका छन् । निर्माण क्षेत्रलाई मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा हेरिने भएकाले यस क्षेत्रको संरक्षण र प्रवर्धनका लागि सरकार गम्भीर बन्नु पर्नेमा व्यवसायीले जोड दिएका छन् ।

अहिलेको चुनौतीपूर्ण अवस्थामा व्यवसायीलाई राहत, सहुलियत र यथार्थपरक मूल्य समायोजन व्यवस्था लागु नगरे दीर्घकालीन रूपमा विकास निर्माण कार्यमा नकारात्मक असर पर्ने निश्चित देखिएको छ । संघले बिहिबार जिल्ला प्रशासन कार्यालय दाङमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष प्रवीणकुमार भण्डारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।