मेरो खुशी : प्रधानमन्त्रीको हातबाट पुरस्कार पाउँदा …

कुनै समय थियो, लमही नगरपालिका–७ निवासी गीता चौधरीलाई साँझ बिहान घरको छाक टार्न धौधौ थियो । घरमा कमाई गर्ने श्रीमान् बिरामी परेपछि उपचारमा धेरै खर्च भइसकेको थियो । उपचारमा भएको जग्गा समेत बेचेर सकिएपछि आफन्ती तथा गाउँलेले समेत पत्याउन छोडेका थिए ।
माइत जानलाई गाडी चढ्ने ५० रुपैयाँ भाडा थिएन, न त भर्खर जन्मिएकी छोरीलाई घस्नलाई तेल समेत घरमा थिएन । श्रीमान्को उपचारमा लाखाँै रुपैयाँ खर्च गर्दा पनि रोग पहिचान हुन सकेको थिएन । घरमा कमाउने मानिस बिरामी हुँदा गाउँघरका र आफन्तले समेत पत्याउन छोडिसकेका थिए ।
त्यही समयमा ग्रामीण महिला उत्थान केन्द्रबाट एकजना महिला कर्मचारी गाउँमा गएकी थिइन् । उनले गीतालाई समूहमा आवद्ध हुन र महिनामा ५० रुपैयाँ जम्मा गर्ने र पछि समूहबाट ऋण लिएर घरको काम चलाउन सहज हुने बताइन् । आफूसँग ५० रुपैयाँ पनि नभएको अवस्थामा समूहमा बस्ने अवस्था थिएन । त्यसपछि पुनः त्यी महिलाले गीतालाई समूहमा बस्न आग्रह गर्दै घरमा गइन् तर त्यो बेला झन गाली गरेर फर्काइदिनन् । तेस्रो पटक पुनः घरमा केन्द्रकै दुई महिला आएर सम्झाएपछि गीताको मन परिवर्तन भयो, समूहमा आवद्ध भइन् । पाँचजना मिलेर समूह बनाए । समूहमा पैसा जम्मा गर्न थालेपछि केही समयपछि पाँच हजार रुपैयाँ ऋण लिएर बंगुरका पाठा किनेर पाल्न थालिन् ।
ऋण लिएको पैसा र आफूसँग भएको केही पैसाबाट बंगुरका दुईवटा पाठापाठी किनेर व्यवसायमा जोडिएकी चौधरीलाई त्यही बरदान भइदियो । समूहमा आवद्ध भएर ऋण लिएर व्यवसायमा जोडिएपछि गरेको मेहनत, लगनशीलता र कामप्रतिको विश्वासले गीता अहिले सफल उद्यमी मात्रै बनेकी छैनन्, पछिल्लो समय अरूलाई रोजगारी समेत प्रदान गर्दै आएकी छिन् । आफ्नो जग्गा नहुँदा गाउँमै अहिले साढे ४ विगाहा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी, गन्जी, तोरी खेतीसँगै किराना पसल र बंगुर फार्म सञ्चालन गर्दै आएकी छिन् । कृषि र पशुपालनबाट आम्दानी गरेर उदाहरणीय बनेकी गीताले चार वर्षअघि सफल उद्यमीका रूपमा राष्ट्रियस्तरको लघु उद्यम पुरस्कार समेत जित्न सफल भइन् ।
काठमाडौँमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत हुँदाको त्यो क्षण आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण भएको गीता बताउँछिन् । घरको कमजोर आर्थिक अवस्थाका कारण कसैले नपत्याउने समयमा लद्युवित्तिय संस्थाले दिएको पाँच हजार रुपैयाँबाट आफ्नो जीवन बद्लिएर राष्ट्रिय रूपमा पुरस्कार प्राप्त गर्ने भएको भन्दै उनी भन्छिन्,‘घर चलाउन समस्या परेको समयमा ऋण लिएको थिए, त्यही ऋणबाट व्यवसाय गरेर सफलता प्राप्त गरेको थिए तर प्रधानमन्त्रीबाट पुरस्कृत हुँला भन्ने कहिल्यै सोचेको थिएन तर निरन्तरको मेहनत, लगनशीलता र कामप्रतिको विश्वासले सफलता दिलाउने रहिछ, साँच्चै त्यो क्षण मेरो जीवनको ठुलो खुसीको क्षण हो ।’ त्यसपछि विभिन्न संघसंस्थाले धेरै पुरस्कार प्रदान गरेको उनी बताउँछिन् ।
विगतमा अरूका घरमा काम गरेर गुजारा चलाउने गीताले अहिले आफ्नै खेतबारीमा काम गर्ने ५÷६ मानिसलाई काम दिने भएकी छिन् । चार विगाह जमिनमा व्यवसायिक तरकारी खेतीसँगै पशुपालन गर्दै आएकी चौधरीलाई श्रीमान्ले सघाउँदै आएका छन् । गरिबीका कारण घर व्यवहार चलाउन समस्या भएको समयमा श्रीमान्लाई सिकलसेल रोग देखिएपछि बिरामी श्रीमान्को स्याहार, काखकी छोरीलाई हुर्काउने दायित्व थपिएको थियो ।
आफ्नो विगत सम्झँदा अहिले पनि आँखा रसाउने गरेको भन्दै उनी भन्छिन्‘आर्थिक रूपमा यति कमजोर भएको थिए कि गाउँमा मलाई सय रूपैयाँ सापटी दिनसम्म विश्वास गर्दैनथे, कुनै काम विशेषले गाँउघरमा जाँदा समेत पैसा माग्न आएकी हो कि भनेर ढोका थुनेर मानिस बस्ने गर्दथे तर आफूलाई घर व्यवहार चलाउनसँगै श्रीमान्को उपचारका लागि पैसाको आवश्यकता थियो ।’
तर अहिले अवस्था सुधार भएको छ । बंगुरपालनसँगै तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छिन् । जिरोबाट सुरु भएको व्यवसाय लाखौँको भएको छ, पेटीमा गत्ता राखेर सुरु भएको व्यापार व्यवसाय अहिले सटरमा आइपुगेको उनी बताउँछिन् । उनका अनुसार त्यो समयमा ग्रामीण महिला उत्थान केन्द्र दाङले गरेको सहयोगले नै अहिलेको अवस्था आएको भन्दै खुसी व्यक्त गर्छिन् । बिना धितो, समूह जमानीका आधारमा पाँच हजार कर्जाबाट सुरुवात गरेको कारोबार ग्रामीण महिला उत्थान केन्द्र हुँदै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थासम्म आइपुग्दा लाखाँै रूपैयाँको भएको गीता बताउँछिन् ।
‘२०७० सालमा पाँचजना दिदिबहिनी मिलेर राप्ती महिला उत्थान केन्द्र समूह बनाएर मासिक ५० रूपैयाँ बचत गर्नलाई त्यो समय पैसा हुँदैन थियो’,गीताले विगत सम्झँदै भन्छिन्,‘तर समूहमा बस्न थालेपछि प्रत्येक महिना पैसा जम्मा गर्नु पर्ने भयो र त्यसबाट बचत गर्न सिके । जसले मलाई व्यवसायमा समेत सहयोग ग¥यो ।’ त्यही व्यवसायबाट भएको आम्दानीले बस्नका लागि ६ कट्ठा एघार धुर जग्गासँगै पक्की घर निर्माण गर्दाको त्यो क्षण पनि आफ्नो जीवनको खुसी भएको बताउँछिन् ।
सम्पत्तिको नाममा बस्ने त बास बाहेक अरू केही नभएका समयमा बंगुरपालन र कृषि व्यवसाय गरेर पैसा कमाउँदै गाउँमा जग्गा किनेको भन्दै उनले भनिन्,‘विगत सम्झँदा अहिलेको अवस्था आउँला झै लागेकै थिएन् तर सानो व्यवसाय भएपनि निरन्तर लागेपछि कमाउन सकिने रहिछ भन्ने महसुस भएको छ । कमाएको पैसा र थोरै ऋण गरेर भए पनि जग्गा खरिदसँगै घर बनाउँदा धेरै खुसी लागेको थियो ।’ जग्गा भाडामा लिएर व्यवसाय गरिरहेकी गीताले आफ्नो नाममा जग्गाको लालपूर्जा आउँदा सुरुमा विश्वास नै नलागे झै भएको बताउँछिन् ।
गीताले वार्षिक साढे चार विगाहा जग्गा भाडामा लिएर, खुर्सानी, तोरी र सखरखण्डको खेती गर्दै आएको बताउँछिन् । शिवशक्ति कृषि तथा बंगुर फार्ममार्फत् व्यवसायिक रूपमा बंगुरपालन गर्दै आएकी छिन् । बुबा राजनाथ चौधरी र आमा रामादेवी चौधरीको कोखबाट गढवा गाउँपालिका–२ गोवरडिया (साविकको गोवरडिया गाविस) मा २०३८ साल असोजमा जन्मिएकी गीताले २०६७ सालमा लमही नगरपालिका–७ गिधनिया निवासी कृष्णराज चौधरीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइनु् ।
चौधरी दम्पत्तिकी छोरी प्रतिज्ञा अहिले लमहीमा रहेको जयन्द्र बोर्डिङ स्कुलमा कक्षा तीनमा अध्ययनरत रहेकी छिन् । तत्कालीन सरकार र माओवादी सशस्त्र द्वन्द्वका क्रममा लामो समय भारतमा बस्नु परेका कारण पढाइलाई अघि बढाउन नसकेकी गीताले गाउँमा कक्षा आठसम्म अध्ययन गरे पनि भारतको बसाईका क्रममा विएसम्मको अध्ययन गरेको बताउँछिन् ।