मेरो खुसी : उच्च शिक्षाको जिम्मेवारी पाउँदा…
उनीसँगै पढेलेखेका दौतरीहरू विभिन्न देशमा छन् । विभिन्न सपना बोकेर उनीहरू विदेशी भूमिमा कर्म गरिरहेका छन् । तर, उनी विगत १२ वर्षदेखि स्वदेश त्यो पनि आफ्नै जिल्लाको शैक्षिक क्षेत्रको उन्नति र शिक्षाको ज्योति फैलाउनमा लागेका छन् । उनले पढाएका सयौँ विद्यार्थी अहिले विभिन्न क्षेत्रमा छन् ।
सानै उमेरमा उच्च शिक्षाको जिम्मेवारी समालेका उनले आफ्नो पहिलो खुुुसी स्वदेशमै उच्च शिक्षाको जिम्मेवारी पाउँदाको भएको सुनाए । ‘मानिसका आफ्नै लक्ष्य उद्देश्य हुन्छन्, आफ्नै खुसीका प्रकारहरू पनि हुन्छन् । कुनै व्यक्ति केही त कुनै व्यक्तिले केही गर्न पाउँदा खुसी हुन्छन् । सबै मानिसहरूले जीवनमा खोजेको खुसी हो । आफ्नो मन सधँै खुसी रहोस् भनेर धेरै तयारी गरिन्छ । हामीले गरिने सबै कार्यहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफू खुसी हुने हो ।
यही संसारमा केही मानिस आफूसँग केही नभए पनि जीवनभरी खुसी रहेका छन् भने केही मानिसहरू जति नै उपलब्धी भए पनि, जति नै भौतिक रूपमा सम्पन्न भए पनि कहिल्यै खुसी देखिँदैनन् ।
तुलसीपुर–११ प्रिगाउँ निवासी दिपक लामिछानेले आफू भने शिक्षाको ज्योति फैलाउँन पाउँदा खुसी लागेको बताए । नेपालमा केही छैन भनेर भविष्य नदेखेर विदेशिने युवाहरूका लागि एउटा प्रेरणाका स्रोत बनेका लामिछानेले दाङको एउटा उच्च शिक्षा प्रदान गर्ने क्याम्पसको शैक्षिक विकासका लागि नेतृत्व गर्न पाउँदा आफू निकै खुसी भएको सुनाउँछन् । ‘यो भन्दा मेरो लागि ठुलो खुसी के हुन्छ र नेपाल त्यो पनि आफ्नै जिल्लामा परिवारसँग बसेर शिक्षाको जस्तो पवित्र संस्थामा सेवा गर्न पाएको छु’, लामिछानेले भने ।
सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरको क्याम्पस प्रमुख लामिछानेले २०७० सालमा आफूले क्याम्पस तहमा अध्यापन गराउन थालेको क्याम्पसमा २०७८ सालमा क्याम्पस प्रमुखको जिम्मेवारी पाएको सुनाए । ३३ वर्षको उमेरमा उच्च शिक्षाको नेतृत्व गर्ने अवसर आफूले पाएको भन्दै त्यो जिम्मेवारी पाउँदा आफूलाई खुसी लागेको सुनाए । त्योसँगै २०८२ सालमा पुन दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुख हुँदा अर्को खुसी प्राप्त भएको उनले सुनाए ।
अहिले धेरै युवाहरू १२ पास पछि विदेशीने गरे पनि उनले स्वदेशमै उच्च शिक्षा हासिल गरी स्वदेशमै केही गर्नुपर्छ भन्ने हेतुले शिक्षाको ज्योति फैलाउन लागेको सुनाए । ‘म पनि पढे लेखेको थिए विदेशिन सक्थे तर आफ्नै देशमा केही गर्नुपर्छ भनेर म शिक्षा क्षेत्रमा लागेको हुँ’, उनले भने । उनले आफूले २०६९ सालमा स्थापना भएको क्याम्पसमा वीएड शैक्षिक कार्यक्रम मात्र रहेको क्याम्पसमा २०८० सालदेखि वीवीएस शैक्षिक कार्यक्रम थप गरी बहुमुखी क्याम्पस बनाउन सफल भएको भन्दै अर्को खुसी व्यक्त गरे ।
‘मैले क्याम्पसको जिम्मेवारी समाल्दा एक सय विद्यार्थी थिए अहिले ५०० विद्यार्थीले अध्ययन गर्नुहुन्छ सबैले आफ्नै गाउँघरमा पढन पाएका छन् यो पनि खुसीको कुरा हो’, लामिछानेले भने । नारायणप्रसाद लामिछाने तथा शोभा लामिछानेका माइलो छोरा लामिछानेले २०६० सालमा जनजागृति मावि पातुवनगाउँबाट एसएलसी पास गरेर राप्ती बबई क्याम्पसबाट २०६६ मा वीएड पास गरेको भन्दै शैक्षिक प्रगतिमा पनि आफू निकै खुसी भएको सुनाए ।
त्यसपछि २०६९ सालमा त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट शारारीक शिक्षामा एमेड पास हुँदा पनि निकै खुसी लागेको बताए । लामिछानेले शैक्षिक संस्थाको नेतृत्व गर्न सबैको साथ सहयोग पाएको भन्दै त्यसमा पनि खुसी लागेको सुनाए । ‘मलाई शैक्षिक उन्नति प्रगतिमा घरपरिवार तथा व्यवस्थापन, समाजसेवि, स्थानीय सबैले सहयोग गर्नुभएको छ, यो सहयोग पाउँदा पनि म खुसी छु’, लामिछानेले भने ।
त्यस्तै लामिछानेले स्नातक तहमा प्राविधिक विषय थप गरी वन विज्ञान, आईटि साइन्स पढाइ सञ्चालनका लागि प्रस्तावना पेस गरेको र त्यो शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाए आफूलाई थप खुसी मिल्ने सुनाए । सरल मिजासिला कर्ममा विश्वास गर्ने लामिछानेले जीवनका उकाली ओरालीहरूमा अन्य धेरै खुसीहरू रहेको भन्दै शैक्षिक खुसीलाई नै आफूले महत्व दिएको बताए । २०७३ सालमा वैवाहिक जीवनमा बाँधिएका लामिछानेले घरपरिवार सबैको साथ सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे । उनले घरमा दुईवटा लक्ष्मीहरूको जन्म हुँदा पनि आफूलाई खुसी लागेको सुनाए ।
त्यस्तै लामिछानेले नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भई प्रदेशमा रहेका सामुदायिक क्याम्पसको विकासका लागि लागेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै समाजमा हुने धार्मिकदेखि अन्य सहयोगहरू गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए । उनले २०८० सालमा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालले सम्मान गरेको भन्दै विभिन्न समयमा विभिन्न स्थानमा आफ्नो कामको मूल्याङ्कन गरी सम्मानित हुँदा थप हौसला प्रेरणाका साथै खुुसी लागेको सुनाए ।
प्रस्तुति ः बालाराम खड्का
