पहिले हाँसीपुर–रानीबासदेखि घोराही आउन एक दिन लाग्थ्यो । घोराहीदेखि हाँसीपुरसम्मको दुरी खास्सै धेरै नभए पनि भौगोलिक विकटताका कारण यात्रा कठिन थियो । हाँसीपुरलगायतका स्थानीयलाई घरायसी सरसामान खरिद गर्नेदेखि गाउँमा उत्पादन भएको अदुवा, बेसार, घुइयालगायतका स्थानीय उत्पादन बिक्रीका लागि घोराही ल्याउनु पर्ने बाध्यता थियो ।
तर घोराही आउन जानका लागि स्थानीयनका लागि सहज थिएनन् । घरायसी कामका लागि आउनै पर्दा पनि करिब एक दिन हिड्नु पर्ने बाध्यता । सामान बोकेर हिड्दा त बाटोमा बास बस्नु पर्ने हुन्थ्यो तर आजको हाँसीपुर, रानीवास, गोठीवनलगायतका स्थानीयको दैनिकी बद्लिएको छ । रामपुर, सिमलतारा, मुलावारी हुँदै हाँसीपुर जोड्ने सडकको ट्र्याक खुलेसँगै अहिले मोटरसाइकलमार्फत् एक घन्टाभित्रै हाँसीपुर–घोराही यात्रा गर्न सम्भव बनेको छ ।
सडक ग्राभेल भएको छ, कतिपय ठाउँमा पक्की नालासँगै स्वामीघाटदेखि रानीवाससम्मको उकालो ठाउँका विभिन्न घुम्तीमा सडक ढलान गरिएको छ, सुकाखोलामा पुल बन्दै छ, यसले वर्षादको समयमा पनि गाडी चल्न सक्ने अवस्था बनाएको छ । बाटो नहुँदा विगतमा घरका लागि चाहिने खाद्यान्न बोकेर बाटोमा बास बस्दै रानीबास पुग्ने बंगलाचुली गाउँपालिका–८ रानीवास निवासी गिरराज बाठाको दैनिकी बदलिएको छ । बाल्यकालसँगै युवा अवस्था पैदल हिडेर घोराही–हाँसीपुर गरेका ५६ वर्षीय बाठा अहिले मोटरसाइकलमा घोराही आउने जाने गर्ने गरेका छन् ।
जीन्दगीको आधाभन्दा बढी समय पैदल हिडेरै उकालीओराली गरेका बाठा विगतको त्यो कठिन समय सम्झँदै भन्छन्, ‘त्यो बेलाको अवस्था र अहिलेको अवस्थालाई सम्झँदा नयाँ जुनी पाएको जस्तो अनुभूति हुन्छ, त्यो नै जीवनको सबैभन्दा ठुलो खुसीको क्षण हो ।’ उनका अनुसार अहिलेको हाँसीपुर र विगतको हाँसीपुर तुलना गर्दा पुरै नयाँ जीवन जस्तो लाग्ने गरेको उनी बताउँछन् ।
बाठाले राजनीतिका माध्यमबाट गरेको योगदान, सडक र पूर्वाधार विकास, पशुपालन र सामाजिक जिम्मेवारीले हाँसीपुरको गाउँले जीवनमा सकारात्मक प्रभाव पारेको छ । आजको हाँसीपुर विगतसँग तुलना गर्दा धेरै परिवर्तन भइसकेको उनी बताउँछन् । भौगोलिक रूपमा विकट क्षेत्रमा हुर्केका बाठाले शिक्षा र राजनीतिमा सक्रियता देखाए । राजनीतिक सहभागिता उनको गाउँको सामाजिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित रह्यो ।
घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट एलएलसी पास गरेका बाठाले विद्यालय अध्ययनका क्रममा राजनीतिक यात्रा सुरु गरे । अनेरास्वीयूबाट विद्यार्थी राजनीति गरेका बाठा तत्कालीन हाँसीपुर गाउँपालिकाको नेकपा एमालेको सचिवको भूमिका निर्वाह गरेका थिए । त्यही समयमा २०४९ र २०५४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तत्कालीन हाँसीपुर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित गराउन भूमिका खेले ।
गाउँको विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने गरि योजना अघि सारे तर अध्यक्षबाट सहयोग भएन । त्यसपछि विमत बढ्दै गयो । त्यही समयमा तत्कालीन माओवादी आन्दोलन पनि बढ्दै गएको थियो । माओवादी विचारबाट प्रभावित बनेका बाठा २०५९ सालमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भए ।
गाउँको विकास र जनताको अधिकारका लागि माओवादी आन्दोलनबाट काम गरे । त्यही कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट बाठा बङ्गलाचुली गाउँपालिका वडा नं. ८ को अध्यक्षमा निर्वाचित भए । पाँच वर्ष अध्यक्षका रूपमा स्थानीय वडा सरकार हाकेका बाठाले आफ्नो कार्यकालमा वडाका प्रत्येक बस्तीलाई सडक सञ्जाल, विद्युतीकरण र खानेपानीको सुविधाले जोड्न सकेको बताउँछन् । उनले भने, ‘स्थानीय सरकारको नेतृत्वमा रहेर गाउँबस्तीको विकाससँगै जनतालाई अधिकार सम्पन्न बनाउनका लागि सचेतनाका माध्यमबाट भूमिका खेले । जनताको नजिकको सरकारको रूपमा काम गर्न पाउनु मेरो लागि ठुलो खुसी हो ।’
हाँसीपुरको भौगोलिक र सामाजिक परिवेशले पुरानो दिनको सम्झना दिलाउँने गरेको उनी बताउँछन् । सडक विस्तार, घरघरमा खानेपानीसँगै बालबालिकालाई अध्ययनमा सहयोग गर्ने गरि प्राविसम्म पढाइ हुने विद्यालयलाई आधारभूत तथा आधारभूत तहसम्म पढाइ हुने विद्यालयलाई मावि तहसम्म पढाइ हुने गराएको बताउँछन् ।
राजनीतिसँगै शान्त, सरल र मिलनसार स्वभावका बाठा पशुपालनमा पनि सक्रिय छन् । बङ्गलाचुली गाउँपालिका वडा नं. ७ रानीबासमा विगत एक दशकदेखि बोयर जातका बाख्रापालन गर्दै आएका छन् । पशुपालनप्रति रुचि राख्ने बाठाले स्थानीय जातको बाख्रालाई बोयरसँग क्रस गराएर उन्नत जातका बोयर बाठापाठी उत्पादन गर्नेदेखि खसी उत्पादन गरेर बिक्री गर्ने गर्दै आएको बताउँछन् । ‘जङ्गलको बिचमा भएकाले अन्य कृषि हुँदैन । पशुपालन नै गर्नुपर्ने बाध्यता छ’, उनले भने,‘सानैदेखि पशुपालनप्रति रहर भएर पनि होला अरूले विस्तारै पशुपालन छोड्दै गएका छन् । मैले छोड्न सकेको छैन । आम्दानीको स्रोत बनेको छ । वार्षिक रूपमा करिब १०–१५ बोयर जातका खसी उत्पादन गरेर बिक्री गर्दै आएको छु । यसले आर्थिक स्थिति सुधार्न योगदान दिइरहेको छ ।’
पहाडी बहुउद्देश्यीय पशुपालन फर्ममार्फत बाख्रा पालिरहेका छन् । २०२६ सालमा प्युठानको सरुमारी गाउँपालिका–५ रज्येमा बुबा चिन्ताराम बाठा र आमा पतिदेवी बाठाको कोखबाट जन्मिएका बाठाले २०४८ सालमा घोराहीको पद्मोदय पब्लिक नमुना माविबाट एसएलसी पास गरेका थिए । त्यसपछि महेन्द्र क्याम्पसमा अध्ययन गर्न सुरु गरेका बाठाले त्यहीबाट विद्यार्थी राजनीतिमा संलग्न भएको बताउँछन् ।
पूर्व बंगलाचुली गाउँपालिका वडा नं. ८ का अध्यक्ष रहेका बाठा आधारभूत विद्यालय हंसपुरको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँगै विभिन्न संघसस्थाका माध्यमबाट सामाजिक कार्यमा संलग्न रहँदै गाउँको समग्र विकासमा योगदान पु¥याउँदै आएका छन् । गाउँको विकासले नयाँ पुस्तालाई पनि स्वदेशमै शिक्षा हासिल गरी योगदान दिन प्रेरित गरेको छ ।
सडक, विद्युत र गाडी आवागमनले हाँसीपुरका बासिन्दाको जीवनशैलीलाई सरल बनाएको छ । बाठाको प्रतिबद्धता र नेतृत्वले गाउँको उज्यालो भविष्यको आधार तयार पारेको बताउँछन् । रितादेवी बाठासँग वैवाहिक जीवनमा बाँधिएका बाठाका चार सन्तानमध्ये तिलकराम बाठा र उमा बाठा अहिले रहेका छन् ।
प्रस्तुति : लीलाधर वली