calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

डिजिटल रिभोलुसन सयदिने अभियानको प्रमुख एजेण्डा : केन्द्रीय सदस्य रसाइली [अन्तर्वार्ता]

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार दाङ जिल्लामा पनि सय दिने अभियान आज समापन गरिँदै छ । यो अभियान अन्तर्गत जिल्लाका दशवटै पालिका, नेपाल दलित संघ र शुभेच्छुक एवम् भातृ संस्थाहरुसँग गरी कम्तिमा १५ वटा कार्यक्रमहरु सम्पन्न भए । यसका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य तथा पूर्व सांसद प्रकाश स्नेही रसाइलीलाई दाङ खटाएको थियो । सय दिने अभियानको उदेश्य र औचित्यसँगै नेपाली कांग्रेसका भावि कार्यक्रमका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले केन्द्रीय प्रतिनिधि प्रकाश रसाइली स्नेहीसँग गरेका कुराकानीको सार सङ्क्षेप ।

 स्वागत छ, तपाइलाई गोरक्ष सातावार्तामा ।

 धन्यवाद तपाई अनि तपाइको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई ।

 नेपाली कांग्रेसको सय दिने अभियान दाङ जिल्लामा सम्भवतः आज समापन हँुदै छ। यो अभियानले आम कांग्रेसजनमा के पाउनुभयो ?

 हामीले सरकारमा रहँदा वा नरहँदा पनि जनताका पक्षमा गरेका काम तथा नेपाली कांग्रेसको भावि रणनीतिका विषयमा जनतालाई यथार्थ जानकारी गराउन र पार्टीलाई एक ढिक्का बनाएर मुलुककै लिडिङ पार्टी बनाउने सन्दर्भमा यो अभियान थालेका हौँ । हामीले सय दिने अभियान चलाइरहँदा जनताका धेरै गुनासा पनि सुनेका छौँ । समस्याहरू सुन्यौँ ।

पार्टीभित्र देखिएको चरम गुटवन्दीका कुरा पनि सुन्यौँ । साथै अभियानमा हामीले नेपाली कांग्रेसले सरकारमा रहँदा वा नरहँदा पनि गरेका कामका विषयमा जानकारी पनि गरायौँ । यसले पार्टीका तल्लो तहका शुभेच्छुक एवम् कार्यकर्तामा उत्साह पनि थपेको छ । हामीले भनेका पनि छौँ, तल्लो तहमा रहेर पार्टीलाई बचाउने आम कार्यकर्ताका आवाजलाई केन्द्रीय समितिमा लगेर सुनुवाई गर्ने छौँ भनेर । मुलतः यो अभियानले पार्टीका कार्यकर्तामा एकताको सन्देश गएको छ र गुटवन्दीको पूर्ण अन्त हुनुपर्दछ भन्ने पनि हामीले अभियानका क्रममा पाएका छौँ ।

 पार्टीमा गुटवन्दी व्यावस्थापनको कुरा गर्नुभयो, कसरी हुन्छ यो काम ?

 नेपाली कांग्रेसमा यो पहिल्यैदेखिको रोग हो । जब आम निर्वाचन आउँछ, अधिकांश स्थानमा गुटवन्दीको प्रभाव देखिन्छ । यसको कारण टिकट वितरण प्रक्रियादेखि नै सुरु हुन्छ । कुनै एक पदका लागि २० जनाको नाम सिफारिस गरिन्छ तर टिकट पाउने एकजनाले मात्रै हो । बाँकी उन्नीसजना जसले टिकट पाएका हुँदैनन्, उनीहरूनै एकजुट भएर टिकट पाएको एक जनालाई हराउनतर्फ लाग्ने प्रवृत्ति अझै पनि कांग्रेसमा देखिन्छ । यसका लागि प्रथमतः पार्टीमा मूल्याङ्कन पद्धति स्थापित हुनुपर्दछ ।

असल काम गर्नेलाई पुरस्कार र अन्तर्घातमा लाग्नेलाई अनदि स्पट कारबाहीको व्यवस्थापन गर्न जरुरी छ । अर्को कुरा टिकट वितरण प्रणालीमा पनि संशोधन गर्न जरुरी देखिन्छ । त्यसका लागि हामीले पटक–पटकको केन्द्रीय समिति बैठकमा पनि एजेण्डाका रूपमा कुरा उठाएका पनि छौँ । अब टिकट तहगत रूपमा तल्लो तहकै नेतृत्वबाट वितरण गरिनु पर्दछ । त्यसलाई पनि वैज्ञानिक एवम् पारदर्शी बनाउन टिकटकै लागि पनि सम्बन्धित तहमा मतदानको व्यवस्था मिलाउन हामी लागि रहेका छौँ । यसले पनि अन्तर्घातको प्रवृत्तिलाई निस्प्रवाही बनाउने पनि हामीले अपेक्षा गरेका छौँ । यो विषयमा केन्द्रीय समितिमा व्यापक वहश भइरहेको पनि मैले यहाँको पत्रिकामार्फत् सबैलाई जानकारी गराउन चाहन्छु ।

 सामाजिक सञ्जालमा हेर्दा ठुला राजनीतिक दलप्रतिको वितृष्णा बढेको देखिन्छ । यसलाई पार्टीले कसरी लिएको छ ?

 यसमा कुनै सत्यता छैन । नेपाली जनतालाई रैतिबाट जनता बनाउने हामी नै हौँ । कुनै पनि राजनीतिक दर्शन, विचार र दृष्टिकोण नै नभएकाले सामाजिक सञ्जालमार्फत् निराशा मात्रै बढ्नका लागि उद्दत देखिन्छन्, साना दलसँग कुनै पनि किसिमको राजनीतिक गन्तव्य नै छैन, खाली निराशा मात्रै बाँडेर जनतालाई आफ्नो पक्षमा पार्न खोज्ने दाउपेच मात्रै हो । यसलाई आम कांग्रेसजनले बुझिसकेका छन् । त्यही भएर नेपाली कांग्रेसले पनि अब पार्टीलाई सूचना प्रविधिको पूर्ण पहँुचमा लैजानु पर्छ भनेर हामी लागिरहेका छौँ ।

 पार्टीलाई पूर्णरूपमा डिजिटलाईज गरेर सूचना प्रविधिको पहुँचमा लैजाने भन्नु भो, त्यो कसरी कार्यान्वयन हुन्छ ?

 हो, यो सय दिने अभियानको प्रमुख एजेण्डा भनेकै पार्टीलाई पूर्णरूपमा सूचना प्रविधिको पहँुच स्थापित गर्नु हो । अब एउटा पुस्ताले सामाजिक सञ्जालमार्फत् क्रान्ति गर्नुपर्दछ भन्ने हाम्रो ठहर छ । साना दलले सामाजिक सञ्जालमा गरेको झुठको खेतीलाई चिर्न नेपाली कांग्रेसमा पनि सूचना प्रविधि र सामाजिक सञ्जाल प्रयोगको एक्सेस बढाउन हामी कटिबद्ध छौँ । त्यसैले सय दिने अभियानमा हामीले यो एजेण्डालाई पनि प्रमुख महत्व दिएर आएका छौँ ।

अब पार्टी केन्द्रीय समितिदेखि प्रदेश समिति, क्षेत्रीय समिति, पालिका समिति तथा वडा समितिले समेत अनिवार्य रूपमा वेवसाइट निर्माण गर्नैका लागि निर्देशन दिएका छौँ । साथै तत् तत् संगठनले तत् तत् तहमा आ–आफ्ना वेवसाइट निर्माणमा लाग्न पनि हामीले निर्देशन गरिसकेका छौँ । साना दलले सामाजिक सञ्जालमा गरेका ज्यादतिलाई कसरी प्रतिरोध गर्ने भन्ने सन्दर्भमा पनि हामीले अभियानमा धेरै छलफल पनि गरिसकेका छौँ । यसलाई हामीले डिजिटल रिभोलुशन पनि भनेका छौँ । ं

 तपाईले साना दललाई निराशाको खेती गर्ने पार्टी भन्नु भो, तर सरकार बनाउन अहिले त मुलुककै ठुला दलको गठबन्धन गर्नु भो । यो गठबन्धनको औचित्य पुष्टि गरिदिनुस् न ?

 हो, हामीले यस अघि स–साना दलसँग गठबन्धन गरी सरकार बनाएका पनि हौँ । तर साना दलसँगको गठबन्धनले मुलभूत रूपमा मुलुकका आम नागरिकको चाहनालाई सम्बोधन गर्न सकेन । हामीले चाहेअनुसार संविधान संशोधन र निर्धक्क रूपमा एकमाना सरकार गठन गर्ने वैधानिक व्यवस्थापन गर्न सकेनौँ । त्यो बेला पनि आम नागरिकको चाहना भनेका बरु ठुला दलै मिलेर दुई तिहाइको सरकार बने मुलुकले चाहेअनुसारको संविधान संशोधन हुन सकोस् भन्ने पनि सन्देश थियो । त्यसैले हामी ठुला दलको गठबन्धनमा सरकार गठन ग¥यौँ । यसको मुलभूत उद्देश्य भनेको आम निर्वाचनमार्फत् स्पष्ट बहुमतको सरकार बन्न सकोस् भन्ने हो ।

 ठुला दलको दुई तिहाइ बहुमतको सरकारबाट पनि जनताको अपेक्षा सम्बोधन भएन भन्ने चौतर्फि गुनासो छ नि ?

 हो, जनगुनासोलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ । जनताका अपेक्षा धेरै छन्, तर ती सबै अपेक्षालाई पूरा गर्नका लागि हामीसँग साधन स्रोतको निकै समस्या छ । तैपनि कामै नभएको भन्ने होइन । गठबन्धनको मुलभूत उद्देश्य त स्पष्ट बहुमतको सरकार गठन हुन सक्ने गरी निर्वाचन प्रणालीको संशोधन हो । यसका लागि संविधाननै संशोधन गर्न आवश्यक छ । यसका लागि हामीले एउटा कार्य दल समेत बनाएका छौँ । प्रतिपक्षि राजनीतिक दललाई पनि यसका सहमति गराउनु पर्ने छ । कार्य दलले निर्वाचन प्रणालीमा सुधारका लागि गर्न सकिने विषयमा रूपमा प्रक्रियागत छलफल पनि सुरु गरिसकेको छ । आदिवासी, जनजाति, दलित, उत्पीडित सबैलाई समावेश गर्ने गरी थ्रेसहोल्डको सङ्ख्या बढाएर निर्वाचन प्रणालीलाई सुधार गर्न सकिन्छ भन्ने हाम्रो एजेण्डा हो । यसलाई हामीले सुरुवात गरिसकेका छौँ ।

 अन्तमा फेरि पनि सबै ठाउका कांग्रेसले अर्को चुनावमा पनि रुखमा भोट हाल्न नपाउने अवस्था हुने होकि ?

 अहँ यो अब कदापि हुने छैन । हामी निर्वाचनसँग डराएर गठबन्धनमा गएका होइनौँ, गठबन्धन त निर्वाचन प्रणालीमा परिमार्जन गर्नका लागि हो । आम निर्वाचनमा नेपाली कांग्रेसका सबै कार्यकर्ता शुभेच्छुकले रुखमै भोट हाल्न पाउनेमा म केन्द्रीय सदस्यका नाताले सबैलाई विश्वस्त पार्न चाहन्छु । आगामी आम निर्वाचन २०८४ मा नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा उम्मेदवारी दिने छ । सबै कांग्रेसजनले ढुक्कसँग रुखमा मत हाल्न पाउने छन् । आम निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनाबी गठबन्धन हँुदैन ।