calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

युवा पलायनको भयावह तस्विर

भुवन पोख्रेल
देशमै केही गर्न खोज्ने उद्यमशील भावना भएका युवा तर अस्थिर राजनीति, सरकारको अकर्मव्यताले सृजित भ्रष्ट राजनीतिक तथा प्रशसनिक संरचनाको कारण विदेश पलायन हुन बाध्य छन् । दक्ष जनशक्ति अस्थिर राजनीति, सरकारको अकर्मव्यताले सिर्जित भ्रबद्ध राजनीतिक तथा प्रशासनिक संरचनाको कारण विदेश पलायन हुन बाध्य छन् । दक्ष जनशक्ति स्थायी रुपमा देश छोड्दै जाँदा यसको नकारात्मक तथा दीर्घकालीन प्रभाव पर्छ ।
नेपाल जस्ता गरिब र विकासशील देशहरुमा औद्योगिक विकासका साथै आर्थिक क्रियाकलापमा उल्लेखनीय सुधार हुन नसक्नुमा रोजगारको खोजीमा अन्यत्र जाने परम्परा हो । विशेषगरी अदक्ष र अर्थ मनक्ति देशभित्रका दुर्गम दक्ष तथा मूलुकमा विकसित सहर तिरै पस्दैे खाडी तिर उच्च दक्ष तथा उच्च दक्षहरु देश छाडि अत्यत्र मुलुकमा प्रस्थान गरी आएका छन् ।
विदेश पलायन हुनेमा गुणस्तरीय बौद्धिक प्रतिभा भएका जनशक्ति मात्र नभइ बाहुबल सम्पन्न अदक्ष तथा अर्धदक्ष युवाशक्ति छन् । आफ्नो क्षमताको कदर देश भित्र भन्दा बाहिर कदर हुने हुँदा देश छाडेर बाहिरी मुलुकतर्फ आर्कषित हुने क्रम बढ्दो छ । सुखमय जीवनयापन गर्न आर्कषित भइ आप्रसावासीका रुपमा पलायन हुने प्रचलन खास गरी गरिब र विकाशील देशमा प्रतिवर्ष वृद्धि भइरहेको छ ।
देशप्रति माया, प्रेम र भक्तिभाव हुँदाहुँदै पनि देशभित्र आफ्नो दैनिकी र जीवनस्तर राम्रा नहुने निष्कर्षमा पुगेका युवाको गन्तव्य सहजै विदेश हुन पुगेको छ । सर्वसाधरणदेखि व्यापरी सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेताहरुले आफ्ना छोराछोरी विदेशमा पठाउने र उनीहरुको भविष्य त्यतै सुरक्षित देख्न थालेका छन् । विदेश गएपछि सुखैसुख हुन्छ भनी मानिस ऋणधन गरेर भए पनि विदेश जान चाहन्छन् । सानोतिनो व्यापार व्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छु भन्ने भावनाभन्दा पनि व्यापार गरेमा लगानी डुब्छ । फाइदा हुँदैन भनेर त्यहीँ पैसा विदेश जान लगानी गरिन्छ ।
खाडी मुलुकमा गएकाहरुले त त्यहाँ मेहनत गरेर पैसा पनि पठाउँछन् र पछि नेपाल पनि फर्किन्छन् तर अमेरिका अस्ट्रेलियामा पढ्ने नाममा जाने युवाहरुले नेपालको अर्थतन्त्र नै धराशायी बनाइरहेका छन् । उनीहरु आफू त पलायन भइरहेका छन् तर यहाँ भएको पैसा पनि साथसाथै लगिरहेका छन् । यता आमाबुवाले आफ्ना छोराछोरी अमेरिका, क्यानेडा, अस्ट्रेलिया छन् भन्दै धाक लाउँदै हिड्छन्, उमेर छउन्जेल तर त्यो छोराछोरी न बुढेसकालको सहारा बन्न सक्छन् न त मरेपछि दागबत्ती र काजकिरिया गर्न नै आइपुग्दछन् । बाआमा मरेपछि उनीहरुको नाममा रहेको चलअचल सम्पत्ति बेचेर लैजाने भने आइपुग्दछन् ।
नेपालको नागरिकता त्यागेर अन्य देशको नागरिक भइसकेको मान्छेलाई नेपालको सम्पत्ति बेचेर बाहिरी मुलुकमा लैजाने व्यवस्था कायम रहुन्जेल मुलुक खाक्रो नै हुन्छ । यदि सरकार नेपालमा रहेको सम्पत्ति बेचेर विदेश लैजान नपाउने कानुन कडाइका साथ लागु गर्ने हो भने ढिला चाडो मानिस पुख्र्यौली सम्पत्तिको लोभमा नेपालमै फर्किन सक्थे । अन्य विदेशी मुलुकले हाम्रो दक्ष युवाशक्ति सँगै पैसा पनि लग्नुले हाम्रो जनधनको क्षति भएको छ । जसले गर्दा देशको अर्थतन्त्र र विकासमा ठूलो संकट पैदा भइरहेको छ ।
 देशको अर्थतन्त्र श्रीलङका भइसकेको छ, वित्तीय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाइसकेको र घरजग्गा गाडी र सेयरको किन बेचमा गिरावट आइसक्यो । नेपाल सरकार दिन प्रतिदिन विदेशीको ऋणमा फँस्दै गइरहेको छ । एक नेपालीको टाउँको विदेशी ऋण ७९ हजार पुगिसकेको छ तर सरकारले यो ऋणको साँवाब्याज पनि तिर्न सकिरहेको छैन । अहिले पनि नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउनका लागि सुरु मै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको वित्तीय संस्था डुबेको तर व्यक्ति धनी भएको प्रस्ट देखिन्छ । अब यो पैसा मानिसले कहाँबाट जोडे त स्रोत खोजी गर्नु पर्ने भएको छ ।
नेपालका शिक्षण संस्थाका गुणस्तर त्यति कमजोर भएर पढ्न कै लागि युवा विदेशिएका हुन् त सरकारले अनुगमन गर्न ढिला भइसकेको छ । नेपालमा निजी कलेजदेखि सरकारी कलेज प्रशस्तै छन् । यसरी यी कलेज रित्तिनु र युवा पढ्नका लागि विदेश पलायन हुनुले नेपालको शिक्षाको गुणस्तरमाथि हिलो छ्यापिएको छ । प्रजातान्त्रिक समाजमा व्यक्तिगत स्वतन्त्रताको पनि ख्याल गर्नुपर्छ, त्यसर्थ पूर्ण त बौद्धिक पलायन रोक्न सकिँदैन तर सरकारले उचित नीति र कार्यक्रम लिएर उनीहरुलाई देश फर्काउने वातावरण मिलाइ देश निर्माण र विकासमा प्रयोग गर्न चाँही प्रयास गर्नुपर्छ ।
बौद्धिक पलायनबाट प्राप्त विप्रेषण सही ठाउँमा लगानी गर्ने वातावरण तयार पार्ने जस्ता कार्य गर्न सके बौद्धिक पलायन अभिषाप नभइ राष्ट्रको विकास र समृद्धिमा कोसे ढुङ्गो सावित हुन्छ । देशमा राजनीतिक स्थिरता भएर सुशासन कायम हुन सके विदेशिएको मानव पुँजी स्वदेश फर्किन सक्छ । नेपालमा दवाव र तनावरहित सम्मानजनक रुपमा काम गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । भ्रष्टाचार र नातावादको अन्त्य हुनु पर्दछ ।
अहिले विद्यार्थी मात्र नभई प्राध्यापक, इन्जिनियर, चिकित्सकदेखि वैज्ञानिकसम्म विदेश पलायन भएका छन् । अवसर, पेसागत सुरक्षा र थप क्षमता विस्तार खोज्दै अधिकांश दक्ष जनशक्तिले पश्चिमा देश ताक्दछन् । पलायन अधिकांश प्रतिभा न फेरि देश फर्कन्छन् । न सरकारले उनीहरुको ज्ञान र अनुभवबाट लाभ लिने मेलोमेसो मिलाउँछ । पलायन भएका बौद्धिक जनशक्ति फर्कन देशमा विकासको माहोल र अवसर छ भन्ने सुनिश्चितता दिलाउन सक्नुपर्छ । तलब बढी दिँदैमा बौद्धिक जनशक्ति फर्कदैनन् ।
१२ कक्षा पास गर्न नपाउँदै विदेश पलायनको सोँच बनाइहाल्ने प्रवृत्ति नेपालमा अहिले व्यापक रुपमा बढ्दो छ । नेपालमा बसेर भविष्य बनाउन नसकिने युवाहरुको सोँच बनेको छ । शिक्षा व्यक्तिको नैसर्गिक अधिकार हो सकैलाई पनि जहाँ अध्ययन गर्छु भन्छ रोक्न सकिँदैन तर नेपालको पछिल्लो डर लाग्दो समस्या भनेको शिक्षितवर्गले देश छोड्नु हो । चाहे अध्ययनको बाहनामा होस चाहे रोजगारीको युवा पलायन भइरहेको छ ।
माओवादी द्वन्द्व भयो त्यहीँ द्वन्द्वका बेला २०५१÷०५२ मा नेपालमा युवाहरु गाउँ छाडेर सहर पसे । गाउँठाउँमा त्यसबेला सरकार उपस्थिति शून्य र जनसरकारको वर्चस्व बढ्यो । सहर छिरेका ती युवा रोजगारी, अध्ययन र सुरक्षित भविष्यका लागि विदेश गए । अभिभावकले पनि आफ्नो सन्तान अहिले बचाउन सकियो भने भविष्यमा युद्ध रोकिएला भनेर विदेश पठाए । द्वन्द्वका बेला सर्वसाधरण राज्य पक्ष र माओवादी पक्षको चेपुवामा परे । त्यसबेलादेखि यसवा पलायन सुरु भएको अहिले युवा पलायन भयावह बन्न पुगेको छ । युवाशक्ति रोक्ने र नियन्त्रण गर्ने विषय होइन बरु व्यवस्थापन गर्ने विषय पनि हो ।
वैदेशिक रोजगारी, डिभि परेको, विदेशमा पढ्न एनआंसी लिएको आदि नाममा युवा बाहिर जाने क्रम बढ्यो । विद्यार्थी भिसामा गएका भए पनि ६० प्रतिशत त त्यहाँ पढ्नेभन्दा पनि काम नै गर्ने हुन् । बाहिर गैरकानुनी तवरले गएका कतिपय जनशक्तिको तथ्याङ्क त सरकारसँग छैन । हामीले देशको विकास र उन्नतिमा साझेदार गर्न सक्ने युवाशक्तिलाई धाप मारेर त्रिभुवन विमानस्थलमा टिका खादा लगाएर विदेश पलायन गरिरहँदा देशको स्थिति के होला कहिल्यै सोचेनौँ । मुलुक युवा विहीन भइरहेको छ ।
युवालाई उत्पादनसँग जोड्ने र बढीभन्दा बढी समयभित्र मुलुक भित्रै अल्मल्याउन सक्नु पर्छ । गाउँ वृद्धवृद्धा र अशक्तहरुको ठाउँ बन्दै गएकोले गाउँबाट उत्पादन बढेन । पछिल्लो समयमा दैनिक हजारौँ युवा मुलुक छाडेर विदेशिएका छन् । यसरी जानेहरुमा रोजगारीका लागि जाने । आउने गर्नेहरु मात्र नभइ पढाइ र कामको बहानामा सधैका लागि उतै बस्न जानेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । देशको ऊर्जाशील युवाशक्ति जसमा जोसजागर नयाँ सोँच हुन्छ । त्यहीँ पलायन हुनु भनेको मुलुक कै दुर्भाग्य हो । ८३ प्रतिशत युवा अहिले देशमा छैनन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ र घरपरिवार रमाइरहेका छन् । वैदेशिक रेमिट्यान्सबाट आएको कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री र आयातीत गैरखाद्यमा बढी खर्च हुने गरेको छ ।
हरेक वर्ष ठुलो सङ्ख्यामा देशका श्रमशील र मेघावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै हो । विदेश पलायन बढ्नुको कारण विगतमा हुने बन्द, हड्ताल, माओवादी द्वन्द्व, लोडसेटिङ, उच्च शिक्षा हासिल गरेकालाई पनि देशमा उचित रोजगारी नपाउने अवस्था हो । जसमध्ये अहिले केही सुधार देखिए पनि अवस्था उही छ । अहिले विद्यालय र विश्वविद्यालयले दिने शिक्षा जीवनपयोगी शिक्षा समाज र बजारसँग जोडिने हुनुपर्छ । जसले गर्दा शिक्षित व्यक्ति बेरोजगार बन्न्ु पर्ने स्थितिको अन्त्य हुनु पर्दछ ।
नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डर लाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । कुनै समय अध्ययन गर्न प्रतिस्पर्धा हुने विश्वविद्यालमा कोटा पुग्न हम्मेहम्मे भएको छ । यसबाट नेपालमै सम्भावना र भविष्य देख्ने जनशक्ति निकै न्यून रुपमा रहेको छ । युवा जसले नेपालमा अध्ययन गरिरहेका छन् तिनीहरु पनि आफ्ना बिदेसिएका साथीको जीवनशैली देखेर नेपालको सम्भावनालई त्यागीरहेका छन् । हिजोभन्दा शिक्षाको अवस्था सुधारिने मात्र होइन सम्भावना पनि बढेर गएका छन् तर पनि उज्यालो भविष्य विदेशमा नै देख्ने क्रम घट्न सकेको छैन ।
नेपालमै केही गर्नुपर्छ भनेर बसेको शिक्षित जनशक्तिलाई श्रमबजारले ठाउँ दिन नसक्दा युवाले विकल्प खोज्न थालेका हुन् । सरकारले नेपाली श्रम बजारको आकलन नगरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दा नै युवा जनशक्ति पलायनको अवस्था जटिल बन्दै गएको हो । युवा जनशक्ति पलायनलाई रोक्न केही मात्रामा नियन्त्रण गर्न प्राविधिक शिक्षाको विकास र पहुँच आजको आवश्यकता हो । नेपालको श्रम बजारको आवश्यकतालाई अध्ययन गरेर सोही खालका प्राविधिक विषय सञ्चालन गर्न सकियो भने अहिलेको युवा जनशक्ति पलायन केही मात्रामा भए पनि रोक्न सकिन्छ ।
प्राविधिक शिक्षाको विकासमा सरकार केही अघि बढ्दो छ तर त्यो पर्याप्त छैन । नेपालमा भने जस्तो काम र दाम छैन, त्यसर्थ ऋण काढेरै भए पनि खाडी मुलुक र अमेरिका, क्यानेडालगायतका मुलुकतर्फ हानिएका छन् । प्रत्येक देशको विकास र समृद्धिका लागि अवश्य पनि युवाशक्तिको महत्वपूर्ण भूमिका रहन्छ नै । मुलुकको सबै प्रकारका विकासका प्रक्रियामा युवाले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । युवाशक्तिलाई राष्ट्रका मेरुदण्ड र परिवर्तनका सेवाहक पनि भनिन्छ त हाम्रा युवाहरु भने अर्काको मुलुक बनाउनतिर मरिहत्ते गरेर विदेश पलायन भइरहेका छन् । यो पलायनलाई निजी क्षेत्रबाट होस् वा सरकारी क्षेत्रबाट अवश्य पनि रोक्ने उपाय वा प्रयास गर्नु पर्छ । नत्र गाउँबस्ती सहरहरु युवाविहीन बन्न पुग्दछन् । नेपाल वृद्धावृद्धा र बालकको देश बन्न बेर लाग्दैन ।
मुलुकमा उर्जावान र उच्चगुणस्तरका शिक्षित युवाहरु प्रशस्तै छन् । उनीहरु यहाँ काम नपाएर युरोप, अमेरिका, अस्ट्रेलिया पलायन हुन बाध्य छन् । लाखौँको संख्यामा युवालाई मुलुकमै काम लगाउने नीति जबसम्म सरकारले प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउँदैन तबसम्म शिक्षित युवाहरुको पलायनको क्रम अझै बढेर जान्छ । अब युवाका लागि स्थान खाली गराउन सम्पूर्ण तह र तप्काबाट प्रभवकारी अभियानको थालनी गर्दै पिण्ड खाने उमेरका वृद्धहरुलाई संवैधानिक आयोगका महँगा सुविधाबाट अलग गरिनु पर्दछ । वृद्धलेभन्दा युवा शैक्षिक जनशक्तिले नयाँ दृष्टिकोणमा सक्रीयताका साथ जिम्मेवारी पूरा गर्न सक्दछन् भन्ने चेतना सरकारमा रहनेको होस् र युग अनुरुप चल्नुपर्छ भन्ने आवश्यकता बोध हुनुपर्छ ।