भुवन पोख्रेल
देशमै केही गर्न खोज्ने उद्यमशील भावना भएका युवा तर अस्थिर राजनीति, सरकारको अकर्मव्यताले सृजित भ्रष्ट राजनीतिक तथा प्रशसनिक संरचनाको कारण विदेश पलायन हुन बाध्य छन् । दक्ष जनशक्ति अस्थिर राजनीति, सरकारको अकर्मव्यताले सिर्जित भ्रबद्ध राजनीतिक तथा प्रशासनिक संरचनाको कारण विदेश पलायन हुन बाध्य छन् । दक्ष जनशक्ति स्थायी रुपमा देश छोड्दै जाँदा यसको नकारात्मक तथा दीर्घकालीन प्रभाव पर्छ ।
नेपाल जस्ता गरिब र विकासशील देशहरुमा औद्योगिक विकासका साथै आर्थिक क्रियाकलापमा उल्लेखनीय सुधार हुन नसक्नुमा रोजगारको खोजीमा अन्यत्र जाने परम्परा हो । विशेषगरी अदक्ष र अर्थ मनक्ति देशभित्रका दुर्गम दक्ष तथा मूलुकमा विकसित सहर तिरै पस्दैे खाडी तिर उच्च दक्ष तथा उच्च दक्षहरु देश छाडि अत्यत्र मुलुकमा प्रस्थान गरी आएका छन् ।
विदेश पलायन हुनेमा गुणस्तरीय बौद्धिक प्रतिभा भएका जनशक्ति मात्र नभइ बाहुबल सम्पन्न अदक्ष तथा अर्धदक्ष युवाशक्ति छन् । आफ्नो क्षमताको कदर देश भित्र भन्दा बाहिर कदर हुने हुँदा देश छाडेर बाहिरी मुलुकतर्फ आर्कषित हुने क्रम बढ्दो छ । सुखमय जीवनयापन गर्न आर्कषित भइ आप्रसावासीका रुपमा पलायन हुने प्रचलन खास गरी गरिब र विकाशील देशमा प्रतिवर्ष वृद्धि भइरहेको छ ।
देशप्रति माया, प्रेम र भक्तिभाव हुँदाहुँदै पनि देशभित्र आफ्नो दैनिकी र जीवनस्तर राम्रा नहुने निष्कर्षमा पुगेका युवाको गन्तव्य सहजै विदेश हुन पुगेको छ । सर्वसाधरणदेखि व्यापरी सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेताहरुले आफ्ना छोराछोरी विदेशमा पठाउने र उनीहरुको भविष्य त्यतै सुरक्षित देख्न थालेका छन् । विदेश गएपछि सुखैसुख हुन्छ भनी मानिस ऋणधन गरेर भए पनि विदेश जान चाहन्छन् । सानोतिनो व्यापार व्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छु भन्ने भावनाभन्दा पनि व्यापार गरेमा लगानी डुब्छ । फाइदा हुँदैन भनेर त्यहीँ पैसा विदेश जान लगानी गरिन्छ ।
खाडी मुलुकमा गएकाहरुले त त्यहाँ मेहनत गरेर पैसा पनि पठाउँछन् र पछि नेपाल पनि फर्किन्छन् तर अमेरिका अस्ट्रेलियामा पढ्ने नाममा जाने युवाहरुले नेपालको अर्थतन्त्र नै धराशायी बनाइरहेका छन् । उनीहरु आफू त पलायन भइरहेका छन् तर यहाँ भएको पैसा पनि साथसाथै लगिरहेका छन् । यता आमाबुवाले आफ्ना छोराछोरी अमेरिका, क्यानेडा, अस्ट्रेलिया छन् भन्दै धाक लाउँदै हिड्छन्, उमेर छउन्जेल तर त्यो छोराछोरी न बुढेसकालको सहारा बन्न सक्छन् न त मरेपछि दागबत्ती र काजकिरिया गर्न नै आइपुग्दछन् । बाआमा मरेपछि उनीहरुको नाममा रहेको चलअचल सम्पत्ति बेचेर लैजाने भने आइपुग्दछन् ।
नेपालको नागरिकता त्यागेर अन्य देशको नागरिक भइसकेको मान्छेलाई नेपालको सम्पत्ति बेचेर बाहिरी मुलुकमा लैजाने व्यवस्था कायम रहुन्जेल मुलुक खाक्रो नै हुन्छ । यदि सरकार नेपालमा रहेको सम्पत्ति बेचेर विदेश लैजान नपाउने कानुन कडाइका साथ लागु गर्ने हो भने ढिला चाडो मानिस पुख्र्यौली सम्पत्तिको लोभमा नेपालमै फर्किन सक्थे । अन्य विदेशी मुलुकले हाम्रो दक्ष युवाशक्ति सँगै पैसा पनि लग्नुले हाम्रो जनधनको क्षति भएको छ । जसले गर्दा देशको अर्थतन्त्र र विकासमा ठूलो संकट पैदा भइरहेको छ ।
देशको अर्थतन्त्र श्रीलङका भइसकेको छ, वित्तीय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाइसकेको र घरजग्गा गाडी र सेयरको किन बेचमा गिरावट आइसक्यो । नेपाल सरकार दिन प्रतिदिन विदेशीको ऋणमा फँस्दै गइरहेको छ । एक नेपालीको टाउँको विदेशी ऋण ७९ हजार पुगिसकेको छ तर सरकारले यो ऋणको साँवाब्याज पनि तिर्न सकिरहेको छैन । अहिले पनि नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाउनका लागि सुरु मै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको वित्तीय संस्था डुबेको तर व्यक्ति धनी भएको प्रस्ट देखिन्छ । अब यो पैसा मानिसले कहाँबाट जोडे त स्रोत खोजी गर्नु पर्ने भएको छ ।
नेपालका शिक्षण संस्थाका गुणस्तर त्यति कमजोर भएर पढ्न कै लागि युवा विदेशिएका हुन् त सरकारले अनुगमन गर्न ढिला भइसकेको छ । नेपालमा निजी कलेजदेखि सरकारी कलेज प्रशस्तै छन् । यसरी यी कलेज रित्तिनु र युवा पढ्नका लागि विदेश पलायन हुनुले नेपालको शिक्षाको गुणस्तरमाथि हिलो छ्यापिएको छ । प्रजातान्त्रिक समाजमा व्यक्तिगत स्वतन्त्रताको पनि ख्याल गर्नुपर्छ, त्यसर्थ पूर्ण त बौद्धिक पलायन रोक्न सकिँदैन तर सरकारले उचित नीति र कार्यक्रम लिएर उनीहरुलाई देश फर्काउने वातावरण मिलाइ देश निर्माण र विकासमा प्रयोग गर्न चाँही प्रयास गर्नुपर्छ ।
बौद्धिक पलायनबाट प्राप्त विप्रेषण सही ठाउँमा लगानी गर्ने वातावरण तयार पार्ने जस्ता कार्य गर्न सके बौद्धिक पलायन अभिषाप नभइ राष्ट्रको विकास र समृद्धिमा कोसे ढुङ्गो सावित हुन्छ । देशमा राजनीतिक स्थिरता भएर सुशासन कायम हुन सके विदेशिएको मानव पुँजी स्वदेश फर्किन सक्छ । नेपालमा दवाव र तनावरहित सम्मानजनक रुपमा काम गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । भ्रष्टाचार र नातावादको अन्त्य हुनु पर्दछ ।
अहिले विद्यार्थी मात्र नभई प्राध्यापक, इन्जिनियर, चिकित्सकदेखि वैज्ञानिकसम्म विदेश पलायन भएका छन् । अवसर, पेसागत सुरक्षा र थप क्षमता विस्तार खोज्दै अधिकांश दक्ष जनशक्तिले पश्चिमा देश ताक्दछन् । पलायन अधिकांश प्रतिभा न फेरि देश फर्कन्छन् । न सरकारले उनीहरुको ज्ञान र अनुभवबाट लाभ लिने मेलोमेसो मिलाउँछ । पलायन भएका बौद्धिक जनशक्ति फर्कन देशमा विकासको माहोल र अवसर छ भन्ने सुनिश्चितता दिलाउन सक्नुपर्छ । तलब बढी दिँदैमा बौद्धिक जनशक्ति फर्कदैनन् ।
१२ कक्षा पास गर्न नपाउँदै विदेश पलायनको सोँच बनाइहाल्ने प्रवृत्ति नेपालमा अहिले व्यापक रुपमा बढ्दो छ । नेपालमा बसेर भविष्य बनाउन नसकिने युवाहरुको सोँच बनेको छ । शिक्षा व्यक्तिको नैसर्गिक अधिकार हो सकैलाई पनि जहाँ अध्ययन गर्छु भन्छ रोक्न सकिँदैन तर नेपालको पछिल्लो डर लाग्दो समस्या भनेको शिक्षितवर्गले देश छोड्नु हो । चाहे अध्ययनको बाहनामा होस चाहे रोजगारीको युवा पलायन भइरहेको छ ।
माओवादी द्वन्द्व भयो त्यहीँ द्वन्द्वका बेला २०५१÷०५२ मा नेपालमा युवाहरु गाउँ छाडेर सहर पसे । गाउँठाउँमा त्यसबेला सरकार उपस्थिति शून्य र जनसरकारको वर्चस्व बढ्यो । सहर छिरेका ती युवा रोजगारी, अध्ययन र सुरक्षित भविष्यका लागि विदेश गए । अभिभावकले पनि आफ्नो सन्तान अहिले बचाउन सकियो भने भविष्यमा युद्ध रोकिएला भनेर विदेश पठाए । द्वन्द्वका बेला सर्वसाधरण राज्य पक्ष र माओवादी पक्षको चेपुवामा परे । त्यसबेलादेखि यसवा पलायन सुरु भएको अहिले युवा पलायन भयावह बन्न पुगेको छ । युवाशक्ति रोक्ने र नियन्त्रण गर्ने विषय होइन बरु व्यवस्थापन गर्ने विषय पनि हो ।
वैदेशिक रोजगारी, डिभि परेको, विदेशमा पढ्न एनआंसी लिएको आदि नाममा युवा बाहिर जाने क्रम बढ्यो । विद्यार्थी भिसामा गएका भए पनि ६० प्रतिशत त त्यहाँ पढ्नेभन्दा पनि काम नै गर्ने हुन् । बाहिर गैरकानुनी तवरले गएका कतिपय जनशक्तिको तथ्याङ्क त सरकारसँग छैन । हामीले देशको विकास र उन्नतिमा साझेदार गर्न सक्ने युवाशक्तिलाई धाप मारेर त्रिभुवन विमानस्थलमा टिका खादा लगाएर विदेश पलायन गरिरहँदा देशको स्थिति के होला कहिल्यै सोचेनौँ । मुलुक युवा विहीन भइरहेको छ ।
युवालाई उत्पादनसँग जोड्ने र बढीभन्दा बढी समयभित्र मुलुक भित्रै अल्मल्याउन सक्नु पर्छ । गाउँ वृद्धवृद्धा र अशक्तहरुको ठाउँ बन्दै गएकोले गाउँबाट उत्पादन बढेन । पछिल्लो समयमा दैनिक हजारौँ युवा मुलुक छाडेर विदेशिएका छन् । यसरी जानेहरुमा रोजगारीका लागि जाने । आउने गर्नेहरु मात्र नभइ पढाइ र कामको बहानामा सधैका लागि उतै बस्न जानेहरुको संख्या पनि दिनहुँ बढिरहेको छ । देशको ऊर्जाशील युवाशक्ति जसमा जोसजागर नयाँ सोँच हुन्छ । त्यहीँ पलायन हुनु भनेको मुलुक कै दुर्भाग्य हो । ८३ प्रतिशत युवा अहिले देशमा छैनन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ र घरपरिवार रमाइरहेका छन् । वैदेशिक रेमिट्यान्सबाट आएको कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री र आयातीत गैरखाद्यमा बढी खर्च हुने गरेको छ ।
हरेक वर्ष ठुलो सङ्ख्यामा देशका श्रमशील र मेघावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानु जस्तै हो । विदेश पलायन बढ्नुको कारण विगतमा हुने बन्द, हड्ताल, माओवादी द्वन्द्व, लोडसेटिङ, उच्च शिक्षा हासिल गरेकालाई पनि देशमा उचित रोजगारी नपाउने अवस्था हो । जसमध्ये अहिले केही सुधार देखिए पनि अवस्था उही छ । अहिले विद्यालय र विश्वविद्यालयले दिने शिक्षा जीवनपयोगी शिक्षा समाज र बजारसँग जोडिने हुनुपर्छ । जसले गर्दा शिक्षित व्यक्ति बेरोजगार बन्न्ु पर्ने स्थितिको अन्त्य हुनु पर्दछ ।
नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डर लाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । कुनै समय अध्ययन गर्न प्रतिस्पर्धा हुने विश्वविद्यालमा कोटा पुग्न हम्मेहम्मे भएको छ । यसबाट नेपालमै सम्भावना र भविष्य देख्ने जनशक्ति निकै न्यून रुपमा रहेको छ । युवा जसले नेपालमा अध्ययन गरिरहेका छन् तिनीहरु पनि आफ्ना बिदेसिएका साथीको जीवनशैली देखेर नेपालको सम्भावनालई त्यागीरहेका छन् । हिजोभन्दा शिक्षाको अवस्था सुधारिने मात्र होइन सम्भावना पनि बढेर गएका छन् तर पनि उज्यालो भविष्य विदेशमा नै देख्ने क्रम घट्न सकेको छैन ।
नेपालमै केही गर्नुपर्छ भनेर बसेको शिक्षित जनशक्तिलाई श्रमबजारले ठाउँ दिन नसक्दा युवाले विकल्प खोज्न थालेका हुन् । सरकारले नेपाली श्रम बजारको आकलन नगरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दा नै युवा जनशक्ति पलायनको अवस्था जटिल बन्दै गएको हो । युवा जनशक्ति पलायनलाई रोक्न केही मात्रामा नियन्त्रण गर्न प्राविधिक शिक्षाको विकास र पहुँच आजको आवश्यकता हो । नेपालको श्रम बजारको आवश्यकतालाई अध्ययन गरेर सोही खालका प्राविधिक विषय सञ्चालन गर्न सकियो भने अहिलेको युवा जनशक्ति पलायन केही मात्रामा भए पनि रोक्न सकिन्छ ।
प्राविधिक शिक्षाको विकासमा सरकार केही अघि बढ्दो छ तर त्यो पर्याप्त छैन । नेपालमा भने जस्तो काम र दाम छैन, त्यसर्थ ऋण काढेरै भए पनि खाडी मुलुक र अमेरिका, क्यानेडालगायतका मुलुकतर्फ हानिएका छन् । प्रत्येक देशको विकास र समृद्धिका लागि अवश्य पनि युवाशक्तिको महत्वपूर्ण भूमिका रहन्छ नै । मुलुकको सबै प्रकारका विकासका प्रक्रियामा युवाले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । युवाशक्तिलाई राष्ट्रका मेरुदण्ड र परिवर्तनका सेवाहक पनि भनिन्छ त हाम्रा युवाहरु भने अर्काको मुलुक बनाउनतिर मरिहत्ते गरेर विदेश पलायन भइरहेका छन् । यो पलायनलाई निजी क्षेत्रबाट होस् वा सरकारी क्षेत्रबाट अवश्य पनि रोक्ने उपाय वा प्रयास गर्नु पर्छ । नत्र गाउँबस्ती सहरहरु युवाविहीन बन्न पुग्दछन् । नेपाल वृद्धावृद्धा र बालकको देश बन्न बेर लाग्दैन ।
मुलुकमा उर्जावान र उच्चगुणस्तरका शिक्षित युवाहरु प्रशस्तै छन् । उनीहरु यहाँ काम नपाएर युरोप, अमेरिका, अस्ट्रेलिया पलायन हुन बाध्य छन् । लाखौँको संख्यामा युवालाई मुलुकमै काम लगाउने नीति जबसम्म सरकारले प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउँदैन तबसम्म शिक्षित युवाहरुको पलायनको क्रम अझै बढेर जान्छ । अब युवाका लागि स्थान खाली गराउन सम्पूर्ण तह र तप्काबाट प्रभवकारी अभियानको थालनी गर्दै पिण्ड खाने उमेरका वृद्धहरुलाई संवैधानिक आयोगका महँगा सुविधाबाट अलग गरिनु पर्दछ । वृद्धलेभन्दा युवा शैक्षिक जनशक्तिले नयाँ दृष्टिकोणमा सक्रीयताका साथ जिम्मेवारी पूरा गर्न सक्दछन् भन्ने चेतना सरकारमा रहनेको होस् र युग अनुरुप चल्नुपर्छ भन्ने आवश्यकता बोध हुनुपर्छ ।