calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

नियात्रा : गीतले जुराएको घान्द्रुक सपना

विजय जिएम

२०५५ सालतिर परिवेश ब्याण्डका गायक तिलक बम मल्लले गाएको गीत ‘हेर्दा राम्रो घान्द्रुके गाउँ छ, बस्ने भए मायालु दिलमा ठाउँ छ’ निकै चर्चित थियो । त्यो बेला क्यासेटको जमाना थियो । क्यासेट बजाएर खुब सुन्ने गरिन्थ्यो । अहिलेको जस्तो मोबाइलको जमाना थिएन् । रेडियो नेपालबाट पनि यो गीत निकै बज्ने गर्दथ्यो । गीत सुन्नेबेला ओहो ! घान्द्रुक गाउँ कस्तो छ होला, एकपटक घुम्न जान पाए हुन्थ्यो, घुम्न जाने दिन कहिले आउँछ होला ? भनेर कल्पनामा डुबुल्की मार्ने गरिन्थ्यो । घान्द्रुक जाने हुटहुटीले सताइरहन्थ्यो ।

मलाई आफ्नै देशमा पराइ हुनुको बेचैनीले सताइरहन्थ्यो । गीत सुन्दाखेरी नै घान्द्रुक जाने सपना बुनेको थिएँ । म घान्द्रुक जाने उपयुक्त समयको प्रतीक्षामा थिएँ तर आज वर्षौपछि घान्द्रुक जाने प्रतीक्षाको घडी समाप्त भएको छ । धेरै वर्षपछि घान्द्रुक जाने धेरै अघिको सपना भर्खर मात्र पूरा भएको छ । सपना देख्नु पर्ने रहेछ । एकदिन त अवश्य पूरा हुँदो रहेछ । बस् सपनालाई निरन्तर पछ्याइरहनु पर्ने रहेछ । समयलाई पर्खनु पर्ने रहेछ ।

शैक्षिक भ्रमणको माध्यमबाट विद्यार्थीहरूको सिकाइमा उत्प्रेरणा ल्याउने उद्देश्यले गोरखा माविले शैक्षिक भ्रमणको आयोजना गरेको थियो । शैक्षिक भ्रमणको गन्तव्य घान्द्रुक थियो । घान्द्रुक भन्ने बित्तिकै म नजाने कुरै भएन किनकि घान्द्रुक जाने वर्षौदेखिको सपना थियो तर समय र परिस्थतिले साथ दिएको थिएन । म उपयुक्त समयको प्रतीक्षामा थिएँ । मलाई घान्द्रुक जाने उपयुक्त समय आएको जस्तो लाग्यो । अनि म पनि कक्षा १२ का विद्यार्थीहरूसँग शैक्षिक भ्रमणमा सहभागी भएँ । हामी कार्तिक १९ गते साँझ घान्द्रुकको लागि प्रस्थान ग¥यौँ । विद्यार्थीहरूको नाचगान र अन्ताक्षरीले रात्रीकालीन यात्रा निकै रमाइलो भयो ।

राति १० बजे हामीे न्यू मुनाल होटेल, बुद्धभूमिमा खाना खान ओर्लियौँ । हाइवेका होटेलमा खाना खासै मिठो हुँदैन भन्ने मनोविज्ञानले काम गरेर हो कि खाना त खायौँ तर मिठो थिएन् । होटेलको नमिठो खाना खाँदै गर्दा त्रिसिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका अध्यक्ष सुरेश हमालको भनाई सम्झनामा आयो । यातायात व्यावसायीहरूको एउटा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भन्नु भएको थियो ।

यात्रुहरूले बाटोमा खानाको गुणस्तरीय भएन्, बस चालकले बेला न कुबेला एउटै होटेल भएको होटेलमा गाडी रोक्ने र यात्रुलाई खानाको विकल्प पनि नदिने भन्ने गुनासो आएको छ । तसर्थ यात्रुलाई खानाको विकल्प दिने गरी समयमा नै खाना खुवाउनपर्छ । यात्रुले पैसा तिरेर खाना खाएको हुन्छ । कुनै साथीभाई इष्टमित्रको घरमा गएर पाहुनाको रूपमा खाना नखाएर, एउटा ग्राहकको रूपमा पैसा तिरेर खाना खाने भएको हुनाले यात्रुले गुणस्तरीय खाना खान पाउने नैसर्गिक अधिकार हो । यात्रुहरूले ताजा, सफा, राम्रो र मिठो खाना खान पाउनुपर्छ । हामी सुध्रिनुपर्छ । यदपि पहिलाभन्दा अहिले सुधारन्मुख छ । हामी यातायात व्यावसायीहरू सचेत हुनुपर्छ ।

हामी खाना खाएर १०ः३० बजेतिर हामी बुटवल पाल्पा हुँदै पोखरा प्रस्थान ग¥याँै । हामी यात्रा गरिरहेका थियौँ । हामीलाई गल्याङ आसपास ओभरटेक गरेर गएको महेन्द्रनगरको गाडी ठुलो दुर्घटना हुनबाट बच्न सफल भयो । पोखरा पुग्नुभन्दा अगाडि बिहान ४ः०० बजे भालु पहाडमा चिया पिउन चालकले गाडी रोक्यो । हामी गाडीबाट ओर्लिर्यौँ । भालु पहाडमा १ घण्टाको विश्रामपछि हाम्रो यात्रा फेरि सुरु भयो । स्याङ्जा पोखरा सडक खण्ड अन्तर्गत कालिमाटीमा बस रोकेर हामी बिहानको ६ः१५ बजे पुम्दीकोटको लागि पैदल यात्रा ग¥यौँ । करिब ६ किलोमिटरको उकालो यात्रा पार गरेर पुम्दीकोट पुग्न ३ घण्टा समय लाग्यो ।

पुम्दीकोटमा धार्मिक र पर्यापर्यटनलाई प्रबद्र्धन गर्न विशाल शिवको मूर्ति स्थापना गरिएको रहेछ । हामी पुम्दीकोट पुगेर शिवको दर्शन ग¥यौँ । माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाको दृश्यावलोकन ग¥यौँ । मन आनन्दित भयो । एकछिन अगाडिको हिडाइको दुःखकष्ट बिर्सन मद्दत ग¥यो । शिवको मुर्ति, माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलालाई पृष्ठभुमिमा राखेर फोटो सेसन ग¥यौँ । पुम्दीकोटमा झण्डै १ः३० घण्टाको बसाइपछि ओराले झर्ने क्रममा बाटोमा पर्ने सेतो गुम्बाको पनि अवलोकन गरेर हामी खाना खान एन्टिक ओपन गल्ज होस्टलमा गयौं ।

होस्टलमा पारिवारिक वातावरणमा खाना खायौँ । खाना धेरै मिठो थियो । बसाई व्यवस्थापन पनि व्यवस्थित थियो । खाना खाएर केही समयको विश्रामपश्चात हामी महेन्द्र गुफा, डेभिड फल्स र फेवाताल एवम् ताल बाराही मन्दिरको दर्शन गर्न पुग्यौँ । दैनिक फेवाताल किनारमा साँझ ५ बजेपछि आरती हुने रहेछ । हामी आरतीमा पनि सामेल भयौँ । लेकसाइडतिर सन्ध्याकालीन घुमफिर पनि ग¥यौँ ।

लेकसाइडको रमझम दृश्यावलोकन गरेर साँझको ७ बजे होस्टल फर्कियौँ । करिब ८ बजेतिर खाना खाएर अर्को दिन बिहान घान्द्रुक जाने योजनासहित हामी छिटै सुत्यौँ । हामी बिहान सबेरै उठ्यौँ । मन फुरुङ्ग थियो किनकि वर्षौदेखिको घान्द्रुक जाने सपना आज साकार हुँदैछ । बिहानको चिया नास्तापछि हामी हाम्रो मुख्य गन्तव्य स्थल घान्द्रुकको यात्रामा निस्क्यौँ । बिहान बिन्ध्यबासिनी मन्दिरको पनि दर्शन ग¥यौँ । पोखराबाट हेम्जा, नौडाँडा, लुम्ले हुँदै पोखरा बाग्लुङ सडक खण्ड अन्तर्गत पर्ने नयाँपुल पुग्यौँ । पोखराबाट नयाँपुल ४२ किलोमिटर छ । नयाँपुल पुगेर चियानास्ता खायौँ ।

हामी नयाँपुलबाट १०ः३० बजे घान्द्रुकको लागि पैदल यात्रामा हिड्यौँ । नयाँपुलबाट पैदल यात्राको लागि घान्द्रुक १४ किलोमिटर टाढा छ । नयाँ पुलबाट बिरेठाँटी बजार हुँदै मोदी खोलाको किनारै किनार हाम्रो यात्रा अगाडि बढ्यो । मोदी खोलाको सुस्केरासँगै लगातार करिब ८ किलोमिटरको हिँडाईपश्चात हामी किल्लुमा १२ः३० बजे पुग्यौँ । किल्लुमा रहेको रेस्टुरेन्टमा खाजा खायौँ । किल्लुबाट दिउँसोको १ बजेको ठाडो ढुंगै ढुंगाको बाटो हिड्यौँ ।

सबैलाई घान्द्रुक पुग्ने कौतुहलताले सताएको छ । जति हिँडे पनि नसकिने ठाडो उकालोमा विज्ञान संयोजक विष्णु भण्डारीलगायत केही विद्यार्थीलाई निकै कठिन भएको थियो । म्युजिक थेरापी नै भनौँ क्यारे, हिँडाइको कठिनाइलाई अन्त ध्यान मोड्न संगीतको तालमा हामी निरन्तर यात्रा ग¥यौँ । लगभग साढे ६ घण्टाको हिडाई पछि हामी सबै घान्द्रुक पुग्न सफल भयौँ तर केही शिक्षक र विद्यार्थीहरू ५ घण्टामा नै घान्द्रुक पुगिसकेका थिए ।

अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित एउटा सुन्दर गाउँ हो । घान्द्रुक अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य पनि हो । पुनहिल पुग्न सबैभन्दा छोटो पदमार्ग पनि यहि नै रहेछ । समुद्र सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, मनास्लु जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिदो रहेछ ।

दशैँ तिहारका समयमा बाह्रय तथा आन्तरिक पर्यटकहरूको घुँइचो हुने रहेछ । यो घुमघामको मौसम रहेछ । बाटोमा प्रशस्तै देशी विदेशी पर्यटक भेटिए । दैनिक दुई–तीन सयको संख्यामा बाह्रय पर्यटकहरूको घान्द्रुक भित्रिने रहेछन् । हिमालको काखमा लहलह कोदो पाकेको घान्द्रुकको पर्यावरण देखेर मन नै आनन्दित भयो । जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा उत्तिस, सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत पाइने रहेछन् ।

हामी गन्तव्यमा पुग्नेबेला ४ः३० बजेको थियो । त्यहाँ सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू रमाइरहेका थिए । माछापुच्छेलगायत अरू हिमालहरू कुहिरोले ढपक्क ढाकेको थियो । हाम्रो समूह ठूलो थियो । हामीले पहिले नै आशिष आमा होमस्टे बुक गरेका थियौँ । हामी बस्ने आशिष आमा होमस्टेमा गुरुङ संस्कृति झल्कने पोसाक राखिएको थियो । गुरुङ पोसाक लगाएर फोटो खिच्न पाइँदो रहेछ । केही बेरको विश्राम र चिया नास्तापछि हामीले होमस्टेमा राखिएको गुरुङ पोसाक पहि¥यौ ।

हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्याँै अनि एकछिन नाचगान ग¥यौँ । हामी हतार हतारमा घान्द्रुकको गुरुङ गाउँ अवलोकन गर्न गयौँ । गुजुमुज्ज परेका ढुंगेघर, ढुंगा कै स्लेट छापिएका आँगन र ढुंगा कै बाटो घान्द्रुकको एउटा विशेषता नै रहेछ । राम्रो पक्ष, गाउँ भने निकै सफा र चिटिक्क परेको छ । बाटोमा कतै फोहोर भेटिँदैन । मौलिक घरहरू देख्दा मन रमायो । आधुनिक सिमेन्टेड घरहरू पनि बनेका रहेछन् । कुनैकुनै घरमा संग्रहालय खोलिएका रहेछन् । गुरुङ गाउँ अवलोकनपछि होमस्टे फर्कियौँ ।

साँझ७ बजेतिर खाना खायौँ । खानामा लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, हरियो साग र दाल थियो । भोक लागेर होला खाना थपेर खाइयो । खाना खाइसकेपछि विद्यार्थीहरूले आगो बाले, स्पिकर घन्काए अनि नाचगान सुरु गरे । शिक्षक विद्यार्थी पालैपालो नाचगान ग¥यौँ । विद्यार्थीहरू समूह बनाएर अन्ताक्षरी खेल्नमा व्यस्त भए । दोहोरी गीत गाउन पनि तम्तयार भए । दोहोरी गायनबाट थाहा भयो कि आजका हाम्रा विद्यार्थीहरू आफ्नो लोक संस्कृतिप्रति जानकार रहेछन् । रातको १० बजेपछि सबै आ–आफ्नो कोठातिर लाग्याँै ।

बिहान ५ बजे उठेर मर्निर्ङ वाक गर्दै गाउँ परिक्रमा ग¥याँैं । हामी माछापुच्छ्रे, मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालमा चम्किला किरण छर्दै सूर्योदय भएको हेर्न आतुर थियौँ । केही समयपछि सूर्योदय भयो । सूर्योदय हुँदा घान्द्रुकबाट हिमश्रृङ्खलाहरू सुन टल्किए झैँ देखिन्थे । यो दृश्यावलोकन हेर्न लायक थियो । घान्द्रुकबाट माछापुच्छ्रे, मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने अन्य हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु यस क्षेत्रको आकर्षण जस्तो लाग्यो ।

बिहान, दिउँसो र बेलुका रङ फेरिरहने हिमाल कहिले सुन त कहिले चाँदी झैँ देखिने रहेछ तर हिमालको धेरै भागमा हिउँभन्दा काला चट्टानमात्र देख्दा साह्रै दुःख लाग्यो । सायद ‘ग्लोबल वार्मिङ’ को करामत होला । हिमालमा हिउँ पग्लिदै जाने हो भने अबको केही वर्षमा हाम्रा हिमाल नाङ्गो देखिने छन् अनि हामीले पर्यटकलाई के देखाउँछौ ? हामी पर्यटकलाई के बेच्छौ ? दिमागमा अचानक प्रश्न अनि चिन्ता जाग्यो । हामी करिब ८ बजे त्यहाँ देखि हार्दिकता सहित बिदा भयौँ ।

हामी फर्किने बेला बसबाट यात्रा ग¥यौं । तर बसको यात्रा डरलाग्दो रहेछ । घान्द्रुकदेखि किल्लुसम्मको करिब १० किलोमिटर बाटो कच्ची छ । कला भिर डरलाग्दो छ । बाटो एकतर्फी ठाडै उकालो र ओरालो भएकाले नयाँ चालकलाई निकै गाह्रो छ । स्कार्पियो, बोलेरो र टयाक्सी बाहेक अन्य साना सवारी साधन घान्द्रुक पुग्न फलामको चिउरा चपाउनु सरह नै छ ।

समयको अभावले घान्द्रुकको मौलिक गीत सुन्ने तथा नृत्य र म्युजियम हेर्ने रहर भने अधुरो र अपुरै भयो । मनमा असली घान्द्रुक देख्ने रहर बाँकी नै रहयो । कुनै दिन फेरि उपयुक्त समय मिलाएर यहाँको मौलिक संस्कृतिमा रमाउँने, यहाँका मान्छेहरूसँग प्रित गाँस्ने तथा असली घान्द्रुक देख्ने धोको मनभरि सङ्गाल्दै हामी मनकामना हुँदै दाङ फर्कियौँ ।