लेखापढी कानुन व्यवसायीको ३० औं साधारणसभा

शैलेश अधिकारी
घोराही, ८ मंसिर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईकाई समितिको घोराही दाङको ३० औं साधारणसभा शुक्रबार घोराहीमा सम्पन्न भएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियन ईकाई समिति घोराही दाङका अध्यक्ष परशुराम डाँगीको अध्यक्षता तथा भुमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका कार्यालय प्रमुख कमलप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं लेखापढी कानुन व्यवसायी एशोसियन लुम्बिनी प्रदेशका सहसचिव सुदन रिजाल र नापी कार्यालय घोराही दाङका कार्यालय प्रमुख पुरन चौधरीको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा हकअधिकारका लागि लेखापढी व्यवसायीहरु एक हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले लेखापढी व्यवसायी र कर्मचारीको सम्बन्ध नङ र मासु जस्तै सहज बनाएर सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न लेखापढी कानुन व्यवसायीहरु लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा लेखापढी व्यवसायीहरु गोपाल पुनमगर, अम्मरबहादुर वली, नगेन्द्रकुमार शर्मा, रमेशकुमार आचार्यलेलगायतले सेवाग्राहीलाई सहजतासँगै हकअधिकारका लागि व्यवसायीक एकता आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले जिल्ला तथा ईकाईसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने समेत बताएका थिए ।
साधारणसभामा सचिव ध्रुब लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष नवराज लामिछानेले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा २० वर्ष काम गरी ६० वर्ष पुरा गरेका ११ जना सदस्यलाई आजीवन सदस्यता प्रदान गरिएको थियो भने स्थापना दिवसका अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
साधारणसभाले हरेक बर्ष असोज २८ गते स्थापना दिवस मनाउने निर्णय समेत गरेको थियो । लेखापढी कानुन व्यवसायी एशोसियसन ईकाई समितिको घोराही दाङका उपाध्यक्ष देवराज शर्माको स्वागत मन्तव्यवाट सुरुभएको साधारणसभाको सहजीकरण सचिव ध्रुब लम्सालले गरेका थिए ।