Goraksha

National Daily

वैदेशिक रोजगारीले पठनपाठनमा पारेको प्रभाव

विजय जि.एम.
वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिन प्रतिदिन उकालो लागिरहेको छ । वैदेशिक रोजगार कार्यालयअनुसार हाल दैनिक २८ सय जनाको श्रम स्वीकृति जारी भएको छ । गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका छन् । साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रमस्वीकृत लिएकोमा भदौमा ७६ हजार ४०३ जना पुगेको छ । असोज महिनामा ५६ हजार ६ सय ३३ श्रमिकले श्रमस्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार आय आर्जन गर्नको लागि आफ्नो देशभन्दा बाहिर देशमा गएर शारीरिक तथा मानसिक श्रम गर्ने रोजगारी हो । सामान्यतया वैदेशिक रोजगारमा गएका श्रमिकले कमाएर पठाएको सामान वा रकमलाई रेमिट्यान्स अर्थात् विप्रेषण भनिन्छ । रेमिट्यान्स नेपालको अर्थतन्त्रको मुख्य हिस्सा बनेको छ । विश्वबैंकको रिपोर्टअनुसार नेपालको जिडिपीमा रेमिट्यान्सको योगदान ३१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।

विदेशका कमाइ कम्तिमा ६० प्रतिशत घरधुरीमा पुगेको छ । रेमिट्यान्सको मुख्य प्रभावबाट देशको गरिबी ४२ प्रतिशतबाट १८ प्रतिशतमा झरेको छ । रेमिट्यान्स देश र परिवारको मुख्य आयस्रोत भएको छ । रेमिट्यान्सले देश र परिवार चलेको छ । देशको परनिर्भरता धान्न विप्रेयाण स्रोत बनेको छ । बैंक तथा वितीय संस्थाहरुको तरलता बढाउन रेमिट्यान्सको भूमिका छ । रेमिट्यान्स जीवनस्तर उकास्ने गत्तिलो माध्यम भएको छ । वैदेशिक रोजगारमा जानुको मुख्य उद्देश्य नै परिवारको आर्थिक अवस्था सुधार गर्न र आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन रहेको छ तर वैदेशिक रोजगारीले बालबालिकामा सकारात्मक र नकारात्मक दुबै खालको प्रभाव पारेको अध्ययनले देखाएको छ ।

सकारात्मक प्रभाव

वैदेशिक रोजगारले बालबालिकामा केही सकारात्मक प्रभाव पारेको छ । बालबालिकाका बुवा वा आमामध्ये कुनै एकजना वैदेशिक रोजगारमा गएपछि परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । उनीहरुको दैनिक आवश्यकता पूरा भएको छ । उनीहरुका इच्छा र आकांक्षाहरु पूरा भएका छन् ।

बुवा वा आमाको कमाइले गाउँबाट सहर बसाइँ सरेका छन् । बजारमा राम्रा स्कूलमा पढ्न पाएका छन् । खान लाउन समस्या छैन । परिवार वा साथीभाइसँग मनोरञ्जन र नयाँ ठाउँमा घुमफिर गर्न सजिलो भएको छ । नयाँ कपडा, घडी र मोटरसाइकल किन्न पाएका छन् । उनीहरु आफ्नो इच्छाअनुसार विद्युतीय सामानहरुजस्तै मोबाइल, टेलिफोन, पङ्खा, फ्रिजलगायतका सामानहरु चलाउन पाएका छन् । उनीहरु खुसी देखिन्छन् । यो बालबालिकाहरुको लागि सुखद् पक्ष हो ।

समाज र साथीहरुमाझ आफू र आफ्नो परिवार कोहीभन्दा कम नरहेको महसुस गरेका छन् । समाज र साथीहरु सँगको सम्बन्धमा सकारात्मक प्रभाव परेको छ । सामाजिक प्रतिष्ठा बढेको महसुस गरेका छन् । उनीहरुमा मनोबल बढेको देखिन्छ । अभिभावक विदेशमा भएको अवस्थामा अभिभावक र बालबालिकाबीच लामो दूरीको सम्बन्ध हुने भएकोले बालबालिकामा स्वतन्त्र भएर बाँच्न पाएको महसुस गरेका छन् । अभिभावक विदेशमा भएको बेला परिवारमा जिम्मेवारीबोध भएकोमा गौरवको महसुस गरेका छन् ।

विगतमा वैदेशिक रोजगारमा गएका श्रमिकले परिवारसँग कुराकानी गर्ने अवस्था थिएन् । प्रविधिको विकास भएको थिएन् । विदेशिएका श्रमिक र परिवारका सदस्यबीच चिठ्ठीपत्रको माध्यमबाट एकआपसमा हालखबर र सञ्चोबिसञ्चो थाहा हुन्थ्यो । परिवारसँग प्रत्यक्ष भेटघाट गर्न वर्षौँसम्म कुर्नुपथ्र्यौ तर समय अहिले फेरिएको छ । प्रविधिको विकासले फड्को मारेको छ । विदेशिएकाहरु आफ्नो परिवारसँग प्रत्यक्ष टेलिफोन र मोबाइलबाट कुराकानी गर्ने अवसर मिलेको छ । प्रविधिले भिडियोकलमार्फत दैनिक भेटघाट भएको जस्तो महसुस गराएको छ ।

बालबालिका र अभिभावकबीच भौगलिक दूरी कम भएको छ । दैनिक कुराकानी हुने भएकाले कतिपय बालबालिका अभिभावकको अभावको महसुस गरेका छैनन् । आमाबुवामध्ये कुनै एकजना वा दुवैजना अध्ययन वा कामको सिलसिलामा राम्रो देश गएका अभिभावकका बालबालिका पढाइप्रति सकारात्मक र उत्साहित देखिन्छन् । उनीहरुको दिमागमा राम्रोसँग पढेर विदेश पढ्न जानुपर्छ भन्ने सोचको विकास भएको देखिन्छ ।

नकारात्मक प्रभाव

वैदेशिक रोजगारले बालबालिकामा सकारात्मकभन्दा पनि धेरै नकारात्मक प्रभाव देखिएको छ । वैदेशिक रोजगारमा गएका अभिभावक र बालबालिकाबीच टाढाको सम्बन्ध हुने भएकोले बालबालिका छाडा, अटेरीपन, रिसाहा, झगडा गर्ने, अनुशासनहीन, खर्चिलो, चुपचाप बस्ने र झोक्राएर बस्ने बानीव्यहोरा प्रदर्शन भएको देखिएको छ । उनीहरु अभिभावकको उचित हेरचाह र मायाममताबाट टाढिएका छन् ।

अभिभावकहरु अभिभावकत्वको जिम्मेवारीबाट वञ्चित भएका छन् । फलस्वरुप बालबालिका मानसिक तनावमा छन् । विद्यालयमा अनुपस्थित हुने, नियमित नहुने, गृहकार्य नगर्ने, पोसाक फोहोर हुने, खाना नखाने, झनक्क रिसाउने, अरुसँग घुलमिल नगर्ने र बीचमा पढाइ छोड्ने प्रवृत्ति देखिएको छ । परिवारको कुनै एकजना वैदेशिक रोजगारमा गएका तर घर र बालबालिकाको रेखदेख गर्ने आमा वा बुवा बालबालिकाको हेरचाहमा गैरजिम्मेवार देखिएको छ । उनीहरु बालबालिकाको पढाइलेखाइको अवस्था बुझ्न विद्यालय नजाने र अभिभावक भेलाहरुमा अनुपस्थित हुने देखिएको छ ।

अहिले सामाजिक संरचना बदलिएको छ । हिजोका दिनमा पुरुषहरु विदेश जाने चलन थियो तर आज महिलाहरु पनि वैदेशिक रोजगारमा जाने चलन चलेको छ । पारिवारिक वा व्यक्तिगत रिसइबीका कारण विदेशमा बस्ने श्रीमान वा श्रीमतीका बारेमा अनावश्यक हल्ला फैलाउने गरिएको छ । फलस्वरुप परिवारमा झगडा हुने, अविश्वास पैदा हुने, विखण्डन हुने र यसको प्रत्यक्ष असर बालबालिकाको मनस्थितिमा पर्दछ । बुवाआमाप्रतिको दृष्टिकोण नकारात्मक हुने सम्भावना देखिन्छ ।

बुवा वा आमाको अनुपस्थितिमा बालबालिकामा घरायसी बोझ थपिएको छ । पारिवारिक अवस्था र ठाउँको आधारमा बालकालिकाले घरायसी काममा सघाउने गरेका छन् । बुवा विदेशिएको घरपरिवारमा छोराले बुवाको स्थान लिने र आमा विदेशिएको घरपरिवारमा छोरीले आमाको जिम्मेवारी वहन गर्नुपर्ने अवस्था छ । सानै उमेरमा बालबालिका वयस्कको भूमिकामा उभिन बाध्य छन् । पहाडमा घरायसी कामको बोझले बालबालिकासँग खेल्ने समय छैन । साथीहरुसँग रमाइलो गर्ने फुर्सद छैन । घरायसी समस्याले बालबालिकाहरुमा पढ्न मन नलाग्ने लक्षणहरु देखिएको छ ।

तराईतिरका बालबालिकाहरुमा घरायसी कामको बोझ कम छ । उनीहरु फुर्सदको समयलाई दुरुपयोग गरेर गलत बाटोमा लाग्नसक्ने सम्भावना छ । बालबालिकाहरु आफ्ना व्यक्तिगत इच्छाआकांक्षा पूरा गर्न अभिभावकलाई इमोशनल ब्ल्याकमेल गर्ने गरेका छन् । महँगा मोबाइल, मोटरसाइकल, घडी, क्यामरा आदि किनिदिन अनावश्यक माग गर्ने गरेका छन् ।

बुवाआमा दुवै वैदेशिक रोजगारमा गएका बालबालिकाहरुको अवस्था झन नाजुक छ । उनीहरु आफन्त, बालगृह र विद्यालयका होस्टलमा बस्न बाध्य छन् । उनीहरु आमाबुवाको उचित हेरचाह, साथ, सहयोग, मायाममता र दिशानिर्देश पाउनबाट वञ्चित छन् । त्यसले बालबालिकाहरुको मानसिक, शारीरिक तथा बौद्धिक विकासमा असर परिरहेको छ । आमाबुवाबाट टाढिएर बसेका बालबालिकामा जिद्दीपन, उद्दण्डपन, निराशापन, खर्चिलो, शैक्षिक क्रियाकलापमा कमजोर प्रदर्शन, मानसिक तनाव, दुव्र्यशन र कुलतमा फस्ने उच्च जोखिम रहेको छ । आमाबुवाको अनुपस्थितिमा बालबालिकाहरुमा यौन हिंसा, शोषण र बलात्कारको सम्भावना छ ।

वैदेशिक रोजगारमा गएका अभिभावकका बालबालिकाहरुका लागि आमाबाबासँगै बस्ने इच्छा अपूरो छ । बालबालिकाहरु जिज्ञासु हुन्छन् । उनीहरुका जिज्ञासा, प्रश्न, इच्छा, भावना र संवेदना पोख्ने व्यक्ति छैनन् । उनीहरुका समस्या र मनका कुराहरु आफूभित्र दबाएर राख्नुपर्ने बाध्यता छ । आमाबुवाको अनुपस्थितिले बालबालिकाहरु एक्लो महसुस गरेका छन् । बालापन खोसिएको छ । उनीहरुको समस्या कसले बुझ्ने हो ? कसले सुन्ने हो ? उनीहरुप्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक छैन । समाजबाट हेपिएका छन् । दबिएर बसेका छन् ।

वैदेशिक रोजगारमा गएका अभिभावक र बालबालिकाबीच टाढाको सम्बन्ध टाढा हुन्छ । आमाबुवा बीचको सम्बन्ध टाढाको हुन्छ । फलस्वरुप अभिभावक बीचको सम्बन्ध र अभिभावक तथा बालबालिकाहरु बीचको सम्बन्ध पनि टाढिँदै जाने खतरा छ । नेपाली समाजमा टाढाको सम्बन्ध कायम गर्न निकै कठिन कुरा हो ।

सामाजिक संरचनाको दायरा साँघुरो छ । विदेशमा बस्ने श्रीमान् वा श्रीमतीबीच कुनै कुराको गलत बुझाइले आपसी मनमुटाव हुने, अविश्वास पैदा हुने र पारिवारिक विखण्डन भएका छन् । बालबालिकाहरु अभिभावक भएर पनि अभिभावकविहीन अवस्थामा छन् । उनीहरुलाई हेरचाह गर्ने अभिभावक नै छैनन् । अभिभावकको उचित परामर्श र मायाममताको अभावले बालबालिका बालविवाह गर्न बाध्य छन् । घरेलु हिंसा, बेचविखन र श्रम शोषणका शिकार भएका छन् ।

अभिभावकहरु लामो समयसम्म विदेशमा बस्दा पारिवारिक विखण्डन, वैवाहिक सम्बन्धविच्छेद, बहुविवाह, विवाह बाहिरको सम्बन्ध र घरेलु हिंसाका समस्याहरु बढ्दै जाने क्रम तीव्र छ । आमाबाबा बनेका दम्पतिबीच हुने पारिवारिक विखण्डन र सम्बन्धविच्छेदले बालबालिका अभिभावकविहीन अवस्थामा छन् । यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, गास, बास, कपासलगायत सम्पूर्ण कुरामा असर पर्ने देखिन्छ । बालबालिका आधारभूत आवश्यकता जस्तै माया, ममता, संरक्षण, हेरचाह, स्वास्थ्य वातावरण, उचित पोषण र शिक्षाबाट वञ्चित छन् ।