मोडिँदै गरेको राजनीतिक यात्रा
नारायणप्रसाद श्रेष्ठ
नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व कायम गरी विश्वरंगमञ्चमा नेपालको गरिमामय प्रतिष्ठा कायम गर्दै अघि बढ्ने उत्तम विकल्प राजनीति हो । राजनीतिक सुझबुझबाट नै राष्ट्र र राष्ट्रियताको पहिचान विश्व सामू पुगेको हुन्छ । जनताको अधिकारको संरक्षण गर्दै उत्तरदायित्वपूर्ण जीवनपद्धतिलाई अस्तित्वसँग गाँसेर सबैको हकअधिकार र कर्तव्यको उचित व्यवस्थापन, राजनीतिक इच्छाशक्तिबाट नै सम्भव हुन्छ ।
सामाजिक र सांस्कृतिक विकास यसको मूल्य र मान्यतालाई जीवनोपयोगी मार्गमा लैजाने राजनीतिक प्रतिबद्धता नै राष्ट्रिय चिनारी हो । तसर्थ, राजनीतिलाई सीमित दायरामा नहेरी यसको व्यापकताप्रति सचेत रहनुपर्छ । राज्य सञ्चालनका लागि आवश्यक पर्ने नीति निर्माणदेखि पूर्वाधारसम्म आवश्यक पर्ने सम्पूर्ण विषयवस्तुलाई समयको परिवर्तनसँगै जनताको अधिकार र कर्तव्यलाई समेत संरक्षण गर्ने नीति नै राजनीति हो । यसको सही परिचालनबाटै राष्ट्रिय स्वाभिमान बचेको हुन्छ । त्यसैले राजनीतिलाई कोरा भावना र अहंकारभित्र व्याख्या नगरी राज्यको सार्वभौमिकता र स्वतन्त्रतासँग गाँसेर दायित्व निर्वाह गर्नुपर्छ ।
आफ्नै माटो सुहाउँदो र जनइच्छाअनुसार राज्यको सर्वाभौमिक अखण्डता र स्वतन्त्र अस्तित्वप्रति जिम्मेवारी भई राजनीति गरिनुपर्छ । तब मात्र यसले सही दिशानिर्देश गर्नसक्छ । सधैँभरि शंकाको घेराभित्र आफ्नो निहित स्वार्थ पूर्ति गर्ने राजनीतिक परिदृश्य देखिनु भनेको अहंकारयुक्त राजनीति हो । तसर्थ, दृढ र अनुशासित राजनीतिक चरित्र नै राज्यले खोजेको हुन्छ । राजनीति व्यक्तिवादी सोच र अहंकाररुपी जालो बुन्ने खालको नभइ समग्र जिम्मेवारी प्रष्ट हुने गरी परिलक्षित हुनुपर्छ ।
राजनीतिलाई वर्षेच्याउ उम्रिएझैँ सीमित स्वार्थभित्र परिचालन गर्नु भनेको बाह्य शक्तिको दबाब र इच्छाबाट परिचालित हुनु हो । त्यसैले राजनीतिज्ञले म को हुँ ? मैले कहाँ कुन वर्ग, क्षेत्रको प्रतिनिधित्व गरेको छु ? त्यसतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्छ । राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानी गरिने राजनीतिबाट मात्र राष्ट्रिय स्वाभिमान र अखण्डता कायम हुने कुरा प्रत्येक इमानदार राजनीतिक चरित्र प्रदर्शन गर्नेले बुझ्न सक्नुपर्छ ।
नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने यहाँ विभिन्न कालखण्डमा विभिन्न किसिमका घटनाहरु घटेको पाइन्छ । राष्ट्रिय स्वतन्त्रताका लागि लड्ने नेतृत्वलाई झुण्ड्याएर फाँसी दिएको पनि यहाँ लेखिएको छ । पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्मको नेपालको भूमि रहेको नक्सांकन इतिहास पनि विद्यमान छ । अमरसिंह थापाजस्ता वीर सपूत र भक्ति थापाजस्ता इमानदार, अनुशासित व्यक्तिहरु पनि यसै क्षेत्रमा सहिद भएको इतिहास साक्षी छ । क्षणिक र अहमवादी राजनीतिक स्वार्थले नेपाली इतिहासमा भीमसेन थापाले सेरिएर मर्नुपरेको वास्तविकता पनि यहाँ ताजै छ । वीर बलभद्रदेखि कालुपाण्डेलगायतका योद्धा पनि यहाँ भए, रहेको इतिहास छ ।
अहमवादी चिन्तनका कारण राजनीतिज्ञ विक्री भएको र रकममा सटही भइ नेपालको भूस्वामित्व गुमाएको इतिहास पनि ताजै छ । राजनीतिक अकर्मण्यता र स्वार्थी भावनाले प्रेरित भइ नेपालको नक्सा खुम्चिएको यहाँ लेखिएकै छ । राजनीतिक स्वार्थ चरित्रले राष्ट्रको नक्सा, स्रोत, साधन फेरबदल भएको इतिहास पनि यहाँ नभएको होइन । राजनीतिको खोल ओढी गोप्य सम्झौताको आधारमा राष्ट्रलाई अरुको गुलामी बनाउन लागेको इतिहास पनि यहाँ नभएको होइन । त्यसैले यस्तो गैरजिम्मेवार कार्यप्रति जनताको रोष प्रकट भइ व्यवस्था परिवर्तनसँगै धेरै सहिद भएको इतिहास पनि यहाँ लेखिएको पाइन्छ ।
यसरी विभिन्न कालखण्डमा जति पनि घटनाहरु छन् ती सबै राजनीतिक क्रियाकलापका परिणाम हुन् । तसर्थ, राजनीतिक पद्धति यस्तो पद्धति हो, जसले राज्य व्यवस्थादेखि मानिसको दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव पारिरहेको हुन्छ । भन्ने गरिन्छ जन्मेदेखि मृत्युसम्म र त्यसपर्यन्त पछि पनि कहीँ न कतै राजनीतिले मानव जीवनमा प्रभाव पारिरहेको हुन्छ । तसर्थ, राजनीतिलाई समयको परिवर्तनसँगै मुलुकको भविष्य, मानव जीवनको आवश्यकता तथा सामाजिक मूल्य, मान्यताको धरातलभित्र व्याख्या हुने गरी परिचालन हुन आवश्यक हुन्छ । राजनीतिलाई राजनीतिक गोटीचाल नभइ राष्ट्र र राष्ट्रिय स्वाभिमानको लागि गरिनुपर्छ । सहिदको रगतले पनि खोजेको यही हो ।
‘हाम्रो राष्ट्र हाम्रो गौरव’ भन्ने नारासँगै राष्ट्रिय अस्मितालाई बचाइ विश्वरंगमञ्चमा अस्तित्व कायम गर्न सक्ने नीति नै राजनीति भएकोले यसको स्थायित्व र दीर्घकालीन सोच राखी अघि बढ्न जरुरी हुन्छ । अस्थिर राजनीति र राजनीतिक तरलताले राष्ट्रिय स्वाभिमानमा ठेस पुग्न सक्छ । बाह्य शक्तिले चलखेल गर्ने अवसर पाउँछ । त्यसबेलामा राजनीतिक चाभी अरुको हातमा पुग्न गइ आफू कठपुतली बन्नपुग्ने स्थिति जन्मन सक्छ । जुन कुरा राजनीतिक परिदृश्यमा सबैले देख्दै आएको विषय हो ।
यदि लामो समयसम्म यसैलाई निरन्तरता दिने र आपसी अविश्वासको भावना जागृत गर्दै जाने हो भने यसले कस्तो अवस्था सिर्जना गर्ला ? तसर्थ, विचारको विविधता भए पनि राष्ट्रिय स्वार्थका लागि राजनीतिले राष्ट्रहित अनुकूल नीति निर्माण गर्न सक्नुपर्छ । प्रतिनिधिमूलक राज्य व्यवस्थामा व्यक्ति र पार्टीभन्दा राष्ट्रिय स्वार्थ बढी हाबी हुनुपर्छ । पार्टी नै सबै होइन भनी राष्ट्रलाई सही गन्तव्यतर्फ लैजान सही र स्पष्ट सोच्नु पर्छ । राज्य रहे राजनीति हुने हो ।
राजनीतिक अराजकता उत्पन्न हुने परिस्थिति जन्माउनु भनेको आफूले आफैलाई समाप्त गराउनु हो । त्यसैले वर्तमानमा जुन दृश्य र सम्भावना बढेको राजनीतिक अड्कलबाजी भइरहेको छ, यो राष्ट्रिय राजनीतिलाई अझ तरलतातर्फ लैजाने चाल बन्नसक्छ । त्यसतर्फ सबै गम्भीर हुनु जरुरी छ ।
वर्तमान अवस्थामा राज्यले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न गरिसकेको र संघीय र प्रदेशको दोस्रो कार्यकालको लागि निर्वाचन प्रक्रियाको संघारमै पुग्दासम्म पनि राजनीतिमा अविश्वासको धरातल देखिनु राज्य सञ्चालन र राजनीतिक विपरीत कार्य हुनसक्छ । तसर्थ, इतिहासले सिकाएको, राज्यले मागेको, राजनीति स्थायित्वतर्फ अब सबै लागिपर्नुपर्ने बेला भइसकेको छ । यदि यस्तो अवस्था विपरीत परिस्थितिले उल्टो अवस्था सिर्जना गर्ने अवस्था रह्यो भने फेरि राजनीतिक व्यवस्था नै फेरबदल नहोला भन्न सकिन्न । तसर्थ, यसबखत नेताहरु बढी सावधान हुनु पर्दछ । यो गम्भीर राजनीतिक विषय हो ।
नेपालको राजनीतिक इतिहासमा देखिएको शक्तिसंघर्षले देखाएको दुष्परिणामलाई चटक्कै बिर्सिएर फेरि पनि अहंकार र स्वार्थपूर्ण राजनीतिक परिस्थिति किन जन्माउन खोजिँदै छ ? अर्काे कुरा राजनीतिक क्षेत्रभित्र देखिने अकर्मण्यता त छँदै छ फेरि त्यही अकर्मण्यतालाई राष्ट्रिय अस्मितासँग गाँसेर राजनीति गरिनु कति मर्यादित र सुहाउँदो विषय हो । तसर्थ, राष्ट्रियताको लागि मरिमेट्ने ती वीर नेपाली सपूतको आकांक्षालाई मध्यनजर गरी सबै राजनीतिक दलले आफूलाई राष्ट्रिय चिन्तकको रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको छ ।
नेतालाई नेता बनाउने जनता सबै हुन् । अहिले शक्तिको लागि होइन राष्ट्रिय स्वाभिमानलाई बचाइ स्वतन्त्र र अविभाज्य नेपालको सार्वभौम स्वतन्त्रताको लागि लड्ने राजनीतिक सोचको खाचो छ । अहिले तेरो र मेरो नभनी योग्य र इमानदार व्यक्तिको खाचो छ । भर्खरै प्रकाशित पार्टीका घोषणापत्रमा संसदको काम राष्ट्रिय विकासको लागि कानुन, नीति निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सँगै विकासका पूर्वधार तयार गर्न र भ्रष्टाचारमुक्त सुशासन कायम गर्न तथा नेपालको गरिमा उच्च बनाउँदै जनताको आधारभूति आवश्यकता परिपूर्ति गर्नतर्फ केन्द्रित हुनुपर्ने हो तर त्यो देखिँदैन ।
सांसदको काम धारा, कुवाँ, बाटा बनाइदिन्छु भन्नेतर्फ मात्र केन्द्रित भएको देखिन्छ । यसले संसदीय मर्यादाविपरीत क्षणिक लोभ, र मोहमा जनता भुलाउ, शासन गर भन्ने चरित्र उदांगिन पुग्छ । वास्तवमा हाम्रो चाहना राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेतृत्वकर्ताले गलत परम्पराको नजीर कायम नगरुन् भन्ने हो । अहिले राष्ट्रिय अस्तित्व कायम राख्ने चिन्तन बढाइ राष्ट्रमा अमन, चयन कामय गर्ने राजनीतिक सदीक्षा अवश्यक परेको छ । तसर्थ, त्यसतर्फ राजनीतिको ध्यान पुगोस्, चेतना भया ।
