Goraksha

National Daily

आमासँगको सम्बन्ध सामाजिक नजर

बिनोद पोख्रेल

२०७७ बैशाख ११ गते
आमा सायद एउटा यस्तो पात्र हो जसको अगाडि व्यक्तिको अलग अस्तित्व हुँदैन वा छ भने पनि त्यसलाई महत्व दिइन्न । अनुभवले पनि अध्ययनले पनि आमाबारे यस्तै धारणा बनेको छ ।

यहाँसम्म कि जीवनमा अझ भनौँ तिनै आमा आमा बन्नमा समेत बाबुको अहम भूमिका छ । तर पनि सन्तानमध्ये धेरै प्रतिशत पूरै खुल्ने आमासँगै हो । यसलाई यसरी भनौं – अपवादमै कोही होलान् जो आमासँग जस्तै गरी बुबासँग पनि सबै कुरामा खुल्न सक्छन् ।

सायद आमा भएको सहनशीलता र ममता यस्तो गुण हो जसले गर्दा आमा आफ्नो सन्तानको लागि सबै रुपमा सम्पूर्ण मानिने गर्छन् । कति कुरामा आमाले जिम्मेवारी पनि बढी निभाउने गर्छन्, सायद । मैले भन्नुपर्दा हाम्रो भौतिक स्वरुप निर्माणदेखि धेरै हदसम्म मानसिकता चरित्र निर्माणमा समेत आमाको प्रभाव परेको हुन्छ ।

त्यसैले आमाको बारेमा विश्वका सबै भाषामा प्रशस्त लेखिएको छ । यो सम्बन्ध नै विश्वव्यापी हो । यसको अरु सम्बन्धसँग तुलना गर्न पनि सकिँदैन । हाम्रो समाजमा पनि आमाको स्थान त यस्तै थियो पहिले पनि । तर आजको दिन (मातातीर्थ औसी) मा आमाको मुख हेर्ने भन्ने प्रचलन चलेको भने धेरै भएको छैन ।

यो प्रचलनले सबैलाई यो दिनको महत्व त थाहा दिन्छ नै आमा हुनेहरुले आमालाई आज अलि विशेष महत्व दिने पनि गर्दछन् । आमा नहुनेहरु पनि आजको दिनमा भावनात्मक रुपले आमाको सम्झना गरेर भए पनि आमाकै नजिक भएको अनुभूति गर्ने गरिन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा पनि आमा यस्तो शक्ति हो जसको स्थान सबैभनदा सम्मानित छ । आज मातातीर्थ औसी हो । आमाको मुख हेर्ने दिन । त्यसैले आज यी कुराहरु व्यक्त भए । मैले माथि भने आमालाई भेट्ने, मुख हेर्ने भन्ने चलन मेरी आमा हुँदासम्म हाम्री समाजमा त्यति थिएन । अहिले देख्दा कता कता केही पीडा जस्तो लाग्छ ।

त्यसैले मैले पनि कहिले कुन रुपमा कहिले कुन तरिकाले आमालाई सम्झने गर्छ । मन्दिरमा जाने भए त्यही भएर भगवतीलाई नै आमाको प्रतिबिम्ब सम्झेर ढोग्ने पनि गर्थे । घरमा भएको फोटो अगाडि शिर झुकाउने गर्छु । यसपल्ट मन्दिर जाने कुरो भएन ।

लकडाउनको असर यसमा पनि प¥यो । फोटो अगाडि शिर त अब गएर वा नुहाएर झुकाउने हुँ । आज यो अभिव्यक्ति मार्फत् पनि आमालाई शब्द श्रद्धा व्यक्त गर्न मन लाग्यो । यो आजको दिनले पारेको प्रभाव हो । मैले लेख्दालेख्दै छोराबुहारीहरले अलग–अलग आफ्नी आमालाई फोन गरेर सके । म सुनेर खुशी भरिएको भावुकतामा रुमलिएको छु ।

यदि स्वच्छ भावनाले सम्झेको मेरी आमाले थाहा पाउनुहुन्छ भने उहाँलाई पनि थाहा होला । अरु कुरा त मैले मेरो सन्तुष्टिको लागि गर्ने प्रक्रिया मात्रै छन् । यस्ता प्रक्रियाले मेरी आमामा केही प्रभाव पर्दैन भन्ने थाहा छ । तर पनि गर्न मन लाग्छ । सायद यसैलाई माया सम्झना र समर्पण भन्दछन् । म जस्ता पनि त धेरै छन् भनेर पनि चित्त बुझ्छ ।

२०७७ बैशाख १२ गते

अहिले विश्वले जे जस्तो परिवेश भोगिरहेको छ र यसको लागि जेजस्तो उपाय अपनाइएको छ त्यो देख्दा कहिलेकाहीँ म झस्केको अनुभव गर्छ । साल त याद भएन, म नजन्मिँदै यस क्षेत्रमा हैजा भन्ने रोग महामारीकै रुपमा आएको थियो रे ।

त्यसैबेलाबाट यस क्षेत्र ब्राह्मणहरुले लसुन र प्याज खान थालेका छन् भन्ने कतैबाट सुनेको थिएँ । त्यस अघि ब्राह्मणमा यो अशुद्ध मानिन्थ्यो । खानेले पनि लुकेर खान्थे । तर त्यो महामारीपछि यिनको औषधीय पक्षलाई महत्व दिइयो । औषधि नै कम हुने बेलामा प्याज सुँघ्ने प्याज थियो ।

रस पिउने नै औषधी मानिन्थ्यो रे । यसले कति निको भए त्यो त मलाई थाहा छैन तर प्याज समाजमा चल्यो । त्यस्तै अहिले सेनिटाइजरसँग जोडेर जसरी रक्सीको प्रचार भइरहेको छ यसले कतै यसले पनि सामाजिक मान्यता औषधीकै रुपमा पाउने त होइन जस्तो पनि लाग्छ । यसो त रक्सीको प्रयोग धेरै तरिकाले भएकै छ । पिउन हुने प्रयोग पनि खुला गोप्य जस्तै छ ।

त्यसमा पनि यस प्रकारको प्रचारले अलिकति बचेको पर्दा पनि नरहन सक्छन् भन्ने शंका मात्र हो । यसमा म आफू त अहिले पनि निरपेक्ष नै छ । मेरो शंका प्रमाणित भयो भने पनि मलाई न त हर्ष नै हुने छ न त विस्मात नै । तर संस्कृति र सामाजिक अनुशासनलाई कसरी परिवर्तन गर्न सकिने रैछ भन्ने एउटा उदाहरणको रुपमा भने लिन सकिन्छ ।

जबजब मानवीय भावना डरले कमजोर भएको हुन्छ तबतब संस्कृति, संस्कार र सामाजिक अनुशासनमा चोट पु¥याउन सजिलो हुन्छ । अर्को प्रभाव भनेको यो अलगपनले आफूमै बढी केन्द्रित हुने चरित्र निर्माण गर्ने हो कि भन्ने हो । मेरो छोराले म घर आउँदा के हुन्छ भनेर सोध्यो । म झस्केँ ।

छोरो आफ्नो घरमा बाबुआमा, दाजुभाउजु सँगसँगै बस्न आउँदा सोध्नुपर्ने, शंका गर्नुपर्ने स्थिति त मेरो पिढीकै लागि अकल्पनीय र असह्य स्थिति हो । बाबुआमा, छोराछोरीको सम्बन्ध त यस्तो छ भने अरु नजिकका नातासम्बन्धीहरु सँगको सम्बन्ध कस्तो हुने हो ? एउटाले अर्कालाइरु शंका गर्ने वातावरण यथावत रह्यो भने राम्रो सम्बन्ध मात्रै होयन सामाजिक सद्भाव र सामाजिक एकता समेतमा नकारात्मक प्रभाव पर्छ भन्ने कुरामा म विश्वस्त छु ।

यस्तै यस्तै सोचले हो झस्काउने । उक्ति र उपाय त मैले पनि सोचेको वा भेटेको छैन । जस्तो पर्छ त्यस्तै भोग्दै जाने हो । तर समाजको भविष्य व्यक्तिको भविष्यसँग जोडिएको हुने हुनाले यस्तै यस्तै परिवेशले कतै हाम्रो समाज विघटनको प्रक्रियामा गइरहेको त होइन भन्ने चिन्ता लाग्छ ।

हामीलाई वर्तमान सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, मनोवैज्ञानिक विकृतिहरुबाट निदान पाउन समाजमा एकता र सद्भाव प्रथम आवश्यकता भएका छन् । त्यस्तो बेलामा अकल्पनीय रुपमा आएको यो विपदले कतै विकृतिलाई मलजलको काम गर्ने त होरुन भन्ने चिन्ताले झस्काएको ।

कसले के कुरालाई महत्व दिने हो चाह छैन । तर वास्तविकता के पनि हो भने जीवन कोरोनाबाट बचे पनि स्थायी हुन सक्दैन तर समाज स्थायी निकाय हो । यो सुरक्षित सचेत र समुन्नत हुनुपर्छ ।