वर–पिपल

तल्लो जीवन उपन्यास अंश :

यम रेग्मी
२०५४ साल थियो । हिन्दूहरुको महान् चाड, बडा दशैँ आइरहेको थियो, घर–घरमा । दशैँको आगमनसँग मेघ हरायो गगनबाट, स्वच्छ भयो वायुमण्ड । मायालु घाम लाग्यो चारैतिर ।

वर्षाभरिको हिलो भाग्यो धर्तीबाट । कमजोर धर्ती बलियो र अठिलो भयो । प्रकृतिको योवन चढ्यो । डाबर सारा घानले सुनको गलैँचा बनायो । बारीभरि ढकमक्क तोरी फूले र सुन्दरताको रँग पोख्यो । प्रकृतिले रूप फेरिन । सुन्दर मनमोहक भयो शरदकालीन राँपिलो मौसम ।

रातो फरक, सेतो सर्टमा, शृंगारिए गाउँका घरहरू । घरहरूले सुन्दर किशोरीको भान गराउँथे । ब्याट्रीको कालो भाग झिकेर झ्यालहरु रँगाइए । युवतीका सुन्दर गाजलु नयनझैँ देखिए घरका झ्यालहरू ।

तल्लो घरको लाटो आइपुग्यो, दिल्लीबाट । माथिल्लो घरको पाण्डेको छोरो आयो बम्बईबाट । रुपाकोटे माइलाका परिवार आए कालापहाडबाट । कोही विदेशबाट उडेर आए कोही सहर पसेका गुडेर आए । मानिसले भरिभराउ भयो सुनपुर गाउँ ।

आइमाईहरु रोटी पकाउन थाले पालो लगाई–लगाई । लोग्ने मान्छेहरु मासुको व्यवस्थापन गर्न थाले । सहरबाट छिरेका केटाकेटी चङ्गा उडाउन थाले । गाउँका केटाकेटीहरु कोही गुच्छा खेल्न थाले कोही घुच्ची खेल्न थाले । युवाहरू तासमा बसे । अरु समयमा लुकेर बसेका पैसा देखिए सबैका हातहातमा ।

घटस्थापनादेखि विद्यालय रित्व भयो । विद्यालय नै मामाघरहरूमा पुग्यो । वर्षभरिकै लामो एकमहिने बिदा । रक्षाका खुट्टा खुशीले पवनमा कुदिरहेका थिए । उसको मन बादलभन्दामाथि रमाई–रमाई विचरण गरिरहेको थियो ।

दशैँको एकादशी दिन । विहानै उठी रक्षा । हातमुख धुँदै थिई । सीता छोरीतिर हेर्दै बोली–‘बैठक कोठालाई कमेरो र रातो माटो पुग्दै पुगेन । जा एउटा कोठालाई पुन्ने माटो ल्याएर आ । एक्लै धौ मान्छेस् भने गोपाललाई लगेर जा, चाँडै पनि हुन्छ । उसले एक्लै पठाउँ भने चिन्दैन राम्रो कमे र ो, राम्ररी छानेर सेतो कमेरो ल्याए । धेरै चाहिन्न, थोरै भए पनि पुग्छ ।’ उनी सरासर बाथरुम छिरिन ।

गोपाल दाना खुवाउँदै थियो भैँसीलाई । गोपालतिर पुलुक्क हेरी रक्षा । मुसुक्क हाँसी । आँखैले इसारा गरी सँगै जानलाई । गोपाल आँखैबाट सहमति जनायो ।
गोपाल साइकल झिक्यो, बैठक कोठाबाट । आँगनमा ल्यायो साइकल । टालोले पुच्यो अगाडि–पछाडि । रेडी भयो जानलाई रक्षाले दुईवटा सिमेन्टका बोरा खोजी । ऊ पनि एकैछिनमा तयार भई ।

गोपाल चालाक भयो साइकलको रक्षा प्यासेञ्जर ।साइकल अगाडि बढिरह्यो आफ्नै गति । रक्षा एकटकले पछिबाट गोपाललाई नियालिरही । अनौठा भाव उब्जियो रक्षाको मनमा । ऊ मनमनै आफूले आफैलाई प्रश्न गरी–‘तिमी ड्राभव र म प्यासेञ्जर, यसरी जीवन काट्न पाए ! आहा ! आनन्दी प्रेमिल जीवन ।’ प्रेमको दुनियामा हराइ र क्षा ।

एकछिनमै आइपुग्यो माटो खन्ने ठाउँ भकारे । पारि डाँडोमा थियो माटो खन्ने ठाउँ । बाटो थिएन, साइकल जाने । वारि डाँडैमा राखे साइकल । रक्षा अघि लागी गोपाल पछि लाग्यो । बेहुली र बेहुलाझैँ । रक्षाले जहाँ पाइला टेक्थी त्यहीँ पाइला टेक्थ्यो गोपाल ।
रक्षाले टेकेको भूइँको माटोमा रक्षाको प्रतिबिम्ब देख्यो । माया लाग्थ्यो उसले टेकेको पाउको माटो । नौलो अनुभूति हुन्थ्यो । माटोलाई स्पर्ष गर्न पाउँदा ।

ओढार बनेको थियो कमेरो खन्ने ठाउँ । गोपाल हातमा कुटो छोप्यो । ओढारभित्र छि¥यो । हिलो थियो खन्ने ठाउँ । पानीमा छ्याप–छ्याप पार्दै खन्न थाल्यो । ऊ खन्दै फाल्थ्यो बाहिर, रक्षाले जम्मा गर्थी । अनुहार भरि छ्यापियो रक्षाको हिलो कमेरो । तर उसलाई केही प्रवाह थिएन । एकछिनमा खन्यो गोपालले चाहिने जति माटो ।

कमेरोभन्दा माथि थियो रातो माटोको डाँडो । रक्षा खाली बोरा समाई । गोपाल कुटो समायो । फेरि पनि रक्षा अघि लागी गोपाल पछि लाग्यो । प्रशस्त थियो डाँडाभरि रातो माटो । खन्न कठिन थिएन, हिलो पनि थिएन । गोपाल भकाभक खन्दै थियो । रक्षाले बोरामा राख्दै थिई ।

एक्कासी मौसममा परिवर्तन देखियो । नजिकै जंगल थियो । जंगलमा पानी पुत्तायो । हावाभन्दा छिटो जंगलबाट आयो मुसुलधारे पानी । नजिक घर कतै थिएन । जता हे¥यो उतै माटैमाटो । दगुरर्न नमिल्ने चिप्लो माटो ।

सहाराको भावले गोपालको अनुहारमा पुलुक्क हेरी रक्षाले । आत्तिएको अनुहार देखेरगोपालको पनि । चारैतिर आँखा डुलाई । केही पर पिपलको बोट देखि । ऊ रुझ्दै पिपलको बोटमा गई । ओत लागि पिपलको तल । पुलुक्क गोपालतिर हेरी ।

आईरहेको देखि आफूतिर । सुखमा लामो सास फेरि । पुलुक्क वर हेरी । फेरि आफू ओत लागेको पिपललाई हेरि । सुन्दर किशोर वर, सुन्दरी किशोरी पिपल । सुनसान स्थान । विवाहको उमेर । लजाई भित्रभित्र वरपिपललाई देखेर ।

गोपाल वरपिपलको नजिक आयो । एक्कासी टक्क अडियो, बे्रक लागेको गाडीझैँ । खै के सोच्यो कुन्नि ! केहीबेर टोलायो । पिपलतिर नलागेर वरतिर लाग्यो । वरको छायाँमा ओत लाग्यो ।

जब गोपालको पाइला मोडियो वरतिर, ऊ आधा जमिनमा भासिई । पूरै चीसो भयो शरीर । आँखा तिर्मिराए । छातीमा चसक्क विझ्यो करौँती काडाले घोचेझैँ । बाहिरबाट पानीले निथ्रुक्क भिजेकी थिई । भित्रबाट पसिनाले निथ्रुक्क भिजी । पिपलको बोटलाई च्याप्प समाई लहराले रूखलाई समाएझैँ । आफूलाई तिरस्कार गरेझैँ लाग्यो ।

थचक्क भूइँमा बसी । घोप्टो परी, सुक्कसुक्क रुन थाली । ऊ चाहान्थी, समीप आओस् । मन नभरुन्जेल हेर्न पाइयोस् । आमनेसामनेबाट नजरको सम्वाद गर्न पाइयोस् । रहर रहरमै बिलायो ।

पानीसँगै एक हुल हावाको झोक्का आयो उत्तरतिरको वनबाट । मायालु स्पर्ष ग¥यो, हावाको झोक्काले रक्षालाई । केही सहज भई । मनमा केही शान्ति मिल्यो । जुरुक्क उठी । लुकी–लुकी गोपालतिर चियाई ।

उसका आँखा आफूतिर पाई । दया जागेर आयो, गोपालको सोझोपन, इमानदारीप्रति । केही अघिको रिस माया र दयामा रुपान्तर भयो । दायाँ हातको चोर औँलाको लामो नङले पिपलको बोक्रा कोट्याउँदै गोपालतिर हेर्दे मदनकृष्णले गाएको गीत

गुनगुनाउन थाली, खोला वारि खोला पारि पिपलु र वर हावा चल्यो पात हल्यो माया वर–वर । केही थामियो पानीको गति । रक्षा निस्किई बोटबाट । केही अगाडि आई, उभिई । फरक्क फर्की र गोपाललाई हेरी । उसलाई वरको बोटमै पाई । ऊ मुसुमुसु हाँसिरहेको थियो । अनौठो दृश्य आफूलाई हेरेको पाई । केहीबेर प्रतीक्षा गरी । अझै पनि आएन । फेरि पुलुक्क हेरी, पहिलेकै हेराई पाई । यसको हेराइ देखेर डर लागेर आयो ।

शिर निहुराई । शरीरमा केही छ कि भनेर छातीदेखि पाउसम्म आँखा डौडाई । निथ्रुक्क भिजेका सेतो कपडा । शरीरभर लपक्क टाँसिएको । स्पष्ट देखि बाहिरबाट शरीरको भित्री बनावट । टाढाबाट देखिन्थे, भित्रीवश्त्र र भित्र छोप्नुपर्ने अङ्ग । डराई आफ्नो शरीरको बनावट देखेर ।

दायाँ हातले घाटी तलको भागलाई छोपी, वायाँ हातले पेट तलको भाग छोपी । गोडा फोल्ड गरी । थचक्क बसी । शिर दुवै घुँडाको माझमा लुकाई । उसलाई निर्वश्त्र भएको भान भयो । निकैबेर बसिरही । लाजले पानी–पानी भई । धेरैबेरपछि मायालु गाली

गरी बेमान पानीलाई । जसरी आएको थियो पानीको झोक्का उसैगरी नै बिलायो । पारिलो घाम लाग्यो । गोपालाई पुलुक्क हेरी । उसले देख्यो हेरेको । उसले नजरले बोलायो र आफू सरास र हिड्यो । रक्षा बसेको बसै भई, लाजले उठ्न सकिने ।

गोपाल पहिले रातो माटोको बोरा कुममा बोक्यो, केही पाइला अगाडि हिड्यो रक्सी पिएको मान्छेझैँ । रातो चिप्लो माटोमा लरक्क लर्कियो गोडा, बोरासँग भूइँमा पछारियो । पुरै कपडा हिलोमा खाल बसेको भैँसीझैँ भयो ।

रक्षाको हाँसोको फोहरा फुट्यो । ऊ पेट मिचिमिची खुत–खुत–खुत–खुत गरिरही । नसुन्ने गरी बोली–‘बल्ल भयो, यस्तै हुन्छ अरुलाई हेरिहेेिर दुःख दिनेलाई ।’
गोपाल पछाडि फर्केर रक्षालाई हे¥यो । रक्षा केही नदेखेझैँ गरी । मुसुक्क हाँस्यो लजालु हाँसो । फेरि काँधमा बोरा बोक्यो । साइकल राखेको ठाउँमा पु¥यायो, एउटा माटोको बोरलाई ।

फेरिआयो, अर्को बोरो बोक्यो । खुट्टा लर्किएर भूइँमा थचारिया । रक्षा फेरि हाँस्नथाली पहिलेको गतिमा । दुवै बोरालाई साइकलको क्यारेलमा राख्यो । राम्ररी खरको डोरीले बाँध्यो । ढिकमा थचक्क बस्यो र रक्षाको बाटो हे¥यो ।

आधा सूर्यको प्रकाश । आधा शरीरको तातो । शरीरबाट लगाएको कपडा उम्कियो । शरीर अलग भयो, कपडा अलग भयो । रक्षा बसेको ठाउँबाट जुरुक्क उठी । घोप्टो परिपरि कपडाको अगाडिको भाग मिलाई र पछाडिको भाग मिलाउन थाली ।
क्रमशः …