प्राविधिक शिक्षा शुल्कमा छैन एकरुपता
मेट्रोको सिन्डीकेट कि सहज प्राविधिक शिक्षा
खेमराज रिजाल
तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहानगरपालिकाभित्रमा सञ्चालनमा आएका प्राविधिक शिक्षालयमा विद्यार्थीहरुले उही विषयमा भने फरक–फरक शुल्क तिर्दै आएका छन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा भने वडा कार्यालयको सिफारिसमा छुटको व्यवस्था छ, तर त्यो छुटको रकम भने वडा कार्यालयमा आएको विकाश बजेटबाट कटौती हुने बताइएको छ ।
समग्रमा शुल्क छुट भए पनि त्यो बजेट वडा कार्यालयले तिर्ने हो भने, आखिर त्यो जनताकै करबाट असुल्ने प्रबृत्ति हावी भएको पनि सर्वत्र चर्चा भइरहेको छ । तर यो विषयमा नगरपालिकाको शिक्षा शाखा बोल्न चाहेको छैन । प्रशासकीय अधिकृत पनि पुरै जानकार छैनन्, अनि मेट्रो कलेजमा क–कसको लगानी छ भन्ने पनि आशंका उब्जिएको छ ।
तर तुलसीपुर उपमहानगरपालिकाले भने मेट्रो कलेज स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमै चलेको बताएको छ । तुलसीपुर उपमहानगरपालिका मातहतमा सञ्चालनमा आएको तुलसीपुर मेट्रो कलेजले तीन वर्षे कोर्षको १ लाख ५० हजार शुल्क लिँदै आएको छ भने उपमहानगरभित्र सञ्चालनमा आएका आठवटा सामुदायिक विद्यालयहरुको शुल्क भने फरक–फरक रहेको छ । एउटै कोर्षका लागि फरक–फरक शुल्क हुँदा अभिभावक भने अन्योलमा रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाभित्र सिटिइभिटीअन्तर्गत तीन वर्षे प्राविधिक विषयहरु अध्ययन गराइरहेका विद्यालयहरुले १ लाख ५० हजारदेखि २ लाख ४० हजारसम्म शुल्क लिइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माका अनुसार सिटिइभिटीले न्यूनतमदेखि उच्चतमसम्मको शुल्क निर्धारण गरेबमोजिम सम्बन्धित विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक पूर्वाधार, जनशक्तिको आधारमा शुल्क तोक्ने सक्ने व्यवस्था रहेको बताएका छन् ।
संयोजक विश्वकर्माले भने– ‘कुन विषय कहाँ पढाउने र स्वीकृति माग गर्ने विद्यालय व्यवस्थापन समितिले हो, यसमा हामीले यहाँ यो विषय पढाउनुस् भनेर तोक्न मिल्दैन अनि शुल्क तोक्न पनि मिल्दैन ।’
एक विद्यालयका सहायक प्रधानाध्यापक भन्छन्– तुलसीपुर उपमहानगरपालिका नेतृत्व तहले आफ्ना नजिकका मान्छेहरुलाई प्रभाव पार्ने क्षेत्रमा सम्बन्धित विषय तुलसीपुर प्राविधिक शिक्षालयमा राखिएको छैन । प्राविधिक विषय पढाइरहेका आठवटै विद्यालय तुलसीपुर उपमहानगरपालिका मातहतमा नै सञ्चालनमा रहेका छन् तर व्यवहार भने त्यसो देखिएको छैन । उनले भने– ‘हामीले प्राविधिक विषय पढाउँदा एकै पटक १० लाख मात्रै पाउने तर मेट्रो कलेजले नगरदेखि प्रदेश सरकारसम्म बजेट पाउने यो तरिकाले कसरी हामीले पढाउन सक्छौ ।’
यता तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले प्राविधिक विषयको शुल्क विद्यालय व्यवस्थापन समितिले नै तोक्ने भए तापनि एकै किसिमको शुल्क निर्धारणका लागि समन्वय गरिने बताएका छन् । तर यो उनको अभिव्यक्ति मात्रै हो, कार्यान्वयनमा ल्याउन उनै राजनीतिक प्रभावमा पर्ने अवस्था देखिएको छ ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयका लागि प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड बजेट विनियोजन गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा छुट प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ ।
एक वडा कार्यालयबाट पाँच जनाले त्यहाँ पढ्नका लागि पचास प्रतिशत शुल्क छुट पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले छुट पाए पनि छुटको रकम वडा कार्यालय र उपमहानगरपालिकाबाट बहुप्राविधिक शिक्षालयलाई भुक्तानीको व्यवस्था गरिएको छ । समग्रमा यो छुट होइन, जनताको करकै दुरुपयोग हो । वडाले तिर्ने भनेको त विकास बजेट र जनताको करबाहेक अन्य केही श्रोतबाट होइन । यसले अन्य सामुदायिक विद्यालयमा चलेका प्राविधिक शिक्षालाई चुनौती दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वलीका अनुसार मेट्रो कलेज तुलसीपुर क्षेत्रको प्राविधिक शिक्षाको पहिचान भएका कारण शिक्षालयको विकासका लागि प्रारम्भिक चरणमा विद्यार्थीको अप्राप्ततालाई सहयोग गरिएको हो । यसरी जवर्जस्त उपमहानगरपालिका नै लागेको अवस्थाले अन्य सामुदायिक विद्यालयमा सञ्चालन भएका कलेजहरुलाई सञ्चालनमा समस्या उत्पन्न हुने देखिएको छ ।
नजिकको तीर्थ हेला भनेजस्तै वडा कार्यालयहरुले सिटिइभिटीअन्तर्गत प्राविधिक विषयहरु पढाइरहेका विद्यालयलाई भने कुनै सहयोग गरेका छैनन् ।
मेट्रो कलेज स्थानीय सरकारको हो : नगरपमुख पाण्डे
यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मेट्रो कलेज स्थानीय सरकारको अपनत्वको कलेज भएको बताएका छन् ।
मेट्रो कलेजले कुनै पनि सिण्डिकेट लगाउन नखोजेको भन्दै सबै नगरबासीलाई सहजरुपमा प्राविधिक शिक्षा दिन कलेजको स्थापना भएको बताएका छन् ।‘यो जनताको कलेज हो, कसैको व्यक्तिगत लगानी भएको प्रालि होइन, त्यसमा कुनै पनि नगरबासीलाई भ्रममा नपर्न आग्रह गर्दछु’, नगरप्रमुख पाण्डेले भने ।
पहिलो चरणमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त भएको बताउँदै अबका दिनमा विश्वविद्यालयबाटै अनुवन्धन प्राप्त गरी स्नातक तह र स्तानकोत्तर तहसम्मकै प्राविधिक शिक्षा दिन तुलसीपुर उपमहानगरपालिका तयार रहेको बताए ।
अव स्थानीय तहमा रोजगारका लागि जनशक्ति उत्पादन गर्न नगरपालिकाले थप पहल गर्ने पनि नगरप्रमुख पाण्डेको अभिव्यक्ति थियो ।
