Goraksha

National Daily

लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

टेकबहादुर पुन
लमही, १० वैशाख । लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले पहिलो पटक लमही–५ स्थित जैविक विविधता पार्कमा वैशाख १८ र १९ गते उत्सव हुने भएको हो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामामा लाटोकोसेरो उत्सव हुन थालेको हो । आयोजकले बुधवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर उत्सवबारे जानकारी गराएका हुन् ।

किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरीसिकारी बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ ।

लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायतका जिल्लामा यो उत्सव गरिएको संस्थाका निर्देशक आचार्यले बताए ।

उत्सवले लाटोकोसेरोसम्बन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पु¥याउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले बताएका छन् । ठुला र बुढा रुखको कटानी, परम्परागत घर संरचनाको कमी तथा आधुनिक निर्माण शैलीका कारण यसले सुरक्षित वासस्थान पाउन कठिन भएको उनको भनाइ छ ।

दुई दिन चल्ने उत्सवमा विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिनेछन् । पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा भिडियो स्लाइड प्रस्तुति राखिनेछ । दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायतका समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता आयोजना गरिनेछ ।

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठुलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ । कानुनी रूपमा लाटोकोसेरोको सिकार वा किनबेच गर्न पाइँदैन । यदि कसैले यस्तो गरेमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकिन सङ्ख्या उपलब्ध छैन । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा करिब आठ सय ८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रसारलाई तीव्र बनाउन विभिन्न विद्यालयसँग सहकार्य गरी विद्यार्थीबाट चित्रकला, कविता र निबन्ध सङ्कलन गर्ने, निमन्त्रणा वितरण गर्नेलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

उत्सवको ब्यानरसमेत सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, आयोजक संस्थाका अध्यक्ष पवन शर्मा रिजाल, निर्देशक राजु आचार्यलगायतका प्रतिनिधिले संयुक्त रूपमा ब्यानर अनावरण गरेका हुन् ।