Goraksha

National Daily

व्यावसायिक कृषिले गाउँमै रोजगारी

नुमाकान्त पौडेल
दाङ, १० वैशाख । केही वर्ष अघिसम्म हिउँद लागेपछि निमुरियाका धेरैजसो घरमा कामको अभाव हुने गरेको थियो । खेतबारीमा काम नहुँदा गाउँका महिला खाली बस्न बाध्य हुन्थे भने युवा रोजगारीको खोजीमा टाढा जानु पर्ने अवस्था थियो ।

अहिले भने त्यो अवस्था बदलिएको छ । गाउँमै सञ्चालनमा आएको व्यावसायिक कृषि फर्मले स्थानीयलाई रोजगारी दिँदा घरव्यवहार चलाउन सहज बनेको घोराही उपमहानगरपालिका–२ निमुरिया निवासी मुना चौधरी बताउँछिन् । उनले बिहान–साँझ घरको कामसँगै दिउँसोको समय कृषि फर्ममा काम गर्दै आएको बताइन् ।

कृषि फर्ममा रोजगारी मिल्ने भएपछि पहिले जस्तो खाली बस्नु पर्ने अवस्था नरहेको भन्दै उनले भनिन्, ‘पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, कृषि फर्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ ।’ तरकारी खेतीमा काम गरेर महिनामा १४÷१५ हजार रुपैयाँ कमाउने गरेको उनी बताउँछिन् ।

मुना जस्तै सोही ठाउँ निवासी देवा चौधरी पनि कृषि फर्ममा काम गर्दै आएकी छिन् । बिहान–साँझ घरको कामसँगै दिउँसोको समयमा कृषि फर्ममा काम गर्ने गरेको उनले बताइन् । कृषि फर्ममा समय अनुसार विभिन्न तरकारी रोप्ने, गोडमेल गर्ने, मल राख्ने, फलेका तरकारी टिप्नेलगायतका काम गर्ने गरेको बताउनी बताउँछिन् ।

घरायासी कामसँगै कृषि फर्ममा काम गर्न पाउँदा महिनामा १५÷१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको भन्दै उनी भन्छिन्, ‘कामका लागि टाढा जानु पर्ने झन्झट छैन, गाउँमै काम पाइएको छ, आम्दानी पनि राम्रै भइरहेको छ । यो हाम्रा लागि राम्रो अवसर हो ।’

श्रीमान्ले घर निर्माणसम्बन्धी काम गर्ने र आपूmले गाउँमै काम गर्दा घरखर्च चलाउनसँगै बचतसमेत गर्ने गरेको बताउँछिन् । गाउँघरमै रोजगारी प्राप्त भएपछि युवा पुस्ता कृषि क्षेत्रमा जोडिन थालेका छन् । रामपुरस्थित गंगा माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरेकी सुम्निामा चौधरी पढाइबाट फुर्सद भएको समयमा कृषि फर्ममा काम गर्ने गरेको बताउँछिन् ।

गाउँमै काम पाइने भएपछि फुर्सदमा काम गर्ने गरेको भन्दै चौधरीले भनिन्, ‘फुर्सदमा काम गर्दा पढाइ खर्च पनि जुट्ने गरेको छ ।’ आफैँ काम गरेर कमाउने भएपछि सजिलो भएको उनी बताउँछिन् । निमुरियामा सञ्चालन भइरहेको सुवर्ण कृषि फर्म अहिले स्थानीयका लागि रोजगारीको केन्द्र बनेको छ ।

स्थानीय हरि जिसीले २०७५ सालमा दुई कट्ठा जमिनबाट सुरु गरेको तरकारी खेती अहिले विस्तार हुँदै करिब १४ बिघा क्षेत्रफल पुगेको छ । आफ्नो दुई बिघा र १२ बिघा जग्गा भाडामा लिएर जिसीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

सानैदेखि तरकारी खेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारी खेतीमा लागेको भन्दै जिसी भन्छन्, ‘तरकारी खेतीबाट वार्षिक डेढ करोड बढी रुपैयाँको कारोबार भइरहेको छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु, जसले गर्दा पसल र फर्म दुवैतिर रोजगारी मिलेको छ ।’

जिसीले कृषि फर्मबाट वार्षिक सिजन अनुसार टमाटर, बोडी, काँक्रा, गोपीलगायतका तरकारी खेती गर्दै आएका छन् । फर्मबाट उत्पादन भएको तरकारी दाङको घोराही, लमही, रोल्पा, बाँके, बुटवललगायतका ठाउँसम्म जाने गरेको कृषि फर्मका व्यवस्थापक किरिमलाल चौधरी बताउँछन् ।

उनका अनुसार फर्ममा काम गर्ने महिलालाई दैनिक पाँच सय ५० र पुरुषलाई छ सय ५० रुपैयाँ पारिश्रमिक दिने गरिएको छ । व्यावसायिक कृषि फर्मको विस्तारसँगै गाउँमा आर्थिक गतिविधि बढेको छ ।